दृष्टि गुमेपछि बालआश्रम
‘त्यो दिन मेरा आँखामा अचानक बालुवाले बिझाएजस्तो भएको थियो । जतिबेला मेरा आँखा टेलिभिजनमै एकोहोरिरहेको थियो । सुरुमा दाहिने आँखा बिझायो । के भयो भनेर धोइपखाली गरेँ तर निको भएन । फेरि देब्रे आँखा पनि बिझाउन थाल्यो । साथीहरूले आत्तिएर अस्पताल पुर्याए । डाक्टरहरूले जलबिन्दु लागेको भनेपछि छाँगाबाट खसेजस्तो भएँ ।
१२ वर्षदेखि अस्ट्रेलियामा बसिरहेको थिएँ ।' पुरानो सिनामंगलमा आफैंले चलाइरहेको अनाथालयमा दृष्टि गुमाउँदाको कथा सुनाइरहेका थिए- सुमन ढुंगाना । उनी एकदमै नजिकका कुराहरूमात्रै देख्छन्, त्यो पनि निकै मधुरो । आफूलाई आंशिक दृष्टिविहीन बताउने ढुंगानाले भने, ‘तपाईंको अनुहार पनि अति मधुरो देखिरहेको छु ।'
हुन त अहिलेसम्म जलबिन्दुको उपचार पत्ता लागेको छैन । एकपटक दृष्टि गुमाएपछि कहिल्यै फर्काउन सकिन्न । जति देखिन्छ त्यसैलाई स्थिर राख्नका लागि आँखाको प्रेसर मेन्टेन गर्नुपर्छ । त्यसैले दिनको दुईपटक औषधि लगाउँछन् उनी । डाक्टरको भनाइअनुसार, विस्तारै आँखाको ज्योति घट्दै जान्छ । तर, पनि उपचारमा कुनै कसर बाँकी राखेनन् उनले । अस्ट्रेलियाका राम्रा-राम्रा डाक्टरले उनका आँखाको उपचार गरे । तैपनि केही सुधार हुने छाँटकाट देखिएन । आंशिक दृष्टिविहीन भएर २००६ मा नेपाल फर्किए । उतिबेला सुमन अस्ट्रेलियामा फोटोग्राफी पढिरहेका थिए ।
दृष्टि गुमाउनुको पीडा सबैलाई अस्वीकार्य छ । तर, सुमनमा भएको सकारात्मक सोच र आत्मविश्वास गजबको छ । त्यही आत्मविश्वासको कारण नेपाल फिरेपछि समाजसेवा सुरु गरेका रहेछन् सन् २००७ सालदेखि । यतिबेला उनले सिनामंगलस्थित आफ्नै घरमा ११ जना द्वन्द्वपीडित तथा अनाथ बालबालिकालाई आ श्रय दिइरहेका छन् ।
ढुंगानाले अनाथालय सुरु गर्दाको कथा यस्तो छ । उनी नेपाल आउँदा यहाँ शान्तिवार्ता सुरु हुँदै थियो । उनका ज्वाईं नेपाली सेनामा कार्यरत थिए, बाजुरामा पोस्टिङ थियो । ज्वाईंले सुमनलाई ‘माओवादी लडाकु बालबालिका तथा केही अनाथ छन्, केही सहयोग गर्न सकिन्छ' भनेर सोधे । त्यसपछि समाजसेवामा लाग्ने सुमनको सपनाले साकार रूप पायो । सुरुमा बाजुराका तीन बालबालिकालाई पुनस्र्थापना गरे । त्यसपछि बिस्तारै रुकुम, दैलेख, दोलखा, काठमाडौंका बालबालिकालाई ल्याए ।
सानु फाउन्डेसन नामको संस्था चलाउन सुमनलाई साथी कान्ति कुँवरले सघाइरहेकी छिन् । यतिबेला कान्तिले थामेकी छिन् फाउन्डेसनको सम्पूर्ण आर्थिक भार । संस्था आफ्नै खर्चले सञ्चालन भइरहेको र अहिलेसम्म कसैले पनि कुनै प्रकारको आर्थिक सहयोग नगरेको सुमन बताउँछन् । उनीहरूको लक्ष्य भनेको, बालबालिकालाई आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु हो ।
...
केन्द्रीय बालकल्याण समितिबाट ल्याइएका संगम थापा पूर्ण रूपमा अनाथ बालक हुन् । उनी पनौतीको बाटोमा भेटिएका थिए । उनका बाबु, आमा, मामा, फुपू कोही छैनन् । यस्ता सबै समाउने हाँगो र टेक्ने जमिन नभएका बालबालिकालाई सेटल गर्ने जिम्मेवारी अहिले उनीहरूकै काँधका छ ।
प्रमिला विश्वकर्मा त्यस समयमा क्रान्तिकारी गीत गाउँथिन् । अहिले आ श्रममा छिन् । आ श्रमकै सबैभन्दा ठूली छोरी उनी १७ वर्षकी भइन् । उनी माओवादी युद्धमा हिँडेकी किशोरी हुन्, १२ कक्षामा पढ्छिन् । बाजुराबाट आएकी प्रमिला भन्छिन्, ‘यहाँ कुनै प्रकारको कमी अनुभव गरेकी छैन । आफूलाई पीडित हो भनेर सोचेको छैन ।'
सुमन आफूले भोगेका घटना र देखेका थुप्रै लोकेसनबारे बालबालिकालाई सेयर गरिरहेका हुन्छन् । अनेक कहानी र किस्सा सुनाइरहेका हुन्छन् । भन्छन्- ‘हुर्केपछि सबैलाई एकपटक उनीहरूको गाउँ पठाउँछु । आफ्नो गाउँ र समाजबारे बुझ्न र पढ्न भन्छु ।'
कस्तुरी मिजार अर्की छोरी हुन् बाजुराबाट आएकी । भन्छिन्- ‘जबदेखि सुमन बाबाको आँखाको समस्याको बारेमा मलाई थाहा भयो मैले आँखाको डाक्टर बन्ने सोचेकी छु । बाबाको समस्या साँच्चै दुःखलाग्दो छ । तर, बाबाले हामीलाई पढ्नको लागि सधैं प्रोत्साहन गर्नुहुन्छ । त्यो कुरा एकदमै मनपर्छ', मिजारले भनिन् । उनी गोल्डेन बर्ड स्कुलमा कक्षा ९ की फस्र्ट गर्ल हुन् ।
विभिन्न सपना बुनेका यहाँका बालबालिकाले । फरक परिवार र फरक ठाउँका बालबालिका हुर्काउन निकै गाह्रो थियो । ढुंगानाले सम्झिए- कुनै बालबालिका रातभरि रुन्थे सुरुमा । तर, साथीहरूले सहयोग गरे, फकाउने, उनीहरूसँगै खेल्ने गरे । बिस्तारै बानी भयो । तर, मेरा बालबालिका साँच्चै मेहनत गर्छन् । बालबालिकाको सफलता देखेर खुसी लाग्छ ।
‘सुरुमा धेरै बालबालिका थिए । तर, साँच्चै नै अनाथ बालबालिकाको सेवा गर्ने भावना छ मेरो । कत्तिले नक्कली कागतपत्र बनाएर अनाथालय पठाउने रहेछन् । अभिभावक बितेको भनेर राख्न ल्याउने तर यथार्थमा परिवार भएकाहरू आए । कोही गाडी चढेर कोही मोटरबाइक लिएर बच्चा भेट्न आउँथे । आफन्त हुँ भन्थे । त्यस्ता बालबालिकालाई फिल्टर गरेर अभिभावक खोजेर जिम्मा लगायौं', सुमन भन्छन् ।
उनीहरू बस्दै आएको घर गत वर्षको भूकम्पले चर्काइदिएको छ । २०३६ सालमा माटोले बनेको घरका दलिनहरू कीराले खान थालिसके । काठ मक्किन थालिसक्यो । हुन त यो घर एयरपोर्ट विस्तार क्रममा भत्किनेवाला पनि छ । फाउन्डेसन यहाँबाट सर्ने तयारीमा छ ।
बालबालिकालाई हुर्काउनु, पढाउनु, रेखदेख गर्नु कम्ता गाह्रो काम होइन । खानपान, ट्युसन, खाद्यान्न, लत्ताकपडा सबै व्यवस्थापन गर्न निकै हम्मेहम्मे पर्छ । तर, सुमन र कान्तिले सबै जिम्मेवारी आफूले बोकेका छन् । आफूले हुर्काएका बालबालिका छिट्टै आफ्नै खुट्टामा उभिएको हेर्न उनीहरू आतुर छन् ।
...
ट्रेकिङ जान निकै सोखिन सुमन नेपालका दुर्गम ठाउँ पुगिसकेका छन् । आफूले हुर्काएका ती छोराछोरीलाई सुमन घुमेका ठाउँका फोटोहरू देखाइरहेका हुन्छन् । आफूले भोगेका घटना र देखेका थुप्रै लोकेसनहरूबारे सेयर गरिरहेका हुन्छन् । अनेक कहानी र किस्सा सुनाइरहेका हुन्छन् । भन्छन्- ‘हुर्केपछि सबैलाई एकपटक उनीहरूको गाउँ पठाउँछु । आफ्नो गाउँ र समाजबारे बुझ्न र पढ्न भन्छु ।'
काठमाडौंको क्षितिज बोर्डिङ स्कुल हुँदै डीएपीएसबाट स्कुलिङ सकेर अध्ययनका लागि अस्टे«लिया पुगेका सुमन कमर्सको विद्यार्थी थिए । उतिबेला फोटोग्राफी पढिरहेका उनको आँखाको दृष्टि नगुमेको भए सायद अहिले नामी फोटोग्राफर हुन्थे । तर, जे छन् त्यसैमा रमाइरहेका छन् ।