क्यान्सर अस्पताल जोगाऔं
कहिलेकाहीं चर्चामा आउने भरतपुरस्थित क्यान्सर अस्पताल आजभोलि दैनिकजसो समाचार बन्न थालेको छ । अध्यक्ष र कार्यकारी निर्देशकलाई स्वास्थ्यमन्त्रीले स्पष्टीकरण सोधेपछि अस्पताल चर्चामा आउन थालेको हो । ३० करोड बेरुजु रहेको प्रकाशमा आएको छ । आवश्यकीय मेसिन खरिद गरी तत्काल जडान नगरे कार्यकारी निर्देशकलाई निलम्बन गर्ने समाचार पनि सार्वजनिक भएका छन् । बिरामीले उपचार नपाएर दुःख पाएका छन् भने कर्मचारी बढेको तलब नपाएको भन्दै गुनासो गरिरहेका छन् । अस्पतालजस्तो जनतासँग प्रत्यक्ष सरोकार राख्ने संवेदनशील ठाउँबाट यस्तो गुनासो सुन्नुपर्ने अवस्था कसैको लागि पनि रुचिकर हुँदैन ।
स्वास्थ्यमन्त्री गगन थापा स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने पक्षमा कस्सिएर लागेका छन् । उनी वरिपरि घुम्नेहरूबाट टाढै रहनेछन् । अस्पताल बिग्रन र भत्कन नदिन मन्त्री थापाले अवश्य विवेक प्रयोग गर्ने विश्वास छ । अस्पताल दुइटा कारणले असफल छ- चाहिनेभन्दा बढी दलीय राजनीति र ट्रेड युनियनको दर्शनभन्दा बाहिर रहेर गरिने धरपकड । पंक्तिकार सञ्चालक समितिको सदस्य भएर पहिलोपटक पुग्दा अस्पताल प्रशासनको मूल ढोकामा ताल्चा लागेको थियो । हामीले विनासर्त आन्दोलनकारीसँग अस्पतालको ढोका खोलेर प्रशासन भवनभित्र वार्ता गरी पेसागत रूपमा निर्णय गरी अस्पताल खुलायौं । समयक्रममा स्पष्ट भयो, आन्दोलन त त्यहाँका वरिष्ठ डाक्टरको निर्देशनमा गरिएको रहेछ ।
अस्पतालको ऐन बदल्ने तयारी भयो, काठमाडौंमा बसेर ड्राफ्ट तयारी गरिएको रहेछ । त्यो थाहा पाएपछि तत्कालीन स्वास्थ्यमन्त्री माननीय गिरिराजमणि पोखरेलसँग ड्राफ्ट मागेर हेरियो । ड्राफ्टमा सामाजिक क्षेत्रको प्रतिनिधित्व नदेखेपछि मन्त्री र सचिवसँग गुनासो गरी अन्तिम घडीमा एकएकजना महिला र पुरुषको प्रतिनिधित्व गराइयो ।
नेपाल सरकारको प्रथम श्रेणीको कर्मचारीसँग बसेर छलफल गरी अस्पतालमा देखिएका समस्या समाधान गर्नसक्ने व्यक्तिलाई सञ्चालक समितिमा ल्याउन सकियो भने अस्पताल चलाउन सहज हुने हाम्रो दृष्टिकोण थियो ।
कालान्तरमा यसलाइ तृतीय श्रेणीका कर्मचारी राख्नेदेखि लिएर सामाजिक जीवनमा अति महत्त्वपूर्ण योगदान दिनेहरूका लागि पनि लाजमर्दो हुने गरी सदस्य चयन गर्न थालियो । यस्ता विकृति सच्याउन वर्तमान स्वास्थ्यमन्त्रीले सञ्चालक समिति सदस्य चयनको लागि पनि कार्यविधि बनाउनुपर्यो । पंक्तिकारले उठाउन खोजेको विषय हो, क्यान्सर अस्पताल हिजो पनि सबैको सहमतिविना चल्न सक्दैनथ्यो र आज पनि सक्दैन ।
बोर्डमा पार्टीको एकाइ कमिटी चयन गरेजस्तो गरी जब सदस्य छान्न थालियो अनि सुरु भयो अस्पतालको दुर्गति । यही हो यथार्थ । अब पनि राजनीतिक दलको आग्रहविना नचल्ने व्यक्तिका हातमा प्रशासन पुग्यो भने अस्पतालको अस्तित्व नै समाप्त हुनेछ ।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व स्वास्थ्यमन्त्री अमिक शेरचन र गिरिराजमणि पोखरेलले अस्पताललाई आफ्नो पार्टीको एकाइ नबनाई सबै नेपालीको साझा धरोहरका रूपमा चल्न सक्ने गरी अघि बढ्न पटकपटक निर्देशन दिए । त्यसले सबैलाई उत्साहित बनाएको पनि थियो । तर ती निर्देशन न पालना गरियो न त कार्यान्वयन नै । आज पनि अस्पतालको गति उस्तै छ ।
हस्तक्षेप, ढिलासुस्ती र राजनीति जारी छ यद्यपि ।हो, हामीले सञ्चालक समितिमा रहँदा गर्न खोजेका हौं । अस्पतालले उपकरणको कुल लागतको तीन गुणा बढी (वार्षिक तीन करोड) को एएमसी गरेको कागज पत्ता लगाउन मात्रै ६ महिना लाग्यो । अस्पतालमा हुने गरेका अनियमितता रोक्न निकै प्रयास गरियो । अस्पताल र कर्मचारीका पक्षमा काम गर्न नसके पनि ब्रह्मलुट हुनबाट भने रोकिएको थियो । अस्पतालको बजेट झन्डै दुई गुना बनाउनेदेखि लिएर बिरामीलाई निःशुल्क खाना दिने, सेवाका शुल्क न्यूनतम कायम गर्नेदेखि नियमावलीसमेत परिवर्तन भएको थियो । अनावश्यक खर्च कटौती गर्न ई-टेन्डरको व्यवस्था पनि त्यतिबेलै गरिएको हो । तर आजभोलि ई-टेन्डरको पासवर्ड पनि लिक भयो । अस्पताल सञ्चालन गर्नेहरूमा बेथितिविरुद्ध आवाज उठाउने हिम्मत देख्न पाइएन ।
विद्यमान अवस्था कायम रहने हो भने भृकुटी कागज कारखानाको हालतमा पुग्ने छ, यो अस्पताल । पत्रपत्रिकामा नकारात्मक खबर छापी त्यसलाई आधार बनाएर आफ्ना वरिपरि घुम्नेहरूको चंगुलमा परेर गरिने निर्णय नै अस्पतालको क्यान्सर सावित हुनेछ । यो अस्पताल चितवनको मात्र नभएर देशकै लागि गौरव हो । यसलाई जोगाउनु हामी सबैको कर्तव्य हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, जो चितवनका वासिन्दा पनि हुनुहुन्छ र युवा अनि जोधाहा व्यक्तित्व स्वास्थ्यमन्त्री गगन थापासँग मेरो अनुरोध छ- क्यान्सर अस्पताललाई क्यान्सर हुनबाट जोगाइदिनुहोस् ।
उपकरण खरिद मात्र गरेर हुँदैन । किन क्यान्सर अस्पतालमा ल्याइने उपकरण केही महिना पनि नचल्ने हुन्छन् ? किन अस्पतालभित्र दलाली हुन्छ ? बिरामीलाई मृत्युको प्रतीक्षा गराउने काम हुन्छ ? किन यहाँ आएका बिरामीलाई मेसिन बिग्रेको छ, काठमाडौंको अमूक अस्पतालमा जानु भनिन्छ ? किन बारम्बार मेसिन बिग्रन्छ ? चितवन मेडिकल कलेज र क्यान्सर अस्पतालमा एउटै एमआरआई मेसिनसँगै ल्याइएको समाचार सार्वजनिक भएको थियो, तर चितवन मेडिकल कलेजमा दैनिक बीसौंको परीक्षण गर्दा पनि मेसिन चलिरहन्छ, क्यान्सर अस्पतालमा किन महिनैपिच्छे थला पर्छ ? किन यस्तो हुन्छ ?
मन्त्रालयको छानबिन टोलीले एक महिनाभित्र उपकरण खरिद गर्न सिफारिस गर्नु राम्रो हो, तर के उपकरण हो ? कसरी किन्ने ? अस्पतालको योजना र बजेटमा व्यवस्था गर्नुपर्ने कि नपर्ने ? कतै उपकरण हतारमा खरिद गरेकै कारण अस्पतालको बेरुजु ३० करोड पुगेको त होइन ? नत्र क्यान्सर अस्पतालको बोर्ड बैठक झन्डै नौ महिनासम्म बस्न नसक्ने कहीं हुन्छ ?
क्यान्सर अस्पतालले पाको र अनुभवी सुधारक खोजेको छ । आजका जस्ता लोभीपापीबाट अस्पताल चल्न सक्दैन । स्वार्थ नभएको, सन्तुलित प्रतिनिधित्वमुखी, अस्पताल बुझेको, डाइनामिक, पाको र जिम्मेवार अध्यक्ष, दृष्टिकोण भएको युवा डाइनामिक कार्यकारी निर्देशक अस्पतालको स्वार्थ हो । यसको स्वायत्तताको मानमर्यादा कायम राख्नु मन्त्रालयको काम हो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनको धरोहर विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापित यो अस्पताललाई दक्षिण एसिएकै नमुना अस्पतालका रूपमा विकास गर्ने तत्कालीन लक्ष्य थियो । तर लक्ष्य, लक्ष्यमै सीमित राखियो । क्यान्सर अनुसन्धान तथा विशेषज्ञ चिकित्सक उत्पादन गर्ने प्रतिष्ठानका रूपमा यसलाई अघि बढाउन वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल, जो चितवनका वासिन्दा पनि हुनुहुन्छ र युवा अनि जोधाहा व्यक्तित्व स्वास्थ्यमन्त्री गगन थापासँग मेरो अनुरोध छ- क्यान्सर अस्पताललाई क्यान्सर हुनबाट जोगाइदिनुहोस् ।
-रिमाल क्यान्सर अस्पतालका पूर्व सञ्चालक समिति सदस्य हुन् ।