यस वर्षको क्यान आकर्षण

यस वर्षको क्यान आकर्षण

काठमाडौः ‘पक्कै यो वर्ष पनि क्यानको आकर्षण बन्यो मोबाइल, मेलामा मोबाइल किन्ने ग्राहकको ठूलो मात्रामा उपस्थिति भयो', कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान)का अध्यक्ष विनोद ढकालले भन्दै थिए । ग्राहकले मोबाइल र त्यसमा आवश्यक ग्याजेटका लागि मेलालाई सदुपयोग गरेका छन् । मेला पनि त्यस्तै थियो । त्यहाँ नेपाली बजारमा भित्रिएका सम्पूर्ण मोबाइल कम्पनीको स्टल थियो । ग्राहकको भिड पनि त्यसैमा ।

क्यान इन्फोटेकमा विभिन्न ब्रान्डका कम्पनीले मोबाइल सार्वजनिक गर्नुका साथै ग्राहक लक्षित योजना ल्याउनुले पनि यो मेलामा मोबाइलप्रति अवलोकन कर्ताको मुख्य आकर्षण देखिएको हो । त्योभन्दा पनि पछिल्लो समय मोबाइल अत्यावश्यक सामग्री बन्दै गएकाले अरु छोडेर मोबाइलमा आकर्षण भएको बताउँछन् अध्यक्ष ढकाल ।

उनका अनुसार यो वर्षको मेलामा मोबाइलसँगै मोबाइलमा आवश्यक पर्ने ग्याजेटमा भिआर बक्स, चार्जर, साउन्ड सिस्टम, हेडफोनको बिक्री धेरै भएको छ । सामसुङ, हुवावे, जियोनी, जोप्पो, वानप्लस लगायतका ब्रान्डले मेलामा आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेर आकर्षणका रुपमा राखेकाले पनि मेलामा मोबाइल सबैको चासो बनेको हो ।

‘मोबाइल ग्याजेटसँगै यो वर्ष मेलामा इन्टरनेटका प्याकेजहरूले पनि ग्राहक आकर्षण गर्न सफल भएको छ', उनले भने, ‘मेलामा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीले ल्याएको इन्टरनेट, इन्टरनेट प्लस टीभी प्याकेजमा पनि ग्राहक आकर्षित भएका छन् ।'

मेलामा मोबाइल र इन्टरनेट त सधैँको आकर्षण नै हो । त्योभन्दा पनि यो वर्ष आकर्षण बन्यो सोलार हाइब्रिड कार । पोखरामा मेकानिकल इन्जिनियरिङ अध्ययन गर्दै गरेका आठ जनाको गु्रपले निर्माण गरेको सोलार कार सबैको नजरमा पर्‍यो । यसलाई व्यवसायिक रुपमा अघि बढाउन सकिने हो भने नेपाल आफैँले कार निर्माण गर्न सक्छ भन्ने उदाहरण बनेको छ, सोलार हाइब्रिड कार ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले उनीहरूको कामको प्रशंसा गर्दै आगामी दिनमा यसको विकासमा सहयोग गर्ने समेत बताएका छन् । आफ्नो अध्ययनको प्रोजेक्टको रुपमा निर्माण गरेको सोलार कारमा सात घन्टासम्म यात्रा गर्न सकिन्छ ।

कृष्णप्रसाद तिमल्सिना, दीपेश कार्की, खगेन्द्र कार्की, प्रयास रिमाल, सुमित ढकाल, राजन अनाल, सौगात कोइराला र सागर अधिकारीले यो कार निर्माण गरेका हुन् । भारतले नाकाबन्दी गरेको समय आएको सोचलाई उनीहरूले कार्यान्वयनयमा ल्याएका हुन् । एकपटक चार्ज गर्दा दुई घन्टासम्म चल्ने यो कार फुल चार्ज हुँदा ६ घन्टासम्म चल्ने निमार्णकर्ता तिमल्सिना बताउँछन् ।

उनका अनुसार यो कार ब्याट्रीबाट पनि चल्नेछ । यसमा १२ वाटको चार वटा ब्याट्री प्रयोग गरिएको छ । तीन लाख रुपैयाँको लागतमा निर्माण गरिएको यो कारलाई पूर्ण रुपमा तयार पार्न सात लाख रुपैयाँ लाग्ने छ । अर्को थियो, दृष्टिविहीनको ल्यापटप प्रयोग र उनीहरूले निर्माण गरेका विभिन्न एप्स ।

त्यस्तै अर्को आकर्षणको बिषय बनेको छ, ड्रोन । काइचो ग्रुपको ड्रोन मेलाको एउटा आकर्षण विषय बन्यो । आकस्मिक औषधी एकठाउँबाट अर्को ठाउँमा पुर्‍याउने योजनासाथ निर्माण गरिएको ड्रोन काइचो ग्रुप पोखराका राजन गुरुङले निर्माण गरेका हुन् ।

१५ हजार रुपैयाँ लागतमा निर्माण भएको ड्रोनले थोरै मात्रामा अति आवश्यक परेको स्थानमा औषधी पुर्‍याउन सकिने गु्रपका अध्यक्ष सुमन पौडेलले बताएका छन् । उनका अनुसार यसलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउन यसले काठमाडौंबाट रुकुम, कर्णाली जस्ता विकट स्थानमा पनि औषधि पुर्‍याउन सक्नेछ ।

त्यसका लागि जीपीएस लोकेसन र ड्रोनका लागि चार्जिङ पइन्ट निर्माण गर्न जरुरी भएको र यो सम्भव रहेको उनले बताए । क्यानका अध्यक्ष ढकालका अनुसार युवाको प्रतिभालाई क्यानले दिएको प्रथामिकताले पनि यो वर्ष युवाले निर्माण गरेका नयाँ प्रविधि देख्न पाइएको हो ।

ढकालका अनुसार प्रविधिको मेलाको रुपमा हेरिएको क्यान इन्फोटेकले नेपालको प्रविधिमा भएको विकासलाई प्रतिनिधित्व गरेको छ । यो वर्षको क्यान इन्फोटेक मेला ३ लाख १० हजार ९८ जनाले अवलोकन गरेका छन् । क्यानले आयोजना गरेको दुईदिने सम्मेलन पनि नेपालको प्रविधिको विकासका लागि एउटा सार्थक अन्तक्र्रिया भएको छ ।

यो वर्षको नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक रणनीति निर्माणको कामलाई यसले अघि बढाएको छ । ‘इनफर्मेसन एन्ड कमिनिमेसन टेक्नोलोजी फर सस्टेनेबल डेभलपमेन्ट' विषयमा भएको सम्मेलनले नेपाललाई इनेपालको रुपमा निर्माण गर्न आवश्यक विषयलाई उजागर गरेको बताउँछन् अध्यक्ष ढकाल ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.