चिसोमा स्वास्थ्य

चिसोमा स्वास्थ्य

एक सातादेखि पहाड र हिमालमा हिमपात भएर जाडो ह्वात्तै बढेको छ । तराईमा बाक्लो हुस्सुका साथै शीतलहरले चिसो बढाएको छ । शुक्रबारको वर्षाले झन् चिसो गराएको छ । जाडोले कठ्यांग्रिने, बिरामी पर्नेजस्ता समाचार आइरहेका छन् । चिसो सुरु भएसँगै कोठा न्यानो बनाउन खोज्दा अप्रिय घटनाहरू हुने गरेका छन् । निस्सासिएर मानिसको मृत्यु हुनेदेखि रोगी भइने समस्या मानिसले झेल्ने गरेका छन् ।

अत्यधिक चिसो र शीतलहरले झाडापखाला, निमोनिया, टाउको र छाती दुख्ने, हातखुट्टाका औंला र कान रातो हुने, चिलाउने, सुन्निने र कहिलेकाहीँ घाउ हुने, रुघाखोकी, दम र यसका जटिलताहरू, छालासम्बन्धी समस्याहरू, दाद, अनुहारमा सेतो दाग, ओठ फुट्ने, हातखुट्टा फुट्ने, शरीर चिलाउने, छाला सुक्खा हुने, फुस्रो हुने र फुट्ने, चिसोको एलर्जी हुने, अपच, पखाला, आउ“जस्ता पाचनसम्बन्धी रोगहरू, हातखुट्टा र जोर्नी सुन्निने अवस्था आउँछ । चिसोमा त्यस्ता बिरामीको संख्या अस्पतालहरूमा बढ्ने गर्छ ।

मुटु, श्वासप्रश्वास र दमका पुराना बिरामी, कुपोषित बालबालिकालाई चिसोले बढी आक्रान्त पारेकाले उनीहरू नै बढी बिरामी हुन्छन् । मौसम भोजभतेरको भएकाले बढी खाना, बोसो र गरिष्ठ खानाले अपच, ग्यास्ट्राइटिस, झाडाबान्ता, पखाला हुने र जन्डिस, टाइफाइड पनि प्रशस्त हुन्छ । जाडोमा रगत बाक्लो हुने भएकाले सुगर र रक्तचापमात्र बढ्दैन, प्रायः सबै दीर्घकालीन रोग बढी गम्भीर बन्छन् ।

सहरबजारमा मर्निङवाक र गाउँघरमा कामका लागि एकाबिहानै घरबाहिर निस्कँदा घट्दो तापक्रम, चिसो हावाले रक्तधमनीको पर्खाल बाक्लो हुने वा रक्तनली खुम्चने गर्छ । त्यस्तो बेला रक्तसञ्चार कम भई रगत र अक्सिजन नपुगी तथा खुम्चेको नसामा रक्तप्रवाह गर्दा पर्ने अतिरिक्त परि श्रमले मुटुमा असर गर्छ, जसले हृदयाघातको सम्भावना बढाउँछ ।

बन्द कोठामा जेनेरेटर, हिटर, गाडी वा धुवाँ फाल्ने कुनै पनि यन्त्र चलाउन हुँदैन । दाउरा, गुइँठा र ब्रिकेट बाली कोठा तताउँदा, न्यानो पार्दा झ्यालढोका खुला राख्नुपर्छ । कोठामा हावाको उचित ओहोरदोहोर हुने व्यवस्था मिलाउनुपर्छ । 

रक्तप्रवाहको कमीले स्ट्रोक, मांसपेशी र जोर्नीको पीडा, श्वासनली खुम्चिएर दम, निमोनिया हुनसक्छ । ६० वर्षभन्दा बढी उमेरमा हाड खिइने, एलर्जी, टन्सिल, हातखुट्टा सुन्निने, नीलो हुने गर्छ । सामान्य रक्तचाप भएकामा बढ्ने, नियन्त्रणमा रहेकोमा अनियन्त्रित हुने र पहिलेदेखि नै अनियन्त्रित भएकोमा अचानक बढेर आकस्मिक उपचारमा जानुपर्ने हुनसक्छ ।

जाडोमा रगतको प्लेटलेट बढी सक्रिय भई रगत जम्नसक्छ । सेतो, रातो र प्लेटलेटको संख्यामा १० प्रतिशतजति वृद्धि हुन्छ । रगतको गाढापना २० प्रतिशत बढ्छ । तसर्थ प्रत्येक व्यक्तिमा रगत जम्ने सम्भावना गर्मीको तुलनामा बढी हुन्छ ।

जाडोमा शरीर तताउन मद्यपानलाई सजिलो विकल्प ठानी मातेर राती ढलेकाहरू भोलिपल्ट बिहान नउठ्न पनि सक्छन् । तत्काल न्यानो अनुभूति भए पनि त्यो भ्रममात्र भएकाले शरीर तातो नभई चिसो हुने हुँदा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।

शरीरको तापक्रम ३४ डिग्री सेल्सियसभन्दा तल झरेको अवस्थालाई शीतांग भनिन्छ । यस्तो बेला हातखुट्टा चिसो हुनुका साथै सास फेर्न असजिलो, मुटुको चाल बढ्ने, रक्तचाप कम हुने र शरीरको तापक्रम कम भएपछि मृत्युसमेत हुनसक्छ । शरीरको तापक्रम ९० डिग्री फरेनहाइटभन्दा कम भए जीउ काम्न बन्द हुन्छ, सोच्न र बोल्न असजिलो हुन्छ । तापक्रम ८६ डिग्री फरेनहाइटभन्दा कम भए बिरामी हिँड्न सक्दैन, शरीरका सबै अंगले काम गर्न छाड्छ र बिरामीको मृत्यु हुन्छ ।

कोठा वा शरीर तातो बनाउँदा

सही रूपले बल्न नसकेको स्टोभ, हिट· सिस्टम, जेनेरेटर तथा चुरोट र मट्टितेल, ग्यासबाट चल्ने हिटर, गिजर तथा स्टोभ आदिको ग्यास तथा धुवाँमा कार्बन मोनोअक्साइड ग्यास उत्पन्न हुन्छ । यिनको सामान्य सम्पर्कमा आउँदा सुरुसुरुमा अलिअलि टाउको दुख्छ । निरन्तर सम्पर्कमा रहँदा तीव्र टाउको दुखाइ, रिँगटा, थकान, वाकवाकी, चिटचिट हुनेजस्ता समस्या देखिन सक्छ । निर्णय क्षमता, स्मरण शक्ति र अंगमा तालमेलको कमी, स्नायुतन्त्रमा दीर्घकालीन हानि, सिक्ने र सम्झने क्षमतामा अभाव हुन्छ ।

ग्यासले कमजोर बनाउछ, चेतना हराउँछ, प्रभावित व्यक्ति कराउन पनि सक्दैन र स्लिपिङ ट्याब्लेट खाएझैं लठ्ठ परी अन्ततः तिनको मृत्यु हुन्छ । शरीरमा वा रगतमा सीओको मात्रा ३० प्रतिशत पुग्दा टाउको दुख्ने, थकाइ लाग्ने हुन्छ, ४० प्रतिशत पुग्दा बेचैनी बढ्छ । रगतमा सीओको मात्रा ६० प्रतिशत हुँदा मान्छेले चेतना गुमाउँछ, बेहोश बन्छ र मात्रा ८० प्रतिशत पुग्दा मानिसको मृत्यु हुन्छ ।

सावधानी

चिसोमा शारीरिक गतिविधि न्यून, खानपिन बढी, तौल बढ्नेलगायतले रक्तचाप र मधुमेहजस्ता रोगको जोखिम बढ्छ । मुटुरोगी, रक्तचाप नियन्त्रण नभएकाहरू, बूढापाका, मिर्गौला, मधुमेह, दमलगायतका दीर्घरोगी घाम उदाएका बेला अर्थात् बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म एक दुई घन्टा हिँड्न जरुरी हुन्छ ।

धुवाँ धूलोबाट बच्ने, न्यानो लुगा लगाउने, पोषणयुक्त सन्तुलित खाना खाने, भिटामिन सी पर्याप्त मात्रामा भएको र मौसमअनुसारका ताजा फलफूल र सागपात पर्याप्त मात्रामा खाने, सरसफाइमा बढी ध्यान दिने, प्रशस्त मात्रामा तातो झोल पदार्थ खाने गर्दा चिसोबाट उत्पन्न समस्या र जटिलताबाट बच्न सकिन्छ ।

चिसोमा धुलो, धुवाँ, चिसो र संक्रमणबाट जोगिन मास्क लगाउनुपर्छ । शरीर तथा कोठा न्यानो बनाउने निहुँमा धूमपान, मद्यपानको सेवन गर्ने, झ्याल,ढोका थुनेर गुइँठा, दाउराको आगो बाल्ने गर्नु हुँदैन । सुत्ने समयमा बालेको आगो, हिटर निभाउनुपर्छ ।

हिटर वा अन्य क¬रा बाल्दा त्यसको नजिकै पानी राख्ने र बच्चाबच्चीको पहुँचभन्दा टाढा राख्नुपर्छ । बन्द कोठामा जेनेरेटर, हिटर, गाडी वा धुवाँ फाल्ने कुनै पनि यन्त्र चलाउन हुँदैन । दाउरा, गुइँठा र ब्रिकेट बाली कोठा तताउँदा, न्यानो पार्दा झ्यालढोका खुला राख्नुपर्छ । कोठामा हावाको उचित ओहोरदोहोर हुने व्यवस्था मिलाउनुपर्छ । बाथरुममा ग्यास गिजर उपयोग गर्दा झ्याल वा भेन्टिलेसन खुलै राख्नुपर्छ ।

विशेषगरी मनतातो पानी, सुप, झोल पदार्थ पिउने, बिहानै बाहिर ननिस्की हुस्सु र चिसोबाट बच्ने, घरबाहिर घाम लागेपछि मात्र निस्कने, मोटरसाइकलमा नहिँड्ने, उच्च रक्तचापजस्ता दीर्घरोगको औषधि नियमित खाने तथा चिसोजन्य खाद्यपदार्थ र वातावरणबाट बच्ने गर्नुपर्छ । नयाँ संक्रमण हुने र पुरानो रोगमा जटिलता थपिने जोखिम चिसो मौसममा बढी हुन्छ । त्यसैले नियमित स्वास्थ्य परीक्षण, खानपान, औषधिका विषयमा चिकित्सकसँग परामर्श लिइरहनुपर्छ । (डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय सहकोषाध्यक्ष हुन् ।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.