जितको अश्र बुद्धि र प्रज्ञा

जितको अश्र बुद्धि र प्रज्ञा

 पूर्वीय दर्शन, नीति-रणनीति, कूटनीति र अर्थशास्त्रको कुरा गर्दा आचार्य विष्णुगुप्त अर्थात् चाणक्य वा कौटिल्यलाई स्मरण गर्नैपर्ने हुन्छ । यो नाम नसुन्ने व्यक्ति विरलै होलान् । चाणक्यले भनेका छन्, ‘शासक वर्ग र त्यहाँका जनता दुवै थरीको चरित्र स्तर उठ्यो भने राज्यको उन्नति र समृद्धिमा कुनै शंका रहँदैन । शासकहरू इन्द्रियजयी बन्नुपर्छ । जतिसुकै ठूला घटना तथा संकटले पनि तिनीहरूलाई विचलित पार्नु हुँदैन । राजनीतिज्ञको सबैभन्दा ठूलो आभूषण विनय नै हो । मनको क्षणिक आवेगमा आउनु हुँदैन, मर्यादा र नियमको पालना हुनुपर्छ । यही राजनीतिज्ञको पहिलो पाठ हो ।'

तत्कालीन गान्धारका राजा आम्भी केकेय, जनपदका राजा पोरुबाट पराजित र अपमानित भएपछि पश्चत्ताप र पीडाले आक्रान्त राजा आम्भी आचार्य विष्णुगुप्तलाई भेट्न जाँदा आचार्य विष्णुगुप्त (चाणक्य)ले ती राजासँग भनेका कुरा हुन् यी । विलासिता, स्वार्थीपना, आमोद-प्रमोद, मांस-मदिराको प्रधानता र दुव्र्यसनले व्यक्तिमात्र होइन, समाज र राष्ट्रलाई नै सखाप पार्छ भन्ने ठूलो शिक्षा र सार इतिहासको पाठमा छ ।

तत्कालीन गान्धारको हालत बिग्रनुमा र शत्रुले विजय पाउनुमा यिनै कारक तत्व थिए भन्ने प्रस्ट हुन्छ । इतिहासबाट पाठ नसिक्ने राष्ट्रले यस्तै हविगत भोग्नुपर्छ भन्ने तथ्य बिर्सन सकिँदैन । हामी पनि पछडि र अगाडि हेरौं हाम्रो दशा, हाम्रो जीवन-संस्कृति र गतिलाई ।

केही समयअघि फुर्सदको समयमा पंक्तिकार भारतको पूर्वी राज्यहरू आसाम र मेघालय (गोहाटी सिलोङ)को यात्रामा गएको थियो । त्यस बखत गोहाटीबाट सिलोङतर्फ जाँदा बाटोमा स्थानीय जिप ड्राइभरले बिहानको नास्ताका लागि गाडी रोके । हाइवेको किनारमा केही होटल र साना फलफूल दोकान थिए । होटलतर्फ लम्कँदा गाइड गर्दै यो पंक्तिकारलाई उनले भने, ‘पहिला यहाँ मादक पदार्थका पसलहरूमात्र थिए, बाटोमा जताततै रक्सी र बियर बेच्थे ।

अहिले मोदीको नीतिअनुरूप प्रान्तीय सरकारको कडाइका कारण हाइवेका यस्ता ठाउँमा रक्सी-बियर बेच्न पाइँदैन । खाना, नास्ता, चिया, कफी, हल्का पेय पदार्थ र फलफूलमात्र बेच्न पाइन्छ ।' उनले भन्दै गए, ‘अहिले कानुन कडा छ यहाँ । यी क्षेत्रहरूमा मादक पदार्थहरूको बिक्री बन्द गरिएकाले आजकल दुर्घटना पनि त्यति हुँदैन, झगडा पनि बन्द छ । पहिलाको भन्दा व्यवसाय अझ फस्टाएको छ । सुरुमा मानिसले विरोध गर्न खोजे तर सरकारको कडा रवैया र निगरानीका कारण उनीहरूको हार भयो ।

अहिले मोदीको नीतिअनुरूप प्रान्तीय सरकारको कडाइका कारण हाइवेमा रक्सी-बियर बेच्न पाइँदैन । खाना, नास्ता, चिया, कफी, हल्का पेय पदार्थ र फलफूलमात्र बेच्न पाइन्छ ।

महिलाहरू भने खुसी छन्, यो कदमबाट । पुरुषहरू सुरुमा अलिक बेखुसी भए पनि पछि उनीहरू पनि चुप भए । अहिले त खानपिन र जीवनशैलीमा परिवर्तन आएर मानिस अभ्यस्त हुन थालेका छन् ।'
ती चालक हामीजस्तै नेपाली बोल्थे । तिनको नातासम्बन्ध नेपालको भरतपुरतर्फ पनि रहेछन् ।

उनले यी अभिव्यक्ति दिइरहँदा मैले नेपालका हाइवे आसपासका होटल र पसलहरू सम्झिएँ । जता हेरे पनि रक्सी र बियरका बोतलहरू लाम लगाएर सजाएका । यसो नगर्दा व्यवसाय नै नचल्ने भइसकेको अवस्था । बरु पानी नभए काम चल्छ, जुठै मुख हिँडे हुन्छ मान्छेलाई रक्सी, बियर हुनैप‍र्ने । पान, खैनी, गुट्का, चुरोट र मांस, मदिरा हुनैपर्ने ।

यी सबै तामसी भोजन हुन् र यिनले रक्त तथा मनका पार्ने प्रभाव तमोगुणी प्रतिफलकै हुन्छन् । यसको प्रयोग यसरी बढ्दै जाँदा स्वास्थ्य प्रतिकूलतामात्र नभई सामाजिक व्यवहार, चरित्र, मर्यादामा पनि प्रतिकूलता आउँछ । तामसी कुराहरू बुद्धि, विवेक सदाचार र प्रज्ञाका लागि हानिकारक हुन् । यी वस्तुहरूको उपभोगलाई पूर्ण बन्देज लगाउन त नसकिएला, तर न्यूनतम स्तरको उपभोगमा झार्नुचाहिँ राष्ट्रको कर्तव्य हो । तर, अहिले सबैभन्दा बढी यिनै चीजको व्यापार फस्टाएको छ, नाफा यसैमा छ ।

किनकि मानिसको लत यी वस्तुमा ज्यामितीय हिसाबले बढिरहेको छ । धर्म-संस्कारका कुरा पनि मानिसले बिर्संदै छन् । छोराको व्रतबन्धमा यो चलन चलिसक्यो । यज्ञ-पुराणहरूमा सम्म यी चिजहरूले प्रवेश नपाउला भन्न सकिन्न ।

अहिले शाकाहारी भोजन गर्ने मानिसले यात्रा गर्दा बाटोमा मिल्दो खाना नपाउने अवस्था छ । उसले या आफ्नो बन्दोबस्त आफैं गर्नुपर्छ, या त निजी सवारी साधनमा यात्रा गरी ती ठाउँहरूमा पुग्नुपर्छ । यो सूचकमात्र हो, परिसूचक हो, राष्ट्रका नागरिकको मनमस्तिष्कको हालत बुझ्न मापदण्ड हो ।

भविष्यका सन्ततीको चरित्र, संस्कार निर्माणको अवस्थाको अनुमान पनि हो यो । हाम्रो जीवनयापनको संस्कार र गुणधर्मको मार्ग यसले बताउँछ । विदेशीले पनि पहिचान पाउँछन् यसबाट । यो विरोध होइन, मनमस्तिष्क निर्माणको लेखाजोखा हो । हामी कता जाँदैछौं, कस्तो संस्कारको निर्माणमा छौं, निर्माणमा छौं कि विग्रह-व्याधीमा छौं ? यी कुराहरूको लेखाजोखा गर्ने प्रयत्नमात्र गरेको हुँ ।

शारीरिक र मानसिक अनुशासन राष्ट्र निर्माणको आधारशीला हो । भौतिक संरचनामात्र पर्याप्त छैन, मानवीय पक्ष, संस्कार, चरित्र निर्माणले ठूलो महत्व राख्छ राष्ट्रको उन्नतिमा । शासकवर्ग र जनता दुवैको आदत, चरित्रले ठूलो महत्व राख्छ समाज र राष्ट्रको गतिमा । संस्कार यसैबाट निर्माण हुन्छ । समाजको चरित्र, संस्कार बिग्रँदै गएपछि राम्रा कुरा ग्रहण हुन छाड्छ । राम्रो गर्न खोज्दा असन्तुष्टि र प्रतिकार उत्पन्न हुन्छ । राम्रो पक्ष अल्पमतमा पर्दै जान्छ ।

चाणक्यले गान्धारका राजा आम्भीलाई सम्झाउँदै भनेका थिए, ‘एकपटक गान्धारका जनतालाई मर्यादामा ल्याउनुहोस् र आफू पनि इन्द्रीयलाई वशमा राख्ने समतावान् बन्नुहोस्, त्यसपछि राजनीतिले कस्तो प्रतिफल ल्याउँछ भनेर आफैं हेर्नुहोस् । त्यस बखत उन्नति हुन्छ र अवनति हुने त प्रश्नै हुँदैन ।' इतिहासका पानामा देखिन्छ समृद्ध र विराट् राज्यहरू तीनका शासकहरूको भोगविलास, मदिरा र कामसुखले कसरी खरानी भएका छन् ।

धर्मले सधैं अनुशासन खोज्छ । यहाँ धर्म भनेर कर्मकाण्डको विषय होइन । धर्म ऋत हो, शाश्वत नियम हो । वैदिक योग साधना पद्धतिमा होस् वा बुद्धले सिकाउनुभएको मार्गमा, यस नियम तथा शील सदाचारको ठूलो महत्व छ । योग-ध्यानको उन्नतिमा यी कुरा आधारभूत र अपरिहार्य कुरा हुन् । संसारको व्यवहारमा पनि व्यक्तिव्यक्तिको अनुशासनले समाजको मर्यादाले राष्ट्रलाई प्रभाव पार्ने गर्छ ।

जतिसुकै छिटो विकास गरेको देखिए पनि जनताको नैतिक पक्ष कमजोर छ, प्रकृतिलाई दोहन गर्ने उद्यम तथा प्रवृत्ति उत्ताउलो छ भने त्यो विकास दिगो हुँदैन । वायुमण्डलको प्रदूषणले आकाशमा सूर्य नै नदेखिने अवस्था पनि संसारका कतिपय विकसित देशका सहरमा देखिएका उदाहरणले मानव स्वास्थ्यको प्रतिकूलता ल्याउने त छँदैछ, प्रकृतिको ऋत बिग्रिएर के के उपद्र भविष्यमा हुँदै जाने हो, त्यो कल्पनाभन्दा बाहिरको कुरा हो ।

शरीरलाई हृष्ठपुष्ट बनाउनेभन्दा मनलाई स्वस्थ बनाउने काम कठिन छ । किनकि मन शरीरभन्दा सूक्ष्म छ र झनै परको विषय हो । मनको आयतन धेरै विस्तृत छ । यहाँ यो जन्मका मात्र नभएर अनन्त जन्मका स्मरणहरू भण्डारण भएका छन् । खाने कुराबाट स्थूल रूपमा शरीर बन्छ र सूक्ष्म रूपमा मन पनि बन्छ । स्थूल चीज तुरुन्त बन्छ, देखिन्छ तर सूक्ष्म वस्तु वा तत्व बन्न समय लाग्छ । ‘जस्तो खाना उस्तै मन' भनिएको विषय अनुभव सिद्ध छ ।

नशालु पदार्थ र मदिरा सेवनको मात्रा समाजमा यही रूपमा बढाउँदै जाने हो र नियमन गर्ने निकाय यसरी नै कमजोर हुने हो भने हामीले उत्पादन, उत्पादकत्व, सिर्जन र सिर्जनशीलताको क्षेत्रमा दीर्घकालीन रूपमा आर्जन गर्नेभन्दा गुमाउने मात्र छौं ।

एउटा सात्विक मानिसमा बढी सहनशीलता, धैर्य, प्रेम र करुणाको भावना हुन्छ, स्वार्थ र कामना कम हुन्छ । तामसी व्यक्तिमा त्यो गुण न्यून मात्रामा हुन्छ । तामसको प्रमुख स्रोत आहार हो । हामीले अहिले देखिएका विविध चुनौतीलाई सामना गर्न हामीमा सात्विक वृत्तिको प्रवद्र्धन गर्नुपर्छ । यसबाट बुद्धि र प्रज्ञामा सकारात्मक असर पर्छ । सानो राष्ट्र भएर हामीले जित्ने अस्त्र बुद्धि र प्रज्ञा नै हो ।

अरू कुरामा हामी पछाडि छौं तर बुद्धि र प्रज्ञा क्षेत्रमा अघि बढे हाम्रो जित हुन्छ सर्वत्र । किनकि त्यो बेला हाम्रो मन बलवान् हुन्छ र भनिएको छ, ‘मनलाई जिते जित' अर्थात् बलवान् मनले नै दुर्वल मनलाई जित्नसक्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.