उत्सुक तपसी
तपसी आफ्नो मामु पापासँग पोखरामा बस्छिन् । उनी पोखराकै एउटा निजी विद्यालयमा कक्षा चारमा पढ्छिन् । उनी कक्षा चारको अन्तिम परीक्षा सकाएर बसेकी हुन्छिन् । यहीबेला उनको बाबालाई काम विशेषले केही वर्षका लागि काठमाडौं आउनुपर्ने हुन्छ ।
उनको बाबाले छोरीको परीक्षाको नतिजा आइसकेपछि मात्रै काठमाडौं आउने विचार गर्नुहुन्छ । केही समयपछि परीक्षाको नतिजा सार्वजनिक हुन्छ । तपसी अब्बल श्रेणीमा उत्तीर्ण हुन्छिन् । छोरीको नतिजा आइसकेपछि उनको पापाले काठमाडौंमै बसाइँ सर्ने योजना बनाउनुहुन्छ ।
पापाको काम परेकाले तपसीको सपरिवार काठमाडौंमा आउँछन् । नयाँनयाँ ठाउँ, नयाँनयाँ परिवेश भएकाले उनीहरूलाई सुरुमा नयाँ ठाउँमा भिज्न साह्रै गाह्रो पर्छ । आफ्नो पुख्र्यौली घर र डाँडाकाँडा छाडेर आउँदा र त्यसमाथि पनि विद्यालय पनि परिवर्तन भएकाले उनलाई पनि नयाँ परिवेशमा घुलमिल हुन समय लाग्छ । नयाँ विद्यालयमा कक्षा पाँचमा भर्ना भएपछि नयाँ साथीहरूसँग उनी रमाउने पर्यत्न गर्दै थिइन् ।
तपसी बढो उत्सुक स्वभावकी थिइन् । उनमा नयाँ कुरा जान्ने र सिक्ने रहर जहिले पनि हुन्थ्यो । प्रायःजसो परिवारमा बालबालिकाले धेरै प्रश्न सोध्यो भने उसको त्यो उत्सुकता दबाउने कोसिस गरिन्छ । तर तपसीको मामु पापाले कहिले पनि त्यसो गर्नुभएन । बरु उनलाई झन् उत्साहित बनाएर सकेसम्म बढी ज्ञान दिने प्रयत्न उहाँहरूले गर्नुहुन्थ्यो । तपसी आफ्नो पापालाई 'पापा आकाशमा तारा कहाँबाट आउँछ' भनेर सोध्दा उनको पापाले उनलाई बिग ब्याङको कथा सुनाउन थाल्नु हुन्थ्यो । ममीले कुनै नयाँ तरकारी ल्याएको देखे त्यसको नाम र त्यसलाई खाए के फाइदा हुन्छ भनेर तुरुन्तै सोधिहाल्थिन् ।
तपसीको नयाँ घर र विद्यालय नजिककै दुरीमा थियो । विद्यालय जाने बाटोमा एउटा मन्दिर र नजिकै अर्को एउटा गिर्जाघर पनि थियो । उनले मन्दिर र त्यहाँका भगवान्हरूका बारेमा त सुनेकी थिइन् । तर गिर्जाघरमा भएका भगवान्का बारेमा उनलाई केही थाहा थिएन ।
एकदिन तपसी आफ्नो पापासँग मन्दिर र गिर्जाघरको बाटो हुँदै विद्यालय गइरहेकी थिइन् । उनले बाटोमा पर्ने मन्दिरलार्ई ढोगिन् । गिर्जाघर अगाडि पनि धेरै मानिसले छातिीमा हात राखेर ढोगिरहेका उनले देखिन् । ती मानिसले किन यसरी ढोगिरहेका होलान् भनेर उनलाई कौतुहल जाग्यो र पापालाई सोधिन् , 'पापा त्यहाँ मानिसले किन छातीमा हात राखेर उ त्यो घरपट्टि फर्केर ढोगेको ? यहाँ कुन भगवान् हुनुहुन्छ ? '
तपसीको पापाले उनको उत्सुकता मेटाउँदै भन्नुभयो, ' यो भगवान् जिजसको घर हो । यसलाई गिर्जाघर वा चर्च भनिन्छ । यहाँ इसाई धर्मावलम्बीहरू आउने गर्छन् । हामी महादेव, विष्णु, गणेशलगायतका भगवान्को पूजा गर्छौं । तर यिनीहरू जिजस क्राइस्टलाई आफ्नो भगवान् मान्छन् र आफ्नै तरिकाले पूजा गर्छन् ।'
'त्यसो किन गर्छन् त पापा, भगवान् त एउटै हुन्छ होइन र ? ' जिज्ञासा गर्दै तपसीले भनिन्,' हजुरले मलाई भन्नुभएको थियो की भगवान् एउटै हुन्छ भनेर । अनि त्यसो भए इसाईको भगवान् अर्को कसरी भयो त ? संसार बनाउने भगवान् त एउटै हुन्छ हैन र ? '
तपसीको पापालाई यो प्रश्नको उत्तर दिन अलि अप्ठेरो भयो । छोरीको जिज्ञासा कसरी मेटाउनुभन्दै उहाँ सोच्न थाल्नुभयो ।
धर्म र संस्कृतिको विषयमा आफ्नो छोरीले गलत शिक्षा नसिकोस् भनेर उहाँले आफ्नै तरिकाले तपसीलाई सम्झाउनुभयो । उहाँले छेउमै रहेको फूलको बोटबाट एउटा फूल टिप्नुभयो अनि तपसीलाई उदाहरण दिँदै सम्झाउनु भयो, 'फूलका अनेक नाम भए तापनि फूल त फूल नै हो नि छोरी ।'
पापाले फेरि भन्नुभयो,' फूललाई हामी नेपालीमा फूल भन्छौं तर अंग्रेजीमा यसलाई फ्लावर भनिन्छ । तर दुवै नामले फूललाई नै जनाउँछ । हो कि होइन त छोरी ? ' तपसीले पापाको कुरामा सहमति जनाइन् ।
तपसीको पापाले आफ्ना कुरालाई अझै स्पष्ट पार्दै भन्नुभयो, 'यो संसार बनाउने, तारा बनाउने, सूर्य बनाउने, चन्द्रमा बनाउने, पृथ्वी बनाउने र समग्र संसारमा भएभरको सबै चिज बनाउने भगवान् एउटै हुनुहुन्छ । जसरी फूललाई नेपालीमा फूल, अंग्रेजीमा फ्लावर र संस्कृतमा पुष्प भने तापनि आखिर बुझाउने चिज फूल नै हो । त्यसैगरी कसैले भगवान्लाई महादेव, कसैले जिसस, कसैले बुद्ध र अन्य विभिन्न रूपमा माने तापनि भगवान् सबै एउटै हुन् । उनका ती अनेक रूप र नामहरूमात्रै हुन् ।' भगवान्को नाम र स्वरूप अलग भए पनि संसार चलाउने भगवान् एउटै हुने कुरा उहाँले तपसीलाई बुझाउनुहुन्छ ।
सबै कुरा सुनेर तपसीले त्यसो भए जुन भगवान् ढोगे पनि एउटै हो है पापा भनेर सोधिन् ।
पापाले भन्नुभयो, ' हो नि, मेरी छोरीले कति चाँडै कुरा बुझिसकिन् ।'
यति भनेपछि तपसीले क्राइस्टलाई पनि श्रद्धा गरेर नमन गरिन् र पापासँग विस्तारै विद्यालय गइन् ।