पश्चिमी गोलार्द्धको छेउमा

पश्चिमी गोलार्द्धको छेउमा

म सजिलोसित अमेरिका आइपुग्या होइन ।
मलाई असजिलो भएको थियो मेरो आफ्नै मानसिकताले गर्दा । देश छोडेर हिँड्नुभन्दा अघिल्लो दिनसम्म पनि म अन्योल र द्विविधामा थिएँ- जाउँ कि नजाउँ !

उसो त म घुमन्ते स्वभावको मान्छे हुँ । उत्कट जिज्ञासु प्रकृतिको हुनाले बाल्यकालदेखि नै पढेका र सुनेका कुरालाई आफैंले देख्ने र अनुभव गर्ने लालसा मनमा मडारिइरहन्थ्यो । परिणामस्वरूप, मेरो पहिलो जिज्ञासा शमन गर्ने यात्रा ११ वर्षको उमेरमा बनारसबाट पटनासम्म एक्लै भएको थियो, गोलघर हेर्न । त्यसताका अपहरण गर्ने र फिरौती असुल्ने 'लोकतान्त्रिक' अभ्यास सुरु भइसक्या थिएन ।

किनभने सन् १९५४ ताका भारत भर्खरै स्वतन्त्र भएको थियो । अतः म ११ वर्षे बबुरो सकुशल हजुरबाको समीपमा बनारस फर्किएर आइपुगेको थिएँ- हुक्काको नलीको पिटाइ खान । अनि उमेर बढ्नुका साथै जिज्ञासा शमन गर्न भौंतारिने क्रम पनि बढ्दै गयो र भारतको उत्तरमा जम्मुतबी, दक्षिणमा नेल्लोर÷गुन्टुर, पूर्वमा गुवाहाटी र पश्चिममा द्वारकाधामसम्म धाएर भारतको नक्सा कोर्ने निजत्व कायम गरियो ।

हिँड्ने अघिल्लो दिनको साँझसम्म म भैंसेपाटीका आफूले छोडेर जानुपर्ने सबै अन्तरकुन्तरतिर अन्यमनस्क भावले डुल्दै÷भौंतारिँदै थिएँ । भोलिपल्ट हिँड्ने दिनको व्यस्ततामा पनि म टोलाइरहेकै थिएँ । त्यसदिन बिदाइका लागि घरपट्टिबाट कोही पनि थिएनन्, मात्र आफूसँग बस्ने कान्छो छोरा÷बुहारी तथा छुट्टिएर बसेकी बुहारी र दुवैतर्फका नाति÷नातिनीहरूबाहेक ।

बरु ससुरालीपट्टिबाट एकमेव सालो हरिमोहन थापा आफ्नी श्रीमतीसहित आएको थियो र आएका थिए तीनवटै सालीहरू- रमा, रेणु र बेनु । रमाका श्रीमान् अर्थात् मेरा साढुभाइ नारायण गजुरेल र उनको जेठो छोरा उज्ज्वल गजुरेल पनि आफ्नो गाडी लिएर आइपुगेको थियो, हामीलाई झिटीगुन्टासहित विमानस्थलसम्म पुर्‍याउन र सकुशल यात्राको शुभकामनासहित बिदाइ गर्न । आफूसित त हिँड्ने र दगुर्ने दुई खुट्टाबाहेक कहिल्यै अन्य साधन भएन । छिटो दगुर्नुपर्‍यो भने एउटा जाबो मगज भन्ने साधनचाहिँ अझै पनि छ, जसमा झिटीगुन्टा हाल्ल मिल्दैन ।

जेहोस, यो अभाव पूर्ति गरिदिनुभएकोमा म भाइ नारायण गजुरेलप्रति कृतज्ञ थिएँ । मेरी श्रीमती ज्ञानु भने घरका र माइतीपट्टिकाहरूसित बिदाइ समारोहमा व्यस्त थिइन् । यी व्यस्ततामध्ये पनि म अन्यमनस्क नै थिएँ । यहाँ दिवंगत जेठो छोरापट्टिका दुईवटी नातिनी आर्या र सिमरन, कान्छो छोरापट्टिको एउटा नाति तेजसलाई छोडेर जानुपर्दा एवं अमेरिका पुगेपछि सबैभन्दा जेठी एकमात्र छोरी अर्पणापट्टिका तीनवटी नानिनी- आस्ना, मेघना, रेवाहरूसितको भेट र बिछोडको द्वैध मानसिकतामा भुमरिएको थिएँ । त्यसमाथि झन् 'पोलेको माथि फकुन्डो' भनेझैं देश र देशको सम्पूर्ण सेरोफेरो त्यागेर बिरानो हुनुपर्ने व्यथा आइलाग्या थियो ।

यसप्रकार भाइ नारायण गजुरेलको सहयोगले झिटीगुन्टा बोकेर त्रिभुवन विमानस्थलमा आइपुगियो । त्यहाँसम्म बिदाइ गर्न नारायण गजुरेल दम्पती, रेणु, बेनुका साथै कान्छो छोरो अमित र नाति तेजस पनि आएका थियो । ६ वर्षको तेजस पहिलोचोटि विमानस्थल आएको हुँदा निकै रमाएको थियो । उसका बालसुलभ प्रश्नहरूले एकातिर म आनन्दित थिएँ भने अर्कोतिर वियोगको व्यथाले व्यथित पनि थिएँ । मेरी श्रीमती ज्ञानुका लागि पनि विमानस्थलको बिदाइ सहज र सुखद थिएन ।

विमानस्थल आइपुगेपछि सँगसँगै अमेरिका जाने दुई व्यक्ति पनि आइपुगे । पहिलो व्यक्ति भैंसेपटी (सैंबु) मा बस्ने हाम्रै छिमेकी दीपक भाइ हुनुहुन्थ्यो । अत्यन्त सहयोगी र मिलनसार हुनाले उहाँले पनि अमेरिका जान हामी जाने बाटोअनुसारकै टिकट लिनुभएको थियो । यद्यपि उहाँले अर्कै रुट भएर जाने विचार गर्नु भए पनि हामी दम्पती पनि अमेरिका जाने थाहा पाएर सल्लाह गरी एउटै रुटको टिकट लिनुभएको थियो ।

उहाँ पहिले पनि अमेरिका गइरहेको मान्छे हुनाले हाम्रै सजिलोका लागि रुट फेर्नुभएको थियो । उहाँ, दीपक भाइलाई जानु थियो अमेरिकाको दक्षिणपूर्वी राज्य टेक्सासको डलास सहरमा भने हामीलाई जानु थियो अमेरिकाको मध्यपश्चिमी राज्य कोलोराडोको डेनवर सहरमा । सँगै जाने चाँजो मिलाउनु भएकोमा म दीपक भाइप्रति कृतज्ञ थिएँ । देश छोडेर बिरानो हुनुपर्दाको यस बेलामा एकै ठाउँ बस्ने छिमेकीको साथ मात्रै पाइएन अपितु बाटोमा बोल्ने र बाटो देखाउने सहृदयी पथप्रदर्शक पनि पाइयो ।

सँगै अमेरिका जाने अर्कीचाहिँ एउटी भद्र महिला हुनुहुन्थ्यो- मीना श्रेष्ठ । मीनाज्यू र हामी दम्पतीको गन्तव्य एउटै थियो- डेनवर, कोलोराडो, संयुक्त राज्य अमेरिका । हामीजस्तै उनी पनि अमेरिकावासी ज्वाइँ-छोरीको निम्तोमा जाँदै थिइन् । उनका ज्वाइँ अरुणदास श्रेष्ठ अमेरिकामा मेरो ज्वाइँ विष्णु बस्नेतको पारिवारिक भित्र हुनाले उनका विषयमा विष्णु ज्वाइँद्वारा फोनबाटै सबै कुरा थाहा थियो । मात्र देखादेख विमानस्थलमा आएर भयो ।

यसप्रकार हामी चारैजना- सपत्नीक म, मेरा सहयोगी र सहृदयी छिमेकी दीपकबाबु र मीना श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डियन एयरलाइन्सको जेट एयरको पुन्टे जेटबाट नेपालको धरती छोडेर दिल्लीतर्फ उड्यौं । जेटको रनवेकै दगुराइमा बिदा गर्न आएकाहरू दृष्टिबाट विलीन भइसक्या थिए भने पुन्टे जेटले बादल छिचोलेर अझैमाथि पुग्दा नेपालको धर्ती पनि अगोचर भयो । जेटप्लेनको भित्र उत्तरपट्टिको पाटोमा बस्नेहरूले आफ्ना झ्यालबाट हिमालका चुचुराहरू देखेर स्वदेशको अनुभूति गर्दै थिए होलान् । तर, आफू परिएको थियो दक्षिणी पाटोमा । अतः मेरो मन विमान जेटबाट हाम फालेर दक्षिणतिर हानिँदै तराईको महोत्तरी जिल्लाको गाउँ औरही पुग्यो । यो गाउँ नै मेरो जन्मथलो हो । यसैको हावा, पानी र माटोले मेरो र मनु ब्राजाकीको निर्माण भएको हो ।

भन्छन्, मान्छेले अन्त्य बेलामा आफ्नो प्रारम्भ देख्छ रे । यो कुरा सत्य भए पनि म अहिले अन्त्यावस्थामा छैन, मात्र अमेरिका जाँदैछु । उसै पनि डुलन्ते-घुमन्ते मान्छे हुँ, किशोरावस्थादेखि नै मैले भारतमा भौंतारिनको लागि असंख्य पटक आफ्नो जन्मथलो र मातृभूमि छोडेर हिँडेको छु । यस्तो मनमगज हुँडल्ने अनुभूति कहिल्यै कदापि भएको थिएन किनभने, बेहोसीको लगौंटीझैं दुई देशको दसगजा लथालिङ्ग र ह्वाङ्ग खुला थियो र छ, जतिबेला मन लाग्यो आयो, जति बेला मन लाग्यो गयो । तर, अहिलेको परिस्थिति नितान्त भिन्न छ ।

अहिले म आफ्नो आर्थिक सहायताले गर्दा, अथवा सरकारी भत्ता पड्काउन, अथवा कुनै आईएनजीओको दानदातव्य मर्काउन अमेरिका जान लाग्दा होइन । यसपटक त म सपत्नीक छोरीज्वाइँले पठाएको हवाईटिकटमा यात्रा गर्दै थिएँ र श्रीमतीको तीन महिना डुलेर, भेटघाट गरेर फर्किने आश्वासनका साथ जाँदै थिएँ । तर, यो आश्वासन नै मेरा लागि विश्वसनीय हुन सकेको थिएन र म मनविमानमा उडेर आफ्नो जन्मथलो औरहीको सेरोफेरोमा रम्दैथिएँ । तराईको शश्यश्यामलभूमि, सुरम्य गाउँ, त्यसका तलाउहरू र घाटहरू, आँपका बगैंचा र बाँसघारीहरू, धुलाम्ये डगरमा छुटेका पदचिन्हहरू, हाटबजार र मेलाठेलाहरू, चाडवाड र नाटक नौटंकीहरू यिनै र यस्तै कुराहरूको समुच्चय थियो- धुलेधरतीको वियोग !
धुलेधरतीको वियोगको वियोगान्त प्लेनको झ्यालतिर बसेको मेरी श्रीमती ज्ञानुको अत्यासिँदो यस उद्गारबाट भयो ।
'किन यसरी टोलाएर ढुङ्गोजस्तो भएको हो ? प्लेनभरि मान्छे कराउँदैछन् ।'
'हँ, के भो ? किन कराउँदैछन् ? '

'एक घन्टामा दिल्ली पुग्नुपर्ने, दुई घन्टा लाग्यो रे !'
'ए हो ! पाइलटहरूलाई हिमाल दर्शन गर्न मन लाग्यो होला अनि डुलाउँदै ल्याइपुर्‍याए ।' मुन्टो लम्काएर झ्यालबाहिर हेरेँ हाम्रो विमान इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बेतोडले गुड्दै रहेछ, 'हिमाल पनि नेपाल नै हो, के गर्नु, अब हेर्नलायक भनेको यही बाँकी रहेको छ- फोहरी काठमाडौं र फोहरी पशुपतिनाथ हेर्नेलायक रहेन क्यारे ।'

साँच्ची नै प्लेनभित्र कल्याङ्मल्याङ चल्दै रहेछ । प्राण भयजन्य उद्गारहरू विमानले भुइँ टेकेपछि मात्र सुरु भएको रहेछ । हुन पनि हो, आफूले निवारण गर्न नसकिने संकट आइपर्दा मानिस मुक र अचल हुन्छ । अब आफूलाई सुरक्षित ठानेर सबै सवाक् र सचल हुँदै बाहिर अडिएको बसतिर लागे । हामीहरू पनि सबैका साथ बसमा बसेर ट्रान्जिट भवनतिर लाग्यौं ।
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अझै चल्दैरहेछ । बसबाट ट्रान्जिट भवनसम्म आइपुग्दा कताकतै यस्तै देखियो । काठमाडौंबाट दिउँसो १ बजे (२०६६ साल, वैशाख २७ गते) उडेको जेट एयरको प्लेन दिल्ली ३ बजे आइपुग्या थियो । अब दिल्लीको यस अन्तर्राष्ट्रिय विमानस्थलको ट्रान्जिट भवनमा ११ घन्टासम्म थन्किएपछि राति २ बजे ब्रिटिस एयरवेजको लन्डन जाने विमानमा चढ्न पाइने समय तोकिएको थियो ।

दिल्लीको गर्मी हामी बसेको ट्रान्जिट भवनभित्र थिएन । लामो समयसम्म ट्रन्जिटमै थन्किनुपर्ने भएकाले दीपकबाबुसित सल्लाह गरेर सुपरिचित दिल्ली सहरको फन्को मार्ने विचार थियो- चुरोट सुरोट पनि खान र समय पनि बिताउन । तर, गेटमा ठडिएको सुरक्षाकर्मीले उर्दी सुनायो- 'अध्यागमन काउन्टरमा पासपोर्ट÷भीसा बुझाउनू, अनुमतिपत्र लिनू, अनिमात्र बाहिरिनू ।' मैले संशकित हुँदै यो झ्याउलो बिसाउन चाहिनँ ।

उसो त भारतीयहरूलाई नेपालमा र नेपालीहरूलाई भारतमा जान÷आउन र डुल्न÷घुम्न बेहोसीको लगौंटिझैं खुल्ला बोर्डरले मनग्य सघाएको हो तर हावामा उडेर काठमाडौंबाट दिल्ली आउने मनुवालाई भने पुरै अन्तर्राष्ट्रिय नियम लाग्दोरहेछ । बाहिर निस्कौं फर्केर आउँदा 'यति ले' अनिमात्र भित्र पस्न पाइन्छ भन्यो भने के गर्ने ? खल्ती खलास छ । उसै पनि दिल्लीले हुकुम गरेपछि काठमाडौंले 'हस्' भन्ने बाध्यता रहिआएकै छ । भो, दिल्ली नडुलौं । बाहिर दिल्लीका बिल्लीहरू पनि थुप्रै होलान्, हामीजस्ता 'अन्तर्राष्ट्रिय यात्रीहरू'लाई ढुकेर बसेका । अतः दीपकबाबु र म एक तला उक्लेर फेरि ट्रान्जिट कक्षमै थन्कियौं ।

एकछिन पछि एउटा मान्छे नेपालबाट आएका र अमेरिका जाने फलाना दम्पती को हुन् भन्दै सोध्न आइपुग्यो । 'हामी हौं' भनेर मैले भनेपछि उसले विनम्रतापूर्वक सुनायो- 'तपाईं श्रीमान्÷ श्रीमतीलाई खानेबस्ने सबै व्यवस्था हामीले मिलाएका छौं र म अहिले 'नास्ता'का लागि तपाईंहरूलाई लिन आएको हुँ । शुक्लाजी अर्जेन्ट काममा व्यस्त हुनाले आउन सक्नु भएन, यसका लागि उहाँले क्षमायाचना पनि गर्नुभएको छ ।'

'क्यै छैन, यस आतित्थ्यपूर्ण सहयोगका लागि उहाँलाई धन्यवाद भन्नुहोला ।' अनि मैले झट्ट सम्झें एकै ठाउँ जाने मीना श्रेष्ठ र सहयोगी-सहयात्री दीपक बाबुलाई र लगत्तै भनेँ- 'तर हामी त चारजना छौं, एकै ठाउँबाट आएका र एकै ठाउँ जाने ।'
ती व्यक्तिले तत्परतासाथ भने, 'हुन्छ, क्यै छैन, चारैजना पाल्नुस् । अन्य केही सेवा भए पनि निःसंकोच भन्नुहोला ।'
काठमाडौंबाट हिँड्नुभन्दापूर्व विष्णु ज्वाइँले अमेरिकाबाट फोन गरेर भन्नुभएको थियो, 'हजुरहरू दिल्ली पुगेपछि त्यहाँ मेरो एकजना सहपाठी साथी जेटएयरमा काम गर्नेले सबै व्यवस्था मिलाउने छन्, कुनै दुःख हुनेछैन ।'

अहिले झट्ट त्यो कुरा मैले सम्झिएँ । विष्णु ज्वाइँ मद्रास (वर्तमान चेन्नई) पढ्दाखेरिका साथी अहिले जेट एयरका उच्च अधिकृत रहेछन् यहाँ दिल्लीमा ।

हामीलाई बोलाउन आउने ती व्यक्तिले चारैजनालाई ट्रान्जिट भवनभित्रकै एउटा रेस्टुरेन्ट अथवा जेट एयरकै क्यान्टिन हो कि मा लगेर त्यहाँको काउन्टरम्यानलाई भने, 'देखो, यो शुक्ला सरके मेहमान हैं, नास्ते और खाने में जो कुछ अर्डर करें देना, बील मत पेस करना, खातिरदारीका ध्यान रहे ।'

म अझै अन्यमनस्क थिएँ । दिउँसो चार बजेको शुक्लजीको आतित्थ्यपूर्ण खाजा खान पनि मन लागिरहेको थिएन । उतै अमेरिकातिरै सिलटिमुर खाइने हो कि फर्के आउन पाइने हो भन्ने द्विविधाजन्य भुमरीमा भुमरिँदै थिएँ । नातागोता, परिवारजन र इष्टमित्रसित ता फोनबाट कुरा गरेर चित्त बुझाइएला तर नेपालसित भलाकुसारी कसरी गर्नु ?

वेटरले मेनु ल्याएपछि सबैले मतिर हेरे । मैले मेनु दीपक बाबुलाई दिँदै भनेँ, 'म त चियामात्र खान्छु, तपाईंहरू के खानुहुन्छ अर्डर गर्नुहोस् ।'

'के विरक्तिएको बोकाको जस्तो अनुहार लगाएको ? यति आदरसाथ स्वागत गरेपछि क्यै त खानुपर्‍यो नि ।' श्रीमती ज्ञानु व्यंग्यात्मक भइन् ।
'लौ त म एगटोस्ट खान्छु ।'
सबैले त्यही अर्डर गरे र खायौं ।

दिउँसो ४ बजेको खाजा शुक्लाजीको मेजमानीमा खाइयो तर साँझको खाना खान शुक्लाजीकै मेजमानीको फाइदा लिन दुईको सट्टा थप दुई जनालाई असजिलो लागेको हुँदा चारैजना ९ बजेतिर अन्य रेस्टुराँमा (ट्रान्जिट भवन भित्रकै) पस्यौं ।
पस्न त पस्यौं, खान पनि विशुद्ध भारतीय शाकाहारी भोजन खायौं, बिल पेस भएपछि पो थाहा भयो ढाडै भाँचिने गरी नभए पनि राम्रैसित सेकिने गरी खाइएछ ।

खाद्य परिकारहरूको दरभाउ डलरमा निर्धारण गरिएको रहेछ । धन्य, युरोमा गरिएको रहेनछ । अझ पाउन्डमा गरिएको भए त दिल्लीमै टट्टुटाट भइनेरहेछ । काउन्टरम्यानको पछाडि सोकेसमा सजिएका रम-जिन- ह्विस्कीको कुरा के गर्नु-विचार थियो-भोजनपश्चात् एक पेग निट् घुट्याएर नेपाल, नेपाली र आफूलाई एकछिन बिर्सिदिने । मैले एक पेग इन्डियन मेड ह्विस्कीको दर-भाउ सोध्न आँट्दा दीपक बाबुले सचेत गराउनु भो, 'यहाँ नखाउँ, छोइनसक्नु हुन्छ ।' तापनि मैले काउन्टरम्यानलाई सोधिहालेँ । उसले त्यो इन्डियन ह्विस्कीको एक पेगको दाम भन्दाखेरि नै मैले बुझेँ विमानस्थलबाहिर यो एक पेगको दामले एक बोतल नै पाइनेरहेछ ।

बल्ल पो बुझेँ ज्वाइँको बुद्धिमता, शुक्लाजीको सदाशयता र आतिथ्यको महत्त्व ।
न आफूलाई, न ता नेपाललाई बिर्सन पाइयो । चुरोट खाएर सम्झिन पनि पाइएन, ह्विस्की खाएर बिर्सिन पनि पाइएन ।
जे होस्, राति २ बजे ब्रिटिस एयरलाइन्सको जेट विमानमा दिल्ली छोडेर लन्डनतिर उडियो । राति २ बजे दिल्लीबाट उडेको भएतापनि पश्चिमतिर हानिएको हुँदा रात लम्बिँदै गयो र कति घन्टा हो कुन्नि उडेपछि अन्ततः बिहानीपख लन्डनको हिथ्रो विमानस्थलमा आइपुगियो ।

छ्याङ्ग उज्यालो भइसक्या थियो । बसले टर्मिनल भवन ल्याइपुर्‍याएपछि लिफ्ट चढेर तीन तलामाथि ट्रान्जिट कक्षमा चारैजना आइपुग्यौं । ट्रान्जिट भवनको त्यो विशाल कक्षमा विभिन्न देश र दिशातर्फ जाने यात्रीहरूको घुइँचो थियो तर शान्त र उज्यालो । किनभने तीन तलामाथिको त्यो विशाल कक्षका सबै भित्ताहरू बाक्लो र पारदर्शी शिशाका थिए । तलदेखि माथि सिलिङ्सम्मको अग्लाइ २० फिटभन्दा कम्ता थिएन । यत्रो भित्ताभरिको सिसलाई दिनहुँ सफासुग्घर राख्ने काम अवश्यमेव कुनै यन्त्रद्वारा नै हुन्छ होला । यो देखेर एक्कासि मलाई लाग्यो, मान्छेले आफ्नो मनको सिसालाई सदैव सफा-स्वच्छ राख्न किन नसकेको होला ? धमिलो सिसामा अरूको सुरूप अनुहार हेर्‍यो, आफ्नै कुरूप अनुहार देखिन्छ र त्यसैमा आत्मश्लाधाले मक्ख पर्छौं ।

थकाइ र अनिँदोले होला ज्ञानु र मीनाज्यू एकएकवटा बेन्चमा पल्टिए । दीपकबाबु र म, हामी दुई, सिसाको भित्तोतिरको बेन्चमा बसेर बाहिरको हिथ्रो विमानस्थललाई हेर्न थाल्यौं । जहाँसम्म आँखाले भ्याउँथ्यो रनवे नै रनले देखिन्थे । एकसाथ दुई÷तीनवटा विमान ओर्लिन्थे, एकसाथ दुई÷तीनवटा विमान उड्थे । अनौठो कम्प्युटरीकृत व्यवस्थापन थियो । यो देखेर पहिले पनि यतातिर आई गइराख्नु हुने दीपकबाबुले भन्नुभयो, 'देख्नु भो, हिथ्रो विमानस्थलमा त प्रत्येक १० मिनेटमा एउटा प्लेन ल्यान्ड गर्छ, एउटा उड्छ ।'

'काँ हुन्थ्यो बाबु, म घडी हेर्दैछु, १० मिनेटमा अहिलेसम्म ६ वटा ओर्लिसके ६ वटा उडिसके ।'
हामी दुवै उत्फुल्ल भएर हाँस्यौं । समय र स्थानको नौलोपना र पुग्नुपर्ने ठाउँको कल्पनाले नेपालसितको बिदाइ र बिछोडको आघात मत्थर हुँदैथियो । यसैबीच म दुईपटक पिसाब फेर्न ट्वाइलेटमा पुगिसक्या थिएँ । दोस्रोपटक चाहिँ पिसाब फेर्न होइन कि हात तताउन ।

हो, मात्रै हात तताउन, अर्थात् यहाँका शौचालयमा प्रयुक्त नयाँ÷नौलो यान्त्रिक साधनहरूको टेक्नोलजी बुझ्न र जान्न । दिसा÷पिसाब गरेर निस्केपछि हात धुने ठाउँनेर भित्तोमा टाँसिएको एउटा सानो मेसिन रहेछ, मानिसहरू हात धोएपछि आफ्ना चिसा हात त्यसैमा १०÷२० सेकेन्डसम्म राख्थे र बाहिरिन्थे । यो कुरा मैले पहिलोचोटि पिसाब फेरेर, हात धोएर, रुमालले हात पुछ्दै गर्दा देखेको थिएँ । दोस्रापटक आफ्नो घोर र उत्कट जिज्ञासाले फेरि ट्वाइलेट पुगेँ र वासबेसिनमा हात भिजाएर त्यस पुन्टे मेसिनतल राखेँ । एक निमेषमै तातो हावा हररर अएर चिसो हात सुक्खा पारिदियो । हुँदो के रहेछ भने मिसिन तल हात राख्नासाथ त्यसमा जडान गरिएको सेन्सरले तातो हावा फाल्ने स्वचालित यन्त्र लोअरलाई अन् गर्दोरहेछ अनि हात बाहिर झिक्नासाथ सेन्सरले ब्लोअर मेसिनलाई अफ गर्दोरहेछ ।

विकासित देशहरूका लागि यो सामान्य कुरा हो किनभने उनीहरूको आर्थिक सम्पन्नता र वैज्ञानिक आविष्कारहरूको व्यावहारिक प्रयोग मानवहितमा गर्दै लैजाने सचेतता नै यसको कारक हो । तर यही सानो कुरा पनि गरिब देशका लागि 'लग्जरी' हो, 'अन् अफोर्डेबल लग्जरी' । गरिब देशमा त खायो, चुठ्यो, मुख कठालोले पुछ्यो हात फेरले पुछ्यो, सकियो ।
अँ, सकियो ।

हिथ्रो विमानस्थलको सातघन्टे बसाइँ पनि सकियो । दीपकबाबुको यहाँको बसाइँ ६ घन्टामात्रै हुनाले उनी एक घन्टा पहिले नै यहाँबाट टेक्ससको डलास जान उडिसकेका थिए । बिदा हुँदा अमेरिकाको पारस्परिक फोन नम्बर आदानप्रदान भयो । पछि, अमेरिका पुगेपछि पनि हामी सकुशल पुगे नपुगेको चिन्ता गर्दै दीपकबाबुले फोन सम्पर्क गर्दैरहे । सहयोग, बन्धुत्व र आत्मीयताको यस्तो भावना सर्वथा बन्दनीय र अनुकरणीय रहनेछ ।

अब दीपकबाबु साथमा नहुनाले हिथ्रोबाट डेनवर जानका लागि कुन काउन्टरसामु लाम लाग्नुपर्ने हो सो कुरा सोधखोज गर्न आफैं तम्सिनुपर्‍यो यद्यपि कान कम सुने पनि, गोराहरूको अंग्रेजी उच्चारण प्रस्ट नबुझे पनि । उसो त त्यस विशाल ट्रान्जिट कक्षमा जताततै यात्रीहरूका लागि आवश्यक सूचना प्रवाह गर्न ठूलाठूला स्क्रिनहरू राखिएका थिए । जसमा श्रव्य र दृश्य दुवै माध्यमबाट सूचना आउँथ्यो । तर के गर्नु, बिस्तारो र मधुरो स्वरमा बोल्नुलाई सभ्यता मानिने ठाउँमा झन् पोलेका माथि फकुण्डो भनेझैं गौरांग उच्चारण मजस्तो अर्धबहिरोले के बुझ्थें ! हाम्रा गाउँघरदेखि सहरसम्मका भजनमण्डली र नौटंकीको जस्तो लाउडस्पिकर भए पो ! जे होस्, बरु, विशाल स्क्रिनमा लेखिएका कुराहरू चाहिँ पढेर बुझ्नसक्थेँ, तर त्यहाँ डेनवर जाने विमानबारे कुनै सूचना आएको थिएन ।

मेरी श्रीमती यस्ता विषयमा बडो चनाखो छिन् । सहयात्री मीनाज्यूलाई समेत अत्याएर कराउन थालिन् ।
'हन, दीपकबाबु गइहाल्नु भो । आफै गएर बुझ्नुपर्‍यो । नत्र डेनवर जाने प्लेन छुट्ला ।'
'आ ऽ ऽ, के कराइराखेको !' आफ्नो 'मस्तमौला' र 'मनमोजी' स्वभावले गर्दा भनेँ, 'ऊ त्याँ क्यै लेखेको छैन, नसुने पनि पढ्न त सक्छु नि । यो प्लेन छुटे अर्कोमा पठाइदेलान् भरे ।'

'अँ, पठाउँछन् होला ।' खिसी गर्‍या ठानेर अपत्यारिलो स्वरमा कुर्लिन्, 'आफ्नो जिल्लाको थोत्रो बस हो र ।'
तर झट्टै स्क्रिनमा सूचना देखापर्‍यो ।
'लन्डन, हिथ्रोबाट अमेरिका, डेनवर जाने विमान तयार छ यात्रीहरूले १० नम्बर काउन्टरमा आ-आफ्ना आवश्यक कागतपत्रसहित सम्पर्क गर्नुहोस् ।'

अब म १० नम्बरको काउन्टर खोज्न भौंतारिन थालें । अन्य नम्बरहरू भेटिन्थे, १० नम्बर नै भेटिँदैनथ्यो । इन्क्वायरी काउन्टर खोज्ने फुर्सद पनि थिएन । एक्कासि बर्दी भिरेक गौराङ महिलालाई देखेँ । पक्कै विमानस्थलकै कुनै कर्मचारी होलिन् भन्ने ठानेर हतारिँदै उनको छेउ पुगेर शिष्ट पाराले भनेँ, 'एक्सक्युज मी म्याडम, म अमेरिकाको डेनवर सहर जाँदैछु । यहाँ १० नम्बर काउन्टर कता होला, कृपया देखाइदिनुहुन्थ्यो कि ? '

ती गोरी, अझै भनुँ भने सेती, अझै भनुँ भने फुस्री महिलाले मेरो काँठे नेपाली पाराको अंग्रेजी बुझिनन् ।
मैले गोरो र सेतो छाला रूपको सूचक होइन भन्नेतरि सोच्न लाग्नुभन्दा आफ्नो प्रश्न पुनः दोहोर्‍याएँ, सके तेहर्‍याएँ, अनि बल्ल बुझिन् फुस्रीमैयाँले । अनि उनको बेलायली पाराको सहरिया अंग्रेजी मेरो काँठेकानले बुझेन । मलाई बकुल्लाझैं आफूतिर हेरेको देखेर उनले घोच्ने गरी औंलो तेस्र्याएर मरै पछाडि रहेको १० नम्बर काउन्टर देखाइदिइन् । अनि शिष्टतापूर्वक हाँसिन् ।

म पनि हाँसे शिष्टाचारपूर्वक ।
उनी झनै हाँसिन् व्यंग्यपूर्वक ।
म झनै हाँसेँ कृतज्ञतापूर्वक ।
उनी झनै हाँसिन् अझै व्यंग्यपूर्वक, किनभने मेरो हँसाइ मुखमा एउटा पनि दाँत नहुनाले हास्यास्पद, ओढारमय भएको रहेछ ।

परस्पर आ-आफ्नै बुझाइ र सोचाइअनुसारको शिष्टाचारपूर्ण हँसाइ कार्यक्रम त्यहीँ स्थगित गरेर १० नम्बर काउन्टरमा प्रस्तुत भयौं हामी । तत्पश्चात् लिफ्टबाट दुई तला ओर्लिएर बसमा चढ्यौं । बसले निकैबेर कुदाएर डेनवर जाने जम्बोजेटसामु ल्याइपुर्‍यायो । भित्र पस्दा हामी श्रीमान्÷ श्रीमती एकै ठाउँमा र मीना श्रेष्ठज्यू अलि अगाडिको सिटमा पर्नुभयो । भित्र पस्दा के अनुभव भयो भने हामी प्लेनभित्र होइन कि कुनै ठूलै घरभित्र पस्दैछौं । सायद एयरबस भनेको यही होला ।

लन्डनको हिथ्रोबाट दिउँसो १ बजे पश्चिम हानिएर एटलान्टिक महासागरमाथि उड्न थाल्यो हाम्रो एयरबस । जेट प्लेनको गतिमा पश्चिमतर्फ हानिएको हुँदा दिन लम्बिँदै जानु स्वाभाविक थियो । श्रीमतीलाई पाश्चात्य शिष्टाचारबारे मैले बारम्बार भनिराखेकै थिएँ र अब त साँझ पर्दा नपर्दै हामी अमेरिका पुगदै थियौं । अरूको देशमा पुगेर आफ्नो देशलाई गँवार र पाखेसिद्ध गर्दै अशिष्ट हुनु त भएन । 'थ्याङ्क यु' अर्थात् 'धन्यवाद' भन्नेसम्मको अभ्यास गर्नैपर्‍यो । हामीसँग शिष्टाचारको ज्ञान त यथेष्ट छ तर प्रयोग गर्ने अभ्यास ठ्याम्मै छैन ।

किनभने हामी यस्तो समाजमा हुर्कियौं जहाँ वर्णभेद छ, जाति भेद छ, वर्गभेद छ, ठूलो र सानोका असंख्य भेदहरू छन् । ठूलोले सानोलाई हेप्नु र होच्याउनु अघोषित र अलिखित मर्यादा भएको छ । पढे-देखे-सुनेअनुसार पाश्चात्य र अमेरिकी समाजमा कसैबाट सानो र महत्वहीन सहयोग प्राप्त भएको छ भने पनि राष्ट्रपति जस्तोले पाले जस्तोलाई समेत धन्यवाद ज्ञापन गर्नु कर्तव्य ठानिन्छ । हामीकहाँ पनि कर्तव्य भन्ने क्रिया छ तर त्यो सानाका लागि जगेडा राखिएको छ । ठूलाका लागि अधिकारै अधिकारको ढेरी ।

पश्चिमेलीहरूले ठूलो र सानोबीचको सांस्कृतिक र सामाजिक विभेद (आर्थिक विभेद मेटाउन नसके तापनि) मेटाउन शिष्टाचारको समान प्रयोगको अभ्यास गरेका छन् । कसैले कसैलाई बाहुन बाजे, काजी साप, साहुजी भनाउँदो ठानेर हात जोरी, कुप्रो परी हजुर÷तपाईं भन्नुपर्दैन । ठा-ठाडै हात मिलाउँछन् र सबैले सबैलाई 'यु' नै भनेर सम्बोधन गर्छन् । 'थ्यांक कु', 'एक्सक्युज' र 'प्लिज' त सानादेखि ठूलासम्मको मुखमा झुन्डिएकै हुन्छ ।

अझ 'थ्यांक कु' को प्रयोग यति धेरै हुन्छ त्यसको आधिक्यले व्यंग्यात्मक वितृष्णा उत्पन्न गर्छ, हामीजस्ता अनभ्यस्तहरूलाई । अतः मजस्तो स्युडोआर्य, व्रात्यखस र नेपाली 'अनुत्पादक'लाई एटलान्टिक महासागरको मध्यमा एउटा लघुकथा फुर्‍यो । बिर्सौंला भनेर गोजीबाट पेनगन (!) झिकेर हत्तपत्त सिटासामुको फोल्डिङ टेबलमा पेपर न्यापकिनमाथि ठोकिहालेँ । लौ यस्तो पो भएछ 'अनुत्पादक'को पेनगन पड्किँदा ...

शिष्टाचार
बाहिर फुसफुस हिउँ परिरहेछ ।
एउटा आवासीय घरसामु एउटा कार अडिन्छ र एउटा मान्छे ओभरकोट र फेल्टह्याट लगाएर ओर्लिन्छ ।
घरको कलबेल बज्छ ।
घरभित्रको मान्छेले ढोका उघार्छ ।
कारबाट आएको मान्छे 'एक्सक्युज मी'
भन्दै भित्र पस्छ । भित्र पसेपछि भित्रको मान्छेलाई

कुनै परिचय नदिई, यताउति कतै नहेरी गोजीबाट रिवाल्वर झिकेर, टाउकैमा ताकेर गोली ठोक्छ । घरभित्रको मान्छे ड्वाङ्ग पछिल्तिर पछारिन्छ । यो देखेर गोली हान्ने आगन्तुकले बडो मर्यादापूर्वक अर्को हातले फेल्टह्याट झिक्यो, अलिकति मुन्टो निहुर्‍यायो, अलिकति ढाड कुप्य्रायो र भन्यो, 'थ्यान्कु, थ्यान्कु भेरी मच ।'
अनि फरक्क फर्केर ल्याच्लक ढोका ढप्कायो र कारमा चढेर हिँड्यो ।
भित्र एउटा लास लडिरहेको छ ।
बाहिर फुसफुस हिउँ परिरहेको छ ।
...
कथा सामाप्त भएपछि आडैमा बसेकी ज्ञानुलाई सुनाएँ र भनेँ, 'हेर मैयाँ, हामी शिष्टाचार पालन गर्ने बानी नपरेकालाई पनि अेममरिका पुगेपछि अरूले थ्यांक कु भन्दा आफूले पनि भन्नैपर्‍यो । तर, कहिलेकाहीँ यो कथामा भनेजस्तो शिष्टाचार भोग्नुपर्ने अवस्था पनि आइलाग्न सक्छ । शिष्ट र भलाद्मी हुनु राम्रो हो तर चनाखो र सचेत पनि हुनैपर्छ ।'

यति बेलासम्म हाम्रो जेटविमान अमेरिकाको इस्टकोस्टको छेउमा बग्ने तातोपानीको विशाल जलधारामाथि आइपुग्या थियो होला । माथि ग्रिनल्यान्डदेखि तल क्यारिवियन द्विपसमूहसम्म बग्ने तातोपानीको सामुद्रिक जलधाराले उत्तर अमेरिकाको सम्पूर्ण पूर्वीय तटवर्ती क्षेत्रहरूलाई जाडोयाममा न्यानो राख्ने काममात्र गर्दैन अपतिु जल यातायातका लागि उपयुक्त मार्गको निर्माण पनि गर्दछ । भूगोलमा आफूले यस्तै पढिएको थियो र पढिएको थियो अर्नेस्ट हेमिङ्वेको नोबल पुरस्कार प्राप्त उपन्यास 'ओल्ड म्यान एन्ड द सी' ।

त्यसको मुख्य पात्रले यसै तातो जलधारा गल्फस्ट्रिममा समुद्रसित संघर्ष गरेको थियो होला । नोबल पुरस्कार प्राप्त यस बृहदाकार बेरिङ उपन्यासलाई युवावस्थाको उमंगमा कनिकनी पढेको थिएँ । तर, हेमिङ्वे मन पराएको मैले उसको 'फेयरवेल टु आर्मस्' भन्ने उपन्यासले गर्दा हो, यसलाई अमेरिका पुगेपछि पुनः दोहोर्‍याउँला ।

हाम्रो जेटप्लेनले अमेरिकी आकाश छोइसक्यो होला तर यसको एटलान्टिक महासागर छेउको पूर्वीतटदेखि प्रशान्त महासागर छेउको पश्चिमीतटसम्म पुग्न जेटप्लेनलाई पनि चार घन्टाभन्दा केही बढी नै लाग्छ । अहिलेसम्मको विमान यात्रामा कतै पनि एयरपकेटमा नपरी घरभित्रै आरामसाथ बसेझै गरी आइपुगियो- संयुक्त राज्य अमेरिकाको मध्य पश्चिमी भूभागमा पर्ने कोलोराडो राज्यको राजधानी डेनवरको अन्तर्राष्ट्रिय विमानस्थलमा ।

तिथिमिति र समय भएको थियो वि.सं. २०६६ साल वैशाख २८ गते तदनुसार ई.सन्को २००९ मे ११ तारिख सायंकाल ६ बजेर ३० मिनेट । एक घन्टामा एयरपोर्टको कागजपत्र भर्नु र सामान जाँचबुझको कार्य सकेर बाहिर आउँदा मीना श्रेष्ठका ज्वाईं अरुणदास श्रेष्ठ र हाम्रा ज्वार्इं विष्णु बस्नेत बाहिर कुरिरहनुभएको थियो । त्यहाँबाट मीना श्रेष्ठको र हाम्रो बाटो छुट्टियो ।

हामी ब्रुमफिल्डमा छोरी अर्पणाले सञ्चालन गरेकी रेस्टुरेन्ट 'बम्बे प्यालेस'मा आएर खाना खाइवरि वेस्टमिन्सटरको आफ्नो घरमा आइपुग्दा तीनवटै नातिनीहरूसित भेट भयो । समय रात्रिको (९ बजे) प्रथम प्रहर हुँदा पनि उज्यालै थियो किनभने यो ठाउँ उत्तरीगोलार्धको कर्कट रेखाभन्दा पनि निकैमाथि पर्दछ । ९ बजेको झमक्क साँझ अब अँध्यारिँदै जान्छ ।
लौ त शुभरात्रि !


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.