मार्क्सवादको प्रयोग र नेपाल चिन्तन

मार्क्सवादको प्रयोग र नेपाल चिन्तन

५ मे १८१८ मा कार्लमाक्र्स जर्मनीको त्रियेर नगरको एक वकिल परिवारमा जन्मिएको दुई सय वर्ष पुग्दैछ । मानव जातिकै एक उद्भट विद्वान्, मानव समाज र सभ्यताका गम्भीर अध्येता, मानव समाजका अन्वेषक, चिन्तक, दार्शनिक, सिद्धान्तकार, समकालीन सर्वहारा मजदुर आन्दोलनका क्रान्तिकारी नेता तथा विश्व सर्वहारा वर्गका शिक्षक कार्लमाक्र्सले ६५ वर्षको उमेरमा १४ मार्च १८८३ मा लन्डनमा अन्तिम स्वास लिनुभयो ।

आफू जिउने संघर्ष र समाज बदल्ने सर्वहारा वर्गको संघर्षमा अद्वितीय त्याग र दिलेरीका साथ आफ्ना सहयोद्धाहरूसँग मिलेर संघर्ष गर्दै उहाँले विशेषतः आफ्ना अनन्य सहकर्मी फ्रेडरिक एंगेल्ससँग बौद्धिक सहकार्य गर्दै सर्वहारा वर्गपक्षीय जुन दर्शन, सिद्धान्त र राजनीतिको आविष्कार गर्नुभयो, त्यसलाई एक शब्दमा मार्क्सवाद भनेर चिनिन्छ । मार्क्सवाद यस्तो वैज्ञानिक दर्शन र सिद्धान्त हो, जो समयको प्रवाह र युगको परिवर्तनसँगै गतिशील रहन्छ । स्वच्छन्द पुँजीवादी युगमा जन्मेको मार्क्सवादमा भ्लादिमिर इलिच लेनिनद्वारा साम्राज्यवाद तथा सर्वहारा क्रान्तिकालीन युगका विश्लेषण र विशेषतालाई संगतिपूर्ण र वैज्ञानिक ढंगले थपेपछि त्यसलाई मार्क्सवाद-लेनिनवाद भन्न थालियो ।

मार्क्सवाद-लेनिनवाद यस्तो सर्वहारा पक्षीय वैज्ञानिक दर्शन र सिद्धान्त हो, जसलाई विश्वका हरेक देशको सर्वहारा वर्गले अपनाउन र लागू गर्न सक्छ । तर यसो गर्दा सम्बन्धित देशका सर्वहारावर्गीय चिन्तक र नेताहरूले आफ्नो देशका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र भूराजनीतिक अवस्थालाई सही ढंगले ठम्याई तिनका विशेषता पत्ता लगाउँदै मार्क्सवाद-लेनिनवादका दृष्टिकोण, सिद्धान्त र मान्यतालाई सिर्जनात्मक ढंगले लागू गर्न सक्नुपर्छ । यस्तो गर्न सकेकाले नै रूस, चीन, कोरिया, भियतनाम, क्युबा आदि मुलुकहरूका सर्वहारावर्गीय पार्टी र नेताहरूले आआफ्ना मुलुकका सामाजिक क्रान्तिहरूलाई सफल बनाए र विश्वमा मार्क्सवाद-लेनिनवादको सफल प्रयोगका आआफ्ना नयाँ उदाहरण देखाए ।

सफल चिनियाँ क्रान्तिका अनुभवहरूको सैद्धान्तिक समुच्चयलाई माओत्से तुङ विचारधारा भनिन्छ र समकालीन युगका विकासशील (अर्धसामन्ती तथा अर्धऔपनिवशिक/नवऔपनिवेशिक) मुलुकका सामाजिक क्रान्तिहरूमा यसको महत्त्वपूर्ण सान्दर्भिकता रहेको छ । जहाँ आफ्ना मुलुकका विशेषताहरूलाई पत्ता लगाई मार्क्सवाद-लेनिनवादलाई सिर्जनात्मक ढंगले प्रयोग गर्न सकिएन, त्यहाँ अघि बढेका सामाजिक क्रान्तिहरू पनि सफल हुन सकेनन् र कयौं मुलुकमा एकपटक सफल भएका सामाजिक क्रान्तिहरू पनि दिगो रहन सकेनन् ।

मार्क्सवाद-लेनिनवाद तथा माओत्से तुङ विचारधारालाई अध्ययन-मनन गर्नु आवश्यक छ । त्यत्तिकै अझ त्यसभन्दा पनि बढी आवश्यकता आफ्नो मुलुकमा विद्यमान वर्गीय, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र भूराजनीतिक अवस्थाको अध्ययन गरी तिनले पैदा गरेका विशिष्टतालाई चिन्नुमा रहेको छ । सिद्धान्त र देशको वस्तुस्थितिको अध्ययन एकैपटकमा टुंगिने विषय होइन, यी दुवैको अध्ययन एक निरन्तर प्रक्रियामा गरिने विषय हो ।

मार्क्सवाद-लेनिनवाद तथा माओत्से तुङ विचारधाराको गम्भीर, समष्टिगत र विषयकेन्द्रित अध्ययनबाट प्राप्त दृष्टिकोण र ज्ञानलाई समाज परिवर्तन गर्ने कार्यक्रमहरू, रणनीति, कार्यनीति र नीतिहरू निर्माण गर्न तथा यिनलाई लागू गर्ने साधनहरू (पार्टी संगठन, वर्गीय तथा जनसंगठनहरू, मोर्चा संगठन आदि) को निर्माण तथा परिचालन गर्न प्रयोग गरिन्छ । उपरोक्त साधनहरूद्वारा परिवर्तनकारी नीति लागू गर्न जनपरिचालन (संघर्ष) गरिन्छ । एउटा अवस्थामा पुगेपछि संघर्षबाट प्राप्त नतिजाहरूको समीक्षा गरिन्छ । सफलता र असफलता वा अपेक्षित उपलब्धि नहुँदा कमीका कारण खोजिन्छ ।

परिस्थितिसम्बन्धी आफ्नो अध्ययन-विश्लेषण-मूल्यांकनमा रहेका राम्रा (सही) कुरा र कमी-त्रुटिहरू खोजिन्छ । वस्तुस्थिति र निर्माण गरिएका नीतिमा तादाम्यता रहे-नरहेको तथ्य पत्ता लगाइन्छ । सो नभएको भए वस्तुस्थितिसँग तादात्म्य मिल्ने गरी नीतिहरूमा परिमार्जन वा संशोधन गर्नुपर्छ ।

उपरोक्त प्रक्रियामा लागेर मात्र देशका विभिन्न पक्षसम्बन्धी वस्तुस्थितिको सही विश्लेषण तथा मूल्यांकन गर्ने र तिनमा मेलखाने गरी नीति निर्माण गर्ने कामलाई परिस्कार गर्न र पूर्णता दिन सम्भव हुन्छ । नेपालमा अग्रज नेताहरूले विशेषतः नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालले २२ अप्रिल १९४९ (१० वैशाख २००६ साल) मा स्थापना गरेको पार्टी र आन्दोलन अहिले सातौं दसक (६७ वर्ष ९ महिना) मा चलिरहेका छन् ।

यस अवधिमा कम्युनिस्ट पार्टी र समाज परिवर्तनकारी आन्दोलनले थुप्रै उतारचढाव, सफलता र असफलता, एकता र विभाजन, उपलब्धि र क्षति बेहोरेका छन् । अरू मुलुकमा जस्तै नेपालमा पनि मार्क्सवाद-लेनिनवाद बुझ्ने र लागू गर्ने विषयमा धेरै मत र मान्यता देखिएका छन् । मूलभूत रूपमा यही कारणले २००६ साल वैशाख १० मा स्थापित नेकपा अहिले एक दर्जनभन्दा बढी ठूला-साना पार्टी-समूहहरूमा विभाजित छ ।

पार्टी विभाजनका अन्य कारण पनि छन् तर तिनीहरू गौण हुन् । अतः नेपालका कम्युनिस्टहरूले देशको अवस्था (राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भूराजनीतिक अवस्था आदि) लाई ठोसरूपमा पहिल्याउने, तिनले पैदा गरेका विशिष्टताहरूलाई पत्तो लगाउने र सामाजिक परिवर्तनका नीति बनाउँदा उपरोक्त दुवै कुरामा मेलखाने गरी मार्क्सवाद-लेनिनवाद तथा माओत्से तुङ विचारधाराका दृष्टिकोण र मान्यताहरूलाई बितेको ६ दसकभन्दा बढी समयको संघर्षबाट प्राप्त शिक्षाहरूको प्रकाशमा सिर्जनात्मक ढंगले मिलान गर्ने काम गर्न सक्नुपर्छ ।

यस प्रकार निर्माण गरिने नीतिहरूको आधारमा मात्र विभिन्न पार्टी-समूहहरूमा विभाजित नेपालका कम्युनिस्टहरू प्रयत्न गरिएको खण्डमा क्रमिकरूपमा सिद्धान्तनिष्ठ ढंगले एक ठाउँमा आउन सक्छन्, एकीकृत हुन सक्छन् ।

नेकपाको उत्तराधिकारको रूपमा २०३५ सालको पुस ११ गते स्थापना भएको, कारणवश बीचमा केही वर्ष 'अन्तरध्यान भई' २०५४ साल फागुन २१ मा पुनस्र्थापना भएको र विशिष्ट स्थितिमा २०५८ फागुन ५ गतेदेखि पुनर्निर्माण भइरहेको नेकपा (माले) माथि उल्लिखित प्रक्रियालाई अवलम्बन गर्दै नेपालको सामाजिक परिवर्तनको आन्दोलनमा मार्क्सवाद-लेनिनवाद तथा माओत्से तुङ विचारधारालाई सिर्जनात्मक ढंगले लागू गर्ने अभ्यासमा गम्भीरताका साथ जुटेको छ ।

यही क्रममा नेकपा (माले) ले २०७३ सालको वैशाखमा सम्पन्न आफ्नो सातौं राष्ट्रिय महाधिवेशनवाट नेपालमा मार्क्सवाद-लेनिनवाद तथा माओत्से तुङ विचारधारालाई प्रयोग गर्ने मार्गसूचकको रूपमा 'नेपाल चिन्तन' नामक सिद्धान्त अघि सारेको छ ।

'नेपाल चिन्तन' नामक मार्गसूचक सिद्धान्तका आधार निम्न चारवटा मान्यता रहेका छन्ः

- गौरवपूर्ण र विशाल प्राचीन नेपाल ईश्वीको अठारौं शताब्दीमा आइपुग्दा ६२ वटा ससाना राज्य-रजौटाहरूमा विभक्त भइसकेको थियो । पृथ्वीनारायण शाहको पहल, नेतृत्व र योजनामा आधुनिक नेपालको एकीकरण ७१ वर्षको संघर्ष (१८०१-१८७२ साल) पछि १८७२ सालमा टुंगियो, सुगौलीको सन्धिद्वारा । आधुनिक नेपालको एकीकरण अभियानदेखि आजसम्ममा यस देशले पटक-पटक आफ्नो अस्तित्व मेटिने खड्गो काटेको छ ।

संविधानसभाबाट संविधान जारी भएपश्चात् हाल यस देशले पाँचौंपटक आफ्नो अस्तित्व माथिको खड्गो बेहोरिरहेको छ । नेपालको अस्तित्वमाथि अहिले काला बादलहरू मडारिइरहेका छन् । अतः आधुनिक नेपालमा एकीकरणको बेलादेखि हालसम्म मात्र होइन, भविष्यको लामो समयसम्म पनि यहाँ राजनीतिक तथा सामाजिक परिवर्तनका संघर्ष सञ्चालन गरिँदा यसको स्वतन्त्रता, भूअखण्डता र अस्तित्व रक्षाको प्रश्नलाई प्राथमिकता दिनुपर्ने अनिवार्यता रहेको छ । नेपालको अस्तित्व रक्षा गर्ने विषयलाई बेवास्ता गर्दै गरिने कथित राजनीतिक वा सामाजिक क्रान्तिको आडबाट नेपालको अस्तित्वलाई नै विलय गर्ने कार्य गरिने खतरा अद्यावधि विद्यमान छ ।

- भूगोल र राजनीतिको हिसाबले एकापट्टि चीन र अर्कोपट्टि भारतीय (ब्रिटिसकालीन वा स्वन्तन्त्रतापश्चात्) विस्तारवाद तथा पश्चिमी साम्राज्यवादको बीचमा रहेको नेपालको जनवादी क्रान्तिका आफ्नै विशिष्टता रहेका छन् । यसलाई नबुझ्दा नेकपाका कुनै महासचिव सामन्तवादको शरणमा पुगेको, कुनै सुधारवादी पुँजीवादको शरणमा पुगेको, कुनै नेता विस्तारवादी शक्तिराष्ट्रको मद्दत लिएर कथित क्रान्ति गर्ने अभियानमा लाग्दा देशको अस्तित्व खतरामा पारी आफूचाहिँ आन्दोलनको घेराबाट उफ्रेर बाहिर पुगेको र अरू धेरै नेताहरू नेपालको सामाजिक क्रान्तिबारे रनभुल्लमा परिरहेको हामीले देख्यौं र अहिले पनि देखिरहेका छौं ।

नेकपा (माले) ले आफ्नो तेस्रो राष्ट्रिय सम्मेलन (२०६० साल) बाट नेपाली जनवादी क्रान्तिमा रहेको विशेषतालाई निम्न प्रकार अघि सारेको छः देशको भूराजनीतिक अवस्थाका कारण पटक-पटक अग्रगामी राजनीतिक परिवर्तन गर्दै अघि बढ्ने क्रममा अनुकूल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थामा मात्र नेपाली जनवादी क्रान्ति अर्थात् आमूल परिवर्तन सम्भव हुन सक्छ । अन्य कतिपय मुलुकमा जस्तो सामाजिक क्रान्ति सुरु भएपछि जति वर्ष लागे पनि त्यसलाई अघि बढाउँदै सफल बनाउन सकिने अवस्था नेपालमा रहेको छैन ।

आजसम्म आधुनिक नेपालमा तीनवटा अग्रगामी राजनीतिक परिवर्तन- २००७ साल, २०४६ साल र २०६३ सालमा सम्पन्न भएका छन्; उपरोक्त समयमा भूराजनीतिक कारणले नै नेपालमा 'नयाँ जनवादी क्रान्ति' वा आमूल परिवर्तन हुन सक्तैनथे । नेपालको विशेषतामुताविक केही समय (दसक) को अन्तरमा राजनीतिक परिवर्तन भएजसरी अब चौथोपटक के हुने हो ? नयाँ जनवादी क्रान्ति वा फेरि अर्को अग्रगामी राजनीतिक परिवर्तन मात्र ?

यो तत्कालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाले तय गर्ने विषय हो । नेपाली जनवादी क्रान्तिको यस विशेषतालाई बुझे मात्र यहाँका मार्क्सवादी-लेनिनवादीहरूले नेपालको सामाजिक परिवर्तनको संघर्षलाई नेतृत्व दिने सही सिद्धान्त, रणनीति, कार्यनीति, कार्यक्रम र नीतिहरू निर्माण गर्न सक्छन् । यिनका आधारमा मात्र नेपालमा कम्युनिस्टहरूबीच सिद्धान्तनिष्ठ एकीकरण सम्भव हुन सक्छ ।

- नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक र क्षेत्रीय विविधतासम्पन्न एक भूपरिवेष्ठित मुलुक हो । यस्तो मुलुकमा जातीय पहिचान, समानता एवं समावेशीकरण, संघीयकरण तथा समृद्धि निर्माण कार्यलाई अन्य मुलुकहरूमा भन्दा भिन्न र आफ्ना विशिष्टतामुताविक मात्र सही ढंगले र सफलताका साथ सम्पादन गर्न सकिन्छ ।

राष्ट्रिय स्वतन्त्रताको संरक्षण र समृद्धि निर्माण वा आर्थिक विकासको निम्ति एउटा छिमेकीमाथिको एकलौटी निर्भरतालाई अन्त्य गरिनु अत्यावश्यक छ । यसविपरीत कार्य गरे त्यसबाट नेपाल र नेपालीहरूलाई भन्दा विदेशी शक्तिहरूलाई मात्र फाइदा पुग्छ । त्यति मात्र नभई नेपाली र नेपालमाथि विदेशी शासकहरू र विदेशी शक्तिहरू प्रभावी हुन पुग्छन् ।

- संविधानसभाद्वारा नयाँ संविधान जारी भएपश्चात् भारत सरकारले नेपालप्रति गरेको शत्रुवत् व्यवहारद्वारा सम्पूर्ण नेपालीहरूका आँखा खुल्न पुगेका छन् । राष्ट्रिय एकीकरणपछि नेपालमा हुने अस्थिरताको स्रोत भारतका सत्ताधारीहरू नै बन्दै आएका छन् । तिनीहरूकै कारण आधुनिक नेपालले आजसम्ममा पाँचपटक आफ्नो स्वतन्त्र अस्तित्वमा खड्गो भोगेको देखिएको छ ।

नेपालको स्वतन्त्रता र सार्वभौमिकतालाई सम्मान गर्ने ओठे अभिव्यक्ति दिए पनि तिनले नेपालको स्वतन्त्र अस्तित्वलाई कहिल्यै रुचाएको देखिएन र भारतीय सत्ताको विस्तारवादी चरित्र अन्त्य नभएसम्म पछि पनि रुचाउने छैनन्, तिनीहरू नै नेपालमा रहेका पछौटेपन, व्यवस्थाहीनता, असुरक्षा, अनियमितता र भ्रष्टाचारको स्रोत र संरक्षक बनेका रहेछन् । यी कुरालाई हृदयंगम गरी तदनुरूप नीति बनाउँदै सामाजिक परिवर्तनका निम्ति सकारात्मक ढंगले संघर्षमा क्रियाशील रहने राजनीतिक दलले मात्र नेपाल र नेपाली जनताका समस्या समाधान गर्न सक्छ ।

नेपालको राष्ट्रिय एकीकरणदेखि नै भारतीय सत्ता मूलभूतरूपमा नेपालप्रति पूर्वाग्रही, बक्र, मिचाहा, पेलाहा र विस्तारवादी रहँदै आए पनि संवत् १८७२ साल पश्चात् नेपालले उसप्रति वैमनस्यपूर्ण व्यवहार गरेको छैन, यद्यपि नेपालले आफ्नो स्वतन्त्रता, स्वाभिमान र अधिकार रक्षाको विषय निरन्तर उठाउँदै आएको छ र भविष्यमा पनि यसो गरिरहनेछ । नेपालीले छिमेकीको रूपमा भारतको अहित चिताएका छैनन् र चिताउने छैनन् पनि ।

नेपालीले आफ्नो भूमि भारतविरुद्ध प्रयोग हुन दिएका छैनन् र दिने छैनन् पनि । नेपालीले २००७ सालपछि क्रमिकरूपमा पञ्चशीलको आधारमा असंलग्न तटस्थ परराष्ट्र नीति अपनाउँदै आएका छन् । भारत सरकारले लिम्पियाधुराबाट निस्किएको महाकाली नदीपूर्व नेपालको २५३ वर्गमाइल जमिन हडपेको छ, सुस्तामा पनि हस्तक्षेप गरेको छ, ७२ ठाउँमा सीमा अतिक्रमण गरेको छ र तराईका दसगजानिकट सडक निर्माणको नाममा बाँध बाँधी सीमा क्षेत्रको नेपालको तराईलाई डुबानमा पारेको छ ।

भूपरिवेष्ठित मुलुकले पाउने अकुण्ठित व्यापार र पारवहनको अधिकार नेपाललाई खटाएर मात्र दिएको छ । नेपाल र नेपालीसँग हेपाहा व्यवहार गरिरहेको छ, कयौं विषयमा नेपालसँग असमान व्यवहार गरिरहेको छ र नेपाललाई आफ्नो थप नियन्त्रणमा पार्न समय-समयमा नाकाबन्दी गर्दै आएको छ । तैपनि हामी भारतसँग रहेका सबै समस्या राजनीतिक वार्ताद्वारा र नेपाली जनताको न्यायपूर्ण राजनीतिक संघर्षद्वारा समाधान गर्न चाहन्छौं ।

२०७२ सालमा भारत सरकारले गरेको नाकाबन्दीले नेपालीलाई विगतकालमा भारतको सहयोगमा गरिएका राजनीतिक संघर्षको समीक्षा गर्न तथा के ठीक र के बेठीक गरिएछ त्यो छुट्ट्याउन प्रेरित गरेको छ । अब दलहरूले विगतका सबै राजनीतिक संघर्षको नेपालमुखी चिन्तनको आधारमा समीक्षा गर्नु र त्यसबेलाका कतिपय निर्णयबारे पुनर्विचार गर्नुपर्छ ।

उपरोक्त चारवटा मान्यताहरू समेटिएको 'नेपाल चिन्तन' नामक सिद्धान्त नेपाली कम्युनिस्टहरूलाई नेपालमा मार्क्सवाद-लेनिनवादलाई सिर्जनात्मक रूपमा लागू गर्न बाटो देखाउने मार्गसूचक सिद्धान्त हो । समष्टिमा नेकपा (माले) ले नेपाल चिन्तनलाई आफ्नो मार्गदर्शक सिद्धान्तमा समावेश गरे पनि यसले नेपालका सबै इमानदार कम्युनिस्ट नेता र कार्यकर्तासमक्ष यसलाई बहसको विषयको रूपमा अघि बढाइरहेको छ । 'मार्क्सवाद कठमुल्ला सूत्र होइन, यो कामकारबाही सञ्चालन गर्ने मार्गदर्शक मात्र हो' भन्ने लेनिनको प्रसिद्ध भनाइलाई पटक-पटक दोहोर्‍याउन पछि नपर्ने सबै कम्युनिस्ट नेता तथा कार्यकर्ता कमरेडहरूलाई 'नेपाल चिन्तन' बारेको बहसमा सरिक हुन हामी हार्दिक आह्वान गर्दछौं ।

-मैनाली नेकपा (माले) महासचिव हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.