पहिलोपटक रंगमञ्चमा

पहिलोपटक रंगमञ्चमा

आल्वेर क्यामुको 'न्यायप्रेमी' (द जस्ट)सँग मेरो पहिलो परिचय कलाकारको रूपमा भयो । यसै नाटकले मलाई पनि कलाकार बनायो । 'न्यायप्रेमी'मा खेल्नुअघि मैले क्यामुको यो नाटक पढेको थिइनँ । न कहिल्यै रंगमञ्चमा अभियन नै गरेको थिएँ ।

अभिनयको अनुभव नभएको हुनाले सुनील पाखेरेलको न्यायप्रेमीमा खेल्ने प्रथम प्रस्तावले निकै अन्योलमा पार्‍यो । सुरुमा अस्वीकार पनि गरेँ तर उनले घरमै स्क्रिप्ट पठाइदिए । जति पढ्दै गएँ उति नै नाटकको कथावस्तुले तान्न थाल्यो । लाग्यो बीसौं शताब्दीको प्रारम्भमा रुसमा भएको, क्रान्तिकारी विरोधका वास्तविक घटनामा आधारित यो नाटक एक्काइसौं शताब्दीको नेपालमा पनि उत्तिकै सान्दर्भिक छ । क्रान्तिको नैतिक सीमा र मर्यादाबारे उठाएका प्रश्न द्वन्द्वकालबाट भर्खरै बाहिर निस्केको नेपालमा पनि उत्तिकै महत्त्वपूर्ण छन् ।

कथावस्तुले तानिएर गुरुकुल पुगेँ । सुनील पोखरेल (स्तेपान), निशा पोखेरल (दोरा) । दिलभूषण पाठक (बोर्‍या), वसन्त भट्ट (स्कुरातभ), सरिता गिरी (राजकुमारी), प्रवीण खतिवडा (आलेक्सेइ) तथा विष्णुभक्त फुयाँल (फोका) जस्ता कलाकार सम नाटकघरको अगाडि बसेर गफिँदै रहेछन् । म पनि तिनकै समूहमा सामेल भएर संवादको अभ्यास गर्न थालेँ । दुई दिनसम्म वरिपरि बसेर रिडिङको अभ्यास गर्‍यौं । यसैबीच सुनीलले क्यामुको नाटकको वास्तविक चरित्रहरूबारे जानकारी र फोटो उपलब्ध गराए । मैले खेल्नुपर्ने चरित्र कालिआएभ वास्तविक जीवनमा कस्ता थिए होलान् ? जारको बग्गीमा बम फ्याँक्नुअघि उनको मानिसकता कस्तो थियो होला ? मैले सुनीललाई निर्देशन पछ्याएर कालिआएभको फोटो हेर्दै, उनी बारेको टिप्पणी पढ्दै त्यस चरित्रलाई बुझ्ने प्रयास गरें ।

तीन दिनजति संवाद पढ्ने अभ्यास गरेपछि सम नाटकघरको मञ्चमै रिहर्सल चल्न थाल्यो । ब्लकिङको अभ्यास सुरु भयो । अनुप बरालले मञ्च निर्माणको काम सुरु गरे । जतिजति प्रथम प्रदर्शनको दिन नजिक आउन थाल्यो मेरो मनमा भने ढ्यांग्रो बज्न थाल्यो । कतै नाटकमा खेल्दाखेल्दै संवाद बिर्सिएँ भने ?

मेरै कारणले गर्दा नाटक रोकिनुपर्ने स्थिति त आउने होइन ? एक दुई चोटि आफैंलाई मनमनै झपारेँ पनि- किन बिनासित्ती यस नयाँ घनचक्करमा जेलिन पुगेँ ? बरु चुप लागेर पढ्ने/पढाउने र लेख्ने काममै लागिरहेको भए पनि त हुन्थ्यो ? आफ्नो अभिनय क्षमताबारे मनमा विभिन्न किसिमका द्विविधा उब्जन्थे । मुभमेन्टमा पनि समस्या भइरहेको थियो । गुरुकुलकै अर्का कलाकार सौगात मल्लले त्यस समस्यालाई समाधान गर्न सक्दो प्रयास गरे । अलिक सजिलो हुँदै गएजस्तो लागे पनि उक्त समस्याले मलाई पछिसम्म पिरोलिरह्यो ।

मणि, कमलमणि, भोला, सुरेश, रामहरि, सरिता, अरुणालगायत गुरुकुलका सबै कलाकारलाई भनेको थिएँ- तपाईंहरू सबै प्रोफेसनल कलाकार हुनुहुन्छ । अभिनयबारे तपाईंहरू सबैले मभन्दा बढी बुझ्नुभएको छ । त्यसैले मेरा त्रुटिहरू औंल्याएर सुझाव दिँदै गर्नुहोला । उहाँहरू सबैले त्यसै गर्नुभयो । जे-जस्तो अभिनय गर्न सिकें त्यसको निम्ति गुरुकुलका ती सबै कलाकारप्रति सदैव ऋणी रहनेछु ।

प्रथम प्रदर्शनको दिन आइपुग्यो । सुनील, म, दिलभूषण र प्रवीण ओभरकोट लगाएर रसियन क्रान्तिकारीहरूका चरित्रमा परिवर्तित भयौं । निशा, सुनील र दिलभूषण भर्‍याङ उक्लेर मञ्चमा छिर्ने तयारीमा लागे । मैले केही पछिमात्र मञ्चमा छिर्नुपर्ने भएकाले तल ग्रिन रुममै उद्विग्न भएर बसिरहेँ । सोचेँ- सबै दर्शक यतिन्जेलसम्म आआफ्ना सिटमा बसिसकेका होलान् । कति मेरै साथीभाइ र आफन्तहरू पनि आएका होलान् । यदि मेरै कारणले नाटक बिग्रिएमा ती सबैले के सोच्लान् ? मनलाई जबर्जस्ती तानेर मनमनै दोहोर्‍याएँ । यत्तिकैमा माथि संगीत बज्न थाल्यो । नाटक सुरु भएछ, भनेर थाहा पाएँ । बिस्तारै भर्‍याङ चढेर पर्दापछाडिको भागमा मञ्चमा छिर्नुपर्ने 'क्यु' पर्खेर बसेँ ।

मञ्चमा छिर्नेबित्तिकै सबैभन्दा पहिले आँखैआँखा मात्र देखेँ । सैकडौं दर्शकले मलाई सबैतिरबाट क्वारक्वारती हेरिरहेका थिए । हडबडीमा एउटा संवाद बिर्सिएँ पनि, तर सुनीलले तुरुन्तै समालिदिए । त्यसपछि भने आत्मविश्वास बढ्दै गयो, ठीके खेलेजस्तो लाग्यो ।

नाटक सकिएपछि धेरै मित्रले राम्रो खेल्यौ भनेर बधाई दिए । कतिले म तथा दिलभूषणजस्ता अर्कै क्षेत्रबाट आएका व्यक्तिले पनि नाटक खेलेकोबाट उत्साहित भएको र मौका मिले आफू पनि खेल्ने इच्छासमेत व्यक्त गरे । त्यो दिन घर फर्कंदा मन उल्लासित थियो । सोचेँ, नाटक खेल्नु रमाइलो काम रहेछ ।

एक दिन, दुई दिन हुँदै नाटकको प्रर्दशनी अघि बढ्दै गयो । जति बढी खेलियो त्यति नै आत्मविश्वास बढ्दै गयो । झन्डै एक महिना चलेको नाटकका दौरान धेरै अविस्मरणीय घटना घटे । तीमध्ये दुईवटा घटना अझै सम्झिरहेको छु ।

पहिलो घटना हाँसउठ्दो थियो । कालिआएभ (यानिक)को रोलमा अभिनय गरिसकेपछि, घर फर्केर खाना खाई सुतेको थिएँ, फोनका घन्टीले ब्यूँझायो । घडी हेरेँ, रातको साढे ११ बजेको रहेछ । उताबाट एकजना मित्र रक्सीले मातेको स्वरमा बोल्दै थिए । भने, 'सञ्जीवजी आज मैले 'न्यायप्रेमी' हेरेँ । दोस्रो सिनमा तपाईंले अधिराजकुमारको बग्गीमा बम फ्याँक्नुभएन । यो तपाईंले राम्रो काम गर्नुभयो तर तेस्रो सिनमा तपाईंले बम किन फ्याँक्नुभयो ? तपाईंले त्यसो गर्न हुँदैन थियो ।'

मित्र निकै मातेकाजस्ता थिए । अब के जवाफ दिऊँ यिनलाई ? 'यो नाटक मैले लेखेको होइन क्यामुले लेखेको हो ।' मैले भनेँ, 'र त्यसलाई फ्रेन्चबाट कल्पना घिमिरेले अनुवाद गर्नुभएको हो । हामी कलाकारले त स्क्रिप्टमा जस्तो छ, त्यस्तै खेल्नुपर्‍यो नि । अरू उपाय नै के छ ? '

'त्यो त मलाई थाहा छैन ।' मित्र झन्झन् ठूलो स्वरमा जाग्न थाले, 'मलाई एउटा कुरामात्र थाहा छ । त्यो हो- तपाईंले बम नहान्नुपर्ने । अनि एउटा अर्को कुरा पनि सुनाऊँ ? ' 'भन्नुस् न', मैले सुस्तरी भनेँ । 'हेर्नुस्, मुखले जे भने पनि निशाको पनि भित्री इच्छा थिएन, तपाईंले बम फ्याँकोस् भन्ने । हो, दिलभूषणको इच्छा हुनसक्छ ।'
मात्तिएका मित्र रंगमञ्चको कल्पनाको संसार र जीवनको वास्तविक संसारबीचको दूरी छुट्याउन असमर्थ थिए । मध्यरातको सँघारमा जीवन र रंगमञ्च, कल्पना र तथ्यका संसारहरू एकअर्कासँग मिसिइरहेका थिए ।

उनी अझै तर्क गर्न खोज्दै थिए, मैले फोन राखिदिएँ । दुर्भाग्यवश नाटकसँग जोडिएका सबै घटना उत्तिकै हाँसउठ्दा थिएनन् । केही निकै दुःखलाग्दा पनि थिए । एक दिन नाटक सुरु हुने बेलामै एकाएक खबर आयो- त्रिपुरेश्वर लगायतका सहरका अन्य ठाउँमा बम पड्किए रे । केही केटाकेटी पनि घाइते भएका छन् रे । पहिले शंका माओवादीहरूतिर लक्षित भयो । पछि गएर मधेस आन्दोलनसँग सम्बद्ध एउटा सशस्त्र समूहले घटनाको जिम्मेवारी लियो । मलाई लाग्यो- वास्तवमै रुसको क्रान्तिको कथा जीवनको संसारझैं रहेछ ।

रुसको क्रान्तिकारी समूहझैं माओवादी तथा मधेसी दुवै समूह सामाजिक न्यायको निम्ति लड्दै थिए । जातीय तथा वर्गीय उत्पीडनविरुद्ध संघर्ष गर्दै बम हान्दै थिए, गोली चलाउँदै थिए तर ती बम गोलीबाट निर्दोष व्यक्ति पनि त मर्दा रहेछन् । केटाकेटीको पनि त ज्यान जाँदो रहेछ । के त्यसो भए सामाजिक न्यायको निम्ति लड्ने ती न्यायकर्ताहरू अन्यायकर्ता भएनन् र ?

न्यायप्रेमीको अर्को प्रदर्शन २०६५ माघ १८ देखि फागुन ३ गतेसम्म गुरुकुलमा भयो । पहिलो चोटिको प्रदर्शनमा झन्डै तीसपल्ट अभिनय गरिसकेको हुनाले संवाद कण्ठ गर्न खासै मेहनत गर्नु परेन । त्यसैले संवादको 'डेलिभरी' र 'मुभमेन्ट'मा कार्य गर्ने मौका पाएँ । हरेक संवादलाई तीन, चार किसिमले डेलिभर गर्न सकिँदो रहेछ । एउटामात्र शब्दमा जोड हालेर उच्चारण गर्नेबित्तिकै संवादको प्रभाव फरक किसिमको हुन सक्दो रहेछ भन्ने पनि बुझेँ । 

रातको साढे ११ बजे एकजना मित्रले रक्सीले मातेको स्वरमा फोनमा भने, 'सञ्जीवजी दोस्रो सिनमा तपाईंले अधिराजकुमारको बग्गीमा बम फ्याँक्नुभएन । तर, तेस्रो सिनमा तपाईंले बम किन फ्याँक्नुभयो ? '

अभिनय गर्न अलि सजिलो हुँदै गएजस्तो महसुस भयो । यसपल्ट पनि लाग्यो- क्यामुको नाटक वास्तवमै कालजयी छ । क्रान्तिको सीमा र मर्यादाबारे उठेका पुराना प्रश्नहरू एक सय वर्षपछाडि पनि जस्ताका तस्तै छन् ।

'न्यायप्रेमी' खेल्ने तेस्रो अवसर झन्डै एक वर्षपछि आयो । आरोहण-गुरुकुलले २०६६ असोज २५ देखि कात्तिक २० गतेसम्म विराटनगरमा आठवटा नाटक प्रस्तुत गरेको थियो । म नाटक महोत्सवको अन्तिम कोसेली 'न्यायप्रेमी'मा तेस्रोपल्ट भाग लिन विराटनगर पुगेँ । एकपल्ट पुनः सुनील, निशा, दिलभूषण तथा विष्णुभक्त फुयाँल लगायतका अन्य कलाकारसँग भेट भयो । संवादको अभ्यास गर्न थाल्यौं । लाग्यो, नाटक अहिले नै सुरु भइसकेको छ । मञ्चमा कलाकारको रूपमा पस्नुअघि नै म नाटकको संसारमा छिरिसकेको छु ।

महोत्सवकै दौरान गुरुकुलको विराटनगर केन्द्रमा आयोजित एउटा अन्तरक्रिया कार्यक्रममा मलाई सोधियो- तपाईंले नाटकमा खेल्ने निर्णय गर्नुका के-कस्ता कारण छन् ? यस्तै प्रश्न मलाई यसअघि काठमाडौंमा भएका प्रदर्शनका दौरान पनि सोधिएका थिए । त्यस बेला मैले जवाफ दिएको थिएँ- दुईवटा कारण छन्: पहिलो, मलाई 'न्यायप्रेमी' नाटकको कथावस्तुले आकर्षित गरेको थियो । दोस्रो, अभिनयमार्फत नेपालको नाट्य क्षेत्रमा निकै सानो भए पनि कुनै योगदान पुर्‍याउन सक्छु कि भन्ने सोच पनि थियो ।

विराटनगरमा एकपल्ट त्यही प्रश्न सोधिएपछि म घोरिन बाध्य भएँ । आफैंलाई प्रश्न गरेँ- म किन एकपल्ट पुनः 'न्यायप्रेमी'मा खेल्दैछु ? के कथावस्तुको आकर्षण र नाट्य क्षेत्रमा योगदानको इच्छाबाहेक अरू कुनै कारण पनि थियो ?

अन्तरमनबाट जवाफ आयो- यसपल्ट विराटनगर आउनुको मुख्य कारण के थियो भने मलाई नाटक खेल्न रमाइलो लाग्दो रहेछ । थाहै नपाईकन म रंगमञ्चका रंगहरूमा रंगिइसकेको रहेछु । प्रश्नकर्तालाई उत्तर दिएँ- नाटक खेल्नुको आनन्दले गर्दा नै म विराटनगर तानिएको हुँ । अरू कारण पनि छन् तर जतिजति अभियन गर्दैछु ती अन्य कारण गौण हुँदै जाँदैछन् । अभिनय गर्दाको आनन्द आफैंमा मुख्य कारण बन्दै जाँदैछ ।

मञ्चमा छिर्नेबित्तिकै सबैभन्दा पहिले आँखैआँखा मात्र देखेँ । सैकडौं दर्शकले मलाई सबैतिरबाट क्वारक्वारती हेरिरहेका थिए । हडबडीमा एउटा संवाद बिर्सिएँ पनि, तर सुनीलले तुरुन्तै समालिदिए ।

सुनीलजीलाई धन्यवाद नदिई रहन सक्दिनँ । स्कुले जीवनमा समेत मलाई निर्देशकहरूले 'यसले नाटक खेल्नसक्छ' भनेर कहिल्यै विश्वास गरेनन् । सुनीलले म भित्रको कलाकारलाई बाहिर ल्याउने काममात्र नगरेर आफैंभित्रको कलाकारसँग जम्काभेटसमेत गराए । 'न्यायप्रेमी' खेल्दाको पहिलो अनुभवका दौरान म उनलाई बारम्बार भनिरहन्थेँ-सुनीलजी मैले खेलेको मिलेको छ र ? तपाईंले मलाई सुझाव दिइरहनुपर्‍यो । उनी सधैं चिन्तित देखिन्थे । भन्थे, 'चिन्ता नगर्नोस्, जसरी खेल्दै हुनुहुन्छ त्यसरी नै खेलिरहनुहोस् । सुनीलले मेरो अभिनय सच्याउने निकै कम प्रयासमात्र गरे तर उनी मलाई लगातार हौसला दिइरहन्थे । त्यस हौसलाले गर्दा नै मैले 'न्यायप्रेमी'का चालीसभन्दा बढी प्रदर्शनमा अभिनय गरिरहन सकेँ ।

'न्यायप्रेमी' खेल्नुअघि मैले सेक्सपियर, ब्रेख्त, इब्सन, सा, इउनेसुन लगायतका अन्य प्रसिद्ध नाटककारका कृति पढेको थिएँ । तीमध्ये केही नाटकको मञ्चन हेर्ने मौका पाएको भए पनि मेरानिम्ति नाटकको मूल कृति मुख्य थियो र त्यसो मञ्चन पक्ष कम महत्त्वपूर्ण । क्यामुको नाटक खेल्दाको अनुभवले मलाई नाटकको मञ्चन पक्षलाई भित्रबाट बुझ्न मद्दत गर्‍यो । प्रकाश र ध्वनिको प्रयोगले कसरी दर्शकमा विशेष प्रकारका प्रभाव सिर्जना गर्न सक्छन्, सेटको संरचना तथा प्रकाशको प्रयोगबीच के सम्बन्ध हुन्छन् जस्ता कुराहरू मैले आफ्नै रूपमा खेल्न थालेपछि मात्र बुझेँ ।

कस्ट्युमको चयन तथा संवाद र मुभमेन्टमध्येको अन्तरसम्बन्ध पनि थोरबहुत बुझ्ने मौका पाएँ । समग्रमा भन्दा 'न्यायप्रेमी' खेल्दाको अनुभूतिले मलाई रंगमञ्चको कला र विज्ञान दुवैलाई बुझ्न सघाएको छ । त्यसका रंगहरूलाई नजिकबाट बुझ्ने मौका दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.