माओवादी प्रतिगमन
हतियार उठाई मुलुकमा १७ हजारको हत्याको नराम्रो र अविस्मरणीय कारक बनेको माओवादीले २०६३ को राजनीतिक परिवर्तनको केन्द्र र कारकसमेत रहेको दाबी गर्दै आएको छ । राजनीतिक परिवर्तनमा आन्तरिक र बाह्य कारण दुवै छन् र माओवादीको महत्वपूर्ण भूमिका थियो त्यो परिवर्तनमा भनी नकार्न मिल्दैन ।
माओवादी कति राष्ट्रिय स्वाधीनता र मुलुकको सार्वभौम हैसियत सुदृढ गर्न लागिपरेको थियो त्यसताका र कति सत्ताको लागि बाह्य शक्तिको कठपुतली बनेको थियो, त्यो अहिले निरन्तर बहसको विषय बनेको छ र भावी इतिहासले त्यसको सत्यतथ्यबारे वस्तुनिष्ठ निष्कर्ष निकाल्नेछ । यी विवादास्पद विश्लेषण र आरोप-प्रत्यारोपबीच पनि माओवादीलाई उसले मात्र हैन, नेपाली कांग्रेस र एमालेले पनि ‘प्रगतिशील', ‘अग्रगामी' र ‘क्रान्तिवादी' शक्तिको रूपमा स्वीकार गर्दै आएका छन् ।
माक्र्सवाद र माओवादी दर्शनलाई स्वीकार गरेको र त्यसै आधारमा वर्गीय संघर्षलाई उक्त सशस्त्र विद्रोहको निर्देशक सिद्धान्तका रूपमा प्रस्तुत गर्दै आएको माओवादीमा अहिले चिन्तन र चरित्रको विचलन स्पष्ट रूपमा देखा पर्न थालेको छ । जात र जातीयताका आधारमा संगठनात्मक कार्यविधि अघि बढाउन माओवादी केन्द्रले परिपत्रका रूपमा पार्टीभित्र सञ्चार गरेको छ । सम्भवतः त्यसले पार्टीभित्र नीतिगत र संरचनात्मक स्वरूप लिनेछ छिट्टै ।
जात, जातीयता नै नेपालको सन्दर्भमा वर्ग र वर्गीयताका आधार मानेर माओवादीले उसले अपवित्र र अस्वीकार्य मान्दै आएको हिन्दु वर्णा श्रमलाई निरन्तरता दिने अराजनीतिक र अवैज्ञानिक निर्णय सम्भवतः राजनीतिक संगठनका रूपमा माओवादी विचलन र पतनको सबभन्दा महत्वपूर्ण कारण बन्नेछ ।
सामाजिक, आर्थिक, शैक्षिक तथा केही हदसम्म जातीय आधारमा समाजका सबभन्दा कमजोर, उपेक्षित र पछाडि परेकाहरूको लागि सकारात्मक विभेद नीतिअन्तर्गत विशेष अवसर प्रदान गर्नु कुनै पनि कल्याणकारी राज्यको दायित्व हो ।
तर जातकै आधारमा मात्र पद र प्रतिष्ठा ओगट्ने राजनीति प्रतिगामी हो । अन्ततः त्यसले जातीय असहिष्णुतालाई प्रोत्साहित गर्ने मात्र हैन, ‘जातीय शुद्धता' या ‘रक्तको सुनिश्चितता' को लागि अन्तरजातीय विवाहलाई समेत निषेध गर्नेछ । अन्तरजातीय विवाहबाट उत्पन्न सन्तानलाई माओवादी या उसको कानुनले कसको जातमा राख्ला ? बाको कि आमाको ?
नेपाल दुई विशाल छिमेकीबीच अवस्थित हुँदा सानो लाग्छ, भौगोलिक आधारमा । तर सांस्कृतिक, जातीय, भौगोलिक र भाषिक हिसाबले ऊ भारतजतिकै विविधतायुक्त छ र ती विविधताबीचको सहयोग, सहिष्णुता र समन्वय नेपाली पहिचानको मौलिक पक्ष बनेको छ । नेपाली पहिचानलाई अझ फराकिलो बनाई सबैको सम्मानजनक अस्तित्व सुनिश्चित गर्नु आजको चुनौती हो ।
तर जातीय जनसंख्याको अनुपातमा दलीय संरचनाको निर्माण, जातीय बाहुल्य आधारमा राज्य, राजनीतिक संगठन तथा दलहरूको निर्माणले राजनीतिलाई अधोपतनमा लैजान्छ । माओवादी दल क्रान्तिको आवरणमा प्रतिगामी बन्न जान्छ ।
यसले समाजलाई जातीय विद्वेषको अखडामा समेत परिणत गर्नेछ । माओवादीले वर्गीय सिद्धान्त अस्वीकार गरेको हो भने उसको अस्तित्व अर्थहीन सावित हुनेछ छिट्टै ।