सामाजिक न्याय र राष्ट्रिय एकता

 सामाजिक न्याय र राष्ट्रिय एकता

नागरिकको सद्भाव, प्रेम, स्नेह, साझा स्वार्थ राष्ट्रिय एकताको प्रतीक हो । संविधानतः राष्ट्रको परिभाषाभित्र जाति, धर्म, भाषा, संस्कृति, भूगोल तथा सार्वभौमिकता आदि पर्छन् । देशवासीको सहिष्णुता, सहानुभूति, त्याग र समर्पण यसका पहिचान हुन् ।

हरेक जनतामा यस किसिमको भावनाको विकास हुनुपर्छ । विविध पेसा तथा वर्ग र समुदायका मानिसमा हुने राष्ट्रियताप्रतिको संवेगात्मक भावनाले सामाजिक न्याय र राष्ट्रिय एकताको सन्देश दिन्छ । यस्तो भावनाको विकास गर्ने माध्यम लोकतन्त्र, राष्ट्रिय एकता र सामाजिक न्याय हो । यसले नागरिकमा उच्च आकांक्षाका साथ एउटै सूत्रमा आबद्ध गराउन मद्दत गर्दछ । यो नेपाल र नेपालीको अस्मितालाई अक्षुण्ण राख्ने अस्त्र हो ।

राष्टिय एकता र नैतिकतालाई सामाजिक न्याय भनिन्छ । यसमा नागरिकले गर्न हुने, सबैलाई मान्य हुने, सहज रूपमा सबैले स्विकार्ने र व्यक्तिलाई अन्याय नपर्ने तथा कसैले थिचोमिचोको अनुभूति गर्नुनपर्ने जस्ता मूल्यमान्यता पर्छन्, जसमा व्यक्तिको नैसर्गिक, मौलिक, प्राकृतिक र जन्मसिद्ध अधिकार आदि सुरक्षित रहेका छन् । व्यक्तिविशेषले राष्ट्रप्रति आफ्नो बफादारिता, कर्तव्य र उत्तरदायित्व बहन गर्नुपर्छ । अतः व्यक्ति-व्यक्ति, व्यक्ति-समाज, समूह-समूह र समाज-समाजप्रतिको त्याग र जिम्मेवारीजस्ता कुरा सामाजिक न्याय र राष्ट्रिय एकताभित्र पर्छन् । यस सम्बन्धमा सबै राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ता हुँदै समग्र नेपाली जानकार हुनुपर्छ ।

सामाजिक न्याय र राष्ट्रिय एकता मुलुकको सुशासनको लागि अनिवार्य पूर्वाधार हो । यसले निष्पक्ष रूपमा राष्ट्रका नागरिकलाई सांस्कृतिक, शैक्षिक, राजनीतिक, भौगोलिक आदि पक्षमा सुसूचित गरी सही मार्गमा लाग्न प्रेरित गर्दछ । यसरी धार्मिक, सामाजिक, आर्थिकजस्ता विविध परिवेश भएका नागरिकमा राष्ट्रिय भावना जगाई सबैलाई एउटै सूत्रमा आबद्ध गर्नुपर्छ ।

राष्ट्रिय एकताका माध्यमबाट समतामूलक तथा न्यायपूर्ण समाज स्थापना हुन गई नागरिक स्वतन्त्रताको उपयोग सबै नेपालीले गर्न पाउने अवसर सिर्जना हुन्छ । प्राधीनता र विदेशी प्रभावलाई निरुत्साहित गर्दै त्याग र निष्ठाका साथ देशभक्तिको भावनाका लागि जागरित गर्ने गराउने कार्यबाट राष्ट्र र राष्ट्रियताको मर्म, सहिदका सपना पूरा भई नेपालीको कल्याण हुन्छ ।

विविध राजनीतिक मूल्यमान्यता र आस्थाबाट प्रेरित हुँदै देशवासीले धर्म, संस्कृति र परम्परानुसार आफ्नो जीवनपद्धति निर्वाह गरेका हुन्छन् । विभिन्न पृष्ठभूमिको संरक्षण गर्दै समावेशी चरित्र र भाइचाराको विकास गराई एउटै सूत्रमा आबद्ध गराउने प्रमुख आधार पनि राष्ट्रियता र सामाजिक न्याय नै हो ।

हाल नेपालमा आर्थिक असमानता, गरिबी, अज्ञानता, अशिक्षा र राजनीतिक अहम्ताका कारण राजनीतिक दलका नेता र कार्यकर्ता तथा नेपालीमा द्वन्द्व, कलह तथा झैझगडा उत्पन्न भई राष्ट्रिय एकतामा खलल पुग्छ । यसबाट नेपालमा भौगोलिक विखण्डन हुँदै जातीयता र साम्प्रदायिकताको वीजारोपण हुन गई मुलुकको विकासमा अवरोध पुग्छ ।

राष्ट्रिय एकतामा अवरोध सिर्जना गर्ने कारणतर्फ आम नेपाली सजग हुनुपर्छ । नेपालको राष्ट्रिय अस्मितामाथि नकारात्मक प्रभाव पार्ने तत्वहरू आर्थिक, सामाजिक, राजनीतिक असमानता, निरक्षरता, अशिक्षा, लैंगिकता जातीयता, सामाजिक विभेद, जातिवाद, साम्प्रदायिकता, प्रान्तीयता तथा क्षेत्रीयता, भाषा, धर्म, संस्कृति आदिको गलत विश्लेषण हो ।

नेपाल विभिन्न जातजाति नागरिक अनेकतामा एकताको सूत्रानुसार बसोवास गर्दै आएको मुलुक हो । नेपालीबीच असमझदारी तथा असहयोगी वातावरण सिर्जना हुँदै गएमा द्वन्द्व उत्पन्न भई आआफ्नो जातीय हितलाई बढी प्राथमिकता दिने परम्परा बस्छ ।

त्यसैगरी धार्मिक विविधता जस्तैः हिन्दु, मुस्लिम, बौद्ध, शिख, इसाई आदि धर्म र सम्प्रदायका मानिसले आफ्नो सम्प्रदायको मूल्यमान्यता र आदर्शलाई बढी जोड दिँदै अन्य सम्प्रदायका मानिसको रीतिरिवाज र चालचलनप्रति घृणाको भावना उत्पन्न हुन्छ ।

नेपालमा यसरी नै राजनीतिक खिचातानी बढ्दै गएमा भौगोलिक विखण्डन हुन गई क्षेत्रीयतामा असन्तुलन हुन पुग्छ । राजनीतिक नेता-कार्यकर्ता र नागरिकबीच दलीय तथा प्रान्तीय स्वार्थका कारण प्रान्त-प्रान्त र क्षेत्र-क्षेत्रका मानिसबीच मुठभेडको स्थिति सिर्जना हुन सक्छ ।

निःसन्देह, नेपाल विभिन्न भाषामा आबद्ध मानिसको उद्गम स्थल हो । नेपालीले आआफ्नो मातृभाषाप्रति बढी आस्था राख्छन् । राज्यले सबै भाषा-भाषीको यथोचित विकास र संरक्षण गर्न नसक्दा विभिन्न मानिसबीच मतभेद सिर्जना हुन जान्छ ।

नेपालमा सामाजिक, आर्थिक असमानताले गर्दा धनी-गरिब र हुनेखाने-हुँदा खाने जस्तो वर्गीय स्थितिले निरन्तरता पाउँछ । कार्ल माक्र्सले भनेजस्तै समाजमा वर्गीय स्थिति सिर्जना भई धनी वर्गले गरिब वर्गमाथि अन्याय, शोषण, थिचोमिचो गर्ने र गरिब वर्गले त्यसको विरोध गर्दागर्दै द्वन्द्व भइरहने स्थिति हुन जान्छ ।

सामाजिक न्याय र राष्ट्रिय एकता कायम राख्नको लागि आम नेपाली शिक्षित, सचेत र सभ्य हुनुपर्छ । असहमति र अशिक्षाले राष्ट्र, राष्ट्रियता र सार्वभौमिकताका सन्दर्भमा विभिन्न किसिमका मतमतान्तरको वीजारोपण हुन गर्ई राष्ट्रिय एकतामा आँच पुग्छ । राजनीतिक वृत्तबाट दलीय सहमतिका साथ नेपाललाई अक्षुण्ण राख्ने प्रयास निरन्तर भइरहनुपर्छ ।

समाजमा ठूलोसानो अर्थात् उचनीच र छुवाछूतजस्ता नकारात्मक भावनाको व्यवहारबाट आपसमा तनाव र तीक्तता हुन जान्छ । संघीय नेपालको प्रमुख आधार सामाजिक न्याय र राष्ट्रिय एकता नै हो । यसमा फरक मत हुन सक्दैन र हुनु हुँदैन ।

परन्तुः नेपाल र नेपालीको पहिचानका सूत्राधारहरू जस्तो- भाषा, धर्म, संस्कृति, जातजाति, लिंग, भाइचारा आदि नेपालका गहना हुन् । यी सबै राष्ट्रप्रति ओतप्रोत छन् । यिनको अवमूल्यन गर्नु हुँदैन ।

यसको अभावमा नेपाल र नेपालीको विकास सम्भव छैन । हाल क्रियाशील राजनीतिक दलले राष्ट्रिय एकता र सामाजिक न्यायको आवश्यकता बुझेर मुलुकका समस्या निराकरण गरी पद्धति, सुशासन, राजनीतिक स्थिरता तथा विधिको शासन आदिको अनुशरण गर्दै संघीय लोकतन्त्र र समावेशी चरित्रजस्ता सीमाभित्र रहेर सामूहिक एकता प्रदर्शन गर्नुपर्छ ।

नेपालको राज्य पुनर्संरचनाको लागि, प्राकृतिक साधनस्रोत तथा अवसरको सन्तुलित वितरण गरी मुलुकको हितको लागि प्रादेशिक संरचनाको सीमांकन तथा व्यवस्थापनजस्ता माध्यमबाट संघीय लोकतन्त्रको संस्थागत विकास भई मुलुकको सार्वभौमिकता बलियो हुन्छ ।

परन्तुः नेपाल र नेपालीको पहिचानका सूत्राधारहरू जस्तो- भाषा, धर्म, संस्कृति, जातजाति, लिंग, भाइचारा आदि नेपालका गहना हुन् । यी सबै राष्ट्रप्रति ओतप्रोत छन् । यो नै राष्ट्रिय एकता हो, राष्ट्रियता साझा स्वार्थ हो ।

यस किसिमको भावनात्मक दृष्टिकोण सबै राजनीतिक दलका नेता, कार्यकर्ता तथा आम नागरिकमा हुनुपर्छ । राजनीतिक दल तथा आम नागरिकबीचको भावना बुझ्ने प्रमुख माध्यम पनि राजनीति नै हो । मूल्यमान्यताको राजनीतिमा दलीय स्थान, जनमतको कदर, नेताविशेषको ओझ, राजनेताको गुण, त्याग तथा सहिदको बलिदानी र रगतको अवमूल्यन गर्नु हुँदैन ।

अन्त्यमा, नेपालको सामाजिक न्याय र राष्ट्रिय एकताका प्रमुख मुद्दा एवं चुनौतीहरू क्रमशः भ्रष्टाचार, प्राकृतिक सम्पदाको दोहन, उर्वराभूमिको खण्डीकरण तथा अनावश्यक प्लटिङ, जल-थलमाथि ब्रह्मलुट, कालो धनलाई सेतो बनाउने धन्दा, विधिको शासनको उल्लंघन, राष्ट्रियतालाई बन्धक बनाई विदेशी शक्तिको पूजा गरी लम्पसार पर्नु, अडानमा बिचलित तथा स्खलित हुनु, स्वार्थपूर्तिको लागि हरेक कुराको अपव्याख्या गर्नु, बेरोजगार, राजनीतिक दलले गर्ने भोट, नोट र झूटको राजनीति, अप्रजातान्त्रिक गतिविधि, असुरक्षित भौगोलिक सीमा, गलत राजनीतिक अभ्यास, दण्डहीनता र राजनेताको अभाव आदि हुन् ।

यसबाट नेपालीबीच आन्तरिक कलह, झैझगडा र द्वन्द्व हुन्छ । राष्ट्रिय एकता र सामाजिक न्यायमा वाधा पुग्छ । यसर्थ संघीय लोकतन्त्रको संस्थागत विकास गरी कल्याणकारी राज्यका खातिर नेपाली आम सहमतिमा पुग्नैपर्छ । यो निर्विकल्प छ । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको शब्दमा तमाम समस्या समाधानार्थ सबैमा चेतना भया !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.