ऊर्जाकाे पहिचान

ऊर्जाकाे पहिचान

यो ब्रह्माण्डमा ऊर्जाबिना कुनै वस्तुको सिर्जना सम्भव छैन तर ऊर्जा कुनै वस्तु होइन । हरेक वस्तु र कार्य अनि सृष्टिसँग ऊर्जाको सीधा सम्बन्ध छ । ऊर्जाबिना कुनै कार्य सम्भव छैन । अहिले देशमा कुलमान घिसिङ एक सम्मानका पात्र बनेका छन् किनकि उनले आफ्नो ऊर्जालाई देश र जनताको कल्याणमा लगाए एउटा नयाँ आयामले देश र जनताको हित हुने काम गरे । उनीभन्दा अगाडिका कर्मचारीले जस्तो देश र जनता ठग्ने काममा आफ्नो ऊर्जा लगाएनन्, दिनप्रतिदिन उनकै हैसियतमा काम गर्ने कर्मचारीका कर्तुतहरू बाहिर आइरहेका छन् । तिनीहरूले आफ्नो ऊर्जा आफू र देशकै लागि निम्नकोटीको काममा लगाए ।

हामी विवश थियौं, सधैं गरिब र जलस्रोतको धनी देशका वासिन्दा बत्तीमुनिको अँधेरो झैं सधैं अन्धकारमा बाँच्न धैर्य गरिराख्यौं । सामान्य रूपले हेर्दा उनले नयाँ केही गरेका छैनन् । एउटा कर्मचारीले निर्वाह गर्नुपर्ने कर्तव्य र दायित्व नेपाली जनताप्रति निर्वाह गरेका छन् र पनि उनी हाम्रो लागि एक महान् नायक भएका छन् । नयाँ आयामले सोचेर, भित्री चुरो कहिल्यै खोजेका रहेनछौं, जुन कुरा कुलमान घिसिङले आफू विद्युत् प्राधिकरणको निर्देशक पदमा नियुक्त भएलगत्तै काठमाडौं उपत्यकामा विद्युत् कटौती कम गरेर देखाइदिए ।

त्यति मात्र नभएर उनले मुलुकभर नै विद्युत् कटौती गर्न सकिने कुरासँगै देशमा विद्युत् विकासको लागि अपनाउनुपर्ने नीति एवं योजनाबारे आफ्नो धारणा नै सार्वजनिक गरे । उनकै अनुसार अहिलेको हिउँदमा हामीले मज्जाले विद्युत् उपभोग गर्न पाएका छौं र दिनदिनै उनीप्रति आभारी भएका छौं । यस कार्यबाट उनले विद्युत् अभावको मार खेपिरहेका जनसमुदायबाट व्यापक समर्थन मात्र प्राप्त गरेका छैनन्, विद्युत् माफिया, कमिसनखोर एवं विद्युत् प्राधिकरणका भ्रष्ट कर्मचारीलाई जनतासामु प्रस्तुत गर्ने काम पनि गरे । उनको यो भित्री ऊर्जाले जनताको भलो हुने काम गरेको छ भने हाम्रै विद्युत् ऊर्जाको हामीले नै उपयोग गर्न पाएका छौं ।

महान् दार्शनिक अरस्तु भन्नुहुन्छ, ‘मनको ऊर्जा नै जीवनको सार हो ।' जीवन पाएर त्यो जीवन ऊर्जा देश र जनताको हितमा लगाउन सकिने रहेछ भन्ने उदाहरण कुलमानले प्रस्ट पारिदिए । दैनिक १८ घन्टासम्म विद्युत् कटौती व्यहोर्न बाध्य काठमाडौंवासीले हृदयदेखि उनको प्रशंसा गरेका छन् । त्यही ऊर्जा कुलमानले जनहितमा लगाए भने उनीभन्दा अगाडिका जिम्मेवार व्यक्तिहरूले आफ्नो व्यक्तिगत स्वार्थमा लगाइरहेका रहेछन् ।

हत्केलाले सूर्यलाई छेक्न नसकिएजस्तै अपराध गतिविधि अपनाउने र जनतालाई ठग्नेहरूको पर्दाफास एक दिन अवश्य हुनेछ किनकि सत्य धेरै समय लुकाउन सकिन्न ।

ओशोले मार्मिक तरिकाले भन्नुभएको छ, ‘जीवित भएर जिउनु मात्र मनुष्यको उद्देश्य होइन, असली उद्देश्य उसको ऊर्जा जागरण र स्वचिन्तनमा लगाउनु हो । किनकि स्वचिन्तनबाट मात्र आफू हुनु, आफ्नो असल कर्म र जनहितको बोध हुन्छ ।' कुलमानको जीवन, उनको सोच अनि उनको जीवन ऊर्जाको परिणाम ओशोको यो वचनसँग पनि मिल्न गएको छ ।

रविशंकरले भन्नुभएको थियो, ‘धनी बन्ने चाहनाले मानिसलाई लोभी, स्वार्थी र लालची बनाउँछ ।' आज हाम्रा नेतृत्व वर्गलाई यही कोटीमा राख्दा अन्यथा हुँदैन किनकि आफ्नो व्यक्तिगत स्वार्थ र सम्पन्नताको लालचले देश नंग्याइसकेका छन् । उनीहरूको ऊर्जा देशलाई सकेसम्म चुस्ने र खोक्रो बनाउने अनि जनतामाथि खेलबाड गर्ने काममा खर्च गराइरहेछन् ।

प्रकृतिमा अलग-अलग रूपमा ऊर्जा उपलब्ध छ । प्रकाश ऊर्जा, यान्त्रिक ऊर्जा, गुरुत्वाकर्षण ऊर्जा, विद्युत् ऊर्जा, ध्वनि ऊर्जा, रासायनिक ऊर्जा र परमाणु ऊर्जा आदि-आदि । प्रत्येक ऊर्जाले एकअर्कामा समन्वयात्मक रूपले काम गरिरहेका हुन्छन् । जसको कारणले हाम्रो जीवन चलिरहेको छ । यीमध्ये कुनै एक ऊर्जा मात्र नहुने हो भने पनि संसार चल्न मुस्किल हुनेछ ।

यी हामीले बाहिर जानेका ऊर्जाका रूप हुन् तर त्योभन्दा गहिराइमा हामी प्रत्येक भित्र महत्वपूर्ण ऊर्जा छिपेको छ, जसको हामीले पूर्णरूपमा प्रयोग गरेकै छैनौं । हामीभित्र रहेको प्राणमय ऊर्जा, प्रेम ऊर्जा, कर्म ऊर्जा, सकारात्मक विचारको ऊर्जा, ध्यान ऊर्जा, संगीत ऊर्जा जसले हृदयलाई तरंगित गराइदिन्छ र अस्तित्वसँग साक्षात्कार गराइदिन्छ ।

यी भित्री ऊर्जाले सधैं प्रसन्न, जाँगरिलो, जागरुक, प्रेमल र करुणावान् बन्न प्रेरित गर्छन् । यी प्रत्येक मानिसभित्र हुने ऊर्जाका स्वरूप हुन्, तर मानिसले यसलाई प्रयोगमा ल्याएकै छैन । प्रयोगमा ल्याउँदो हो त जताततै स्वार्थ र संकुचित भावनाले भरिएका व्यक्तिहरू र तिनका कर्मका नकारात्मक परिणाम हामीले समेत भोग्नु पर्दैनथ्यो होला ।

एकजना कुलमानको सकारात्मक ऊर्जाले जनताले यति धेरै राहत पाउँदा रहेछन् भन्ने छर्लंग भइसकेपछि के प्रत्येकले सोचेका छौं, हाम्रो भित्री ऊर्जा हामीले कता लगाइरहेका छौं ? हाम्रो सफलता-असफलता, हाम्रो सुख-दुःखको अनुभूति र हाम्रो कर्मको फल हाम्रो ऊर्जासँग सम्बन्ध राख्छ । हामीले ऊर्जा जता लगायौं, त्यही फल प्राप्त गर्दछौं ।

जसरी पानी छेकेर बाँध बनाएर विद्युतीय ऊर्जा निकाल्न सकिन्छ भने उर्लेर खेर गएको पानी बाढीस्वरूप बनेर खेतीपाती, जमिन नष्ट गरिदिन्छ । सौर्य ऊर्जालाई प्रयोगमा ल्याएर विद्युतीय ऊर्जामा परिणत गर्न सकिएजस्तै हाम्रो प्रेमरूपी ऊर्जा प्रयोगमा ल्याएर सम्बन्धमा मधुरता, उमंगता र स्वतन्त्रता अनुभव गर्न सकिन्छ । हाम्रो कर्मरूपी ऊर्जालाई सक्रिय गराएर जुनसुकै कर्मलाई सेवाभावको हिसाबले प्रयोग गर्न सकिन्छ, जसको परिणाम कल्याणकारी हुन जान्छ ।

हामीले अनुभव गरिसक्यौं- एकजना कुलमानले आज देश उज्यालोमा रमाएको छ । विद्यार्थीहरूले उज्यालोमा पढ्न पाएका छन् । गृहिणीहरूले उज्यालोमा भान्छा चलाउन पाएका छन् । कुलमानजस्तै अरू तीनजना देश र जनताको सेवामा लाग्ने देशले निकास पाउँथेन त ?

हाम्रा घरमा परिवारबीच सम्बन्ध सुमधुर छैन भने हाम्रो प्रेम ऊर्जाले काम गरेको छैन अर्थात् हामीले प्रेम ऊर्जालाई प्रयोगमै ल्याएका छैनौं । हाम्रो व्यापार, व्यवसाय सफल भएको छैन भने कर्म ऊर्जालाई प्रयोग गरेकै छैनौं । म जसरी पनि सफल बनाउँछु भनेर त्यसमा दत्तचित्त भएर ऊर्जा प्रयोग गरेकै छैनौं । कार्यालयमा असल प्रशासक वा कर्मचारी बन्न सकेका छैनौं भने हामीभित्रको ऊर्जा जगाएर कर्ममा लगाउने प्रयत्न गरेकै छैनौं । हाम्रो अध्ययन-अध्यापन सोचेअनुरूप राम्रो भएको छैन भने पनि हाम्रो चेतना जागरणमा त्यो ऊर्जालाई प्रवाह हुन दिएकै छैनौं ।

ऊर्जा देखिने वस्तु होइन । हामी सबैभित्र छिपेको अथाह शक्ति ऊर्जा हो, जसलाई शब्दमा व्यक्त गर्न पनि गार्हो हुन्छ । यसलाई अनुभव मात्र गर्न सकिन्छ र त्यो ऊर्जा हाम्रा कर्ममा शतप्रतिशत प्रयोग भए भने हाम्रा कर्मका परिणामहरूले हामीलाई आनन्दमा लग्दछन् । हामीभित्र छिपेको ऊर्जालाई निर्देशन दिएर सही मार्गमा लगाउने काम हाम्रो हो ।

मानिसको जीवन अस्तित्वले प्रदान गरेको एउटा उपहार हो । यो जीवन ऊर्जालाई कुलमानले जस्तै हामी प्रत्येकले सही मार्गमा प्रयोग गर्न सक्यौं भने आफ्नो र सारा जगत्को भलाइमा काम आउन सक्छ । यो पो हो त जीवन पाउनु, जिउनु, रमाउनु र कसैलाई केही गर्न सक्नुको आनन्द ।

दिनुमा छ जीवन, लिनुमा होइन । एकजना जापानिज प्रोफेसर भन्नुहुन्थ्यो, ‘देश बनाउन चारजना असल मानिस भए पुग्छ र देश बिगार्न पनि चारजना खराब मानिस भए पुग्छ ।' हामीले अनुभव गरिसक्यौं- एकजना कुलमानको कारणले आज देश उज्यालोमा रमाएको छ । विद्यार्थीहरूले उज्यालोमा पढ्न पाएका छन् । गृहिणीहरूले उज्यालोमा भान्छा चलाउन पाएका छन् । सबैमा अहोभावको भाव पलाएको छ ।

सब सकारात्मक छन् । कुलमानजस्तै अरू तीनजना देश र जनताको सेवामा लाग्ने व्यक्ति जन्मन सके के हाम्रा जापानिज प्रोफेसरले भने झैं देशले निकास पाउँथेन त ? त्यसैगरी दुईचारजनाको व्यक्तिगत स्वार्थले देशको यो हविगत भएको पनि छ ।

स्वाभिमानी, न्यायप्रेमी र जनताका सेवक कुलमानको ऊर्जा अरू बढाउन र उनीजस्ता व्यक्तिलाई देशमा टिकाइराख्न हाम्रो समर्थनको ऊर्जा पनि उनलाई थपौं र उनलाई विचलित हुने अवस्था सिर्जना हुन नदिन एकजुट भएर लागौं । यस्ता न्यायप्रेमी ऊर्जावान् व्यक्तिलाई टिक्न नदिने अनेक दुष्प्रयास हुन सक्छन् । तिनका लागि हाम्रो ऊर्जा प्रस्फुटन हुन दिऊँ ।

मदर टेरेसाले भन्नुभएको छ, ‘तिम्रो इमानदारीप्रति ईष्र्या गर्ने र तिम्रो ऊर्जा घटाउन खोज्ने प्रयासरत व्यक्तिहरू समाजमा थुप्रै हुन सक्छन्, तर पनि तिमी आफ्नो इमानदारीमा अगाडि बढिरहु, ‘हामीभित्र रहेको ऊर्जालाई नयाँ आयामबाट प्रयोगमा ल्याऔं किनकि ऊर्जाकै कारण यो पृथ्वी, हामी मानिस र यो ब्रह्माण्डको सिर्जना भएको छ । पृथ्वी, सौर्यमण्डल र ब्रह्माण्डभित्र लुकेको अदृश्य ऊर्जाजस्तै हामी प्रत्येकभित्र लुकेको ऊर्जाको उजागर गरौँ र एक समृद्ध राष्ट्रको पहिचान कायम राख्नमा सहयोग गरौं ।



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.