एमाले : शक्ति प्रदर्शन केका लागि ?

एमाले : शक्ति प्रदर्शन केका लागि  ?

एमाले मुलुकको लोकतान्त्रिक पार्टी हो भन्ने विषयमा विवाद छैन । लोकतन्त्रमा विश्वास राख्ने पार्टीको अवरोधका कारण संसद् अवरुद्ध छ । कुनै पनि विषयलाई संसद्मा छलफल गरेर निर्णयमा पुग्न सकिन्छ । यो नै लोकतान्त्रिक प्रक्रिया हो । संसद् अवरुद्ध गर्नका लागि एमाले ०४८ सालतिरको पार्टी पनि होइन । त्यतिबेला एमाले लोकतान्त्रिकरण हुँदै थियो । संसद् अवरुद्ध गथ्र्यो, शक्ति प्रदर्शन गथ्र्यो, रेलिङका बारहरू भाँच्थ्यो । आजको अवस्थामा आइपुग्दा एमाले यस्ता खालका सबै चरण पार गरेर आएको हो । आज एमालेले आफूलाई जनताको बीचमा चिनाइरहनु पर्दैन ।

भर्खर युद्धबाट आएको पार्टीले शक्ति प्रदर्शन गर्ने हो, आफ्नो पछाडि कति ठूलो जनमत छ भनेर देखाउन । होइन भने शक्ति प्रदर्शन केका लागि ? संविधान संशोेधनको विषयमा दर्ता भएको प्रस्ताव अगाडि नबढाउने दबाब दिन हो भने यो पनि गलत काम भयो । संविधान निर्माण गर्दा नै प्रदेशको सिमाना छुट्याइसकिएको थियो ।

Pr.krishna pokharelदुई जिल्लाबाहेक अरू जिल्लाको विषयमा विवाद पनि थिएन । जिल्ला सिंगै प्रदेशमा आएकाले विवाद हुने कुरा भएन । जिल्लाभित्रको विवाद सामान्य तरिकाले मिलाउन सकिन्छ ।संविधान बनाउने क्रममै प्रदेशको विषयमा विवाद हुन्छ भन्ने थाहा थियो । संविधानमै प्रदेशको सिमानाको विषयमा विवाद आएमा सीमा निर्धारण आयोगले टुंग्याउने भनिएको भए पनि आयोग अहिलेसम्म बनेको छैन । आयोग गठन भएको भए त्यसले दिएको प्रतिवेदनका आधारमा सिमाना हेरफेर हुन्थ्यो । संविधानमा भएको व्यवस्थालाई कसैले अस्वीकार गर्न सक्दैन ।

प्रदेशको सीमा हेरफेर गर्दा प्रदेशको सहमति चाहिन्छ । यस्तो व्यवस्था भारतमा छैन तर अमेरिकामा छ । अमेरिकामा तीन चौथाई बहुमतले यस्तो निर्णय लिन सक्ने अधिकार प्रदेशलाई दिइएको छ । नेपालमा अहिलेसम्म प्रदेश संविधानमा मात्र छन्, वास्तविकतामा छैनन् । आयोगले यस्तो अवस्थामा सिमाना हेरफेर गर्न सुझाव दिएको भए सरकारले के गथ्र्यो ? सर्वोच्च अदालतको निर्णयले एमाले, सरकार र मधेशकेन्द्रित दल सबैलाई सहज बनाइदिएको छ । अब मोलमोलाइको बेला आयो । दलहरूले सुझबुझ देखाउनु पर्छ ।

सर्वोच्च अदालतको निर्णयले एमाले, सरकार र मधेशकेन्द्रित दल सबैलाई सहज बनाइदिएको छ। दलहरूले सुझबुझ देखाउने समय आएको छ।

एमालेले भनेजस्तो संसद् चल्नै नदिने गर्नु हुँदैन । मधेशकेन्द्रित दलले भनेजस्तो सिमाना नचलाए हामी अगाडि बढ्दैनौं भन्ने पनि होइन । सिमाना हेरफेरको विषय आयोगलाई दिएर अरू कुरामा अगाडि बढ्नुपर्छ । संघीय संसद्को माथिल्लो सदनमा आठ सदस्य प्रतिनिधित्वको विषयमा पनि एमाले लचक हुनुपर्छ । भूगोलबाट पाँच र जनसंख्याका आधारमा तीन जना राख्ने हो भने यो समस्या समाधान गर्न सकिन्छ । जनसंख्याको विषय संघीय कानुनअनुसार हुन्छ भनिएको छ ।

भाषाको विषय जटिल छ । संविधानमा भाषाको विषयमा प्रस्ट व्यवस्था गरिएको छ । भाषा पनि आयोगले टुंग्याउला । हिन्दीलाई प्रदेशको भाषा बनाउने सोच अगाडि आयो कि जस्तो लाग्छ ।सबै दलले आफ्ना कुरालाई वार्ताको माध्यमबाट टुंग्याउनु पर्छ । संविधान संशोधनको प्रस्तावलाई मान्य बनाएर अगाडि बढ्ने हो भने अहिलेको समस्या समाधान हुन्छ । अहिले पनि संविधान नमान्ने दलहरू छन्, उनीहरूको प्रभाव कमजोर हुँदै गएको भए पनि । संविधानको प्रक्रियामा आएर पछाडि हटेका दलहरूलाई फेरि संविधानको दायरामा ल्याउनु पर्छ ।

उनीहरूलाई लोकतान्त्रिक प्रक्रियामा विश्वास छ । उनीहरू संसदमा बसेर नारा लगाउन र आफ्ना माग राख्न सक्थे । त्यतिबेलै एमाले नेता केपी ओलीले ‘सडकमा होइन संसद्मा आएर कुरा राख’ भनेकै हुन् । अहिले उनीहरू संसद्मा आउँदा एमालेले नै कुरा राख्न नदिने काम गर्नु हुँदैनथ्यो । दुई नम्बर प्रदेशमा अहिलेकै अवस्थामा चुनाव हुन सक्दैन । सरकारले बल प्रयोग गरेर चुनाव गराउन पनि सक्दैन । बल प्रयोग गरेर चुनाव गराउने कल्पनासमेत गर्न सकिँदैन ।
मधेशकेन्द्रित दलहरू पनि निकै पछाडि हटेका छन् । उनीहरूलाई मूल प्रवाहमा ल्याउन चुक्नु हुँदैन । अहिले प्रायः सबै प्रक्रियाको विरोधमा एमाले देखिएको छ । अबको उसको भूमिका सकारात्मक हुनुपर्छ । संशोधन प्रस्तावलाई एमालेले राष्ट्रघात भनेको छ । प्याकेजमा सहमति खोज्ने काम एमालेले गर्नुपर्छ । पछाडि फर्किन नसक्ने गरी अगाडि एमाले जानु हुँदैनथ्यो ।

अहिले एमालेलाई पनि घाटा छ । नाकाबन्दीको समयमा प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष ओलीले अडान लिए । त्यो अडानलाई राष्ट्रियतासँग जोडियो । यसले गर्दा आफ्ना पक्षमा जनलहर आएको छ भन्ने एमालेको आकलन छ । त्यसपछि एमालेलाई स्वस्थानी व्रत कथामा हात्तीले नवराजलाई माला लगाउन खोजेको बेलाजस्तो अनुभव भएको छ । त्यसैले एमालेको सोचलाई व्यवहारमा उतार्न पनि चुनाव चाहिएको छ । अहिलेको गतिरोध रहेसम्म चुनाव हुँदैन । तर, अहिले एमालेको तरिकाले चुनाव हुने वातावरण बनेको छैन ।

मधेशकेन्द्रित दलका नेताका अनुसार ओली स्पष्ट र सीधा कुरा बोल्ने नेता हुन् । अहिलेका प्रधानमन्त्री र अरू पार्टीका नेताका भनाइ र गराइमा फरक छ  भन्ने उनीहरू ठान्छन् । एमाले अहिले अलिकति अतिवादी धारमा छ । एमालेले मानेको अवस्थामा राजनीतिक निकास टाढा छैन । एमाले पनि चुनावमा जाँदा घाटा नलाग्ने अवसरको खोजीमा छ । सीमा संशोधनको प्रस्ताव आयोगले गर्ने भन्नेबित्तिकै सबैको जित हुन्छ ।

महाकाली सन्धिपछि एमालेमा भारतीय हस्तक्षेपको विरोध गर्ने, राष्ट्रवादलाई भजाउने प्रवृत्तिा सकिएको थियो। अहिले फेरि जागृत भएर आएको छ।

एमालेले ‘हामीले गर्दा सीमा चलाइएन’ भन्न पाउँछ । सरकारले ‘हामीलाई सीमा चलाउन दिइएन’ भन्न मिल्छ भने मधेशकेन्द्रित दलले ‘हामीलाई जिताऊ, त्यसपछि मात्र हाम्रा कुरा लागु हुन्छ’ भन्न पाउँछन् । यो नै चुनावका लागि सबैभन्दा गतिलो विकल्प हो ।अहिले संघीयता नचाहनेहरूको आवाज बलियो र चाहनेहरूको कमजोर हुँदै गएको छ । एमालेले संघीयता चाहेको थिएन तर संविधान जारी गर्ने बेला माहोल यस्तो बनेको थियो कि विरोधमा बोल्न सक्ने अवस्था थिएन ।

त्यसैले नचाहेरै पनि एमालेले संघीयता स्वीकारेको हो । ओलीले त पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउने प्रस्ताव राखिसकेका छन् ।अहिले संघीयताले देश टुक्रिन्छ र यो भारतको प्रस्ताव हो भनेर पनि प्रचार गरिएको छ । यसका लागि संघीयताको व्यावहारिक अभ्यासमा जानु जरुरी छ नत्र यसको विरोधमा जनमत बढेर जान्छ । प्रदीप नेपाल, झलनाथ खनाललगायत नेताले संघीयतामा जान ढिलै भएको राम्रो भनेका छन् । यसको अर्थ हो, उनीहरू अहिले पनि संघीयतामा जानै चाहँदैनन् ।

राज्यको नजिक भएकालाई संघीयता चाहिएको छैन । उनीहरूले त हिजै राज्यबाट फाइदा लिएका छन् । मरिचमान सिंहबाहेक किन जनजाति, मधेशीलगायत समुदायबाट नेपालको प्रधानमन्त्री भएनन् ? यसको अर्थ हो, अधिकांश पहाडेमूलका मानिसलाई संघीयता चाहिएकै छैन । अहिले एमालेमा पहाडे राष्ट्रवाद निकै हाबी भएको छ । जसले गर्दा विस्तारै संघीयताबाट एमाले पछाडि हट्दै गएको छ । त्यसैले पनि ढिला नगरी संघीयताको कार्यान्वयनमा जानुपर्छ । नत्र संघीयताबाट पछाडि फर्किने दिन नआउला भन्न सकिँदैन ।

महाकाली सन्धिमा भारतको एजेन्डाको ओलीले जोडदार वकालत गरे । त्यसभन्दा अगाडि नेपालमा भारतको वकालत कांग्रेसले गर्दैआएको थियो । बाबुराम भट्टराई नआउँदासम्म ओलीले त्यो काम गरिरहे । भारतमा पढेको र माओवादी युद्धमा पनि भारतीयसँग नजिक भएको आरोप लागेका भट्टराईबाट विस्थापित भएपछि ओलीका लागि नयाँ एजेन्डा चाहिएको थियो ।

एजेन्डा भनेको उत्पादनजस्तै हो । अहिले चाउचाउमा तामा हाल्ने काम भएको छ किनभने त्यो स्वाद बिक्छ । राजनीतिक दलका एजेन्डा पनि त्यस्तै हुन् । जनतालाई कस्तो एजेन्डाले आकर्षित गर्न सकिन्छ भनेर उनीहरूले चासो राखिरहेका हुन्छन् । फरक यति हो, चाउचाउ बेच्नेले पैसा कमाउँछ भने दलले भोट कमाउँछ । भारतको बलमा कांग्रेसले माओवादीको साथ लिएर सरकार फेर्न खोजेको थियो । संविधान घोषणा हुन नदिन भारतले चासो राख्यो । त्यो कुरा ओलीलगायतको रुचि विपरीत भएपछि भारतसँग सम्बन्ध बिग्रियो ।

संविधान घोषणापछि भारतले नाकाबन्दी गर्‍याे । बदनाम भएपछि भारत पछाडि फर्किन खोज्यो । त्यसका लागि नेपाल सरकारले सहयोगी भूमिका खेल्नु पथ्र्यो । तर, सरकार चीनतिर लाग्यो । त्यसबेला ओलीलाई राष्ट्रियताको एजेन्डा बिक्ने रहेछ भन्ने लाग्यो । राष्ट्रियस्तरको पार्टीले यसो गर्नु हुँदैनथ्यो । अहिले एमाले यति अगाडि बढेको छ कि पछाडि नफर्की सुख छैन तर उसका लागि पछाडि फर्किन अप्ठेरो भएको छ ।

कम्युनिस्टहरू अन्तर्राष्ट्रियवादी हुन्छन् । तर, नेपालका कम्युनिस्टहरू स्थापनाकालदेखि नै राष्ट्रवादी भए । नेपालमा राष्ट्रवादी हुनु भनेको भारतीय हस्तक्षेपको विरोध गर्नु हो र यी गतिविधिलाई हेर्दा भारतको विरोध गरेको जस्तो लाग्छ । कोशी सम्झौता, गोर्खा भर्ती केन्द्रलगायत विषयमा सबैभन्दा बढी आवाज कम्युनिस्टहरूले उठाए । एमाले पनि त्यही चरण पार गर्दै आजको अवस्थामा आएको हो ।

महाकाली सन्धिपछि एमालेमा यस्तो खालको राष्ट्रवाद भजाउने प्रवृत्ति सकिएको थियो । अहिले फेरि जागृत भएर आएको छ । अहिले ‘लेनदेन’ गरेर समस्या समाधान गर्नुको विकल्प छैन । चुनावमा जाँदा पनि सम्झौता गर्नुपर्छ । हरेक खेलमा जस्तै राजनीतिमा पनि नियम लागु हुन्छ । फुटबलमा तेक्वान्दोको नियम लगाउन खोजेर हुँदैन । ०४८ सालपछि एमालेले त्यस्तै खालको खेल खेलेको हो । लोकतन्त्रमा लोकतन्त्रकै नियमअनुसार खेल्नुपर्छ । बोल्नुपर्ने ठाउँ संसद् बन्द गरेर बाहिर हल्ला गर्नु उचित होइन । कि त एमालेले आफूलाई लोकतान्त्रिक होइन भन्न सक्नुपर्छ । लोकतान्त्रिक दल भन्ने तर त्यस अनुरूप नचल्ने कुरा सुहाँउदो भएन ।
(कुराकानीमा आधारित)

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.