डोनाल्ड ट्रम्प यात्रा
सन् २०१७ को सुरुआतसँगै दोस्रो विश्व युद्धपछि विश्वमा स्थापित मान्यता र स्थिरतामा परिवर्तन हुनसक्ने लक्षण देखा परेका छन् । गत वर्ष सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन डोनाल्ड ट्रम्पको विजय र युरोपेली युनियनबाट बेलायतको बहिर्गमनले त्यस्तो आशंका पैदा भएको हो । ट्रम्पको विजयपछि युरोपका अति दक्षिणपन्थी दलहरू उत्साहित भएका छन् ।
यही वर्ष हुने फ्रान्स, जर्मनी र इटालीको चुनावमा दक्षिणपन्थी विजयी हुने सम्भावना बढाएको छ । युरोपको सबभन्दा शक्तिशाली नेता स्थापित भएकी जर्मन चान्सलर एन्जेला मर्केल पुनर्निवाचित हुनेमा आशंका पैदा भएको छ, फ्रान्समा त घोर दक्षिणपन्थीको विजय सुनिश्चित रहेको टिप्पणी हुन थालेका छन् ।
दोस्रो विश्व युद्धपछि विश्व तीन भागमा विभाजित भएको थियो । अमेरिकाको नेतृत्वमा उदार प्रजातन्त्रवादी पहिलो विश्व, सोभियत संघको नेतृत्वमा सर्वसत्तावादी कम्युनिस्टको दोस्रो विश्व र उपनिवेश शासनबाट मुक्त भएका एसिया, अफ्रिका र ल्याटिन अमेरिकी राष्ट्रहरूको तेस्रो विश्व जसलाई असंलग्न आन्दोलन पनि भनियो ।
उदार र खुला प्रजातन्त्रलाई पुँजीवादी दलालहरूको व्यवस्था भन्दै प्रजातान्त्रिक व्यवस्थामा आस्था राख्ने करोडौं मानिसको हत्या गरेर कम्युनिस्टहरूले चलाएको साम्यवादी व्यवस्था बर्लिनको पर्खाल ढलेसँगै ७० वर्षको कठोर परीक्षणपछि विश्वबाट कम्युनिज्म समाप्त भयो र कम्युनिस्टहरू पनि प्रजातान्त्रिक व्यवस्थामा आएका छन् ।
अहिले विश्वको सबभन्दा ठूलो कम्युनिस्ट राष्ट्र चीनका राष्ट्रपति सी जिङपिङले हालै स्विजरल्यान्डको डाभोर्समा भएको विश्व व्यापार सम्मेलनमा खुला र उदार विश्व व्यापारको पक्षमा दिएको भाषणबाट पुँजीवादी अर्थतन्त्रका हिमायतीहरूले सुखद् आश्चर्य व्यक्त गरेका छन् ।
विडम्बना अहिलेसम्म खुला व्यापार र उदार प्रजातन्त्रको विश्वव्यापी नेतृत्व लिएको अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले नियन्त्रित व्यापार नीतिको पक्षमा आफू रहेको खुलासा गरेका छन् । अमेरिकाले लामो समयदेखि मान्दै आएको एक चीन नीतिमा पुनर्विचार गर्ने र आफैंले सबैभन्दा धेरै खर्च बेहोरेर स्थापित भएको नेटो सैन्यशक्ति 'काम नलाग्ने' संगठन भन्दै अमेरिकी परराष्ट्र नीतिमा आमूल परिवर्तनको संकेत दिएका छन् ।
मुस्लिम राष्ट्रप्रति चरम घृणा व्यक्त गर्ने ट्रम्पले द्वन्द्वग्रस्त सिरिया, इराक, लिविया र अफगानिस्तानका सम्बन्धमा अबलम्बन गर्ने नीतिले पनि अब अन्तर्राष्ट्रिय सम्बन्ध कसरी अघि बढ्नेछ भन्नेमा अन्यौल पैदा भएको छ ।
चाहे नेपाल सन्दर्भमा होस् वा विश्व परिप्रेक्ष्यमा '०१७' आतंकको प्रतीक बनेको छ । सन् १९१७ मा लेनिनको नेतृत्वमा रुसमा नरसंहार सुरु भयो, गरिब, उत्पीडित सर्वहारा वर्गको अधिनायकत्वका नाममा । जार शाहीविरुद्ध रुसी जनताले गरेको अथक संघर्षको परिणाम सन् १९१७ मा रुसमा संविधानसभा चुनाव भयो । चुनावमा लेनिनको नेतृत्वमा रहेको मेन्सेभिक पार्टी अल्पमतमा पर्यो उदार प्रजातन्त्रमा आस्था राख्ने बोल्सेभिकहरूको बहुमत आयो ।
प्रजातान्त्रिक संविधान बनाउन संविधानसभाको बैठक बस्यो । तर प्रजातान्त्रिक संविधान बनाउन नदिन लेनिनको पार्टीले बैठकमा होहल्ला सुरु गर्यो । सभामुखले पटकपटक संविधान पारित गर्न होहल्ला नगरी सहयोग गर्न अनुरोध गरे, तर मत्थर भएन । संविधानसभामा बसेका लेनिनलाई सम्बोधन गर्दै सभामुखले अनुरोध गरे, संविधान बनाउन सहयोग गर्न ।
लेनिन मुस्कुराइरहे तर आफ्ना दलका सांसदहरूलाई शान्त रहन आदेश दिएनन् । केही दिनसम्म यस्तै होहल्ला भइरह्यो । होहल्लाबीच पनि संविधान पारित गर्न सभामुख लागिपरेपछि लेनिनको इसारामा सभाहलभित्रको बत्ती काटियो । लेनिनको षडयन्त्र बुझेका सभामुखले मैनबत्ती ल्याउन आदेश दिए । मैनबत्ती बालेर भए पनि संविधान पारित गरीछाड्ने दृढ निश्चयका साथ ।
त्यसैबेला लेनिनको इसारामा कम्युनिस्ट लडाकुहरू हलभित्र पसेर सभामुखलगायत उदार प्रजातन्त्रमा आस्था राख्ने नेता र अन्य सांसदहरूलाई गिरफ्तार गरे । अल्पमतमा रहेको आफ्नो दल नै बोल्सेभिक (बहुमत) भएको भन्दै लेनिनले सर्वहारा वर्गको अधिनायकत्वलाई वैधानिकता दिने, प्रजातन्त्रमा विश्वास गर्ने पार्टीमाथि प्रतिबन्ध लगाउने र आफ्ना विरोधीलाई जेल हालेर विधिवत् रूपमा विश्वमा पहिलो कम्युनिस्ट सरकार स्थापना गरे ।
लेनिनले यो काम १० दिनमा पूरा गरेका थिए । रुसको राजनीतिक आन्दोलनको रिपोर्टिङ गर्न गएका लेनिनका मित्र अमेरिकी पत्रकार डेविड सुवले यसलाई 'दश दिन जसमा विश्व हल्लियो' भनेर कसरी लेनिनले सिपाहीहरू प्रयोग गरेर सत्ता हत्याए भनी दैनिक रिपोर्टिङ गर्ने गरेका थिए । त्यसैको संगालोको रूपमा पछि किताब प्रकाशित गरेका हुन्, जसमा लेनिनले नै भूमिका लेखेका छन् ।
जारशाहीका विरुद्धमा अग्रपंक्तिमा रहेर संघर्ष गरेका प्रजातन्त्रवादीलाई गिरफ्तार गरेपछि तिनको आलोचना गर्दै लेनिनले 'मैनबत्ती बालेर संविधान पारित गर्नेहरू' भनेर सामाजिक समाजवादीको खिल्ली उडाएका छन् ।
लेनिनकै पालामा विरोधीहरू थुन्ने र हत्या गर्ने क्रम सुरु भयो । उनको निधनपछि उत्तराधिकारी बनेका स्टालिनले कति मानिस मारे त्यसको लेखाजोखा विश्वसँग छैन । स्टालिनको पालामा ५०÷६० लाख मानिस मारिएका अनुमान गरिन्छ । स्टालिनको क्रुर शैली खप्न नसकेर विदेश पलायन भएका लेनिनका सहयोगी ट्राटस्कीको विदेशमा नै हत्या गरियो ।
लेनिनकै नेतृत्वमा सुरु भएको पूर्वी युरोपका राष्ट्रहरू पोल्यान्ड, चेकोस्लोभाकिया, हंगेरी, रोमानिया र युगोस्लाभियालगायतका अन्य साना राष्ट्रमा कम्युनिस्ट शासन लाद्ने काम भयो ।
उता प्रथम विश्व युद्धबाट सबभन्दा बढी उथलपुथल र ध्वस्त भएको जर्मनीमा हिटलरको उदय भयो । हिटलरको सत्ताउन्मादबाट दोस्रो विश्व युद्ध भयो । युद्धमा र त्यसपछि पनि विरोधीहरू समाप्त गर्ने हिटलरले ६० लाख मानिस मारेको इतिहासकारहरूले लेखेका छन् ।
आफ्ना विरोधीहरू सफाया गर्ने हिटलरलाई उनको निधनपछि कसैले पनि महान् भनेनन्, अनुकरण गरेनन् । स्वयं जर्मनहरू हिटलरको नाम लिँदा लज्जाबोध गर्छन् । तर लेनिन र स्टालिनलाई महान् आदर्श नेता मानेर तिनको अनुरकरण गर्ने विश्वका दुईदर्जन देशका नेताहरूले लाखौं विरोधीको हत्या गरेर आआफ्नो मुलुकमा कम्युनिज्म स्थापना गरे ।
कम्युनिस्ट शासन कति क्रुर र निर्दयी थियो भने, नोबेल पुरस्कार विजेता सोभियत संघका लेखक सोल्झेनित्सिन र सोभियत परमाणु बमका पिता भनिएका डा. शखारोभलाई नोबेल पुरस्कार लिन दिइएन । सोल्झेनित्सिन भागेर अमेरिकाको शरण लिन गए भने डा. शखारोभलाई जेल हालियो । उनीहरूको अपराध यति मात्र थियो—तिनले प्रजातन्त्रको पक्षमा आवाज उठाएका थिए ।
७० वर्षसम्म करोडौं जनताको हत्या र गिरफ्तारीपछि जर्मनीका जनताले स्वतन्त्रताको विरोधमा खडा गरेको बर्लिनको पर्खाल ढालेपछि विश्वबाट कम्युनिज्म पनि ढल्यो । सन् १९१७ मा लेनिनले स्थापना गरेको साम्यवादी शासन अहिले उत्तरकोरियामा मात्र छ, अहिले पनि कम्युनिस्ट शासन रहेको क्युबा पनि लडखडाउन थालेको छ, अब कुनै बेला पनि त्यहाँ कम्युनिस्ट शासन ढल्नेछ । नेपाली जनता पनि कम्युनिस्टबाट पीडित भएका छन् ।
तथाकथित जनयुद्धको नाममा १७ हजार नेपाली मारिए, ती किन मारिए त्यसको कुनै लेखाजोखा छैन । अहिले पनि युद्धको पीडा बोकेर हजारौं मानिस सहायताका पर्खाइमा छन् । तर तिनको पीडा सुन्ने कोही छैन ।
नेपाली जनताको मनमस्तिष्कमा पनि '२०१७' आतंकको प्रतीकको रूपमा रहेको छ । नेपालको इतिहासमा नै अत्यन्त सफल रहेको जननिर्वाचित सरकारलाई २०१७ सालमा राजा महेन्द्रले ढाले र आफ्नै नेतृत्वमा निरंकुश शासन सुरु गरे । प्रजातन्त्रको हत्या गर्ने महेन्द्रको कदमको देशव्यापी विरोध भयो ।
हजारौं सपुतहरूले बलिदान दिए । राजा महेन्द्रबाट सुरु भएको तानाशाही व्यवस्था ढाल्न नेपाली जनतालाई ३० वर्ष लाग्यो । ०१७ सालको महेन्द्रको काण्डले नै मुलुकमा गणतन्त्रको बीजारोपण भएको हो, त्यो फूल्न फल्न ४७ वर्ष लाग्यो । २०६४ सालमा विधिवत् घोषणा मात्र भएको हो, ०१७ सालबाटै सुरु भएको थियो गणतन्त्र ।
सन् २०१७ सालमा नै अमेरिकाको ४५ औं राष्ट्रपतिका रूपमा ट्रम्पले गत शुक्रबार शपथ ग्रहण गरे । उनको शपथ ग्रहणसँगै विश्वको स्थिरता र प्रजातन्त्रको अनिश्चित भविष्य सुरु भएको छ । ५० जना सांसदले उनको शपथ ग्रहण कार्यक्रम बहिस्कार गरे, अमेरिकाको इतिहासमा यो सर्वथा नौलो घटना हो । ट्रम्पको नीतिका विरुद्धमा उनी निर्वाचित भएदेखि नै अमेरिकामा विरोध प्रदर्शनहरू भएका छन् ।
मुस्लिम र गैरअमेरिकीप्रतिको उनको नश्लवादी सोचाइको अमेरिकाभित्रै विरोध भएको छ । ट्रम्पले राष्ट्रपतिको शपथ लिने भएपछि उनकै होटेल 'ट्रम्प इन्टरनेसनल' अगाडि एकजना व्यक्तिले आत्मदाह गरे । होटेलअगाडि विरोध गरिरहेका कैयौं व्यक्तिले आगो लगाएका थिए । त्यसैबेला एकजना व्यक्तिले आफैंमाथि आगो लगाउन सुरु गरे । भीडले उनलाई नियन्त्रणमा लियो र अहिले उनको अस्पतालमा उपचार भइरहेको छ ।
आत्मदाह गरेका व्यक्तिले सञ्चारमाध्यममा भनेका छन् 'हाम्रो देशको संविधानको सम्मान नगर्ने व्यक्तिलाई राष्ट्रपति बनाइँदै छ, त्यस्तो व्यक्तिलाई राष्ट्रपति मान्नुभन्दा मर्नु उचित लागेर आत्मदाहको प्रयास गरेको हुँ ।' उनी क्यालिफोर्निया निवासी भएको जानकारी दिइएको छ ।
ट्रम्पको विदेश नीतिलाई लिएर अमेरिकाका परम्परागत मित्र जर्मनी, फ्रान्स, इटलीलगायतका युरोपेली राष्ट्रहरूले निराशा व्यक्त गरेका छन् । एक चीन नीतिमा परिवर्तन गर्ने ट्रम्पको भनाइबाट चीन पनि खुसी छैन । ट्रम्पसँग यदि कोही खुसी छ भने,रुस र त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिन ।
ट्रम्पको घोर चीनविरोधी नीतिको अप्रत्यक्ष प्रभाव हाम्रो मुलुकमा पनि पर्नेछ । एक चीन नीतिमा परिवर्तन गरी ताइवानसँग पनि कूटनीतिक सम्बन्ध बढाउने उनको नीतिपछि अवश्य नै उनले तिब्बतलाई लिएर आक्रामक रूपमा प्रस्तुत हुन सक्छन् । एक चीन नीतिप्रति चीन कति संवेदनशील छ भने, प्रत्येक चिनिया प्रतिनिधिमण्डलसँगको भेटमा नेपालले हामी एक चीन नीतिप्रति प्रतिबद्ध छौं भन्ने आश्वासन दिनु परेको छ ।
त्यति गर्दा पनि उनीहरू ढुक्क हुन सकेका छैनन् र नेपालमा रहेका तिब्बतीप्रति उनीहरू आफ्नै संयन्त्रमार्फत सुक्ष्म अध्ययन गरिरहेछन् । एक चीन नीतिप्रतिको असहमत ट्रम्पको भनाइबाट शत्रुको शत्रु मित्र मानिने अन्तर्राष्ट्रिय कूटनीतिक प्रचलनअनुसार भारत अमेरिकासँग नजिक रहनेछ ।
नेपालको अहिलेको अस्थिर राजनीतिमा नेपाली नेतृत्व सचेत र गम्भीर भएन भने यसबाट नेपालले ठूलो मूल्य चुकाउनुपर्नेछ । हालै नेपाल आएका चिनियाँ विशेषज्ञहरूको भनाइबाट नेपालमा अमेरिकाको उक्साहटबाट चीनविरोधी गतिविधि हुने गरेका छन्, यसप्रति हाम्रो नेतृत्व सचेत हुनु जरुरी छ ।
इस्लाम धर्मप्रतिको ट्रम्पको चरम घृणालाई सिंगो मुस्लिम जगत्ले कसरी लिन्छ, हाल विश्वको निम्ति चुनौती भएको आईएसले ट्रम्पको नीतिलाई कसरी प्रतिवाद गर्छ यसले पनि विश्वको शान्ति र स्थिरतामा प्रभाव पार्नेछ ।
चुनावको समयमा र निर्वाचनपछि ट्र्म्पले बोलेका कुराले उनको कार्यकाल विश्वको निम्ति अनिश्चित भविष्यको यात्रा हुने सम्भावना बढ्दै गएको छ । अमेरिकाको नेतृत्वमा दोस्रो विश्व युद्धपछि स्थापित विश्व शान्ति र स्थिरतामा ट्रम्पको नीतिले गडबडी ल्याउने देखिन्छ । ट्रम्पको नेतृत्वको यात्रा विश्वका लागि नै अनिश्चयको यात्रा हुने देखिन्छ । सन् १९१७ मा लेनिनको नेतृत्वमा सुरु भएको कम्युनिस्ट सत्ताबाट करोडौं मानिसहरू मारिए ।
७० वर्षको संघर्षपछि कम्युनिज्म पतन भयो । सन् २०१७ मा ट्रम्पको नेतृत्वमा सुरु भएको अमेरिकासँग असहमत हुनेहरूप्रतिको ट्रम्पको घृणाको मूल्य विश्वले के र कसरी चुकाउनेछ त्यसको लागि भने केही समय पर्खनुपर्नेछ ।