अन्तहीन अन्त्यपछिको आरम्भ

अन्तहीन अन्त्यपछिको आरम्भ

कमल दीक्षित एक अन्त्यहीन नेपाली भाषा, वाङ्मयका अनन्य आस्थावान् अरहत जीवन ज्योति हुन् । नामैले कमल । पारिवारिक वंशका दीक्षित चेतना थिए उनी । अवसानपछिको शान बन्न पुगेका छन् उनी अहिले ! वैयक्तिक जीवनमा उनी एक पुरुष, एक व्यक्ति हुन् समाजका हामी जस्तै सबैसबै जस्तै । कमल दीक्षित एक व्यक्ति, एक पुरुषबाट अनेक व्यक्तित्व एक पौरुष बनेर दिवंगत बन्न पुगेछन् । अब हामी उनलाई उनकै सजीव कृतित्वमा मात्र भेट्न सक्छौं ।

उनीप्रति श्रद्धाञ्जलि समर्पण गर्दा यी शब्दहरू अन्धभक्तिभावका अभिव्यञ्जना बन्न सक्दो होला । हामी सबै मातृ गर्भभित्रैबाट साकार हुँदै, बढ्दै आएको जन्मजात प्राणी हौं । उनी पनि यस्तै हुन् । जीवन सबैका सार्वजनिक कमल नै हो । यस अर्थमा गर्भगृह सरोबर बन्छ । सरोबरको सतह सङ्लो पानीको मुखाकृति हो । सरोज/कमल सरोबरको पिँधमा डुबेका गर्भ गानुकै मुखरन बन्छ ।

व्यक्तिको वैयक्तिक स्वभाव सबैलाई समान तवरले रोचक बन्न नबन्न सक्छ । तर एक व्यक्तिले अनन्त व्यक्तिहरूका लागि गरेका लाभदायक सुकीर्तिले त्यसमा महक थप्छ । कमल दीक्षितले व्यक्तिगत रूपमा आरम्भ गरेका आफ्ना रुचि रागलाई नेपाली वाङ्मय अनुरागी, अध्ययता, अनुसन्धाताहरू सबैका हितमा परिणति दिई मदन पुस्तकालय स्थापना गर्नु कमलमणिका दीक्षित योगदान बन्न पुगेको छ । यसमै त कमलका मणि चम्कन्छ । यी शब्द सज्जाहरू उनको देहावसान पछिका मरणोपरान्त गाथा बनून्- श्रद्धाका सुमन !

श्रद्धासुमन, श्रद्धामा फुल्ने फूल-मनका बारी-मानव बगैंचा बीचका पुष्प गुच्छा ! शब्द गुच्छा सक्कली फूलझैं मगमगाउँदैन । शब्द गुच्छामा भाव तरंग सद्भाव श्रद्धा र महकिन्छ ती । भाषा अनुरागी, सेवी, नेपाली वाङ्मयका दृढ संकल्पित दीक्षित आफ्नै मनका तरंगहरूमा तिरिङमिरिङ गुञ्जिरहने ध्वनि संगीत । तिरिङमिरिङ भाव तरंगका वाणी-बोल बुझ्नेलाई स्वर आनन्दका लहर; नबुझ्नेलाई अत्यासलाग्दो कहर ! कमलमणिका दीक्षित भाव-स्वभाव यस्तै लाग्छ यथार्थमा । न यो नाहकका प्रशस्तिमूलक प्रशंसा न त पुल्पुल्याई नै ।

कमलमणिका दीक्षित त दीक्षा मन्त्रणा गर्दा गर्दै अन्तरध्यान गर्दै दिवंगत भइसके, हुन पुगे ! दिवंगत हुनको अन्तर्य अन्तरिक्षमा अन्तरलीन हुन पुग्नु नै त हो - यथार्थमा प्राणी मात्रका साझा भोग्य योग ! दिवंगत अन्तरिक्षयात्री आत्मचेतलाई शब्द श्रद्धाका लालिमाले नछोइनु स्वसिद्ध यथार्थ बन्छ । भौतिक संसारमा भौतिक आग्रह र उपलब्धिकै महिमा स्वार्थ रहला । अभौतिक बनिसकेका दिवंगत तर दैहिक कमलमणि दीक्षित अब अन्तरिक्षमा लीन भइसकेको अवस्थामा उनका स्तुति गायनले के पो नाप्दो हो !

परन्तु, उनले भौतिक जीवन-जगत्मा जपेर गएका वाङ्मय सेवा दानहरू उनकै अनन्त परिचय रहनेछन् । राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरका छोरा मदनशमशेरका स्मृतिमा स्थापित मदन पुरस्कार र उनकै धर्मपत्नी रानी जगदम्बा श्री पुरस्कार कमलमणिका नेपाली वाङ्मय-साहित्य, कला-संस्कृतिका श्रीवृद्धिमा अग्रणि कोशेढुंगा पक्कै बनेका छन् । लम्बाभाषण चन्दा राशन मुखी नबनेका स्वभाव अरूका बद्ख्वाइँ गर्न उद्यत रहेनन् भौतिक जीवन कालमा ।

चाहिने भन्दा एक शब्द पनि नबोल्नु, आफ्ना प्रशंसामा पुग्ध नबन्ने कमलमणिका दीक्षित आचरण बनेको यथार्थ अनुभूति बनेको छ । आफूले गरेको कामकाजको प्रचारमुखी नबनेको उनको कमलमणीय स्वभावको संक्षेपीकरण उनको अवसानको लगत्तै एकाबिहानै श्री ॐ श्रेष्ठ ‘रोदन'ले प्रसंगवश उल्लेख गरेका ताजा झझल्को बनेको छ । लघुकथासम्बन्धी सैद्धान्तिक प्रकाशन त्यस प्रकरणमा परेको ‘रोदन' श्रेष्ठबाटै सांकेतिक छनक पाएको थिएँ । अभि सुवेदीले दीक्षितजी श्रद्धाञ्जलि रचनामा ‘नेपाली भाषा साहित्यसँग खासै सरोकार नराख्ने मित्र निर्मलले कमलमणि मेरो विचारमा एउटा संस्था थिए आफैंमा' भनेको उल्लेख गरेको पढेँ ।

असल, गुणिलो कामले संस्मरण जगाउँछ । संस्मरणले श्रद्धा जन्माउँछ । अञ्जुलीभरि श्रद्धा जमेपछि श्रद्धाञ्जलि बन्छ । श्रद्धाञ्जलि मरणोपरान्तका भावधारा हुन् । असल गुणिलो सम्झनाको सँगालो हो श्रद्धाञ्जलि । श्रद्धाञ्जलि हाम्रै पौराणिक प्रावधान अनुरूपका तर्पण हो- पवित्र भावभरिको अञ्जुली पानी ।

छैटौं अनुच्छेदमा डा. सुवेदीले उनको योगदानमाथि सटिक विश्लेषण गरेको पाएँ । ‘योगदान गर्ने व्यक्तिले (१) सिर्जनात्मक रचनाहरू गरेर छाडिदिन्छन्, (२) साहित्यको अध्ययनका निम्ति संस्थाको विकास गरिदिन्छन् जसमा पठनपाठन गर्ने र प्र्रकाशन गर्ने संस्थाहरू पनि पर्छन्, (३) साहित्यिक अध्ययनको रचना गर्छन्, (४) साहित्यिक अध्ययनका निम्ति ऐतिहासिक पाठगत आधारहरूको रचना गर्छन् वा त्यसको कुनै पाठगत आधारहरूको रचना गर्छन् वा त्यस्तो कुनै पाठ उपलब्ध गराइदिन्छन् जसका आधारमा साहित्यको ऐतिहासिक अध्ययन गर्न सकियोस्' ।

दीक्षितसित नजिकमा टाढा र टाढामा नजिक डा. अभिका संश्लेषण अध्ययताका लागि सार्थक छ । निर्मलका विचारले सवेदीलाई अर्को खुलाएको प्रासंगिक बनेछन् यो ।२०३४ सालतिरै दीक्षितका साढुभाइ माधवप्रसाद उपाध्यायसित रातो बंगला परिसरमा रहेको निवासमा प्रवेश गरेथेँ । झिसमिसे साँझपख बैठक कक्षमा रजनीगन्धा फूलको मगमग सुवासमा विभोर बनेँ ।

त्यसताका उहाँले एउटा हास्यव्यंग्य निबन्धका लागि भन्नुभयो । म भने हास्यव्यंग्य रचना उछिट्टिएर घायल थिएँ । आफ्ना इतिवृत्ति पोखेँ, पस्काएथेँ । मनग्य सुन्नुभयो । साहित्यिक कार्यक्रम प्रायः नेपाली शिक्षा परिषद्को कार्यक्रमहरूमा अचुक मिलेर भइरहने क्रम चल्दै रह्यो । स्व. कविवर केदारमान ‘व्यथित', युगकवि सिद्धिचरण श्रेष्ठहरूका बीच बेलाबखत सुखद् भेट भइरह्यो ।

२०५० सालमा निष्ठाछें, सूर्यविनायक, साहित्यिक सम्मान संगममा भएका कमल दीक्षितको सभापतित्वमा व्यथित सम्मान कवि गोष्ठी भएथ्यो । प्रायः एक घन्टा बेसी कुनै कार्यक्रममा नबस्ने दीक्षित पूरा अवधि रहनुभएथ्यो । पुरी, तरकारी, क्वाँटी, जुजुधौ परिकार त्यस अवसरको चमेना रहेकाले कार्यक्रमकै नाम ‘क्वाँटी-कार्यक्रम' रहेको थियो । नौथरी गेडागुडीको सँगालो नवरसका सामूहिक रस स्वाद दिने परिकार क्वाँटी नेवारी संस्कारमूलक रहेको छ ।

ग्वंगःमा ‘बु' जोडेर ग्वंगःबु सम्बोधन गर्न रुचाउने कमलबाबुले एकपटक मलाई फोन गर्नुभएछ । छोरोले रिसिभर उठाएछ । कमलबाबुले ‘ग्वंगःबु' हो ? भनी सोध्नुभएछ । सञ्जितबाबु ग्वंगःले ‘यो गोंगबु होइन, निष्ठाछें, सूर्यविनायक हो' भनेछन् । दुवैजना पछि मनग्य दंग परेछन् । २०५४ सालतिर होटेल राडिसनमा एक सम्मेलन भएथ्यो । कमल बाबुसँगै एकछत्र थियौं हामी ।

कमलबाबुले ‘के लेख्दै ग्वंगःबु ? ' जिज्ञासा राख्नुभएथ्यो । ‘चुक्कुलै चुक्कुल !' मैले भनेँ । ‘साथमा छ ? हेर्न सक्छु ? ' हातैमा थम्याएँ । ‘लन्च समयमा पढ्छु ।' मदन पुरस्कार गुठीको मुख्यपत्र ‘नेपाली'मा यी टिप्पणीसाथ छाप्नु भएथ्योः ‘तीन पेज लामो यस निबन्धमा गनिहेर्‍यो भने एकाध दर्जनभन्दा बढी क्रियापद छैनन् । नयाँ नेपाली गद्य लेखाइका नयाँ पाराका कलाकर्मी हुन् तेजेश्वरबाबु ग्वंगः । यसभन्दा अघि (पूर्णांक १४६ मा एक पटक पस्कन पाएको थियो नेपालीले ग्वंगःलाई पाठकसामु ।

तर नेपालीले एकपटकमात्र पाएको सौभाग्य अरुहरूले धेरैपटक पाइसकेका छन् । नयाँ पाराका भए पनि पुराना लेखक हुन् तेजेश्वरबाबु ग्वंगः । संस्कृतिविद् हुन् । नेपाली र अंग्रेजीमा नेपाली संस्कृतिबारे अनगिन्ती लेख प्रकाशित छन् उनका । ‘नेपाली'मा मात्र कम छन् । त्यसको बेजो पुर्‍याएका छन् उनले यसपटक । यो चुकुल नेपाली निबन्ध साहित्यमा सर्वथा नौलो वस्तु भएर आएको छ ।

यस्तो महत्वपूर्ण लेख प्रकाशित गर्न हाम्रोजस्तो थोरैले पढ्ने पत्रिकालाई पत्याएकोमा ग्वंगःलाई धन्यवाद छ ! भर्खरै प्रकाशित जगदीशशमशेरको सेतो ख्याकको आख्यानलाई सम्झायो हामीलाई यस लेखले; अरूलाई पनि सम्झाउँछ कि ? '

असल, गुणिलो कामले संस्मरण जगाउँछ । संस्मरणले श्रद्धा जन्माउँछ । अञ्जुलीभरि श्रद्धा जमेपछि श्रद्धाञ्जलि बन्छ । श्रद्धाञ्जलि मरणोपरान्तका भावधारा हुन् । असल गुणिलो सम्झनाको सँगालो हो श्रद्धाञ्जलि । श्रद्धाञ्जलि हाम्रै पौराणिक प्रावधान अनुरूपका तर्पण हो- पवित्र भावभरिको अञ्जुली पानी । पानी आफ्नै गतिमा प्रवाहमान रहने तरल पदार्थ रहेको छ । तरलताकै स्वाभाविक स्वभाव अञ्जुलीभरका पानी तपतप टप्किन्छन् ।

मानौं तिनै तपतप टप्काइ नै सूक्ष्म प्रवाहमान गति हुन् । जसरी गतिमान पानीको प्रवाहले आफूमा मिसिन आएका कसिंगरहरू छाड्दै, सङ्लिएर अगाडि बढ्छ; त्यसरी नै अञ्जुलीभरका तर्पणका तपतप टप्काइले पनि सङ्ल्याउने प्रवाहलाई प्रतिनिधित्व गर्छ । सांस्कृतिक परिप्रेक्ष्यमा तिनै तपतप टप्काइहरू जुन अञ्जुलीभरका तर्पणले प्रतिबिम्बित गर्छ । बिम्ब र प्रतीकका बिम्बात्मक अनि प्रतीकात्मक अर्थ चरितार्थ हुन आउँछ ।

संस्मरणात्मक श्रद्धाञ्जलिका सार्थकता त्यहीँ झल्कन थाल्छ जहाँ श्रद्धापूर्वक सम्झेर भए, गरिएका सार्थक सहकार्यका सत्यतथ्य प्रकाश गर्ने जमर्को जमर्किन्छ । कमलमणि दीक्षितसितका सहकार्य साहित्यिक क्रियाकलापै हुन् । २०६८ सालतिर युवाकवि सिद्धिचरण श्रेष्ठको ९९औं जयन्तीमा कमलबाबु पनि सम्मिलित हुनुहुन्थ्यो । साहित्यिक सम्मान संगमको त्यस आयोजना सिद्धि स्मृति बाल तथा महिला अस्पताल भेलुखेल, भक्तपुरको भव्य सभा-सम्मेलन कक्षमा आयोजित थियो ।

कार्यक्रमको अन्त्यतिर राष्ट्रकवि माधव घिमिरे, मदनमणि दीक्षित कमलमणि दीक्षित, मोहन दुवाल साथै अन्य ६० जना साहित्यिक व्यक्तित्वहरू उपस्थित थिए । उहाँहरूलाई भक्तपुरसम्म आमन्त्रण गर्दा भक्तपुरको सम्मानसूचक उपहार दिनु साहित्यिक सम्मान संगमको आफ्नै संस्कार रहेको छ । उहाँहरूलाई भक्तपुरे टकुवा टोपी÷शिरपोश लगाएर सम्मान गर्ने क्रममा उहाँले ग्वंगःलाई पनि टोपी लगाउनुपर्छ भन्दै आफ्नो खल्तीबाट ढाकाटोपी निकालेर लगाइदिनुभएथ्यो ।

त्यस टोपीलाई संग्रहनीय मानी निजी संग्रहालयमा सुरक्षित राखेको छु । गच्छेअनुसारको एक कटौरा भक्तपुरे जुजुधौ उपहार संस्कार साहित्यिक सम्मान संगमको संस्कार रहेको छ । गतिमन्द उत्तराद्र्ध जीवन इच्छैइच्छाका पोकोमात्र बनेर फजित लाग्छ अहिले ।

२०७० सालको पूर्वाद्र्धतिर एक दिन कमलबाबु सम्भ्रान्त परिवारको अंशबन्डा पुस्तक बनाउन एक ठेली रचनाहरूसाथ निष्ठाछें, सूर्यविनायक पस्नुभयो । तिनलाई पढ्दापढ्दै साथी इन्द्रमालीलाई सम्झेँ । दूरभाषमा संवाद गरेँ । त्यसमा सँगालिएका गाँठो फुकाइ (चौतरियाहरूको अंशबन्डा) इन्द्रमालीले कमल दीक्षितलाई उपलब्ध गराएका रहेछन् ।

त्यसउसले कमलमणि दीक्षित साथ माली निवास पुग्यौं । मालीकै सल्लाह रहेछ- अंशबन्डासम्बन्धी सबै लेखकमा अरू सँगालोबाट उद्धरण गरी ‘सम्भ्रान्त परिवारको अंशबन्डा' निकाल्ने जमर्को भए गरिएको पुस्तक संस्कृतिका महारथी सत्यमोहन जोशीजीबाट एक भोजनालय परिसरमा भएथ्यो । ‘सामान्यभित्रको सारगर्भ' त्यस सँगालोमा उल्लेख गरिएको पाठकसामु पस्काउने रहर पस्काउँछुः ‘कमलमणिको दीक्षित प्रयास अनवरत रहेका छन् । आजसम्मको निरन्तर यस्ता प्रयासले ७५ शृंखला चिनिसकेको छ ।

नेपालका पारिवारिक-वर्गीय समाजको परिवेशमा इतिहासका कालखण्ड बुझाउने यसप्रकारका सन्दर्भहरू तत्कालीन स्थितिबोध गराएको महत्वपूर्ण दस्तावेज हुन् । आजसम्म पनि इतिहास लेखन कार्यमा राजनीतिक सिद्धान्तलाई पृष्ठपोषण गर्ने राजकाजसम्बन्धी मामिलाहरू मात्र सन्दर्भमूलक बने÷बनाइएका छन् । परन्तु, यता केही दशकदेखि आर्थिक, औद्योगिक र व्यापारिक व्यवसायहरूलाई पनि राष्ट्रको इतिहास बनाउने सिलसिलेवार सन्दर्भमा समेटिन थालिएका छन् ।

भाषा, साहित्य, सांस्कृतिक सम्पदा, खेल जगत्का जीवनमूलक अभियान अनि सञ्चार संसारका आमसूचनावाहक साधन स्रोतमूलक आयामसम्बन्धी विमर्श र विवेचनाहरूका क्षण अभिवृद्धि हुन पुगेका छन् । यी सबै नै आशालाग्दा चेतका पाइला हुन् भन्ठान्छु । यी सबै विधागत विषयवस्तुहरूलाई सान्दर्भिक विषयविद्हरूले पहल गर्दै लान सक्दा नेपाली इतिहास लेखन कार्यका लागि क्षितिजमा नौलो नक्षत्र देखा पर्नु नितान्त सराहनीय हुनेछ ।'

दीक्षितजीसित निकै महिना सम्बन्धविच्छेद रहेको रह्यै रह्यो । उनी बेलायतमा छोरीसित जानुभएको रहेछ । फर्कनुभएपछि दूरभाष गर्नुभयो । मलाई चिसो लागेको छ, बेलायतमा यसो भएर फर्कें । हस्पिटल भर्ना हुँदा फेरि सम्बन्ध विच्छेद भयो । एक दिन शान्ता दीक्षितले फोन गर्नुभयो, ‘दादाजीले नम्बर दिनुभएर गरेको !' कमलबाबुले भन्नुभयो, ‘यहाँ कसैले प्रवेश पाउँदैन ।

बुहारी आएर उनको मोबाइलबाट गरेको हुँ । मलाई निषेध गरेको छ । केही दिनमा घर फर्कन्छु । अनि निष्ठाछें आउँछु ।' घर त फर्कनुभएछ कहिल्यै नफर्कने गरी । बिहान सखारै रेडियो नेपालले हृदयविदारक समाचार सुनाए, नेपाली भाषा साहित्यका अथक सेवक कमलमणि दीक्षितको निधन ।

८ः३० बजेतिर दूरभाषमा शान्ता दीक्षितको करुण क्रन्दन सुनेँ, ‘भर्खरै विद्युत् साधनमा दाहसंस्कार पूरा गरी फर्केकी छु ।' मनमनै भनेँ, ‘अन्तहीन अन्त्य पछिको आरम्भ यो !'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.