द्वन्द्व समाधानको आध्यात्मिक उपाय

 द्वन्द्व समाधानको आध्यात्मिक उपाय

म लेखक, साहित्यकार, पत्रकार, कवि केही पनि होइन । म कुनै पनि राजनैतिक दलमा आबद्ध छैन । २०७२ साल असोज ३ गतेको संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएपछि केही नेपालीले मानवधर्मको पालना नगर्दा ओमकार परिवारका ९३ प्रतिशतमात्र होइन सम्पूर्ण नेपालीलाई पिरोलेको छ ।

बलात्कार र भ्रष्टाचारका समाचार सुन्दा झन् असह्य वेदना भएकोले आफ्नो अभिव्यक्ति (विचार) संविधानको धारा १७ (क) तथा २६ (१) को उपभोग गर्दै प्रस्तुत गर्ने जमर्को गरेको हुँ ।

पहिला त धर्म के हो ? बुभ्न जरुरी हुन्छ । जस्तो पानीको धर्म हो चिसोपना र तलतिर बग्नु, आगोको धर्म हो पोल्नु र उज्यालो दिनु । सूर्यचन्द्र आदि ग्रहको धर्म हो आपसमा ठक्कर नखानु आदि । त्यस्तै मनुष्यको धर्म हो परमात्माको अंश आफूले आफ्नो अंशी परमात्मा (सत्यवस्तु) लाई नबिर्सिनु, कर्तव्य र नैतिकताको पालना गर्नु ।

धर्मनिरपेक्षता संस्कृतका दुई शब्द धर्म र निरपेक्ष मिलेर बन्दछ । निरपेक्षको अर्थ हो सत्य कर्तव्य र नैतिकताप्रति उदासीन हुनु अथवा तटस्थ रहनु (नमान्नु) । धर्म निरपेक्षताको असली स्वरूप यही हो । यसले प्रोत्साहन पायो भने वितण्डा मच्याउँछ ।

समाजमा अधर्म, दुराचार फैलिन्छ । शासकवर्गलाई विक्षिप्त जस्तो बनाउँछ । यसको प्रत्यक्ष प्रमाण अन्तरिम (२०६३) संविधान घोषणा भएपछि हाम्रै देशमा देखिएको छ । अमेरिकन राष्ट्रपतिले बाइवल छोएर शपथग्रहण गर्छन् भने हिन्दुका नित्य गीता पाठ गर्नेका छोराछोरीले ईश्वरको नाम लिन लाज मान्छन् ।

विश्वका सयभन्दा बढी मुलुकमध्ये २५÷३० वटामात्र धर्मनिरपेक्ष छन् । धेरैजसो इस्लामिक मुलुक धर्मनिरपेक्ष छैनन् । जर्मनी, बेलायत पनि होइनन् । धर्म व्यक्तिको आन्तरिक विश्वासको क्षेत्र हो । त्यसैले व्यक्ति धर्म मान्न स्वतन्त्र हुनुपर्दछ । सामाजिक, राजनैतिक गतिविधिमा कसैलाई पनि धर्मको आधारमा राज्यबाट भेदभाव, पक्षपात हुनुहुँदैन । कसैले कसैको धर्मप्रति घृणा र अनादर फैलाउने काम गर्नु हुँदैन । सबैले सबैमा सद्भाव राख्नुपर्दछ भन्ने धर्मनिरपेक्षताको मान्यता हो ।

नेपाल ९३ प्रतिशत ओमकार परिवारको बसोबास भएको देश हो । बहुमतलाई मान्यता दिने विश्वव्यापी प्रजातान्त्रिक सिद्धान्तअनुसार २०४७ सालको संविधानले नेपाल हिन्दु अधिराज्य बनाएको थियो होला ।
२४ सय वर्ष पहिले सुरु भएको, इसाई १४ सय वर्ष पहिलो सुरु भएको इस्लाम सम्प्रदायको धर्म (पन्थ) जस्तो हिन्दु धर्म नयाँ होइन । यो अनादि हो ।

ईश्वर नारायणले पञ्चमहाभूतको सृष्टि गरेपछि सृष्टि सञ्चालनको निमित्त ब्रह्माजीलाई बताउनुभएको दैवी संविधान वैदिक धर्म हो । वेदका कर्मकाण्ड, उपसनाकाण्ड, ज्ञानकाण्ड गरी तीन काण्ड हुन्छन् । यिनकै आधारमा स्मृतिग्रन्थशास्त्र बनेका हुन् । यिनकै आधारमा सनातनदेखि आस्तिक हिन्दुहरू चल्दै आएका छन् । वैदिक सनातन धर्म भन्नु र सनातन हिन्दु धर्म भन्नु पर्यायवाची शब्द हुन् ।

अब नेपालको संविधान २०४७ तिर फर्किंदा प्रजातान्त्रिक र वामपन्थी शक्तिले मिलेर बनाएको विश्वको सर्वोत्कृष्ट भनिएको संविधानमा नेपाल हिन्दु अधिराज्य थियो । संविधानको धारा ४ (१) ले कुनै पनि नागरिकलाई धर्मको आधारमा भेदभाव नगर्ने, धारा ११.२.३ ले प्रत्येक नागरिकलाई प्रचलित परम्पराको मर्यादामा रही सनातनदेखि चलिआएको धर्म अवलम्बन गर्न र अभ्यास गर्न स्वतन्त्रता दिइएको देखिन्छ । धर्म परिवर्तन गराउन बन्देज थियो ।

धार्मिक दृष्टिले महत्वपूर्ण मानिएको कारण गौहत्या गर्न कानुनले छुट दिएको थिएन । हत्या गरे जेलसजाय हुन्थ्यो । संविधानको धारा १९.१.२. ले प्रत्येक धार्मिक सम्प्रदायलाई कानुनबमोजिम स्वतन्त्र अस्तित्व कायम राखी धार्मिकस्थलको सञ्चालन र संरक्षण गर्न दिएको थियो ।

राजा रत्न मल्लको पालामा युनानी पद्धतिबाट उपचार गर्न जान्ने अरबबाट ल्याइएका हकिम (वैद्य) हरूका पछि लागि आउनुभएका मुस्लिम दाजुभाइ दिदीबहिनीले देशको कानुनलाई सहस्र स्वीकार गरी गौहत्या नगरी ओमकार परिवारसँग सद्भाव राखेर दुवै पक्षले आ-आफ्ना धार्मिक गतिविधि गरिरहेका थिए । हिन्दुका मठमन्दिर गुम्बालाई मात्र बजेट नदिएर मुस्लिम धर्मावलम्बीको हज गर्न जाने खर्च दिने गरिएको थियो ।

राजा संवैधानिक थिए । जुनसुकै नागरिक प्रधानमन्त्री बन्न सक्दथे । कार्यकारिणी प्रमुख उनै हुन्थे । इस्लाम धर्मावलम्बी रौतहटका शेख इद्रिस पनि मन्त्री बन्नुभएकै थियो । २०४६ पछि गिरिजाप्रसाद कोइराला पहिलो प्रधानमन्त्री बन्नुभयो । उहाँले आफ्नो विचारसँग विमति राख्ने आफ्नै साथीहरूलाई पाखा लगाउन पार्टीको बहुमत छँदाछँदै संसद् विघटन गर्नुभयो ।

भ्रष्टाचार उन्मूलन गर्न खोज्ने कृषिमन्त्री शैलजा आचार्यलाई राजीनामा दिन बाध्य बनाउने, पञ्चायतकालमा खुलेका उद्योगलाई बन्द गराई युवाशक्तिलाई बेरोजगार बनाई विदेश पलायन हुन बाध्य बनाउने, रोल मिचेर आईजीपी बनाई प्रहरीको मनोबल खुस्काइदिने, चोरी डकैती सुन तस्कर मुद्दामा पुर्पक्षका लागि अदालतले थुनेकालाई राजनैतिक आन्दोलनमा लागेकासँग छ्यासमिस बनाई मुद्दा फिर्ता लिने, राजनैतिक क्रान्ति सकियो अब आर्थिक क्रान्ति गर्नुपर्दछ भन्ने राणाको क्रूर शासनको विरुद्धमा क्रान्ति गरी प्रजातन्त्र ल्याउने सर्वमान्य नेता गणेशमान सिंह तथा राजालाई संवैधानिक बनाउने सन्तनेता कृष्णप्रसाद भट्टराईलाई पार्टीबाट टाढा बस्न बाध्य पार्ने, कर्मचारी संगठन खोलिदिएर निजामती प्रशासनमा चेन अफ कमान्ड भत्काइदिई द्वन्द्वसिर्जना गरिदिनेलगायतका काम गरेर उहाँले २०५६ सालको निर्वाचनमा कृष्णप्रसाद भट्टराईको नाम बेचेर पुनः प्रधानमन्त्री बन्नुभयो ।

हालका कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभएका बेला जनमोर्चा पार्टीले देश सुधारका ४० सूत्रीय माग राखी ज्ञापनपत्र दिन जाँदा भेटसम्म पाएन । उहाँले पनि संसद् विघटनको सिफारिस गरिदिनुभयो । माओवादीको जनक्रान्तिको कारणले चुनाव गराउन भने सक्नु भएन । राजाबाट संविधानको बाधा अड्काउ फुकाउने धारा १२७ प्रयोग गरी २०६० माघ १९ मा कार्यकारीलगायत शक्ति आफ्नो हातमा लिइयो ।

भौतिकवादी मानिस मोहमा फस्दछ । मोहमा फसेपछि विवेकशुनय हुन्छ । विवेकशुन्य भएपछि अनेक कुकर्म गर्न सक्छ। स्वास्नी छोराछोरी पाल्नका लागि जसरी हुन्छ पैसा कमाउनुपर्छ भन्ने सोच्न थाल्छ । 

संसद्वादी दलले त्यसको विरुद्ध प्रतिगमन सच्याउने आन्दोलन सुरु गरे । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनको १९ दिनको दिन प्रतिनिधिसभा ब्युँताउन राजा बाध्य भए । २०६३ वैशाख ११ गते प्रतिनिधिसभा ब्युँतियो । सभा ब्युँतेपछि संवैधानिक राजा, कार्यकारी अधिकार राजामा र मन्त्रिपरिषद्मा निहित राजाका अधिकार झिकिदिई प्रतिनिधिसभालाई सार्वभौमसत्ता भनी घोषणा गरियो ।
०००

एकमात्र हिन्दु राष्ट्र (देवभूमि) लाई आवश्यकता नपरेको, नेपालको इतिहासमा पहिलो पटक धर्मनिरपेक्ष राष्ट्र लेखिएको अन्तरिम संविधान ६३ माघ १ मा कामु राष्ट्रपतिको हैसियतले गिरिजाप्रसाद कोइरालाले लालमोहर लगाइदिई हिन्दु धर्मका चार खम्बा मन्त्र, गीता, गाई, गंगामध्ये मुख्य गाई हत्या गर्ने बाटो खोलिदिनुभयो । यो देवभूमिमा गौहत्या गर्न हुँदैन भन्ने संकेत दिन गौहत्या गरी भोज खाने सिन्धुपाल्चोक जिल्लामा बाढी आउने, भूकम्पले कोदारी राजमार्ग बन्द गराउने आदि दैवीप्रकोप देखियो । अहिले जनता रोएर बाँचेका छन् । सरकारको पनि टाउको दुखेकै छ ।

टाउको दुखाई सेलाउन नपाउँदै फेरि अस्ति पुस ११ गतेको कैलालीमा २५ वटा गाई हत्या भएको विरोधमा सुदूरपश्चिम बन्द गर्नुपर्‍यो । आजसम्म संयमी बनेका खासगरी बाँके, कपिलवस्तु, बारा, पर्सा, रौतहट जिल्लामा कसैले यस्तो घटना घटायो, ९३ प्रतिशत ओमकार परिवारका सदस्य खुलेर विरोधमा उत्रिए भने देशभर गृहयुद्ध (धर्मयुद्ध) को आगो फैलिन नसक्ला भन्न सकिँदैन ।

नराम्रो परिस्थिति आयो भने हालै बालसन्त जगतगुरुको आ श्रम शंखमूलमा प्रमुख अतिथि बन्न पुग्नुभएका कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा जे लेखेको भए पनि नेपाल हिन्दु राष्ट्र नै हो भन्नुभएको वाक्यले के महत्व पाउला ? उहाँकै दलबाट गृहमन्त्री बन्नुभएका विमलेन्द्र निधिले परिस्थिति सम्हाल्न सक्नु भएन भने देशको भविष्य कस्तो होला ?

कसैकसैको हिन्दु राष्ट्र नै किन चाहियो भन्ने प्रश्नको जवाफ हो- ‘धर्मो रक्षति रक्षित' चरितार्थ गराउन । धर्म निरपेक्षताको कर्तव्यता नैतिकताप्रति उदासीन हुने रूप सक्रिय हुन थालेपछि पाल्ने पढाउने, विवाह गरिदिने, सम्पत्ति दिने वृद्धवस्थाका बाबुआमालाई तिरस्कार गरेर आफू विदेशमा कमाउन जाँदा श्रीमतीलाई सहरमा छोड्ने गर्दा कसैकसैका श्रीमती अरूसँग सल्किने, पठाएको पैसा गुटमुट्याएर अरूसँग जाने, आफू आउँदा घरको न घाटको बनी पुर्पुरो समाएर रुनुपर्ने बनेको देखिन थाल्यो ।

दलले नैतिकताभन्दा भागबन्डाको कोटा निर्धारण गरी योग्य, इमानदार र राम्रा मान्छेलाई मौका नदिई ‘हाम्रा' मान्छे भर्ती गर्दा आन्तरिक प्रशासन अस्तव्यस्त देखिन थालेको छ ।

सत्यवस्तु (ईश्वर) लाई स्वीकार नगरी असत्य वस्तु, भौतिकवाद जसले प्रत्यक्ष देखिनेलाई मात्र सत्य मान्ने, ईश्वरको सत्ता महत्ता, पूर्वजन्म, पुनर्जन्म, लोकपरलोकलाई मान्दैन । जे छ यसै जन्ममा छ मरेपछि कर्मफल भोग्नु पर्दैन भन्ने भावना फैलिएर जसरी हुन्छ पैसा कमाउनु पर्दछ भन्ने सोच सबैले राख्न थाले । धेरै कर्मचारी भ्रष्ट हुन थाले ।

कालोबजारीले जनता पीडित भए । अनुसन्धान आयोगको कथित भ्रष्टाचार प्रकरणले सबैलाई दुःखी बनायो । गम्म्या गम्म्य अर्थात् परपुरुष परस्त्रीगमन, बलात्कारजस्ता पापको लेखा रहन छोड्यो । बाबुले छोरीलाई, छोराले आमालाई बलात्कार गरेका घटना पत्रिकामा छापिन थाले । संयमहीनताले जरा गाड्दै गएको छ ।

नेपालीले मान्दै आएका धर्मसंस्कृति, सम्पदाको बचाउ गर्दै राष्ट्रलाई बचाइराख्न धर्मनिरपेक्षको विपक्षमा एक्लै उभिने राष्ट्रवादी भन्न सुहाउँदा देखिएका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाको दलले अन्तरिम संविधान घोषणा भएपछि सभा गर्ने, जुलुस निकाल्ने, चुनाव चिन्ह गाईको फोटो राखेर मेची महाकाली झाँकी घुमाउने गर्नुभयो । तर सफल भएन । उहाँ पनि बीचैमा रोकिनु भयो ।

कांग्रेसका उच्च तहका नेता खुमबहादुर खड्काले हाल आएर संशोधनबाट हिन्दु राष्ट्र गरियोस् अथवा जनमतसंग्रहबाट टुंग्याइयोस् अन्यथा आन्दोलन गर्छौं भन्नुभएको छ । भगवान् गौतम बुद्ध जन्मेको शान्ति क्षेत्र देशका दसवर्षे जनयुद्धमा सेना र माओवादी लडाकुको चेपुवाका परेर शान्तिको सास फेर्न पाएका मजस्ता राजनीतिमा नलागेका लाखौं सर्वसाधारणले युद्धमा पछि लाग्नलाई धर्मको राजनीति गरेका हुन् कि भन्ने शंका नगर्लान् भन्न सकिँदैन । राजनीतिको रूपबारे ‘वारांग नैव नृपनीति अनेक रूपा' नीतिशास्त्रले भनेको हुँदा यसै हुन्छ भन्न गाह्रो छ ।

जनताको सुझाव संकलन गर्न ७५ रै जिल्लामा टोली खटिएको थियो । बहुमत जनताले हिन्दु राष्ट्रको लागि सुझाव दिए । जिल्लाका ठाउँठाउँमा सभा, जुलुस भए । काठमाडौं टुँडिखेलमा चारजना युवक अनशन बस्नुभयो । तर काठमाडौंमा प्राचीनकालदेखि स्थायी बस्दै आउनुभएका टोलटोलका मन्दिरमा पूजा गर्ने मण्डपमा जम्मा भै कीर्तन गर्ने, महिनैपिच्छे जात्रा निकाल्ने नेवार समुदायका व्यक्तिहरू टुँडिखेलमा आउनुभएन । भोलिका बारे सोच्नु भएन ।

आफूहरू बहुमतको आधारमा संविधान बनाउने पदाधिकारी बनेको बुझ पचाएर २०७२ असोज ३ गते संविधान घोषणा भयो । अनशन स्वतः तुहियो ।

अब हिन्दुराष्ट्र बन्न सबैभन्दा छिटो र सजिलो सर्वमान्य विकल्प एउटामात्र छ । मन जित्नु । मन जित्न देशभरका मठमन्दिर, गुम्बा, आ श्रम, गुरुद्वारा, जैन मन्दिरका प्रमुख गुरुको टोलीले भारतीय योगऋषि रामदेवले जस्तै अध्यात्म विद्याको ज्ञान दिनु । वेदवेदांग, उपनिषद्, ब्रह्मसूत्र, गीता पढी जीवनमा उतारेका श्रोत्रीय ब्रह्मनिष्ट, इच्छा, कामना कम भएका पापरहित सन्तहरूले बुद्धि निर्मल बनाइदिनु । जस्तो आँखामा लागेको मोतियाबिन्दुको जालो फालिदिएपछि मानिसले देख्न सक्दछ । भौतिकवादी जसले मरेपछि पापको फल भोग्नु पर्दैन भन्दछन् त्यसताको बुद्धिमा लागेको भौतिकवादको जालो (अज्ञान) फालिदिनु ।

भौतिकवादी मानिस मोहमा फस्दछ । मोहमा फसेपछि विवेकशून्य हुन्छ । विवेकशून्य भएपछि अनेक कुकर्म गर्न सक्छ । स्वास्नी छोराछोरी पाल्नका लागि जसरी हुन्छ पैसा कमाउनु पर्दछ भन्ने सोच्न थाल्दछ । यो गर्छु, त्यो गर्छु भन्दै अनेक किसिमका योजना बनाउन थाल्दछ ।

पोखरीको पानी सुकेको माछाले थाहा नपाए झैं कालनजिक आउन थालेको ख्याल उसले राख्दैन । मृत्यु संकट उपस्थित भएपछि भने जीवनभर आफूले गरेका काम आँखा सामुन्ने घुम्न थाल्दछन् । भारतीय मुगल सम्राट् औरंगजेवले आफूले गरेका कुकृत्य मन्त्रीका सामुन्ने प्रकट गरेको, मुहमद गजनवीले घोर अत्याचार गरेर कमाएको सम्पत्तिलाई धिक्कार दिएजस्तो पश्चाताप मान्न थाल्दछ । त्यसबेला प्रायश्चित गर्ने मौका पाउँदैन ।

प्राण निस्कनुभन्दा दुई घडी पहिला जस्तो बच्चा निस्केपछि आमाको दूध स्वतः आउन थाल्दछ त्यस्तै आन्तरिक दृष्टि खुल्दछ । लिन आएका यमदूत देखेपछि डरले काप्दछ । धेरै डरायो भने दिसापिसाब पनि छोड्दछ । आफ्ना आमा, बाबु, छोराछोरी, श्रीमान्, श्रीमती, दाजुभाइ, इष्टमित्र, कुटुम्व बोलाउन थाल्दछ । त्यस घडीमा कसैले सहायता गर्न सक्दैन ।

जीव जसरी आमाको गर्भमा आएको थियो त्यही दैवी विधानअनुसार कमाएको सम्पत्तिलाई समेत यही छोडेर पापको संस्कार मनमा लिएर जीवनमा जहाँ जाने कर्म गरेको छ त्यही लोकमा जान्छ । न्यायोचित ढंगले नकमाएको सम्पत्ति रोग, आगलागी, दुर्घटनाजस्ता विभिन्न कारणद्वारा सन्तान दरसन्तानलाई दैवले भोग्न दिन्न भन्ने शास्त्रको भनाइ छ ।

प्रत्यक्ष प्रमाण १२ वर्षमा पाप धुरीबाट कराउँछ भनेजस्तो यो देवभूमिमा गाई हत्या गर्ने बाटो खोलिदिन लालमोहर छाप ठोक्नेकहाँ १२ वर्ष नपुग्दै देखिइसकेको छ । सचेत नहुने हो भने जसलाई पनि तीर्थ हिँडेका मुसालाई एकएक गर्दै बिरालाले खाए जस्तो पापले सबैलाई खान्छ । त्यसबेला कसैले काँध थाप्न सक्दैन ।

पूर्वजन्मको कुसंस्कारले प्रेरित गरेर कसैले कुकर्म गरेको रहेछ भने पनि जस्तो बघिनीबाट छुटेको डमरु भेडाको बथानमा पुग्दा भेडीको दूध पिएको प्रभावले घाँसेमैदानमा भेडाको बथानमा चरिरहेको देख्दा बाघले ए तँ त घाँस खाने जातको होइनस् भेडा खाने जातको होस् भनेर गर्जिंदा जातीय स्वभाव डमरु पनि गर्जियो, भेडाका बथान भागे ।

डमरु बाघको साथ लागेर गएजस्तो आध्यात्मिक ज्ञान पाएपछि जो पनि धार्मिक बन्न सक्दछ । प्रायश्चित गरी परम गति प्राप्त गर्न सक्दछ भन्ने गीता आदि धर्मशास्त्रले भन्दछन् ।

भौतिक विकासको लागि ऋण अनुदान सहायता माग्नुपर्ने बाध्यताले धर्मनिरपेक्ष राष्ट्र बनाउन परे पनि निधारमा टीका लगाउने, गलामा रुद्राक्षमाला झुन्ड्याउने, यज्ञ यज्ञादिमा प्रमुख अतिथि बन्न जानुहुने, निधारमा टीका नलगाए पनि मनमा ईश्वर चिन्तनको टीका लगाउने, सांसद उपाधि धारणा गर्नुभएका माननीयहरूलाई तपाईं गाई खाने कुलमा जन्मनु भएको होइन ।

गाईपूजा गर्ने, कण्ठी धारण गर्ने, विभूति टीका लगाउने, बाटो हिँड्दा पनि ओम जप्दै हिँड्ने कुलमा जन्मनुभएको हो । कुलधर्म छोडेर स्वर्ग गएका पितृलाई तल नझार्नुहोस् । तपाईंहरू यो पदमा त्यसै पुग्नुभएको होइन । पूर्वजन्ममा गरेका पुण्यको फल भोग्न पुग्नुभएको हो ।

एउटै आमाबाबुबाट जन्मेका सन्तान इँटाभट्टाबाट निस्केका लम्बाइ, चौडाइ, मोटाइ सबै बराबर भएका इँटा जस्तो समान भाग्यका किन हुँदैनन् ? कोही मूर्ख कोही विद्वान, कोही पापी, कोही धर्मात्मा, कोही अपांग, कोही सपांग, कोही दीर्घरोगी, कोही निरोगी, कोही धनी, कोही गरिब किन हुन्छन् ? तसर्थ पुनर्जन्म हुनेमा विश्वास मान्नुहोस् ।

भविष्यमा हुन सक्ने धर्मयुद्ध (गृहकलह) रोक्नुहोस् । हाम्रो सांसद उपाधिको आयु २०७४ माघ ७ गतेसम्म छ । त्यसपछि मौका पाइन्छ पाइँदैन कुनै ग्यारेन्टी छैन । दलको ह्विपले धर्म निरपेक्ष राष्ट्रको पक्षमा मत हाले पनि, पूर्वजन्ममा गरेको पुण्य बाँकी रहेकोले ‘मरेपछि साथमा नजाने यो सांसद उपाधि बिग्रे बिग्रिएला, परलोक भने बिगार्दिनँ, प्रायश्चित गर्छु । म मरे पनि मेरो देश बाँचिरहोस्' भन्ने सोच आउन जरुरी छ ।
(लेखक विश्व हिन्दु महासंघका केन्द्रीय समिति सदस्य हुन्)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.