'फोक्सकोन'को कामदार कवि

'फोक्सकोन'को कामदार कवि

'एउटा पेच भुइँमा झर्‍यो
ओभरटाइमको यस गहिरो रातमा
सीधै तल झर्‍यो, हल्का आवाज गर्दै
तर यसले कसैको ध्यान तानेन
ठ्याक्कै, अघिल्लो पटकझैं
यस्तै एक रात
जब कुनै एकजना माथिबाट खसेको थियो ।'

यस छोटो कवितामा फुस्किएको पेचको विम्बमा काम गरिरहेको बेला कुनै एक रात यसरी नै एउटा कामदार माथिबाट अचानक झरेर मरेको प्रसंग आएको छ । एउटा पेचले तल खस्दा निकाल्ने आवाज र एउटा मूल्यहीन मजदुरको आवाजहीन मृत्यु, दुवैले कसैको ध्यान आकर्षित गर्दैनन् । तर, यो कविता लेख्ने २४ वर्षीय चिनियाँ युवा कवि झु लिझीका कविताको स्वर भने ठूलो छ । उनी प्रायः कवितामा यस्तै विषयवस्तु उल्लेख गर्छन् । यस्तै घटना र प्रसंगहरूले तानिरहेको हुन्छ उनको कवि मनलाई ।

लिझी आफैं पनि 'फोक्सकोन' कम्पनीका कामदार हुन् । संसारमै नाम चलेको यो कम्पनीले इलेक्ट्रोनिक्स सामान बनाउँछ । 'आइफोन' निर्माताका रूपमा प्रख्यात छ यो कम्पनी । लिझी एसेम्बली लाइनमा काम गर्छन् त्यहाँ । धेरै मेहनतको छ काम । दिनभरिको लामो ड्युटी र एकोहोरो खटाइले थकित बनाउँछ मन र मस्तिष्क दुवैलाई । त्यो व्यस्तता र थकानको चापमा पनि फुर्सद निकालेर आफूजस्तै कामदारका दुःखव्यथा कवितामा पोख्न भ्याउँछन् उनी ।

झु लिझीको गाउँ जियाङ दक्षिणी चीनमा गुवाङदोङमा पर्छ । तीन दाजुभाइमा उनी कान्छा हुन् । परिवार पूर्ण रूपले कृषिमा आश्रित छ र आर्थिक अवस्था सन्तोषजनक छैन । हाइस्कुल उत्तीर्ण गरेपछि उच्च शिक्षाको सपनाको एउटा ठूलो आकाश फैलिएको थियो उनको दिमागैभरि । युनिभर्सिटीमा भर्ना भएर पढाइमा राम्रो गर्ने चाहना थियो । गाउँका अन्य युवाजस्तै पढाइलाई बीचमा छोडेर पैसा कमाउनेतिर लाग्ने कुनै योजना थिएन । सदियौंदेखि त्यो गाउँबाट युवाहरू दक्षिण्तिर गएर दक्षिणपूर्वी एसियाको बन्दरगाहतिर सस्तो मजदुरी गर्थे वा जीविकोपार्जनका निम्ति सिमाना नाघेर हङकङ पुग्थे ।

लिझीको पहिलो रोजाइमा भने किताब नै पर्थे । तर, उनले युनिभर्सिटीमा भर्नाका लागि राष्ट्रिय स्तरको प्रवेश परीक्षामा राम्रो गर्न सकेनन् । एकातिर घरको कमजोर आर्थिक अवस्था, अर्कातिर पढ्ने ठूलो रहरबीच पिल्सिए उनी । परिवारले सामना गरिरहेको अभावको खाडलबाट उम्कन पनि उनले पढाइको सपना त्याग्नु पर्‍यो । अन्ततः जीवनलाई नयाँ मोडमा डोर्‍याउँदै सन् २०११ मा दक्षिणी सहर सेनझेन पुगे साथीहरूको हूलमा मिसिँदै ।

सुरुमा उनलाई लागेको थियो, यो सहरले उनको सपना साकार पार्नेछ । विकासको क्रममा 'सेनझेन'को रूपरंग माछा व्यवसायमा आश्रित एउटा सानो बजारबाट ठूलो औद्योगिक सहरमा परिवर्तित भइसकेको थियो । अग्लाअग्ला बिल्डिङहरू, ठूलाठूला सपिङ-मल र अनेक ठाउँबाट सुन्दर भविष्यको चाहनामा आइपुगेका मानिसहरूले यस ठाउँको सम्पन्नताको कहानी भन्दैथियो । यो सहरसित धेरै थोक थिए यहाँ आउने मानिसलाई दिन । लिझीको पनि आफ्नो मनभरिको सपना पछ्याउने यात्राको पहिलो खुड्किलो बन्न गयो यही सहरमा अवस्थित फोक्सकोन कम्पनीको एसेम्बेली लाइनको जागिर ।

एसेम्बेली लाइनमा निकै लामोलामो घन्टासम्म उभिएर काम गर्नुपथ्र्यो । थकानले तनमन गल्थ्यो । विस्तारै त्यहाँको बेरस वातावरणले निराशाको रासमात्रै थुपार्दै गयो उसको मनमा । कम तलब र कष्टप्रद निजी समस्याहरूको पहाडले घाउमा नुनमात्रै छर्दै थियो । कामको एकोहोरो पेलानले एउटा सिर्जनात्मक दिमागलाई पलपल मार्दै थियो । उनलाई त्यहाँको व्यस्त दिनचर्या र आफ्ना असफल रहरहरूले जिस्क्याइरहेझैं लागिरहन्थ्यो ।

जीवन उजाड मरुभूमि प्रतीत भइरहेको थियो । आफ्नो सानो कोठा काठको बाकसझैं लाग्न थालेको थियो । जहाँ उनी निस्सासिइरहेका थिए दिनप्रतिदिन । हरेक बिहान कोठादेखि फ्याक्ट्री र बेलुका फ्याक्ट्रीबाट आफ्नो कोठासम्म तन्किएको यात्रामा नै जीवन सीमित हुन गएको थियो । यसरी बाँच्नुको नाममा एक मृत जीवन लतारिरहेकाझैं लाग्न थालेको थियो उनलाई । त्यही अनुभूति उतारे उनले कवितामाः

'लगभग दस वर्ग मिटरको ठाउँ
साँघुरो, ओसिएको,
घाम लाग्दैन सालभरि
यहाँ-म खान्छु, सुत्छु,
दिसापिसाब गर्छु र सोच्छु
खोकी, टाउको दुखाइ, बूढो हुन्छु,
बिमार पर्छु तर मर्न सकेको छैन अझै
मधुरो पहेँलो प्रकाशमा फेरि म शून्यतामा ताक्छु,
एउटा बेवकुफझैं हाँस्दै
म ओहोरदोहोर गर्छु,
सानो स्वरमा गाउँछु, पढ्छु, कविता कोर्छु
हरेक पटक,
जब म झ्याल वा बाँसको गेट खोल्छु
म एउटा मृत मान्छेजस्तो देखिन्छु
विस्तारै आफ्नो कफिनको ढोका खोलिरहेझैं ।'

यही दैनिकीको माकुरी जालमा अल्झिँदै लगभग तीन सालको समय बिताए उनले यस कम्पनीमा । उनलाई दिनदिनै आफ्नो जीवन असफलतामुनि पुरिँदै गइरहेझैं लाग्दै थियो । शब्दहरूसित खेल्ने उनको चाहना कुजिँदै थियो । उनी शब्द र सिर्जनाको संसारमा रमाउन चाहन्थे तर दैनिक जीवनले उनलाई यी सबबाट टाढा राखिरहेको थियो । उनलाई त अध्ययन र लेखनमा चाख थियो । ठूलाठूला पुस्तकालय र बजारमा देखिने किताबहरूले सजिएका बुकस्टोरले उनको कवि मन तानिरहन्थे । काम गर्ने कम्पनीभित्रै एउटा आन्तरिक पुस्तकालय थियो ।

पुस्तकप्रतिको लगावले गर्दा लाइब्रेरियनको पदमा काम गर्ने एउटा सपना थियो । त्यस पदका लागि निवेदन पनि दिए तर दुर्भाग्यवश त्यो जागिर पाएनन् । यस असफलताले पनि उनलाई आंशिक रूपमा दुःखी बनायो ।
शब्दसित उठबस गर्ने उनको चाहना, मेसिनको बेजान भीडमा हराइरहेको थियो । उनी त्यहाँबाट फुत्कन चाहन्थे । यसै मेसोमा उनले एसेम्बली लाइनबाट लजिस्टिक डिपार्टमेन्टमा सरुवा मिलाए । नयाँ ठाउँमा एकप्रकारको सजिलो थियो र काममा अलिक विविधता थपियो पनि । तर, यस नयाँ कामले पनि उनीभित्रको व्यग्रता दबाउन सकेन ।

लगातार निरस विचार र नकारात्मक साँच उनको मनमा खेलिरहन्थे । लिझीले आफू काम गर्ने कम्पनीको पत्रिका 'फोक्सकोन पिपुल'मा कविताहरू पठाउने गर्र्थे । सन् २०१२ देखि २०१४ सम्म उनका लगभग ३० कविता, निबन्ध, फ्लिम रिभ्युहरू त्यस पत्रिकामा छापिए । फ्याक्ट्रीको यथार्थ जीवन र कवितामा आउने कल्पना, फ्याक्ट्री जीवनबाहिर अर्को जीवन बाँच्नु समान थियो उनका लागि । उनका कविता र अन्य रचनामा फ्याक्ट्री मजदुरका कथाकहानी सलबलाइरहन्छन् । उनका कविताहरू मजदुरको दिल र दिमाग बनेर बोल्छन् र तिनैका कहानी सुनाउँछन् । यी कविताहरू कामदार वर्गको जीवनभित्र चियाउन सकिने झ्यालजस्ता थिए ।

आशा र निराशाबीच फेरि पेन्डुलम जीवन सुरु भयो । झु लिझीले सधैं एकान्त र उदासीको अँध्यारो कुनातिरबाट एउटा सुन्दर बिहानीको आगमनको आशा गरिरहे तर कदमकदममा जिन्दगीले धोखा दिइरह्यो ।

झु लिझी आफ्ना रचना परिवारका सदस्य र नातागोतालाई देखाउँदैन थिए । उनी आफ्नो दुःखबारे घरपरिवार र साथीहरूलाई कमै सुनाउने गर्थे । घरतिर फोन गर्दा पनि राम्रा कुरामात्रै सुनाउने बानी थियो उनको । उनले के लेख्थ्यो उनको घरपरिवारलाई केही थाहा थिएन । उनलाई लाग्थ्यो, उनका कविता परिवारजनले बुझ्दैनन् । उनी अन्तरमुखी र शान्त प्रवृत्तिका थिए । एक्लै बाटो छेउछाउतिर टहलिरहन्थ्यो । उसको आफ्नो दुःखपीडा कवितामार्फत नै पोख्ने गथ्र्यो ।

सन् २०१४ को फेब्रुअरीतिर उनले परिवारलाई खबरै नगरी फोक्सकोनको जागिर छोडे । अनि आफ्नी प्रेमिका भएको ठाउँ सुझाउ गए । त्यहाँ गएर जीवनलाई नयाँ शिराबाट सुरु गर्न चाहन्थे । तर, नयाँ ठाउँले पनि उनको रंगहीन जीवनमा खासै रंग थप्न सकेन । त्यहाँ पनि उनलाई जागिर पाउन गाह्रो भयो । सोचेजस्तो केही भएन । पैसाको अभाव हुन थाल्यो । एकमात्र आशा रहेकी प्रेमिकासित पनि ब्रेकअप भयो ।

सारा कटु अनुभव बोकेर लगभग छ÷सात महिनापछि सेप्टेम्बर २९ मा उनी फेरि सेनझेन फर्किए । मनभरि निराशा र अनुहारमा उदासी पोतेर उनी फेरि पुरानै वर्कसपमा फर्किए ।

आशा र निराशाबीच फेरि पेन्डुलम जीवन सुरु भयो । उनले सधैं एकान्त र उदासीको अँध्यारो कुनातिरबाट एउटा सुन्दर बिहानीको आगमनको आशा गरिरहे । तर, कदमकदममा जिन्दगीले धोखा दिइरह्यो । जागिर र प्रेम दुवैमा असफल भएको महसुस गर्न थाले उनले । सम्भावनाका ग्राफ विस्तारै शून्यमा झरिरहेका थिए । प्रायः लिझीको मनमा चलिरहेको आँधीहुरी कवितामा प्रकट भइरहन्थे । कठोर जीवन, लगातारको संघर्ष र प्रेमिकासितको ब्रेकअपले उनी एकदम निराश र टुटिसकेका थिए । असफलताले उनलाई झन् एकान्तप्रिय बनाइरहेको थियो । कविताहरूमा चिसो जीवनको गन्ध आउन थालेको थियो ।

कवितामा उनले निराशा पोख्न थालेका थिए-
'म आकाश छुन चाहन्छु,
त्यो हलका नीलोपन अनुभव गर्न चाहन्छु
तर म यी केही गर्न सक्दिनँ,
यसकारण म यो संसार छोड्दैछु
प्रत्येक जसले मेरो बारेमा सुनेको छ
मेरो बिदाइमा आश्चर्य मान्नु पर्दैन
कसैले थोरै पनि शोक पोख्न जरुरी छैन
म आउँदा नि खुसी थिएँ
र जाँदा पनि खुसी नै छु ।'

निराश, दिक्दार पीडित लिझिले सेनझेन फर्किएको दुई दिनपछि, अक्टुबर १ मा चीनको राष्ट्रिय दिवसको बिदाअघि होस्टलको १७औैं तलामाथिबाट हाम्फालेर आत्महत्या गरे । आत्महत्याको अघिल्लो रात उनले आफ्नो मित्र झेङलाई अनलाइन च्याटमा लेखेका थिए, 'एकजनाले मेरो लागि नयाँ काम खोजिदिएको छ । सायद म फोक्सकोन चाँडै छोड्छु होला ।'

उनको आत्महत्याको खबर जंगलमा सल्केको डढेलोझैं फोक्सकोनमा सनसनी मच्चाउँदै फैलियो । हुन त फोक्सकोनमा आत्महत्याको त्यो पहिलो घटना थिएन । त्यहाँ बेलाबेलामा आत्महत्याका घटना घटिरहन्थे । तर लिझीको आत्महत्याले मिडियामा पाएको कभरेजले फोक्सकोनको व्यवस्थापनलाई समाधानतिर लाग्न बाध्य बनायो । यसको समाधानका लागि होस्टेलका झ्यालहरूमा तारबार गरियो । फ्याक्ट्रीमा पनि थुप्रै सुधार गरिए ।

यसरी एक कविको आत्महत्याले धेरैको संवेदना जित्यो । लिझीको मृत्युपछि साथीहरूले उनका कविताहरू अनुवाद गरेर अनलाइन र स्थानीय पत्रिकातिर छपाए । यी कविताहरू अन्य भाषामा पनि अनुवाद हुँदै संसारभरि पुगे ।

एक प्रतिभाशाली कवि जसको कलमले थुप्रैलाई जीवनको गोरेटो देखाउन बाँकी नै थियो, ऊ आफैं बाटो बिराएर गयो । असफलताहरूमाथि टेक्दै एक सुखद र सफल भविष्यको संसारमा पुग्न बाँकी नै थियो उसले । आफ्ना कविता र सिर्जनाले समाजलाई उज्यालो बनाउनुअघि ऊ आफैं अँध्यारो आकाशबाट एक ताराझैं बिलाएर गयो । लिझीको मृत्युमा श्रद्धाञ्जलिस्वरूप उनको साथी कवि झाउ क्विझाउले लेखे-

'अर्को पेच फुस्कियो
अर्को आप्रवासी कामदार भाइले हाम्फाल्यो ।
तिमी मेरो साटो मरेर गयौ
र म लेखिरहनेछु तिम्रो साटोमा ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.