दिनैपिच्छे क्लब परिवर्तन गर्छन् नेपाली फुटबलर !

दिनैपिच्छे क्लब परिवर्तन गर्छन् नेपाली फुटबलर !

खेलकुद

सामान्यतया एउटा स्टार फुटबलरले एक सिजनमा एउटा क्लबबाट मात्र खेल्छ । अर्को सिजनका लागि उसले क्लब परिवर्तन गर्न चाहेमा वा अर्को क्लबले लिन चाहेमा अनुबन्धनको कानुनी प्रक्रिया पूरा गर्नुपर्छ । यो विश्वव्यापी नियम हो । राष्ट्रिय टोली खेलाडीका लागि गौरव र क्लबहरू फुटबल व्यवसाय ।
अहिलेका चर्चित स्ट्राइकर हुन्, विमल घर्तीमगर । अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका उत्पादन उनको प्रदर्शन क्षमतालाई लिएर नेपाली मेसी र रोनाल्डोको उपमासमेत दिइने गरेको छ ।

पछिल्लो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपाली फुटबलले हात पारेको सफलतामा विमलको योगदान पनि उल्लेख्य छ । वर्ष दिनयता अन्तर्राष्ट्रिय फुटबलमा पाएको मुख्य तीन सफलता बंगबन्धु गोल्ड कप, १२ औं दक्षिण एसियाली खेलकुद (साग) र एएफसी सोलिडारिटी कपमा उनी रोजाइका खेलाडी हुन् । १९ वर्षे यी स्ट्राइकरलाई मन पराउने देशभित्र र बाहिर ठूलो जमात छ । उनको खेल्ने शैलीमा धेरै मोहित छन् । खेल र क्लब छनोटको दृष्टिबाट भने उनको फुटबल भविष्यबारे चिन्ता व्यक्त हुन थालेको छ ।

उनी एक वर्षअघि भारतमा सम्पन्न १२ औं सागका क्रममा दायाँ खुट्टाको चोटका कारण बेल्जियममा उपचार गरेर स्वदेश फर्किए । बेल्जियममै करिअर बनाउने उनको सोच भने परिवारिक दुःखद् घटनाका कारण पूरा हुन पाएन । गत जेठमा स्वदेश फर्किएपछि विमल अन्तर्राष्ट्रिय सहभागिताबाहेक स्वदेशी सानातिना गोल्डकपमा रम्दै आएका छन् । जस्तो : थ्रीस्टारबाट पोखरामा गोल्डकप खेले । त्यसलगत्तै त्रिभुवन आर्मी क्लबबाट सिमरा गोल्डकप, मनाङ–मस्र्याङ्दीबाट धुलाबारी गोल्डकप, नेपाल पुलिस क्लबबाट विराट गोल्डकप र झापाकै चर्च ब्वाइज युनाइटेडबाट शरणार्थी गोल्डकप खेले ।

सातौं राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चल क्षेत्रबाट प्रतिस्पर्धा गरे । हाल रूपन्देही ११ बाट सुरुङ्गा गोल्डकप खेलिरहेका छन् । त्यसपछि कुन टोलीबाट खेल्छन् वा खेल्दैछन् कसैलाई पत्तो छैन । दुई वर्षअघि सुदूरपश्चिमबाट राष्ट्रिय लिग खेलेका विमल अहिले कुनै पनि घरेलु क्लबमा आबद्ध छैनन् ।राष्ट्रिय टोली बाहिरका खेलाडीको अवस्था झनै नाजुक देखिन्छ । अघिल्लो दिनभर झापाको मैदानमा देखिएको खेलाडी भोलिपल्ट दिउँसो पोखरा रंगशालामा खेलिरहेको भेटिन्छ ।

राष्ट्रिय टोलीमा सम्भावना बोकेका झापाका चर्चित स्ट्राइकर कर्ण लिम्बू पनि त्यसका उदाहरण हुन्, जसले पछिल्लो साता मात्र चार वटा टोलीबाट छुट्टाछुट्टै प्रतियोगितामा सहभागिता जनाए । सातौं राष्ट्रिय खेलकुदमा पूर्वाञ्चलबाट खेलेका कर्णले शनिबार झापा ११ टोलीबाट काँकडभिट्टा गोल्ड कप खेले । आइतबार बिर्तामोड युनाइटेडबाट फिदिममा फाल्गुनन्द गोल्डकप खेलेका उनी मंगलबार फेरि मेची फुटबल क्लबबाट मिलनमोड गोल्डकप खेल्न सिलीगुडी पुगेका थिए ।

रात्रि बसमा यात्रा गर्दै पूर्व–पश्चिममा हुने स्थानीय फुटबलमा रम्दा खेलाडीले आफ्नो स्तर र स्वास्थ्य गुमेको पत्तो पाउँदैनन् । जहाँ, जसले बोलायो, उसकै टोलीबाट खेल्नु आफूहरूको बाध्यता भएको कर्ण बताउँछन् । ‘यो महँगीमा फुटबलर मात्र भएर बाँच्न गाह्रो छ । त्यसमाथि परिवार पनि त पाल्नुपर्‍याे,’ उनी भन्छन् । घरेलु लिगका चर्चित कर्णले पछिल्लो समय मच्छिन्द्र र झापा ११ बाट खेले । एन्फाले नियमिति लिग सञ्चालन नगर्ने र खेलाडीले क्लबमा अनुबन्धन हुने अवसर नपाउने हो भने हरेक खेलाडीको अवस्था ‘खेप हान्दैमा’ बित्ने उनको निस्कर्ष छ ।

‘हामीलाई दिनैपिच्छे क्लब परिवर्तन गर्ने रहर थिएन । राम्रो क्लबबाट फुटबल खेलौं र राष्ट्रिय टोलीमा परौं भन्ने चाहना सबैलाई हुन्छ । अनियन्त्रित रूपमा खेल्दा स्वास्थ्य बिग्रिन्छ भन्ने थाहा छ । तर, नखेली सुख छैन,’ उनले प्रष्ट्याए । अधिकांश राष्ट्रिय खेलाडीको अवस्था त्यसभन्दा फरक छैन । हरेक देशको फुटबल विकासको आधार घरेलु लिग नै हो । तर, नेपालमा लिग अनियमित रह“दा फुटबलको अवस्था दयनीय देखिन्छ । फुटबल विश्लेषक तथा एन्फाका विकास अधिकृत सञ्जीव मिश्र नेपाली खेलाडीमा व्यावसायिक चेतनाको कमी देख्छन् ।

‘विमलजस्ता खेलाडीको आफ्नै ब्रान्ड छ । त्यसमाथि अन्तर्राष्ट्रिय स्तरको खेलाडीले कुन स्तरको खेल खेल्ने र नखेल्ने भन्ने विषयमा निक्र्योल गर्न आवश्यक छ,’ उनी भन्छन्, ‘राष्ट्रिय स्तरको खेलाडीले खेप फुटबलमा ध्यान दिँदा उसको खेल्ने क्षमता कमजोर बन्ने मात्र होइन, इनर्जी कम हुने र छोटो समयमै खेलबाट सन्यास लिनुपर्ने अवस्था आउँछ ।’ उनका अनुसार राम्रा खेलाडीले टोल कपमा खेल्दा दर्शकलाई समेत अन्याय हुन्छ । ‘राम्रो खेलाडी कुन क्लबबाट खेल्यो भन्ने चर्चा हुनु स्वाभाविकै हो ।

दिनैपिच्छे क्लब परिवर्तन गर्ने रहर थिएन। राम्रो क्लबबाट फुटबल खेलौं र राष्ट्रिय टोलीमा परौं भन्ने चाहना सबैलाई हुन्छ। अनियन्त्रित रूपमा खेल्दा स्वास्थ्य बिग्रिन्छ भन्ने थाहा छ। तर, नखेली सुख छैन। कर्ण लिम्बू ,स्ट्राइकर, झापा

तर, आज राम्रो क्लबबाट खेलेको खेलाडीलाई भोलि नामै नसुनेको क्लबबाट खेलिरहेको देख्दा दर्शकमा समेत खिन्नता छाउँछ र खेलाडीको विश्वसनियता गुम्छ,’ मिश्र भन्छन् । नियमनकारी निकायले फुटबल खेलाडीप्रति ध्यान दिन नसक्दा विकराल अवस्था सिर्जना भएको राष्ट्रिय टोलीका पूर्वसहायक प्रशिक्षक मेघराज केसी बताउँछन् । लिग नियमित नहुँदा सयौं खेलाडीको रोजिरोटी गुमेको छ । क्लब फुटबलको अवस्थासमेत धराशायी बन्दै गएको छ । ‘जहाँ पायो त्यहीँ खेल्नु र विदेश पलायनको विकल्प रोज्नु खेलाडीको बाध्यता बन्न थालेको छ,’ केसी भन्छन् ।

नेपालमा विभागीय टोलीबाहेक ४० देखि ५० जना मात्र राम्रा फुटबल खेलाडी छन् । त्यसमाथि सबैको आर्थिक अवस्था राम्रो छैन । घर चलाउन र दैनिक खर्चको जोहो गर्न पनि जस्तो भए पनि खेल्नुपर्ने अवस्था छ । ‘लिग नियमित भए र खेलाडी अनुबन्धनको अवस्था आए समस्या आफैं हराएर जान्छ,’ केसीको टिप्पणी छ । राष्ट्रिय टोलीका रक्षक रोहित चन्द पनि नेपालमा लिग फुटबलको अवस्था राम्रो नहुँदा खेलाडीका लागि गाह्रो भएको बताउँछन् । ‘एउटा खेलाडीलाई आर्थिक हिसाबले चल्नका लागि गाह्रो छ ।लिग नहुने र क्लबहरूले खेलाडी अनुबन्ध नगर्दा जे भेटिन्छ, त्यही प्रतियोगिता खेल्नुको विकल्प छैन,’ चन्द भन्छन् । 

लिग हुने आश्वासन
नेपालमा ०११ सालदेखि सञ्चालन हुन थालेको सहिद स्मारक लिग विभिन्न समयमा आ–आफ्नै कारण रोकिँदै गएको छ । बर्सेनि हुनुपर्ने लिगले भर्खर मात्र ४२ औं संस्करण पार गरेको छ । फुटबलको विकासमा लिगलाई नियमित गराउने उद्देश्यले सरकारले मात्र एन्फालाई बर्सेनि ६० लाख रुपैयाँ सहयोग गर्दै आएको छ । एन्फाले ०७० देखि लिग सञ्चालन गर्न सकेको छैन । दुई वर्षपछि गत कात्तिक र मंसिरमा सञ्चालन गर्ने पनि नबताएको होइन । तर, पुस बित्न लाग्दासमेत लिग सञ्चालन हुने आश्वासन दिन एन्फाले छाडेको छैन ।

लिगलाई निरन्तरता दिने हिसाबले तयारी भइरहेको एन्फाका प्रवक्ता इन्द्रमान तुलाधरको दाबी छ । ‘राष्ट्रिय लिगलाई दीर्घकालीन रूपमा अगाडि बढाउन ढाँचामा पनि क्लबहरूसँग बृहत् छलफल भइरहेको छ । एन्फाले क्लबलाई ‘ए’ डिभिजनको हैसियत र मान्यता दिँदा यस वर्षदेखि क्लबको स्तर निर्धारण प्रणाली लागु गर्ने विषयमा पनि छलफल भइरहेको छ । लिग तय भएपछि खेलाडी अनुबन्धनको समस्या पनि हल हुनेछ,’ तुलाधर भन्छन् । एन्फा अहिले सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने कि राष्ट्रिय लिग आयोजन गर्ने भन्ने दोधारमै छ ।

एन्फाले विगतमा सञ्चालन गर्दै आएको सहिद स्मारक ‘ए’ डिभिजन लिगलाई ०६८ मा पहिलोपटक राष्ट्रिय लिगको रूपमा आयोजना गरेको थियो । त्यसपछि पुनः सहिद स्मारक लिगको दुई संस्करण पूरा भएकामा ०७१ सालमा आएर काठमाडौं बाहिरका झापा, मोरङ, रूपन्देही र सुदूरपश्चिमको कैलालीलाई समावेश गरी राष्ट्रिय लिग सञ्चालन गरेको थियो ।

पहिलोपटक ‘होम एन्ड अवे’को अवधारणामा खेलाइएको राष्ट्रिय लिगमा जिल्लाका चारसहित काठमाडौंको थ्रीस्टार, मनाङ–मस्र्याङ्दी, त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गरेका थिए । राष्ट्रिय लिगको उपाधि थ्रीस्टारले जितेको थियो । एन्फा नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाएका कारण ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स, सरस्वती, मच्छिन्द्र र हिमालयन शेर्पालाई कारबाही गर्दै सहभागिताबाट वञ्चित गरिएको थियो । अर्को ‘ए’ डिभिजन क्लब संकटाले भने आर्थिक कारण देखाउँदै राष्ट्रिय लिग नखेल्ने निर्णय लिएको थियो ।

क्लबहरूको भेला
नेपाली फुटबलको विकास र ‘ए’ डिभिजन लिग सञ्चालनका विषयमा सामूहिक प्रयास थाल्ने भन्दै एक साताअघि मात्र ‘ए’ डिभिजन क्लबहरूले ‘नेपाल क्लब फुटबल समिति’ गठन गर्ने सहमत जनाएका छन् । जावलाखेल युथ क्लबको पहलमा क्लबका पदाधिकारीहरूको भेलाले समिति गठनको अनौपचारिक सहमति जुटाएको हो । क्लबका अध्यक्ष ठूलोभाइ केसीको संयोजकत्वमा गठित तदर्थ समितिले एन्फाको स्वीकृतिपछि औपचारिकता पाउनेछ ।

नौ वटा ए डिभिजन क्लबको भेलाले राष्ट्रिय लिग सञ्चालन गर्न, अधिकांश क्लबहरू खेलाडीविहिन रहेकाले खेलाडी जुटाएर लिग खेलाउने, लिगका तयारीका लागि एन्फाले क्लबलाई २५ लाख रुपैयाँ उपलब्ध गराउनुपर्नेलगायत माग अगाडि सारेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.