समाजका लागि मरिमेट्ने कमला
‘नारी शक्ति हो, प्रेरणा हो, करुणा हो, सौन्दर्य हो ।' राजकुमारी बज्जिराको जिज्ञासा मेट्दै बुद्धका समकालीन त्रूर राजा अजात शत्रुले नारीको महानताप्रति आफ्नो धारण यसरी व्यक्त गरेका थिए । त्यसरी नै मनुले ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता' भनी नारीको महिमा वर्णन गरेका छन् ।
वैदिकयुग नारीहरूका लागि स्वर्णिम युग थियो, अथर्व वेदमा नारीलाई ‘साम्राज्ञी' को संज्ञा दिइएको पाइन्छ । तर समयको अन्तरालसँगै पछिल्लो समयमा आएर नारीलाई हेयको दृष्टिकोणले हेर्ने दृष्टिकोण विकास भयो । नारीको छायाबाट पनि बच्नुपर्छ भनी भक्त कवि कविरले लेखे पनि ।
नारीलाई पुरुषप्रधान समाजले जसरी हेरे पनि मानव विकासको शृंखलामा नारीको अहम् भूमिका रहँदै आएको छ । आधुनिककालमा समाज विकासमा नारीको भूमिका उच्च नै छ । राजनैतिक, आर्थिक र सामाजिक विकासमा नारीहरूले समाजमा महत्वपूर्ण उपस्थिति जनाउँदै आएका छन् । फ्रान्सको राज्यक्रान्तिलगायत विश्वका युगान्तकारी परिवर्तनहरूमा नारीको सहभागिता रहँदै आएको छ । यति हुँदाहुँदै पनि यो वर्ग पछि परेको छ र पछि पार्ने काम भइरहेको छ ।
कमलाले २०४६ सालमा सुँढेनी तालिम लिएर आफ्नो गाउँ र छिमेकी गाउँमा सुत्केरी हुनेहरुको सेवा सुरु गरिन् ।
अल्जेरियाको स्वतन्त्रता संग्राममा अवर्णीय भूमिका खेलेकी कुमारी जमिला वोपाचा फ्रान्सबाट अल्जिरिया स्वतन्त्र भएपछि एकाएक राजनीतिक आकाशबाट हराइन् । त्यसरी नै छात्र युवा संघर्षवाहिनीका नेतृ एवम् जयप्रकाश नारायणका धर्मपुत्री गंगादेवी पाण्डे राजनीतिबाट हराइन् । कतै खोजी भएन ।
नेपालमा पनि राजनीति र सामाजिक सुधारमा लागेका नारीहरू इतिहासको पानाबाट हराएका छन्, तिनीहरूको खोजी भएको छैन । समाजलाई रूपान्तरणका लागि राष्ट्रियस्तरमा होस् वा स्थानीयस्तरमा, परिवर्तनका संवाहकको रूपमा नारीहरूको महत्वपूर्ण योगदान रहिआएको छ । तर तीमध्ये धेरैजसो नारीहरू ओझेलमा परेका छन् । तिनीहरू हराएका छन् ।
तीमध्ये एक प्रतिनिधि पात्र हुन्– कमला केसी । पाल्पा, देवगीर, सेमराहमा २००६ साल साउन २१ गते जिम्वाल तेजबहादुर जीसीकी धर्मपत्नी मुक्तिकुमारी जीसीको कोखबाट जन्मिएकी कमला केसीको प्रारम्भिक शिक्षा घरमा नै भएको थियो । उनको विद्यालय शिक्षाको थालनी २००७ सालको परिवर्तनको पूर्वसन्ध्यामा छात्राहरूका लागि स्थापना भएको ‘मोहन कन्या स्कुल, तानसेन'मा भएको थियो ।
भूमिसुधार लागू हुनुभन्दा पहिले जिम्मावाल प्रथा थियो । जिम्वालको इज्जत पनि अर्कै थियो । त्यसबखत जिम्वाल तेजबहादुर जीसीको समाजमा सान सौकद र मानमनिता अर्कै थियो । पहाडको मुखियाजस्तो काम र दर्जा भएको जिम्वालले जमिनको मालपोत उठाई सरकारलाई एकमुष्ट रकम बुझाउने गर्दथे ।
यस्तो जिम्मा पाएको व्यक्ति जिम्वाल तेजबहादुर जीसीको घरमा सेरोफेरोकाहरूले सोलीडोली चलाउन लालायित हुनु स्वाभाविक थियो । पढ्ने इच्छा हुँदाहुँदै पनि राम्रो केटा आएको र केटो फाल्न नहुने भएकोले कमै उमेरमा नै कमलाको नजिक देवगिर सौरेनीका क्षेत्रबहादुर केसीसँग विवाहबन्धनमा बाँधिइन् । विवाहपछि पनि पढ्ने इच्छालाई निरन्तरता दिँदै आठ कक्षासम्म पुर्याएपछि पढाइमा पूर्णविराम लाग्यो ।
त्यसताकाको सामाजिक परिवेशमा बुहारीले बिहान उठेर बढारकुढार गर्नु, ढिँकीजाँतो, घाँसदाउरा, दैनिक बुहार्तन गर्नु अनि बच्चा जन्माउने र हुर्काउन पर्ने सामाजिक मान्यता थियो । दुईजना छोरी र तीनजना छोराकी आमा कमला भने यस्तो पेचिलो अवस्थामा पनि सामाजिक काममा पछि परिनन् । पर्मजाने, पानी पँधेरोको व्यवस्थामा लागिपर्ने, गाउँमा नारीहरूको हकहितको विषयमा दह्रो रूपले कुरा उठाउनेजस्ता उहाँको दैनिकी बनेको थियो ।
कमला केसीलाई नारीको हकहितको सवाललाई निरन्तरता दिन एउटा संस्थाको खाँचो महसुस भएको थियो । तर त्यसबेला पञ्चायती व्यवस्थाको चरम अवस्था थियो । पञ्चायतको परिधिभित्र रही काम गर्नुपथ्र्योे । एकातिर कांग्रेस र कम्युनिस्टहरू पञ्चायती व्यवस्थाको विरोध गरिरहेका थिए भने अर्कोतिर पञ्चायतलाई उपयोग गरी जनताको हकहित संरक्षण गर्न सकिन्छ कि भनी पार्टीका केही व्यक्तिहरू पञ्चायतमा लागेका थिए ।
पञ्चायती संविधानको दोस्रो संशोधन २०३२ सालमा भएपछि कमलाले पञ्चायतको शिविर भित्रबाट नारी हकहितको कुरालाई अगाडि बढाउन सकिन्छ भन्ने सोचेर पञ्चायतमा भाग लिइन् । त्यसबखत पञ्चायतमा भाग लिनु चुनौतीपूर्ण थियो । तर जसले केही गर्छ त्यसैले सफलता वा असफलता प्राप्त गर्न सक्छ ।
ती व्यक्तिहरूले भोलि इतिहासले मलाई कसरी सम्झन्छ भनेर चिन्ता गर्दैनन् अपितु युद्धमा होमिएको सिपाही सरी बेफिक्री अगाडि बढ्छ । कर्तव्य परायणतामात्र तिनको उद्देश्य हुने गर्छ भन्ने आत्मसात् गर्दै २०३२ सालदेखि उपप्रधानपञ्च हुँदै २०३४ सालमा प्रधानपञ्चको जिम्मेवारी सम्हाल्दै नारीहरूका कदममा कदम मिलाउँदै अगाडि बढेकी कमलाले जनमतसंग्रहमा निर्दल पक्षमा मत राखिन् ।
जनमत संग्रहपछि राजनीतिमा भन्दा पनि सामाजिक फाँटमा उनको बढी रुचि रह्यो । सामाजिक सेवामा सक्रियरूपमा लिइन् । २०४६ सालको परिर्वतनपछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध भएकी कमला केसीले ‘महिला चेतना केन्द्र, झडेवा' नामक गैरसरकारी संस्थाको स्थापना गरी, त्यस संस्थामार्फत् नारीहरूमा सचेतना फैलाउनुकाे साथै नारी सशक्तीकरणमा अर्जुनदृष्टि लगाइन् ।
त्यसताका गाउँघर, खोलाटोलामा सुरक्षित सुत्केरी गर्नु चुनौतीपूर्ण थियो । यस कुरालाई हृदयंगम गरी कमलाले २०४६ सालमा सुँढेनी तालिम लिएर आफ्नो गाउँ र छिमेकी गाउँमा सुत्केरी हुनेहरूको सेवा सुरु गरिन् । आफ्नै गाउँको सेवा गर्ने र आफ्नै गाउँमै रमाउने कमला केसीले मातृ शिशु सेविका तालिम, सामुदायिक वन उपभोक्ता तालिम, मिनी बेइजिङ सम्मेलनमा सक्रिय सहभागिता, जराजुरी, कृषि वन नर्सरीको स्थायित्वसम्बन्धी तालिमलगायत अन्य थप तालिमहरू लिएर नारीहरूको हकहितका सवालमा धेरै कामहरू गरिन् ।
स्वास्थ्य, कृषि र वन आदि विषयमा तालिम दिने क्षमता राख्ने कमला केसीले रेडवार्ना नेपालको आयोजनामा भएको ‘वनमा महिलाहरूको सहभागिता' विषयक विशेष तालिम दिइन् । वनसँग निकै नजिक रहेर काम गरेकी कमला २०५५ सालताका बोखर महिला सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष भई काम गरिन् भने झडेवा २ देवगिरमा अवस्थित रत्न माध्यमिक विद्यालय एवम्झडेवा ९ मा अवस्थित किसान उच्च माविको अध्यक्षको कार्यभार बहन गरिन् ।
रत्न माध्यमिक विद्यालयमा पुर्याएको योगदानको कदर गर्दै जिल्ला शिक्षा कार्यालयबाट सम्मानित भएकी कमला केसीलाई विद्यालयबाट पनि सम्मान गरिएको थियो । उनले आफ्नो श्रीमान् क्षेत्रबहादुर केसीको नाममा विद्यालयमा अक्षयकोष राख्नुका साथै किसान माविको स्वर्ण महोत्सवमा आर्थिक सहयोग समेत गरिन् ।
बिर्ता, सौरेनी, सेमरा र कोटलाका जनता लाभान्वित हुने झडेवा वडा नं. ३ को चिद्यार मूलबाट खानेपानीको नाला २०३४ सालमा बिछ्याएर जनतासँग प्रत्यक्ष सरोकार राख्न पानीको धारा निर्माणमा कमल केसीको सक्रिय सहभागिता रहेको थियो भने बाँसटारी–झडेवा–गोठादीको मोटरबाटोमा पर्ने रूपसेक्षेत्र मोटरबाटोको रेखांकनमा श्रमदानलगायत पुरानो हात हतियार राखिने र ठूलोदसैं र चैतेदसैंमा पूजाआजा हुने झडेवा वडा नं. ६ मा अवस्थित मौला थरको कोट पुनर्निर्माण कार्यमा कमला केसीको सहभागितालाई स्थानीयवासीले सम्झिने गर्छन् ।
२०३२ सालमा महिला संगठनमा आबद्ध भएर आफ्नो राजनैतिक जीवन सुरु गरेकी कमला केसी २०४७ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी, २०६२/६३ मा राप्रपा नेपाल र जीवनको अन्तिम क्षण २०७२ साल मंसिर ३ गते राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन, नेपालको केन्द्रीय सदस्यमा आबद्ध हुनु भइन् ।
एकजना दाजु, दुई जना भाइ, दुई जना दिदी र दुई जना बहिनी भएकी कमला केसी बाल्यकालदेखि नै भगवानप्रति सदा भक्तिभाव राख्थिन् । पछिल्लो समयमा योगी नरहरिनाथ ट्रस्ट आध्यात्मिक परिषद्मा २०६८ साल वैशाख १ गते केन्द्रीय सदस्यजस्तो गरिमामय पद ग्रहण गरी आध्यात्मले जीवन र जगत्लाई कसरी हेर्छ भन्ने चेतनालाई अगाडि बढाइन् । जीवनयात्रा कति अचम्मको हुँदो रहेछ ।
सदा भागवत् चिन्तनमा रमाइरहने कमला केसी आफ्नो हातले बाटेको लाखबत्ती कालीगण्डकीको तीरमा लगी बाल्ने असीम मनसुवा राखी काठमाडौंदेखि पाल्पा लाग्ने क्रममा भाइलाई भेट्न नवलपरासीको भुमही पुगेर बसबाट ओर्लंदै गर्दा चक्कर आई बाटैमा बेहोस भएपछि तत्काल ‘नेसनल इन्स्टिच्युट अफ न्युरोजिकल एन्ड एलाइड साइनसेज, काठमाडौं (न्युरो अस्पताल)' मा पुर्याई सघन उपचार कक्षमा उपचार हुँदै थियो । तर स्वास्थ्यमा आशातित सुधार हुन नसकेपछि भेन्टिलेटरमा राख्नुपर्यो । त्यसबेला कमला केसीकोे मुहारलाई निँयाल्दा, लाग्थ्यो यस्तो बेलामा पनि मृत्युसँग पौठेजोरी खेल्दै छन् ।
चिकित्सकहरूको प्रयास र परिवारजन एवम् शुभचिन्तकहरूको स्नेह रहँदारहँदै पनि मृत्यु कति निर्मम हुँदो रहेछ, २०७२ साल माघ २९ गतेका दिन उनले अनन्तवि श्राम लिइन् । अहिले कमला केसीको भौतिक शरीर हाम्रो सामु रहेन मात्र अतीतहरू-विद्यालयका हरेक इँटहरूसँगको माया, उनले चरैवती गरेको वनका बोटबिरुवाहरूको सुसाइ र नारीहरूका हरेक कदममा सँगै हिँडेका पदचापहरू मात्र रहेका छन् ।