ठाउँ न ठहर कता जाउँ
देशगुनाको भेष भन्छन् । अनि परिवेशअनुरूप देशले दिशा तय गर्नुपर्छ भन्नेहरू पनि निकै भेटिन्छन् । ठाउँअनुसारको ठहर नहुँदा र ठहरबमोजिमको ठाउँ नमिल्दा बेखबर कुन बर्बादीतिर बरालिन पुगिने हो थाहा हुँदैन ।
यताका बाह्र वर्षदेखि नेपालभित्रको विचित्र इतिवृत्त यस्तै-यस्तै कथाव्यथासित मिश्रित र त्यस्तै-त्यस्तै परिपञ्चबाट अव्यवस्थित पाइन्छ । समयको चाल एवं भूलोकको चलनचल्तीअनुसार देश र समाजले गति लिनुपर्छ सही कुरा हो । अनि समयानुरूप तदनुकूल परिवर्तन हुनुपर्छ यो पनि उत्तिकै सटिक यथार्थ हो ।तर परिवर्तन, प्रणाली, पद्धति र परिपाटीमा परस्पर तालमेल नमिल्नु विचित्र विडम्बनाको विषय हो ।
हाम्रा पिता-पुर्खाले जेजस्तो ठाउँ बनाए र जेजसरी जेजे प्रकारको ठहर गरे, त्यो अद्यावधिक स्थितिमा ठीक-बेठीक के हो, त्यसको ध्यान दिनुपर्छ र परिस्थितिअनुरूप त्यसमा परिवर्तन पनि गरिनुपर्छ । तर उहिलेका कुरा खुइले भनेर हिजो-अस्तिका ठाउँ-ठहरका कुरालाई उसै लहडमा बदलिइहाल्नु पनि उचित हुँदैन ।
हिजोका स्थानगत नीतिगत र कालसंगत कतिपय कुरा विस्मरणीय बने पनि ती कति अनुशरणीय पनि हुन्छन् । देश, काल र परिस्थितिमा केकति कुरा त्याज्य तथा कतिपय विषय ग्राह्य हुन्छन् । त्यसको हेक्का समयको फेरबदलसँग हुँदै जानुपर्छ । देशको विधि-व्यवस्था राजपाट र राजनीतिको डोरो समात्नेहरूले त त्यस्ता अविस्मरणीय अनुकरणीय ग्राह्य एवं आवश्यकीय विषयमाथि गम्भीर रूपले ध्यान पुर्याउनैपर्छ ।
कालचक्रले बदलिँदो विश्व परिवेशले आवेश-विद्वेषले वा विकासको आसपासले नेपालको विधिविधान, राज्यव्यवस्था, सामाजिक अवस्था तथा शासन प्रणालीमा अहिले आमूल परिवर्तन आएको छ । सात, सत्र, सैंतीस र सत्चालीस सालका राजनीतिक परिवर्तनपश्चात् ०६२÷६३ पछिको राजनीतिक परिपाटी ‘संघीय लोकतान्त्रिक गणतन्त्र' को संज्ञा रूपमा उत्रिएको छ ।
नेपालका निम्ति नौलो प्रकारको यो परिपाटीको परप्राप्तिपछि उहिले बाजेका पालाका कतिपय चीजवस्तु, विषय, आदर्श तथा मतमान्यतामाथि प्रहार पनि भएको छ । कत्तिका सालिक फालिए, कत्तिका आस्था बदलिए र कत्तिका रीति, पद्धति एवं वस्तुस्थिति बिलाइए । कथित अग्रगामी, महान् क्रान्तिकारी र युगान्तकारी परिवर्तनका हिमायती भन्नेहरू कतिले त्यसको ‘ श्रेय हार' सिउरेर आपूmलाई स्वधन्य झैं सम्झे । इतिहासको समय लहरमा ल्याइने परिवर्तित प्रसंग प्रकरणमा त्यस्तो प्रसिद्धिको प्रवृत्ति आउनु स्वाभाविकै पनि हो ।
संसार र सांसारिक विषयवस्तु सदा स्थिर, अचल अटल भई राख्दैन । स्वभावतः त्यसमा हलचल र फेरबदल हुन्छ नै । तर यावत् उलटपुलट प्रत्येक परिवर्तन, नूतन कालक्रम र परिप्राप्त नवीनतम प्रणालीपछि आउने अर्को उपक्रमको अर्को छुट्टै कालक्रम हुन्छ । त्यो अवधिमा स्वभावतः परिवर्तित प्रक्रियाको पारख, जाँच पडताल र परीक्षा प्रायः हुने गर्छ ।
समयान्तरको यही सिलसिलामा नेपालभित्र अहिले यता आएर भए-गरेका, ढले-चलेका विगत एवं आगतको जोडघटाउ ठाउँठाउँमा सहरबजारमा र घरघरमा तथा मान्छेमान्छेका मन मगजमा कनिकुथी गिन्ती हुन थालेको छ ।
हिजो अस्ति प्रख्यात् परिवर्तनको क्यावात समय चरणमा पृथ्वीनारायण, महेन्द्र, भानुभक्त आदिका प्रतीकात्मक मूर्ति तोडिए, सालिक फोडिए र जताततै शब्दान्तर नामान्तर र रुपान्तर गरिए, सिंगै नेपाललाई नयाँ बनाइने भएपछि नेपालभित्रका प्राचीन अवयव स्मृति, कृति र इतिवृत्तिलाई किन बाँकी राख्ने भन्ने प्रवृत्ति त्यो अवधिमा निकै हावी पनि भयो ।
तर जसै प्रहर घडी पला र बारबेला बित्दै बाह्र संवत्सरको सँघारसम्म परिवर्तित लहर क्रम बढ्दै आयो- तब यतिखेर नेपाली जनमानसमा फेरि कताकताको अन्यमनस्क, अन्योल अनिश्चय र अन्यथाको चौबाटोमा ठिंङ ठडिन थालेको छ । कता-कता नेपाली जनता अहिले हाम्रो आफ्नो ठाउँको पहिचान गर्न थालेका छन्, कताकता नेपाली मन, विवेकले हाम्रो आफ्नो थातथलोको चोचोमोचो सोच्न थालेका छन् ।
कोरा वक्तव्य स्वतः वियुक्त सिद्धान्त र नक्कली नौटंकी मन्तव्यले आफ्नो मौलिक राष्ट्रिय गन्तव्य छिचोलिँदैन । ठाउँ न ठहरको त्यस्तो यात्राले गन्तव्य गिजोल्छ, नेपाल राष्ट्रका तमाम वासिन्दाको मन-माथिंगल खल्बल्याउँछ ।
हो, ६२÷६३ को घनघोर परिवर्तनले दिव्य १२ वर्षपछि नेपालभरि उज्यालो नै उज्यालोको अपार लहर ल्याउँछ र त्यसले सबै नेपालीलाई ज्योर्तिमान तुल्याउँछ भन्ने उतिखेरको औधी अभिलाषा एवं आकांक्षा हो । तर यावत् शब्दान्तर नामान्तर वा रूपान्तरले त्यस्तो अर्को अलंकारयुक्त प्रहर उघारेन, बरु हर उघार्यो, आकार निराकारतिर धकेल्यो र नेपाली अनुहारमा बेकारका दिक्दार रेखाहरू कोर्यो ।
त्यसैले यो बेला नयाँ नेपालको उज्यालो रूप खोज्ने नेपाली आँखाहरू विकृत परिदृश्य हेर्दै पट्यारलाग्दो पाराले एकोहोरो अर्को दृष्टि लगाइरहेका छन् । आँखी भएर हामीमाथि कुदृष्टि नलगाऊ भनेर परिवर्तनका संवाहक शक्तिको फूर्तिले जति नै चुरीफुरी गरे पनि तिनका सबै जुक्तिबुद्धि निरस्त र अनर्थ बन्दै गएको देखिन्छ ।
परिवर्तन प्रगतिको पथ बन्नुपर्छ, परवर्तित प्रणाली प्रगति शिखरको सपना बन्न सक्नुपर्छ अनि परिवर्तनको प्रहरपछि पद प्राप्तिका लहर ल्याउनुपर्छ । तर १२ वर्षअघिको त्यो राजनयिक फेरबदलको घटनाचक्रले र त्यसको रिङ्दो समयसन्दर्भले त्यस्तो सारभूत आधारभूत वञ्छित लाभ दिन सकेन । तब त्यो पथ उबडखाबडको त्यो सोपना बांगेटिंगो र त्यो प्रहर कठोर कहरको बन्न पुग्यो । त्यसैले नेपाल अहिले अल्मलमा अल्झिएको छ र नेपाली आशा-आकांक्षा अहिले काकाकुलको बेहालमा बगेको छ ।
त्यत्रो भारी परिवर्तन, त्यत्रो विधि हुँकार तथा नवनायकहरूको चामत्कारिक तवरको त्यस्तो विछट्टको उद्गार एवं चरम उन्नयनको अभियान यति छिटै यसरी किन भंगीत भइरहेछ, सबैका निम्ति सोचनीय विषय छ । जुर्मुराएर केही नयाँ-नौलो गतिलो हुन्छ भनेर भन्नेहरू अहिले टाउकामा हात राख्दै पृथ्वीनारायण शाह र महेन्द्रको दूरगामी दिव्य दृष्टिको ध्यान गर्न थालेका छन्, अनेकतामा एकताको डोरी कता मिल्छ भनेर सोच्न थालेका छन् । त्यस्तो ध्यान र चिन्तन किन र कताबाट आयो ?
कुरा स्पष्ट छ यो परिवर्तित समय चरणको परिक्रमा गर्दै जाने क्रममा हामीले जसरी हाम्रो ठाउँ छोड्यो र जे-जस्ता अनिच्छित ठहरहरू ठड्याउँदै गयौं, त्यसको ठेगाना ठीक यसरी नै ठडिएको हो भन्ने पुष्ट भौतिक ज्ञान नेपाली चित्तले ठम्याउँदै गएको हो भन्ने अहिलेको बौद्धिक ठम्याइ हो ।
ठाउँअनुसार ठहर हुनुपर्छ, अन्यथा परिवर्तनको प्रहर कहर बन्छ । भएको यही हो । संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षता समावेशी शासन व्यवस्था, समानुपातिक सुव्यवस्था अन्तर्राष्ट्रियता, विश्ववादिता, क्षेत्रीयता, जातीय सम्प्रभुता, आत्मनिर्णयको स्वायत्तता जस्ता जति पनि शब्द विशेषता परिवर्तन यता आए, ती कर्णमधु अवश्य हुन् । तर व्यवहारमा ती कार्य प्रिय बन्न सकेनन् ।
धर्म र विवेकयुक्त लोकसम्मत विकेन्द्रित प्रजातान्त्रिक विधि-व्यवस्थाको अर्थ राख्ने राज्य प्रणाली नै नेपाल र नेपालीको अपेक्षित पद्धति हो । त्यसको प्रतिस्थापन भन्दै जति नै अरू शब्द शृंगार भरे पनि प्रतिफल अपूर्ण भएपछि हुन्छ के ? बेकार र विनासारका शब्द थुपार्दैमा सारभूत सुन्दर कविताको सिर्जना हुन होइन । नेपाली हृदयाकाशमा क्रमशः घामको ज्योति देखिनुको कार्य कारण सायद त्यही हो ।
ठाउँ न ठहर उसै जाउँ भनेर आखिर पुगिन्छ कहाँ ? सही गन्तव्यमा पुग्न सतही दृष्टिकोणले हुँदैन । कोरा वक्तव्य स्वतः वियुक्त सिद्धान्त र नक्कली नौटंकी मन्तव्यले आफ्नो मौलिक राष्ट्रिय गन्तव्य छिचोलिँदैन । ठाउँ न ठहरको त्यस्तो यात्राले गन्तव्य गिजोल्छ, नेपाल राष्ट्रका तमाम वासिन्दाको मन-माथिंगल खल्बल्याउँछ ।
त्यसैले नेपालको भूपरिवेश, नेपाली समाजको संरचना र नेपाली मनभित्रको आफ्नै मूल मौलिक मनोदशाअनुरूपको नीति, विधि, प्रक्रिया, प्रणाली हाम्रो हितमा हुन्छ, ‘हामी अनुकूल बन्छ । नेपालभित्रको विद्यमान विचित्र इतिवृत्तले अहिले यसै भन्छ । अनि भन्छ- आफ्नो ठाउँको सही ठेगाना र जाने बाटोको सही ठहर हुनुपर्छ ।