कहाँ छैन भ्रष्टाचार ?

कहाँ छैन भ्रष्टाचार ?

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको हालै प्रकाशित प्रतिवेदनले भ्रष्टाचारमा नेपाल दक्षिण एसियामा तेस्रो र विश्वका १७६ मुलुकमध्ये १३१औं नम्बरमा पुगेको देखाएको छ । नेपालले सय नम्बरमा २५ अंक प्राप्त गरेको छ । अघिल्लो वर्षको तुलनामा दुई अंकले सुधार ल्याएको तथ्यांकले देखाएको छ ।

जुन देशमा नेतादेखि तलमा सरकारी कार्यालयका हरेक फाँटका मान्छे भ्रष्टाचारमा लिप्त हुन्छन्, त्यो देशको गति यही हो । हालै काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा ३३ किलो सुनकाण्ड यसको सबैभन्दा पछिल्लो उदाहरण हो । स्वय अर्थमन्त्रीले यस घटनाकै सन्दर्भमा ‘हामी त साना माछा हौं । ठूलो माछा त अरू नै छन्’ भन्ने अभिव्यक्ति दिएर नेपालमा भ्रष्टाचार संस्थागत भएको पुष्टि गरेका छन् । सुन गैरकानुनी रूपमा यसरी भन्सारबाट बाहिरिएको यो पहिलो घटना होइन ।

सुनको तस्करी पञ्चायत कालमा पनि हुन्थ्यो, बहुदलकालमा पनि हुन्थ्यो र अहिले लोकतन्त्र या गणतन्त्रमा पनि हुन्छ । सुनको तस्करी पहिलेभन्दा अहिले अरू व्यापक छ । पैसाको राजनीति छ जो अहिले । नेपाल विद्युत् प्राधिकरणको हालै कर्मचारी र व्यापारीको मिलोमतोमा करोडौंको बिजुली चोरीको भ्रष्टाचारले भ्रष्टाचारको एउटा अर्को उदाहरण प्रस्तुत गरेको छ ।

आफ्नै संस्थानको खुट्टामा बन्चरो हान्ने ती कर्मचारीको पक्षमा संस्थानको युनियन उभिनु राम्रो संकेत हो र ? अनि ती कर्मचारीलाई कतै सरुवा गरेर प्राधिकरणले चोख्याउने प्रयत्न गरेको छ । हरेक संस्थानमा यस्ता युनियनहरूले कारबाहीमा तगारो हालिदिँदा दण्डहीनता मौलाएर आएको छ । गलत कामलाई काँध हाल्ने ती कर्मचारी र युनियन हुन्जेल भ्रष्टाचार घट्दैन, बरु बढ्छ ।

राजनीतिमा हुने भ्रष्टाचार झन् डरलाग्दो हुन्छ । यसमा करोडौंको चलखेल हुन्छ । ठेक्कापट्टा राजनीतिक कार्यकर्ताको किनबेच कमिसनजस्ता कुराको व्यापक चलखेल हुन्छ । यस्तो भ्रष्टाचारले विकासलाई असर पार्छ । जनतालाई गरिब बनाउँछ ।

सुनिन्छ- भन्सारमा घूस पाइने लोभले धेरै कर्मचारीले धेरै मान्छे घूसै ख्वाएर पनि जान्छन् । एकजना मित्र त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका प्रमुख थिए । कुरैकुरामा उनले भनेको मलाई अझै सम्झना छ । म एकपटक उनलाई भेट्न उनको घर गएको थिएँ । उनी आफ्नो बाबुको पुरानो घरमा थिए । मैले सोधें, ‘भन्सारमा काम गर्नेले त दुई वर्षमा दुइटा घर बनाउँछन् भन्थे । तपाईं त आफ्नो पुरानै घरमा हुनुहुन्छ नि ? नयाँ घर बनाउँदै हुनुहुन्छ कतै ?

मित्रले हाँस्दै मलाई रोचक कथा सुनाए । अहिल्यै घर ठड्यायो भने मानिसहरूले ‘उ हेर त्यसलाई, भन्सार गएको ६ महिना भएको छैन तीनतले घर बनाइसकेछ’ भन्नेछन् । त्यसैले अहिले जम्मा गरेर राख्नुपर्छ । भन्सारमा दुई वर्षभन्दा बढी बस्नु हुँदैन । त्यसपछि अन्यत्र सरुवा लिएर जाने अनि घर बनाउने । ती मित्रले मलाई एउटा अर्को आफ्नो कथा पनि सुनाए । उनी सुरुमा विमानस्थल भन्सार कार्यालय जाँद बेलुकीतिर सुब्बा हातमा पैसाको मुठो लिएर आजको हजुरको भाग भनेर दिन खोजेछन् । त्यो देखेर मित्र जंगिएछन् । मलाई के ठान्नुभएको छ ? घूस ल्याउनुभएको हो ?

शिक्षा, यातायात, मन्त्रालय, संसद्, तेल, बिजुली कहाँ छैन भ्रष्टाचार ? सडकमा प्रहरीलाई, मालमा हाकिमलाई, मन्त्रालयमा मन्त्रीहरूलाई, अदालतमा न्यायाधीश र वकिललाई पैसा नख्वाई तपाईंका कुनै काम भएका छन् ?

लैजानुस्, म त्यस्तो होइन । तपाईंहरू पनि नखानुस् । खाएको थाहा पाएँ भने कारबाही गर्छु । बबुरो सुब्बा पैसा नबुझाई फर्केछन् । भोलिपल्ट बेलुका पनि उनी त्यसरी नै भन्सारमा दैनिक हिसाब मिलानबाट उठ्ने रकम दस्तुर लिएर हाकिमसमक्ष अघिल्लो दिनमा जस्तै उभिएछन् । अनि हाकिम फेरि जंगिएछन्– मैले यसरी पैसा लिएर नआउनुहोस् भनेको होइन ? म लिन्न अब यसरी दस्तुर पनि नउठाउनु । सुब्बा फेरि पैसा साथै लिएर खुरुक्क फर्किएछन् ।

दुईचार हाकिमले पैसा लिन अस्वीकार गरेपछि भन्सारका कर्मचारीमा छलफल भएछ । के गर्ने हाकिम आफू पनि खाँदैनन्, हामीलाई पनि खान दिँदैनन् । फसाद नै पर्ने भो के गर्ने भन्ने सल्लाह भएछ ।

हाकिमले एक दिन अर्थ मन्त्रालयमा पुग्दा त उनलाई विमानस्थलको भन्सारबाट अन्यत्रै सरुवा गर्ने हल्ला चलेको सुनेछन् । कर्मचारी पनि त्यो हाकिम भएन भन्न मन्त्रालय गएछन् । त्यसपछि खान्न भन्दा पनि नहुने र खानैपर्ने बाध्यता परेपछि बेलुकी आउने लक्ष्मीलाई किन रिसाएर फर्काउने भनेर त्यसलाई सधैं गोजीमा हाल्न थालेछन् । धेरै वर्षपछि सुनें, काठमाडौंमा उनका थुप्रै घर छन् रे !

यस्तो संस्कार भएको हाम्रो देशमा भ्रष्टाचार नबढेर कसरी घट्छ त ? अहिले राजनीतिक प्रणालीको चावी नै रकममा छ । खासगरी भन्सार, माल, वन, निर्माणजस्ता क्षेत्रमा पैसाको ठूलो चलखेल हुने गरेको सबैलाई थाहा छ । खासगरी कमाउ संस्थामा हाकिम भएर जानेले मन्त्रीलाई ठूलै रकम बुझाउनुपर्छ । पंक्तिकार पनि एकपटक एउटा मालअड्डामा तीन लाख रुपैयाँ घूस दिन बाध्य भएको सत्य कथा छ ।

एउटा सानो जग्गा पास गर्न मालअड्डा जाँदाको घूसको कथा मैले अखबारमा पनि लेखें तर सुन्ने कसले, पढ्ने कसले र कारबाही गर्ने कसले ? मैले दिन नचाहेको र नदिएको त्यो घूस मेरो जग्गा किन्नेले नै तिरिदिएको पछि मात्रै थाहा पाएँ । अहिले न्यायालयमा समेत राजनीति घुसेको केका लागि ?

यसमा पनि हुनसक्छ पैसाकै चलखेल होस् । इलामका मेरा छिमेकी किसानले मुद्दा हराइदेऊ भन्दा पनि उनले पाँच हजारको थैली बुझाउनुपरेको कथा सुनाएका थिए । वर्षौं मुद्दा धाउँदा-धाउँदा पैसा पनि रित्तिएछ र हिँड्न पनि नसक्ने भएछन् । त्यसपछि मालमा गएर उनले भनेछन्- धेरै भयो मुद्दा खेपेको । मेरो थोरै जग्गाको मुद्दामा टाढाबाट आउन पनि नसक्ने भएँ ।

अब मलाई मुद्दा हराइदिनोस् र मलाई आउनुनपर्ने बनाइदिनोस् भनेर हाकिमसमक्ष बिन्ती चढाउँदा पनि हाकिमले पाँच हजार मागेपछि म त्यसै फर्कें । त्यसपछि जाँदै गइनँ ।नेपालमा कहाँ छैन भ्रष्टाचार ? शिक्षा, यातायात, मन्त्रालय, संसद्, तेल, बिजुली कहाँ छैन ? घूस नख्वाई सरकारको कुनै अड्डामा काम हुँदैन । सडकमा प्रहरीलाई, मालमा हाकिमलाई, मन्त्रालयमा मन्त्रीहरूलाई, अदालतमा न्यायाधीश र वकिललाई पैसा नख्वाई तपाईंका कुनै काम भएका छन् ? अनि किन नबढोस् त भ्रष्टाचारको सूचकांक नेपालमा ?

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.