चल्तीमा बन्द सिरियलका कलाकार 

चल्तीमा बन्द सिरियलका कलाकार 

काठमाडौः मिडिया हब र नेपाल टेलिभिजनको सहकार्यमा चलेका केही लोकप्रिय हास्य टेलीशृंखला बन्द भएपछि कलाकारहरू के गर्दै होलान् ? सधैं टेलिभिजनमा हेरिरहेका कलाकारको नियास्रो दर्शकलाई अवश्य पनि लागेको होला तर अधिकांश कलाकारले आआफ्नै बाटो समाएका छन् ।

१२ वर्षसम्म टेलिभिजनमा रुचाइएको कार्यक्रम ‘तीतो सत्य’का निर्देशक तथा कलाकार दीपकराज गिरी र दीपा श्री निरौला चलचित्र निर्माण, निर्देशन एवं अभिनयतिर व्यस्त छन् । छ एकान छ, वडा नम्बर छ र छक्कापन्जाबाट उनीहरूले टेलिचलचित्रमा जस्तै चलचित्र उद्योगमा पनि सफलता पाएका छन् ।

टेलिचलचित्रको कामलाई केही समय थाती राखेर चलचित्रमा काम गर्ने जाँगर बोकेर उनीहरू यतातिर लम्किएका हुन् । आफू स्थापित हुनुका साथै चलचित्रलाई पनि नयाँ स्वादमा पस्किने योजना उनीहरूको थियो ।

हरेक हप्ता स्क्रिप्ट लेख्ने, सुटिङ गर्ने व्यस्त समय तालिकाबाट अहिले राहत महसुस भएको छ । ‘अहिले ढुक्क भएको छ’, दीपकले भने । टेलिभिजनमा राम्रो छाप बनाएको तीतो सत्य समूहबाट दर्शकको अपेक्षा बढेको छ ।

कला क्षेत्रमा स्थापित गराएको टेलिभिजनमा फर्कने योजना भने छँदैछ । दीपक भन्छन्, ‘राम्रो इतिहास बनाएपछि अब कमजोर सिर्जना गर्नु हुँदैन ।’ टेलिभिजन उनका लागि पाठशाला हो । त्यही पाठशालामा पढेर उनीहरूले राम्रो चलचित्र निर्माण गर्न सकेका हुन् । लोकप्रियताको शिखरमा पुगेर टेलिचलचित्र छोड्नु सही समय थियो । अझै त्यही ढंगले अघि बढिरहेको भए तीतो सत्यको लोकप्रियता घट्ने थियो ।

दीपकलाई सही समयमा छोडेको भान भइरहेछ । ठूलो पर्दामा नआएको भए यो सन्तुष्टि मिल्दैनथ्यो । टेलिचलचित्र ‘जिरे खुर्सानी’को समूह पनि खाली बसेको छैन । जितु नेपाललाई स्टेज कार्यक्रमबाट फुर्सद छैन । उनको समूहका केही साथी अमेरिका पुगेका छन् त केही साथी आआफ्नै हिसाबले कलाकारितालाई निरन्तरता दिइरहेका छन् ।

जितु स्टेज कार्यक्रममा मात्र नभई चलचित्रमा पनि उत्तिकै व्यस्त छन् । तापनि टेलिभिजनमा हरेक साता पर्खेर जिरे खुर्सानी हेर्ने दर्शकसँग टाढा भएको महसुस भने उनले गरिरहेका छन् । जहाँ पुगे पनि उनलाई एउटै प्रश्न सोधिन्छ, ‘ठूलो पर्दामा आएर सानो पर्दामा नआउने ? ’

हरेक साता स्क्रिप्ट लेख्ने, सुटिङ गर्ने व्यस्त समय तालिकाबाट अहिले राहत महसुस भएको छ । तर राम्रो इतिहास बनाएपछि अब कमजोर सिर्जना गर्नु हुँदैन । दीपकराज गिरी

टेलीशृंखला चल्दा दैनिक व्यस्त हुन्थ्यौं । अहिले पनि स्टेज कार्यक्रम र चलचित्रमा व्यस्त छु तर दर्शकले एउटा प्रश्न सोधिरहन्छ, सानो पर्दामा नआउने ? जितु नेपाल

मेरी बास्सै बन्द भए पनि धुर्मुस सुन्तली बन्द भएको छैन । सामाजिक कार्य गर्न थालेका छौं । यसबाट पाएको हौसलाले सामाजिक काम र कलाकारितालाई सँगै लैजाने जाँगर थपिदिएको छ । कुञ्जना घिमिरे ‘सुन्तली’

धेरैले टेलिभिजनमा हराएका उनीहरूलाई ‘फेरि फर्किएर नआउने पो हो कि’ भन्ने जिज्ञासा पनि राखिरहेका छन् । टेलिभिजनमा हरेक साताको शृंखला तयार गर्दाको कामको रफ्तारभन्दा अहिलेको कामको रफ्तार घटेको छ ।

स्टेजमा प्रस्तुत भइरहेका छन्, पैसा पनि राम्रै कमाइ हुन्छ तर टेलिभिजनको काममा बेग्लै सन्तुष्टि हुन्थ्यो । उनी भन्छन्, ‘दैनिक काम गर्दा व्यस्त हुन्थ्यौं, सिर्जना जति घोट्यो त्यति राम्रो हुने हो ।’

टेलिभिजनबाटै बाँधिएको जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को खबर सञ्चारमाध्यममा छाइरहन्छ । कलाकारितामा स्थापित जोडी अहिले समाजसेवातिर लागेका छन् । उनीहरूको कलाकारिता मनोरञ्जनमात्र नभई समाजसेवा बनेको छ ।

भूकम्पपछि नमुना बस्ती निर्माणमा लागेको यो जोडीले स्टेज कार्यक्रममार्फत कलाकारितालाई निरन्तरता दिइरहेको छ । देशविदेशका कार्यक्रममा जाँदा उनीहरू ‘धुर्मुस-सुन्तली फाउन्डेसन’का लागि रकम जुटाइहेका छन्, जुन रकमले नमुना बस्ती निर्माण भइरहेको छ ।

अहिले बर्दियामा मुसहर बस्ती निर्माणको प्रक्रिया अघि बढाएका छन् । कुञ्जना भन्छिन्, ‘मेरी बास्सै बन्द भए पनि धुर्मुस सुन्तली बन्द भएको छैन ।’ सामाजिक कार्य गर्न थालेपछि सर्वसाधारणले उनीहरूबाट गर्ने अपेक्षा गरेको छ ।

यसलाई उनीहरू हौसलाका रूपमा लिन्छन् । भन्छिन्, ‘यही हौसलाले सामाजिक काम र कलाकारितालाई सँगै लैजाने जाँगर थपिदिएको छ ।’

लोडसेडिङ घटेको समयमा दर्शकमा टेलिभिजनमोह भने बढेको छ । राम्रो सम्झौता भयो भने मेरी बास्सैलाई निरन्तरता दिने योजनामा छन् उनीहरू । सम्झौता नभए पनि नयाँ केही लिएर आउने योजना समेत बनाइरहेका छन् ।

मेरी बास्सै समूहका केही कलाकार अन्य कार्यक्रममा अभिनय गरिरहेका छन् । केही कलाकार धुर्मुस सुन्तली फाउन्डेसनमा आबद्ध भएर काम गरिरहेका छन् । किरण केसी ‘राता मकै’ विदेशका कार्यक्रममा व्यस्त छन् ।

फागुनदेखि सांस्कृतिक कार्यक्रम लिएर नेपाल टुर गर्दैछन् । उनी पनि ठूलो पर्दाकै तयारीमा छन् । चलचित्रको काम चैतदेखि सुरु गर्ने योजना भइरहेको छ । टेलिभिजनबाटै चिनिएका उनले टेलिभिजन छोड्न कहाँ सक्छन् र ? टेलिभिजन कार्यक्रमको तयारी पनि भइरहेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.