कसले गर्ने देश संरक्षण ?

 कसले गर्ने देश संरक्षण ?

नेपाल संकटमा छ । यसमा कसैलाई शंका छैन । यो सत्य राष्ट्रपतिदेखि जनस्तरसम्म मानिएको छ । तर संकटमोचन कसले गर्ने भन्ने प्रश्नको उत्तर भने कसैसित छैन । न कसैलाई थाहा छ, न कसैले केही गर्न सकेको छ । तर संकट मोचनको खोजी भइरहेको छ ।

देशलाई आपत् परेको बेला स्वभावतः मानिसहरू सरकारतिर नै हेर्ने गर्छन्, तर अहिले विडम्बना के हो भने सरकारले आफैं देशलाई संकटमा हालेका छन् । संविधान संशोधनको नाउँमा देशलाई नै आन्दोलित पारेका छन् । दलीय व्यवस्थालाई नै खतरा हुने प्रकारले दलहरू आपसमा झगडा गरिरहेका छन् ।

व्यवस्था त आउने र जाने गर्दछन् । दलीय व्यवस्था पनि यसै क्रममा बिलाउन सक्छ । त्यो विशेष ठूलो कुरा होइन । तर यो दलीय झगडामा देश नै टुक्रिने हो कि या देशै नरहने हो कि भन्ने डर र आशंकासम्म उठ्न थालिसकेको छ । यस घडीमा मानिसहरू संकटबाट कतै त्राण पाइन्छ भनी यताउति हेर्न लागेका छन् ।

कसै-कसैले पुरानो राजातिर पनि हेर्न थालेका छन् । यसैबाट हौसियर पूर्वराजा ज्ञानेन्द्रले ‘सबै नेपालीले राष्ट्र बचाउन फेरि एकपटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सुम्पन मुखर र प्रखर रूपले जाग्न' आग्रह गरेका छन् । उनले भनेजस्तै नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाइरहेको छ । नेपालीबीचको सामाजिक सद्भाव मेटिँदैछ ।

तराई, पहाड र हिमालमाझको ऐक्यभाव तोड्ने भगीरथ प्रयत्न भइरहेको छ । यो पनि सही हो कि क्रान्तिकारी, परिवर्तनकारी, बलिदानी आदि शब्दभावको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने कार्य अशोभनीय मात्र नभई असह्य पनि बनेको छ । पुराना राजाको यो सत्यको अभिव्यक्तिबाट तर्सेर पुराना माओवादी नेताहरू उनीमाथि जाइलागेका हुन् ।

बलियो मानिस सत्यबाट तर्सन्नन् । कमजोर मानिस तर्सन्छन् । यसको प्रमाण अख्तियार प्रमुख लोकमानसिंह कार्कीको काण्डबाट पनि थाहा हुन्छ । उनीमाथि महाभियोग त लाग्यो तर सो प्रस्ताव संसद्मा थाति लागेर बसेको छ । कालान्तरमा यो खारेज हुन पनि सक्छ ।

यो पारित भएको खण्डमा उनले वर्तमान नेतृत्वमा भएका मानिसहरूको भ्रष्टाचारसम्बन्धी पोल खोलिदिने धम्की दिएका छन् ।

हुन त उनले यो धम्की आफ्नो बचावटको लागि दिएका हुन् । तर यदि उनीसित भ्रष्टाचारबारे तथ्यहरू रहेछन् भने लुकाइराख्नुपर्ने केही कारण देखिँदैन । भ्रष्टाचारसम्बन्धी तथ्य लुकाउनु पनि भ्रष्टाचार नै हो । उनी बोलेको दिनमा नेतृत्व वर्गमध्ये कसैको आङमा लुगा बाँकी रहने छैन भन्ने दावा उनले गरेका छन् ।

नेपाली जनताले त्यो दिन पर्खेर बसेका छन् । यस विषयमा बोलेनन् भने उनले नेपाली जनतालाई धोका दिएको ठहरिनेछ । अहिलेको परिपेक्षमा मैले २०४७ सालमा प्रजातान्त्रिक परिवर्तनकारी धेरै वर्ष टिक्दैनन् भनेको १० वर्षपछि नटिकेजस्तो अहिलेका गणतान्त्रीय परिवर्तनकारीहरू पनि नटिक्ने बलियो संकेत देखिन थालिएको छ ।

यस्तो अवस्थामा मानिसहरू आफ्नो राष्ट्राध्यक्षतिर हेर्नु स्वाभाविक हो । तर राजाको रिसले दलहरूले राष्ट्रपतिको पदलाई कमजोर र निरीह बनाएर राखेका छन् । संविधान केलाउँदा यो तथ्य खुल्न आउँछ । राष्ट्रपतिलाई यो सत्य थाहा नभएको पनि होइन ।

देशको दुर्गति देख्दा तिनलाई छटपटी लागेको देखिन्छ । गत मंसिर १९ गते सर्वदलीय बैठकमा राष्ट्रपति विद्या भण्डारीले मुलुकको एकता र अखण्डता अप्ठ्यारोमा परेको तथ्य खुलाएकी छन् । तर संविधानअन्तर्गत तिनलाई राष्ट्रको संरक्षण गर्ने न कर्तव्य न अधिकार दिइएको छ । राष्ट्रपतिबाट सम्पादन गरिने जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट हुनेछ भनेर संविधानमा उल्लेख गरिएको छ ।

त्यसैकारण राष्ट्रपति भण्डारीले देशको एकता, अखण्डता र सार्वभौमिकताको संरक्षण र संवद्र्धनका लागि सबै दलहरूलाई एक जुट हुन आह्वान गरेका छन् । एक महिना भइसक्दा पनि यो अपिलको कुनै प्रभाव परेको देखिएको छैन । दलहरू आपसमा बाँडिएकै छन् । झगडा पहिलेभन्दा चर्कंदै गइरहेको छ ।

नेपाल सरकारले प्रस्तावित गरेको संविधान संशोधन राष्ट्रघाती भएको प्रतिद्वन्द्वीबाट दोषारोपण गरिएको छ । सो संशोधन पारित भएको खण्डमा र राष्ट्रघात भएकै खण्डमा पनि राष्ट्रपति निरीह भएर बस्नुपर्नेछ । किनभने तिनलाई राष्ट्रिय अखण्डताको संरक्षण गर्ने कुनै किसिमको अधिकार दिइएको छैन ।

यसको माने हो नेपालको संविधानले तोकेको नेपालको राष्ट्राध्यक्षबाट नेपाली जनताले राष्ट्रको एकता र सार्वभौमिकताको रक्षा हुने आशा गर्न सक्दैनन् । नेपालको संविधानले राष्ट्रपतिलाई नेपालको राष्ट्रिय एकता प्रवद्र्धन गर्ने कर्तव्य भने सुम्पेको छ तर यसको संरक्षण गर्ने अधिकार प्रदान गरेको छैन । नेपालमा कस्तो गणतन्त्र आयो जसको राष्ट्राध्यक्षलाई राष्ट्रकै संरक्षणको जिम्मेवारीबाट वञ्चित राखिएको छ ?

राष्ट्र नै विखण्डन पर्न लागेको अथवा परेको बेला यसको संरक्षण गर्ने जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकता रक्षाको लागि नेपाली सेनाको एक संगठन रहनेछ भनी नेपालको संविधानमा उल्लेख गरिएको छ ।

यसै संवैधानिक धाराको मर्यादाअनुसार नेपाली सेनाले विगत फागुन २३ गते एउटा वक्तव्य जारी गरी देश टुक्रिने अवस्थामा चुप लागेर बस्न नसकिने र त्यस्तो बेला तुरुन्तै एक्सन लिने निर्णय भएको जनाएको हो । यसैबेला प्रधानसेनापति राजेन्द्र क्षेत्रीले देश नै टुक्र्याउने खालका तथा राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई खतरा पुर्‍याउने प्रवृत्तिका सुरक्षा चुनौती सिर्जना भए नेपाली सेना स्वतः परिचालन हुने बताएका हुन् ।

त्यसपछि पुनः मंसिर १० गते मुलुकको परिस्थिति कठिन, चुनौतीपूर्ण र अस्थिर रहेको संस्थागत निष्कर्ष निकालेको नेपाली सेनाले बाहिर ल्याएको हो । फलस्वरूप प्रधानसेनापतिले नेपाली सेनालाई जुनसुकै परिस्थितिको सामनाको लागि उच्च सतर्कताका साथ तयार रहन निर्देशन दिएको खुल्न आएको छ ।

देशमा अशान्ति ल्याउने, क्षेत्रीय विभक्तीकरण गर्ने र सामाजिक सद्भावना बिगार्ने स्थिति संविधान संशोधनले ल्याएको हो र सो काम खुद सरकारबाटै भइरहेको छ । सीमांकनसम्बन्धी संविधान संशोधन पारित भएमा मुलुकमा थप अशान्ति हुने निश्चित छ ।

देशमाथि अरू खतरा नआओस् भनेर नेपाली सेनाले सीमांकनको मुद्दामा तत्काल प्रवेश गर्न नहुने चेतावनी दिँदादिँदै पनि नेपाल सरकार त्यसैमा प्रवेश गर्‍यो । त्यसैबाट उत्तेजित भएर प्रदेश नम्बर ४ र ५ मा विगत एक महिनाभन्दा बढी समयसम्म विरोध आन्दोलन चलिरहेको छ । यसको अन्त्य भएको छैन ।

त्यसको अतिरिक्त सेनाले महिना अगाडि पूर्वमा लिम्बू, मध्यपश्चिमाञ्चलमा मगर र सुदूरपश्चिमाञ्चलमा क्षेत्रीहरूको आन्दोलन हुन सक्ने आभास देखेको र देखाएको पनि हो । सो भविष्य दृष्टि वास्तविकतामा देखिँदै आएको छ । यी सबै क्षेत्रहरूमा हडताल, बन्द आदि भएकै छन् ।

सीमांकनसम्बन्धी संविधान संशोधन पारित भएको खण्डमा यी क्षेत्रहरूमा अरू गडबड र अशान्ति हुने निश्चित छ । देशमा अशान्ति ल्याउने, क्षेत्रीय विभक्तीकरण गर्ने र सामाजिक सद्भावना बिगार्ने स्थिति संविधान संशोधनले ल्याएको हो र सो काम खुद सरकारबाटै भइरहेको छ ।

उही सरकारको निर्णय नभईकन राष्ट्रपतिले केही गर्न नसक्ने र उही सरकारको आदेश निर्देशन नभईकन सेना परिचालन हुन नसक्ने भएपछि आखिर देश बचाउने कसले ? नेपाली सेनाले स्वचालित हुन सक्ने सम्भावना देखाएको हो । तर त्यो हुने कुन समयमा ? आखिर जनताले देशको संरक्षणको लागि कसको मुख ताक्ने ?

यस परिस्थितिबाट के प्रस्ट हुन्छ भने नेपालको संरक्षण नेपालीबाटै हुनुपर्ने रहेछ । संविधानसभाको ९० प्रतिशतभन्दा बढी मतबाट पारित भएको संविधानले देशको रक्षा गर्ने जिम्मेदारी प्रस्टरूपमा कसैलाई पनि दिएको रहेनछ ।

सो जिम्मेदारी संविधानअनुसार बनेको कार्यकारी अंगमा निहित भएको छ । तर त्यही कार्यकारी अंग नै गैरजिम्मेवार भएपछि देशको रक्षा र संरक्षण कसले गर्ने भन्ने विकल्प देखिँदैन । यसको लागि जनता नै अग्रसर हुनुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.