ट्रम्प र परिवर्तन
राजनीतिमा मलाई कहिल्यै खास रुचि रहेन । १२ वर्षदेखि 'सन्न्यासी' जीवनमा छु, भएजतिको चाख पनि क्रमशः तिरोहित भयो । यसपटकको अमेरिकाको निर्वाचनमा रुचि जाग्यो, रुचि जाग्नुको कारण ट्रम्प महासय उम्मेदवार हुनुले थियो । पंक्तिकारलाई लाग्यो अहिलेको विश्व जुन पद्धतिले जुन मार्गमा लम्किरहेको छ, त्यो विनाशउन्मुख हो । अन्य देशले चाहेर पनि यसलाई बदल्न सक्दैनन् । परिवर्तन अमेरिकाबाट मात्र सम्भव छ, त्यो पनि परम्परागत राजनीतिज्ञबाट सम्भव छैन ।
ट्रम्पको बारेमा थाहा भएपछि लाग्यो विश्वले जुन परिवर्तन चाहेको छ, त्यो ट्रम्पबाट मात्र फलिभूत हुनसक्छ । म उहाँको विजय कामना गर्न थालें, 'सोसल मिडिया' मा उहाँको पक्षमा उभिएँ । चुनाव नजिकिँदै गइरहेको थियो, झन्डै समस्त मित्रवर्गलाई उहाँको पराजय सुनिश्चित लागिरहेको थियो । ३ या ४ नोभेम्बरमा दुर्गा पोखरेलले लेखेको 'फेसबुक पोस्ट' मा अनुचित ढंगले टिप्पणी नै गरें, उहाँले त्यसलाई पचाउनुभयो, मसँग रिसाउनु भएन ।
पत्रकार मित्र मनोज दाहाल निर्वाचन पर्यवेक्षणका क्रममा अमेरिकामै हुनुहुन्थ्यो । चुनावको एक दिन पहिला अन्नपूर्ण पोस्ट् दैनिकमा लेख्नुभो 'ट्रम्पको लागि असम्भव' । म कृष्ण होइन, कृष्णको करोडांश जति पनि होइन, तर यो पढेर जुन खिन्नता भयो कृष्णसँग त्यसको तुलना मात्रै गरेको हुँ, अर्जुनले युद्धबाट भाग्ने कुरा गर्दा उनको पहिलो प्रतिक्रिया कस्तो थियो होला ?
ट्रम्पलाई 'विजयी भवः' को आशीर्वाद दिने हैसियत मसँग थिएन । अमेरिकी मतदातालाई प्रभावित गर्नसक्ने कुनै ईश्वरीय क्षमता पनि मसँग थिएन । ट्रम्पलाई केही भन्न सक्ने हैसियत पनि थिएन । मैले आफ्नै मनलाई बुझाउनु थियो, 'फेसबुक' मा ८ नोभेम्बर बिहान ७:४३ मा लेखें । सन्दर्भ अमेरिकन चुनाव- के तपार्इंलाई लाग्छ मनुष्यता, परम्परा र सनातन शैलीको कारण अडिएको एवं झांगिएको हो ?
होइन, महासय तपाईं गलत हो, परिवर्तन नै त्यो शक्ति हो, जसले सारा सृष्टि थामेको छ, चलाएको छ । कृष्णले यज्ञबाट इन्द्रादिको भागमा प्रतिबन्ध नलगाएको भए... मनुष्यता परम्परा निर्वहनको गत्यात्मकताले सडेर गलिसक्थ्यो । कृष्णले साहस देखाए, नयाँ मार्ग देखाए, कर्मकाण्डबाट सोझै योगमा छलांग । आजको संसार पनि फेरि एकपटक वासी र दुर्गन्धित मान्यताले जकडिएको छ । ती मान्यता जसले समस्त अर्थ गुमाइसके, मानवताको छातीमाथि बोझ बनी जमेका छन् ।
पंक्तिकारलाई अमेरिकाको चुनावसँग के लिनु के दिनु....'कोउ नृप होइ हमै का हानी' । हिलारी क्लिन्टन सम्भ्रान्त, शान्त, धीर, गम्भीर, उत्तरदायी, एक-एक पाइला पनि सोचविचार गरिहिँड्ने, पुरानो परम्पराको संरक्षण गर्ने आदि उपाधिधारी हुन सक्नुहुन्छ । तर उहाँबाट परिवर्तनको कुनै अपेक्षा गर्न सकिन्न । ट्रम्प उद्दण्ड हुनुहुन्छ, मुहफट हुनुहुन्छ, राजनीतिक संस्कारित हुनु हुन्न र यो पनि मानिलिऊँ युद्धखोर हुनुहुन्छ ।
धेरै कमी र कमजोरी भए पनि उहाँ परिवर्तनकामी हो । ट्रम्पको यही एक गुण हिलारीको सयौं गुणमाथि विजयी हुन्छ । परिवर्तनको संवाहक, बढी बोल्ने, दम्भी, अनुभवहीनमाथि बाजी थाप्नैपर्छ । ट्रम्पलाई मेरो शुभकामना तपाईंको जितको 'डिजाइन' कोरिसकिएको छ । अब हेर्नु मात्र यति छ, आफ्नो भनाइलाई गराइमा कत्तिको ढाल्नुहुन्छ ।
यति लेखेर 'पोस्ट' गरेर कृष्ण झैं निश्चिन्त भएर ट्रम्प विजयी बनेको समाचार सुन्ने प्रतीक्षामा बसें । उहाँ राष्ट्रपति निर्वाचित भएको सुनेपछि बेग्लै किसिमको आनन्द र शान्ति अनुभव गरें ।
ट्रम्प ४५ औं राष्ट्रपति भइसक्नुभएको छ । माथि कतै 'विश्वले जुन परिवर्तन चाहेको उल्लेख' भएको छ, राष्ट्रपति महोदय सुन्नुस् त्यो के हो । एक्काइसौं शताब्दीमा प्रवेश गरे पनि विश्वले आफ्नो आवश्यक पर्ने शक्तिको पूर्ति जसरी 'प्रिमिटिभ' ढंगले गरिरहेको छ, त्यो लज्जाजनक छैन ? तपाईंबाट प्रकृतिले पृथ्वीको दोहन गरेर निकालिने तेलको अन्त्य चाहेको छ ।
'कार्दाशेव स्केल' का अनुसार हाम्रो सभ्यता अहिलेसम्म नम्बर एकमा पनि पुग्न सकेको छैन, कतै ०.७२ तिर छौं । तपाईं आफ्नो कार्यकालमा यसलाई एक नम्बरमा पुर्याउन प्रयत्नशील हुनुस् । विश्वमा अब हुने परिवर्तन विज्ञान र प्रविधिबाट मात्र सम्भव छन् । पानीबाट चल्ने इन्जिनको विकासमा ध्यान दिनुहोस् । आज संसारमा बढिरहेको प्रदूषणको एउटा प्रमुख कारण मोटर गाडीको लागि प्रयुक्त हुने तेलको प्रयोग हुनु हो । नासालाई अन्य काम रोकेर यो प्रविधि विकास गर्न लगाउनु मेक्सिको रोक्ने पर्खाल लगाउनुभन्दा फलदायी हुन्छ । मेरो मान्यताअनुसार यो प्रविधि विकासको बाधक नै अमेरिकी र अरब नीति हुन् ।
विज्ञानले सबै कुरा 'इनर्जी' हो भनी घोषणा गरेको पचासौं वर्ष भइसक्दा पनि हवाईजहाज चलाउन पनि तेलेकै प्रयोग हुनु दुर्भाग्यजनक होइन ? राष्ट्रपति महोदय बल्ने हाइड्रोजन हो, सहायता गर्ने अक्सिजन हो । जुन उचाइमा हवाईजहाज उड्छ त्यहाँ यी दुवै तत्व उपलब्ध छन् । 'स्क्रेमजेट इन्जिन' वायुमण्डलबाटै हाइड्रोजन र अक्सिजन ग्रहण गरी के चल्न सक्दैन ?
बिजुलीको लागि 'एटमिक रिएक्टर' र ठूलाठूला बाँध बनाएर पृथ्वीको स्वास्थ्यसँग कहिलेसम्म खेलाँची गर्ने ? पृथ्वी रहेसम्म सूर्य रहन्छ र यसबाट पृथ्वीलाई चाहिने जति 'इनर्जी' जति माग बढ्दै गए पनि सधैं पर्याप्त हुन्छ । मात्र नयाँ प्रविधिको खाँचो छ । 'सोलार प्यानल' को 'इफिसियन्सी' ५०-६० प्रतिशतसम्म पुर्याउनु पर्यो । ब्याट्रीमा कार्बन प्रयोग गरेर त्यसको क्षमता विस्तार गर्न सकिन्छ ।
तेलयुगको अन्त्य नभएसम्म विश्वमा परिवर्तन आउन सक्दैन । राष्ट्रपति महोदय, मानव अधिकार, 'आईएनजीओ' र 'मिडिया' को प्रयोग गरेर तपाईंको देशले संसारभर आफ्नो दादागिरी चलाएको थियो । निर्वाचनताका तपाईंले राम्ररी नै बुझ्नुभयो होला यी कति कलुषित भइसके, यिनको 'माफियागिरी' तोड्नुहुन्छ कि यिनैलाई 'एज इट इज' प्रयोग गर्नुहुन्छ ।
राष्ट्रपति महोदय, यो लेखमा भनिएका सबै कुरा ५०-६० सालभित्र सम्पन्न हुन्छन्, मैले तपाईंसँग आशा गरेअनुरूप तपाईंले केही नगरे पनि । तर त्यसको मूल्य अझै चुकाउनुपर्छ । परिवर्तनलाई जुन मात्राको ऊर्जा आवश्यक हुन्छ कि त्यो तपाईंजस्ता व्यक्तिको दुस्साहसले जम्मा हुन्छ कि विश्वयुद्धले नै । प्रकृतिले तपाईंलाई आफ्नो 'गेम' को 'ट्रम्प' बनाएको छ, तपाईंबाट कार्यसम्पादन नभए अन्तिम विकल्प युद्ध त छँदैछ ।
तपाईंसँग विनीत आग्रह छ- अमेरिका नम्बर एक बनोस्/नबनोस् पृथ्वीलाई नम्बर एक बनाउन उद्यत् हुनुस् । पहिलो 'एटम' बम अमेरिकाले बनायो, अब त हामी 'क्वार्क' युगमा छौं । यस प्रविधिलाई पृथ्वी र मानवताको हित संरक्षण निमित्त अघि बढाउनुस् । सुदूर आकाशगंगाको यात्रामा केही वर्ष बिराम दिएर पृथ्वीको स्वास्थ्य सुधारमा नासालाई उन्मुख गराउनुस् । आफ्नो पहिलो कार्यकालमा सबैको लागि सुलभ 'इनर्जी' शुल्करहित 'इनर्जी' दिने अठोट लिनुस् । संसारभर विज्ञान क्षेत्रमा अनुदान दिनुस्, के थाहा कुनै दिन एउटा सामान्य नेपाली युवकको प्रयासले 'टेलिमोर' कै संरचनामा परिवर्तन गरेर तपार्इंलाई दीर्घायु बनाइदेओस् ।