माघी : मिलन कि फुट ?

माघी : मिलन कि फुट ?

थारू तथा मगर समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । यसलाई मिलनको चाडका रूपमा पनि लिइन्छ । ०५९ सालमा सरकारले थारू कर्मचारीलाई विदा दिने निर्णय गरेपछि सोही वर्षदेखि थारू समुदायले काठमाडौंमा माघी महोत्सवका रूपमा मनाउन थालेका हुन् । ०६४ सालबाट भने सार्वजनिक विदा दिन शुरु गरिएको थियो ।

तर, गत वर्षदेखि दुई ठाउँमा थारू माघी महोत्सव मनाइँदैछ । यसले थारू माघी मिलनको चाड फुटको चाडका रूपमा परिभाषित हुन थालेको छ । थारू कल्याणकारिणी सभा काठमाडौं उपत्यका समितिको आयोजनामा हरेक वर्ष थारू माघी महोत्सव मनाइन्छ । तर, महोत्सवमा आर्थिक पारदर्शितालगायत कारण देखाएर थारू विद्यार्थी समाजको नेतृत्वमा गत वर्षदेखि काठमाडौंमा छुट्टै महोत्सव मनाउन थालिएको छ ।

फुट किन ?

१ माघ ०७० मा मनाइएको माघी महोत्सवमा आयोजकले करिब ११ लाख खर्च गरेका छन्, जसमा सरकारबाट साढे पाँच लाख तथा प्रवेश शुल्कबाट साढे चार लाख प्राप्त भएको देखाइएको छ । अन्य दाताबाट समेत सहयोग प्राप्त गरी साढे १३ लाख जम्मा गरिएकामा खर्च कटाएर करिब अढाई लाख बचत भएको बताइएको छ । थारू विद्यार्थी समाजका पदाधिकारीहरूको भनाइमा विगत ४/५ वर्षदेखि खर्च मनोमानी ढंगले भएको छ । सभाले माघी महोत्सव मनाउन हरेक वर्ष सरदर १० लाख खर्च गरेको देखियो । गएको वर्ष विद्यार्थी समाजले कार्यक्रमको समीक्षामा अपारदर्शी खर्चको चर्को विरोध गर्दै छुट्टै माघी महोत्सव मनाएपछि कल्याणकारी सभाले करिब सात लाखमा खर्च झार्‍यो ।

‘हरेक वर्ष बचत भएको पाँच लाख कहाँ गयो ? यसको उत्तर सभाको उपत्यका समितिले दिनुपर्छ कि पर्दैन ?’ विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरी भन्छन्, ‘राजधानीमा माघी महोत्सव दुई ठाउँमा गरेर केही बिग्रिन्छजस्तो मलाई लाग्दैन । किनकि, यो सांस्कृतिक महोत्सव हो, आन्दोलन होइन । आफूले खर्च पारदर्शी विवरण नगर्ने तर सांस्कृतिक महोत्सवमा फुट ल्याइयो भनेर हल्ला फिँजाउनुको कुनै तुक छैन ।’ विद्यार्थी समाजले व्यापक दबाब दिएपछि यस वर्ष थाकसले माघी महोत्सवको छुट्टै खाता खोलेको छ ।

साथै, सबै कारोबार चेकबाट गर्ने निर्णय गरेको छ । यसरी पारदर्शिताको शुरुवात गरेपछि पनि विद्यार्थी समाजले कल्याणकारी सभासँग सहकार्य नगरेर यस वर्ष पनि छुट्टै महोत्सव मनाउँदैछ । दुवै आयोजकले टुँडिखेलमै कार्यक्रम गर्दैछन् ।सभाको उपत्यका समितिका अध्यक्ष तथा माघी महोत्सवका संयोजक सुमन चौधरी थारू विद्यार्थी समाजका पदाधिकारीहरूले राजनीतिक घूसपैठ गरेर माघी महोत्सव फुटाएको आरोप लगाउँछन् । भन्छन्, ‘सभा विशुद्घ समाजिक संस्था हो, जसमा विद्यार्थी साथीहरूले राजनीति गर्न खोजेका छन् ।

माघी महोत्सव दुई ठाउँमा भएकाले हामीलाई पनि नमज्जा लागेकै हो । हामीले स–सानो खर्चको पनि हिसाब राखेका छौँ । मिलाउन सक्दो प्रयास गरेकै हो । हामीलाई दोषी भन्न मिल्दैन ।’माघी महोत्सवमा फुटको कारण राजनीतिसँग पनि जोडिएको छ । सभाले हरेक वर्ष प्रधानमन्त्रीलाई महोत्सवमा प्रमुख अतिथिका रूपमा डाक्ने गरेको छ । गत वर्ष सभाले प्रधानमन्त्री केपी ओलीलाई प्रमुख अतिथिका रूपमा डाक्दा विद्यार्थी समाजका पदाधिकारीहरूले स्वीकारेनन् । उनीहरूले ओलीलाई थारू विरोधीको आरोप लगाउँदै अतिथि स्वीकार्न नसकिने बताए ।

2

अन्ततः सभाले दशरथ रंगशालामा मनाएको माघी महोत्सवमा ओली प्रमुख अतिथि बनाइए भने विद्यार्थी समाजले खुलामञ्चमा मनाएको महोत्सवमा पूर्वप्रम डा. बाबुराम भट्टराई । यस वर्ष विद्यार्थी समाजले आफ्नो अडान बदल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथि रहेको प्रचार गरेको थियो । तर, दाहालको व्यस्ततापछि सभामुख ओनसरी घर्ती प्रमुख अतिथि बनाइएकी छन् । सभाका एक पदाधिकारी भन्छन्, ‘गत वर्ष प्रधानमन्त्री प्रमुख अतिथि हुनुहुन्न भन्ने अडान राख्ने विद्यार्थी समाजले यस वर्ष प्रमुख अतिथिमा आफैं किन नाम अगाडि सार्‍यो ? यसमा राजनीतिक गन्ध आउँछ ।’

कल्याणकारी सभाको केन्द्रीय समितिले माघीको पूर्वसन्ध्यामा थारू विद्यार्थी सभा गठन गरेको छ । थारू विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चौधरी भन्छन्, ‘राजनीतिक गन्ध हामीमा होइन, सभाको गतिविधिमा देखिन्छ । विद्यार्थी संगठनमा फुट ल्याउन आफ्ना आसेपासेहरूलाई उचाल्दै नयाँ विद्यार्थी संगठन निर्माण गरिएको छ । सभाका पदाधिकारीले थारू विद्यार्थीहरूलाई जोड्नुभन्दा पनि फुटाउँदै आफ्नो स्वार्थका लागि प्रयोग गर्न तल्लीन छन् ।’

Maghi foto chandra

हरेक वर्ष बचत भएको पाँच लाख कहाँ गयो ? यसको उत्तार थारू कल्याणकारी सभाको उपत्यका समितिले दिनुपर्छ कि पर्दैन ? चन्द्रप्रसाद चौधरी ,अध्यक्ष, थारू विद्यार्थी समाज

महोत्सवको शुरुको वर्ष ०५९ सालमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आतिथ्यता गरेका थिए । चन्दको मन्त्रिमण्डलमा विज्ञान तथा वातावरण सहायक मन्त्री रहेका गोपाल दहितले थारू माघीलाई सरकारबाट पहिचान दिलाउन निकै दौडधूप गरेका थिए । भन्छन्, ‘अहिले सरकारले माघीलगायत अन्य जातजातिको मुख्य चाड मनाउन केही रकम पनि छुट्याउन थाले र सराहनीय काम गरेको छ ।

तर, सांस्कृतिक पहिचान जोगाउँदै एकै थलोमा शुभकामना साटासाट गर्न छाडेर फुटेको देख्दा साहै् दुःख लागेको छ ।’ गत वर्ष एकै थलोमा माघी महोत्सव मनाइनुपर्ने भनेर थारू पत्रकार संघले मध्यस्तता गरेको थियो ।तर, विद्यार्थी र युवाले सभाको कार्यालय नटेक्ने बताए । उता, सभाका पदाधिकारीले अन्त बैठक नगर्ने अडान लिएपछि सहमति हुन सकेन । यस वर्ष मध्यस्थताको प्रयास गरेका समाद एफएमका अध्यक्ष सियाराम चौधरीको बुझाइमा जुँगाको लडाइँले महोत्सवमा फुट आएको हो ।

माघी र मदिरा

माघी र मदिरा एकअर्काको पर्याय लाग्छन् । त्यसो त, माघी मात्रै होइन, शेर्पा, तामाङ, लिम्बू, राईलगायतका ल्होसार, उधौली, उभौलीमा पनि मदिराको नै छेलोखेलो हुन्छ । माघी महोत्सव भनिए पनि एक दिनको तामझाममा सकिन्छ, यसबारे गहन छलफल, गोष्ठी, अन्तक्र्रियाको आयोजना सभाले गर्न सकेको छैन । यस वर्ष पनि यही अनौपचारिकता दोहोरिँदै छ ।

विद्यार्थी समाजले भने २९ पुस र १ माघमा दुई दिन गरी यस वर्ष केही फरक ढंगले कार्यक्रम गर्दैछ, जसमा मोटरसाइकलर र्‍याली, जीता मर्नादेखि रक्तदानसम्मका कार्यक्रम छन् । साथै, सांस्कृतिक कार्यक्रमदेखि बौद्धिक बहससम्मका कार्यक्रम आयोजना गर्दैछ । सभाले महोत्सवका लागि सरकारबाट सहयोग प्राप्त गरे पनि विद्यार्थी समाज चन्दा संकलनमै भर परेको छ । विद्यार्थी समाजले रचनात्मक काम गरेरै माघी महोत्सवको संस्थापक सभालाई तह लगाउने योजना ल्याएको देखिन्छ । तर, त्यसले सतहमा फुटको अवस्था देखाएको छ ।

के हो माघी ?

माघे संक्रान्तिलाई थारू समुदाय माघीको रूपमा मनाउने गर्छन् । माघीलाई थारूहरू नयाँ वर्षका रूपमा मनाइने भएकाले यो थारू समुदायका लागि सबैभन्दा ठूलो चाड हो । वर्षभरिको आय–व्ययको जानकारी दिने र नियम बाँध्ने चाडका रूपमा माघीलाई दिइन्छ । माघीमा भाइ–भाइबीच घर छुट्टिने चलन पनि छ । माघीलाई साता दिनसम्म जाँड–रक्सी, लामो ढिक्री र मासुका साथ धुमधामसँग मनाइन्छ ।

पुस मसान्तमा सुँगुर काटेर मासु खाई १ माघ बिहानै नदीमा नुहाउन जाने प्रचलन छ । नुहाएर आएपछि घरमा छुट्याएर राखिएको एउटा भागको चामल, दाल र नुन छोएर बुवा–आमाका साथै आफूभन्दा ठूलासँग ढोग र आशिष लिइन्छ । यसरी आशिष लिएमा वर्षदिनको पाप हटेर जाने मान्यता छ । पुसको अन्तिम रात हरेक घरमा ढिक्री (चामलको पीठो मुछेर बनाएको परिकार) बनाउने चलन छ । १ माघमा ढिक्री, माछा, मासुलगायत विभिन्न थरीका तरकारी, अचार र रक्सी खाएर माघी दिवानी मनाउने प्रचलन छ । त्यसको भोलिपल्ट ‘खिचरी’ खाने चलन छ, जसलाई ‘खिचरहवा’ भनिन्छ ।

खिचरीको दिनमै खेतपाती, कमैया, ग्वाला, घाँसकटुवा, कमलरी आदिको चाँजोपाँजो मिलाउने गरिन्छ । २ साउन ०५७ देखि कमैया प्रथा प्रतिबन्धित भएको छ । माघको पहिलो साताभित्रै गाउँको गरढुरियाहरूको कचहरी हुन्छ, जसमा सबै जनालाई आफ्नो मनमा लागेका, वर्षभरि गाउँमा गरिएका राम्रा/नराम्रा कामको समीक्षा गरिन्छ ।

कचहरीमा गाउँका अगुवा महटाँवाले वर्षदिनको आय–व्यय सुनाउँछन् र कसैले उठाएको सवालको सामूहिक छलफल गरी निष्कर्षमा पुग्ने गरिन्छ । सोही बैठकमा सबैको सर्वसम्मतिमा आगामी वर्षका लागि गाउँका अगुवा, अघरिया र चौकिदार चुनिन्छन् । बैठकले गाउँमा दण्ड–सजायको नियम पनि पारित गर्छ । गाउँलेले बनाएको नियम पहिले मौखिकमा सीमित हुने गरेकामा अब लिखित हुन थालेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.