दृष्टिविहीनको सगरमाथा सपना

दृष्टिविहीनको सगरमाथा सपना

संसारै नदेख्नेलाई संसार कस्तो लाग्छ होला ? हरेक चिजको रङ कालोबाहेक केही नदेखेको व्यक्तिले सपना चाहिँ कुन रङको देख्छन् ? सदा ब्रह्माण्डको कालो रङमात्र ठम्याएका एक दृष्टिविहीनले संसारकै निख्खर सेतो सगरमाथा चढ्ने सपना देखेको सुन्दा धेरैलाई अपत्यारिलो लाग्नु स्वाभाविक हो । विश्वकै अग्लो शिखर सगरमाथा चढेर यसअघि अमेरिकी दृष्टिविहीन नागरिक एरिक वाइमेरले नयाँ कीर्तिमान राखिसकेका छन् ।

वाइमेरजस्तै नेपालका एक दृष्टिविहीन अमिट केसीले पनि सगरमाथा चढ्ने सपना देखेका छन् । यसलाई दुनियाँले तबमात्रै पत्याउनेछ, जब उनको सपना साकार हुनेछ ।

बागलुङ सुर्कवामा जन्मेका अमिट जन्मजातै दृष्टिविहीन हुन् । उनको आरोहण यात्रा आगामी चैत्र २० गते प्रारम्भ हुँदैछ । ह्वाइट केनको सहाराले हिँड्डुल गर्ने अमिटले त्यसकै पूर्वपरीक्षास्वरूप ६ हजार एक सय ८६ मिटर अग्लो सोलुखुम्बुको 'आइल्यान्ड पिक' र ६ हजार ६ सय ६५ मिटरको 'मेरा पिक'को सफल आरोहण गरिसकेका छन् । यी दुई हिमाल आरोहणले उनमा आत्मविश्वास बढेको छ ।

'यी दुई टाकुरा त सजिलै चढेँ ! सगरमाथा कसो नचढुँला र ? ' उनी भन्छन्, 'यी दुई हिमाल चढ्नु मेरा लागि ठूलो परीक्षा थियो, जसलाई सहजै पास गरेँ ।'

सबलांगलाई जस्तो सहज अवश्य हुँदैन नेत्रहीनको हिमाल आरोहण । 'मलाई निकै सकस भएको थियो तर पनि म सफल भएँ,' उनी आफ्नो प्रारम्भिक आरोहण अनुभव सुनाउँछन्, 'गाइडको निर्देशनमा शरीरदेखि खुट्टाको सन्तुलन मिलाएर उक्लनुपर्ने हुन्थ्यो । कतिपय ठाउँमा चार हात खुट्टा घिस्रिएर पनि हिँड्नुपर्‍यो ।'
०००
सगरमाथा चढ्ने आत्मविश्वास कसरी पलायो उनमा ? दृष्टिविहीनका लागि सूचना तथा प्रविधि सहजीकरण अभियानमा संलग्न उनका साथी खुमराज शर्माले उनमा आत्मविश्वासको ज्योति भरिदिए । शर्माको सम्पर्कमार्फत एक अमेरिकी नागरिक क्लेफसँग उनको संगत भयो । क्लेफमार्फत उनले रक क्लाइम्बिङदेखि एडभेन्चर्सअन्तरर्गतका अरू खेल सिके र निःशुल्क तालिम लिए । क्लेफको त्यो हौसला र साथले उनको साहसको चुली पनि उच्च भयो ।

उनको गाउँबाटै देखिन्छन्-धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृंखलाका दुई दर्जन बढी सेता टाकुरा । तर, अमिटले कहिल्यै ती टाकुराको वास्तविक आकृति देखेका छैनन् । अरुले भनेको विम्बलाई मस्तिष्कमा टाँगेर उनी हिमालको महसुससम्म गर्न सक्छन् । 'हिमाल भनेका हिउँले ढाकिरहने पहाड नै हुन्' भन्ने ठान्थे उनी । आइसल्यान्ड र मेरा पिक आरोहणसँगै उनले हिमाललाई अझ फरक किसिमले महसुस गरेका छन् । अब उनको मस्तिष्कमा एउटै अजंगको हिमाल छ । त्यो उनको लक्ष्यको हिमाल हो, विश्वकै शिर सगरमाथा बनेर उभिएको छ जो ।

अब उनको उद्देश्य नै सगरमाथा भएको छ । सुरुमा त उनको यो अठोटलाई परिवारका सदस्यले नै पत्याएनन् । तर, जब छापादेखि विद्युतीय सञ्चार माध्यमबाट 'सगरमाथा-सपना' समाचार बनेर फैलियो अनि मात्र परिवारलाई त्यो खबर विश्वसनीय लाग्यो । अहिले उनको अभियानप्रति परिवार सकारात्मक छ ।

'दृष्टिविहीन हुनु जिन्दगीको आर्थिक अपूर्णता हो । जिन्दगीमा हिम्मत गर्ने हो भने असम्भव केही छैन,' उनी निकै सकारात्मक देखिन्छन् यतिखेर, 'तर, आफूले गर्ने कामप्रति निरन्तर मेहनत, विश्वास र अठोट चाहिँ हुनैपर्छ । चुनौतीलाई अवसरमा परिणत गर्न सक्नुपर्छ ।' आफू जिन्दगीमा जहिल्यै दृढनिश्चयी र आत्मविश्वासी रहेको उनी सुनाउँछन् ।
०००
अमिट अहिले सबै प्रक्रिया पूरा गरेर एउटा दिनको प्रतीक्षामा छन्, जुन दिन उनलाई संसारले चिन्नेछ । चार वर्षअघिदेखि मस्तिष्कमा हुर्काइराखेको उनको अठोटले फल लाउन अब केही महिनामात्र बाँकी छ । आगामी चैत्र २० गते उनी आफ्नो समूहका साथ काठमाडौंबाट सगरमाथातर्फ प्रस्थान गर्दैछन् । साइतदेखि आरोहणसम्मको समयावधि ६५ दिन तोकिएको छ । 'दिनहरू नजिकिँदै जाँदा सपनाहरू पनि 'सगरमाथा' मात्रै चढेको देख्छु,' उनी मुस्कुराउँदै सुनाउँछन् ।

उनको यो सपना साकार तुल्याउन अनेक सहयोगी हात फेला परेका छन् । राज्यदेखि उनका शुभचिन्तक सबैले साथ दिइरहेका छन् । सरकारले १० लाख नगद दिएको त छ नै । आरोहण गर्दा तिर्नुपर्ने राजस्वबापतको सबै बिमा रकम पनि मिनाहा गरिदिएको छ । तर पनि उनलाई थप ५० लाख रकम जोहो गर्नु छ । उनको यो बजेट अनुभवी गाइड, आरोहण गर्दा लाग्ने उपकरण, लत्ताकपडा र अरू सहायक सामग्री खरिदका लागि खर्च हुनेछ ।

आर्थिक सहयोग जुटाउन उनी आफैं दौडधुप गरिरहेका छन् । 'थुप्रै संघसंस्था र व्यक्तिहरूले सहयोगको आश्वासन त दिएका छन् तर रकम भने हात पर्न सकेको छैन । खाँचो भनेको अर्थको नै हो । धेरै आश्वासनभन्दा पनि जसले जे–जति सकिन्छ, सहयोग हात परे हुन्थ्यो,' उनी गुनासो पोख्छन् ।
०००
समाजशास्त्रमा स्नातकोत्तर गरेका अमिटले गुजाराका लागि लामो समय बागलुङ बजारको एक स्कुलमा शिक्षण पेसा गरे । पछि सगरमाथा चढ्ने सोचकै कारण उनले मास्टरी छोडिदिए । अनेक दुःख-संघर्ष, केही कठोर निर्णय र हिम्मतले आज यो स्थितिसम्म ल्याइपुर्‍याएको छ उनलाई ।

उनको सफलताको बलियो आधार आफ्नै जीवनसंगिनी विद्या केसी बनेकी छिन् । दुई सन्तानलाई सम्हालेर अमिटलाई सगरमाथा चढ्ने आँट र हौसला उनले दिनदिनै भरेकी छन् । सबैको साथ-सहयोग पाएर यो अठोट पूर्ण भएको दिन उनलाई संसार जितेझैं लाग्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.