मदन सरको ‘जुँगा’ र विवाहको फजुल खर्च !

मदन सरको ‘जुँगा’ र विवाहको फजुल खर्च !

जर्मन सामाजिक प्रजातन्त्रवादीहरूको संस्था फ्रेडरिक इबर्ट स्टिफ्टुङ, एफईएसले आयोजना गर्ने समसामयिक विषय प्रस्तुति र त्यसबारे हुने मासिक छलफलले मन नै उद्वेलित बनाइदियो । गएको साता ललितपुरमा आयोजना गरिएको छलफलको विषय थियो, नेपाली अर्थतन्त्रका चुनौती र सम्भावना ! प्रस्तुत र टिप्पणीकर्ता पनि नेपाली नै रहेकाले मुलुकको अर्थतन्त्रको अवस्थाबारे खुलेरै छलफल र तर्कवितर्क भए । यथार्थ तथ्य-तथ्यांकहरू बाहिर आए, जो साह्रै कहालीलाग्दा पो रहेछन् !

विषय प्रस्तोता थिए, नेपाली अर्थतन्त्रका गुरुजी प्रा.डा. मदन दाहाल । गुरुजी किनभने उनी अर्थशास्त्रका प्राध्यापक हुन् । उनले चालीस वर्ष त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र पढाए । विभागका प्रमुखसमेत बने । मुर्धन्य अर्थशास्त्री मानिन्छन् उनी ।

संसारका विभिन्न विश्वविद्यालयमा पढाइसकेका दाहाल मेघा बैंक नेपालका अध्यक्ष रहेर नेतृत्व गरिसकेका व्यक्ति पनि हुन् । उनले भने, नेपाल विश्वका २५ विपन्न मुलुकमध्ये सत्रौं नम्बरमा पर्छ । यो मेरो तथ्यांक होइन, वल्र्ड एटलास भन्ने संस्थाको हो । गतवर्ष विश्व मुद्राकोष, आईएमएफले भन्यो, यसैगरी नेपाल अगाडि बढिरह्यो भने पाँच वर्षमा दक्षिण एसियामा अफगानिस्तानलाई पनि उछिनेर यो भेगकै विपन्न मुलुक बन्नेछ ।

प्राध्यापक दाहालले देशको खोक्रो अर्थतन्त्रबारे प्रस्तुति गरेकै दिन साँझ मलाई भने न्यून÷मध्यम परिवारको विवाहको निम्तो मान्न जानु थियो । गइयो । घडेरी बेचेर गरिएको सामाजिक व्यवहारमा भएको तामझाम र गरिब देशका नागरिकको बोक्रे फूर्ति देख्दा आफू कहाँ छु भन्ने लागिरह्यो । बिहेभोजका पाहुनाहरूको लबाइखवाइदेखि पियायीसम्मले मदन सरले भन्नुभएको देशमा होइन, कुनै समृद्ध मुलुकका धनवान्का छोराछोरीको बिहेमा उपस्थित भए झैं लागिरह्यो !

अनि आफू ? आफू त त्यो हुलमा स्वस्थानी व्रतकथाका दक्ष प्रजापतिले आयोजना गरेको यज्ञमा हियाइएका सतीदेवीका पति शिवजी जस्तो बनेर निम्तालाई उपयोग गरिरहे झैं लागिरह्यो । मदन सरको विश्लेषणलाई त्यसरी नै पर्गेलिइरहियो, जसरी मदन सरका फुलेका जुँगालाई त्यसमाथि लगाइएको कालोले युवक मदन दाहालको झझल्को गराए पनि उहाँ सत्तरी नाघेको मदन दाहाल नै हुनुहुन्छ ।

विवाहका पाहुनाहरू एकसेएक थिए । ऊ भन्दा ऊ राम्री, अर्कीभन्दा झन् अर्की सुनचाँदी हिरा जुहारत र बहुमूल्य गरगहना र कपडा लगाएर चिरिच्याट्ट । कम्मरमा हरियो पोते बाँधिएको मोटो तिलहरी छड्के पारी लगाउँदै भर्खरै ब्युटीपार्लरबाट उदाए झैं लाग्ने मोटामोटा महिला ।

पुरुषहरू पनि हातमा सुनका ब्रासलेटदेखि घाँटीमा सिक्री । महँगा सुट मात्र हिराजडित टाई पिनमै सजिएका थिए । त्यसमाथि महँगा अत्तर छर्किएकाले मग्मगाइरहेका थिए । राजनीतिक दलका नेतादेखि कर्मचारी, सेना प्रहरीका सकल दर्जासम्म र किसानदेखि उद्यमीसम्म नातागोता, इष्टमित्रहरू निम्तालुका रूपमा देखिए । सबै प्रसन्नचित्त, खाइलाग्दा र भोजमा सशक्त र सक्रिय रहिरहे ।

हाइ, हल्लो, गुड, दर्शन, नमस्तेदेखि हग गर्दै चोसो पारेर च्वाँक्क मुइको आवाजले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय माहोलको झझल्को गराइरहेको थियो । त्यहीं क्याटरिङ÷होटेलका वेटरहरू ह्विस्की, वाइन, बियरलगायत कोल्ड ड्रिंक्स सर्भ गरिरहेका थिए । थरीथरीका स्न्याक्सहरूको ट्रेमात्र होइन, सिंगो बँदेल आगोमा सेकिइरहेको थियो । तात्तातो मम, भुटेका कुखुरादेखि पहाडिया खसीका आन्द्रा-भुँडी, मुटु-कलेजोदेखि समुद्री माछाका आइटम घुमिरहेका थिए ।

जाडोमा पाहुनाहरूले सेकिन नपरोस् भनेर चौर÷हलमै नांग्लोजस्तो पातोले पाहुनाको टाउका माथितिरदेखि तातो फ्याँक्ने आयातीत ग्याँस हिटरले कुखुरा पाल्नेहरूले चल्लालाई तताउन राखेका ब्रुडरलाई सम्झना गराइरहेका थिए । त्यो ग्याँस बु्रडरमुनि पाहुनाहरू कुखुराका चल्लाजसरी बाक्लिएर चिसो बियर र आइस हालेको रक्सी तानिरहेका थिए ।

हाँसो, नाचगान र रामरमाइलोका आइटम बेग्लै थिए । चर्को कर्कसा स्वरमा बजिरहेका विदेशी संगीतले नझुम्ने र ओठमा त्यही गीत र बाजाको तालमा नहल्लिने कोही देखिएनन् । कहिले विदेशी कहिले लोकगीतले वातावरण मदहोस गराउने रहिरह्यो ढिलैसम्म । बेखुस, नहाँस्ने ननाच्ने कोही रहेनन् ।

बेहुला-बेहुली मात्र होइन, दुलाहा-दुलहीका बाबुआमा, दाजुभाउजूहरू पनि सँगसँगै नाचे । अँगालो मारे । कराए, चिच्याइरहे र वातावरण अझै तताए । वरिपरिकाले ताली बजाए । अझै जोस्याउन खिखो स्वरमा खलासीले बस रोक्न र चलाउन बजाएजस्तै गरी सिठी पनि फुकिरहे । डिजेले बाजाको स्वरलाई झन् घन्काइरह्यो ।

यो सबलाई कसरी बुझ्ने ? एक समाज÷मानवशास्त्री प्राध्यापकले भने, माघ लागेपछि राजधानी उपत्यकाका क्याटरिङ र होटेल कतै खाली छैनन् किनभने घरबाट सामाजिक व्यवहार गर्ने चलनले ओल्लो घरको नरे पल्ला घर सरेजस्तै घरघरमा हुने बिहे व्रतबन्ध मात्र होइन, जन्मदिन र विवाहका एनिभरसरीले पनि क्याटरिङ÷होटेलको ठाउँ लिइसकेका छन् ।

सहरबजारमा त ठाउँको पनि अभाव होला, तर काँठमा पनि अब क्याटरिङमा नबोलाउनेका व्यवहारमा पाहुनाहरू जान हिच्किचाउन थालिसकेका छन् । त्यसैले इष्टमित्र र गाउँठाउँका छरछिमेकले सरसहयोग गरेर खड्कुँला, फोसी र बाटामा भोज उतार्ने दिन सकिए । क्याटरिङलाई दियो, उसैले सबै व्यवस्था गरिहाल्छ ।

पुरानो चलन सम्झँदै उनले थपे, अब बारीका डल्लामा टपरीमा हालेर जन्तेबाख्रोको झोल होइन, क्याटरिङमा बूढी बाख्रीका लाम्टाले हैकम जमाउन थालेका छन् । विदेशबाट आयात गरिएका सामग्रीहरूले स्थानीय सरसामानलाई कहाँसम्म भने खाद्यान्नसमेत विस्थापित नै गर्न लागिसकेको छ ।

त्यसैले सामाजिक व्यवहार सहज रूपमा सकेर जिम्मेवारी पूरा गर्ने संस्कार अब लाखौंलाखको बोझमा बदलिएका छन् । भोज मात्र धान्न नसकिने गरी बढेको होइन, पहाडमा पनि तिलकले मधेसीलाई हराउने गरी जरा गाडिसकेको छ र समाजमा परिवर्तनका वाहक भनाउँदाहरूले नै त्यसलाई लालमोहर लगाएर बढावा दिइरहेका छन् ।

अहिलेको समाजको कुन त्यस्तो पात्र छ, जसले मर्दा र पर्दाका व्यवहारलाई सहज रूपमा सकेको छ ? उनले प्रश्न गर्दै सोधे, भर्खरै राष्ट्रपति विद्या भण्डारीकी छोरीको विवाह पूर्वराष्ट्रपतिका नातिसँग सम्पन्न भयो होइन ? त्यसलाई नेपालका परिवर्तनकामी नेताहरूले कायम गरेको मानक मान्नुहुन्छ कि हुन्न ?

उनले रोस प्रकट गर्दै भने, दुःख पाएको बेला र सत्ता सुख पाएको समयलाई नै विश्वभर मानकको रूपमा हेरिने चलन छ । यस अर्थमा हाम्रा परिवर्तनकामी प्रगतिशील र प्रजातान्त्रिक नेता÷कार्यकर्ताले केलाई आदर्श बनाउने रहेछन् ?

तर जनताले नेताका भनाइ र गराइलाई हेरिरहेका हुन्छन् । नेता र सत्तासुखमा मात्तिनेहरू रैतीको स्मरणमा केही रहँदैन भन्ठान्छन् तर सर्वसाधारणले यस्ता कुरा मनको कुनामा सुरक्षित साथ साँचिरहेका हुन्छन् । त्यसैले राष्ट्रपतिकी छोरीको होस् कि नातिको, प्रधानमन्त्री, मन्त्री र प्रशासकका सन्तानका हरेक गतिविधिको हिसाब जनसाधारणको बहीखातामा रहिरहेको हुन्छ । त्यहीकारण हो हरेक नेता—प्रशासकका व्यवहारबारे वादविवाद र तर्कवितर्कहरू भइरहेका हुन् ।

एफईएसका नेपाल प्रमुख प्राध्यापक देवराज दाहाललाई सोधियो, के हुन्छ सामाजिक व्यवहारहरू धानिनसकिने गरी महँगा र देखासिकीमा समाजका अग्रजहरूले गर्न थाले भने । उनले भने, विवाहमा जुन ‘हाइकस्ट’ लगाउने प्रतिस्पर्धा भइरहेछ, त्यसले अन्ततः डिभोर्स बढाउँछ ।

फजुल खर्चले बालबच्चा पीडित बन्छन् । परिवारका सदस्यहरूलाई थप पीडा उत्पन्न हुन्छ र अन्ततः सामाजिक देखासिकीले तल्लो वर्गमा आक्रोश बढाउँछ र यसले समाजमा थप द्वन्द्व निम्त्याउँछ । त्यसैले ऋण लिएर होस् वा जग्गाजमिन बेचेर अथवा भ्रष्टाचार र व्यभिचारमार्फत कमाएको अकूत सम्पत्ति खर्च गरेर प्रतिष्ठित भएँ भन्ठान्ने कुसंस्कृति निर्मूल पार्नैपर्छ ।

समाजशास्त्रीदेखि राजनीतिशास्त्रका प्राध्यापकहरूको पनि यसबारे समान धारणा देखियो । उनीहरूले भने, राजनीतिज्ञदेखि प्रशासकहरूका विवाहमा दुलहा—दुलहीले लगाएको पोसाकदेखि प्रदर्शन गरिएको राजसी ठाँटलाई पूर्वराजा ज्ञानेन्द्र गएर मात्र राष्ट्र प्रमुखले आयोजना गरेको विवाह राजसी भएको होइन । यसअघि सुजातादेखि अरू नेताहरूले सामाजिक व्यवहारमा गरेका तडकभडक र खर्चले नै त्यसलाई प्रदर्शन गरिरहेको छ ।


नेपाल ९१.७ प्रतिशत सामान आयात गरेर जीवन धानिरहेको छ । बचत एकदमै न्यून र खर्च अत्यधिक छ । ४० लाख युवाहरू आफ्नो देश बनाउन होइन, अरूको देश बनाउन रगत-पसिना बगाइरहेका छन् । देशमा उठेको राजस्वले प्रशासनिक खर्च पनि धान्दैन । अनि विकास ?

यु ट्युबमा झकिझकाउ गरगहना, पोसाक, पार्टी र उपहार लेनदेनको फोटा प्रदर्शनीले कम्युनिस्ट कांग्रेसका नेताहरूको मनभित्रको दमित चाहना बाहिर आएको छ । राजा—राणाहरूको चर्चा त त्यसलाई छोप्न खोजिएका पारदर्शी पर्दा मात्र भएकाले नवराजा र नवराणाहरूको चर्चा चुलिएको हो ।

मदन सरले त्यो दिन भनेका थिए, नेपाल भयावह आर्थिक असन्तुलनमा रहेको छ । नेपालीजनको पनि हालत त्यसभन्दा विपरीत देखिएन । दाहालले नेपाल संसारकै यस्तो देश हो, जसले ८.३ प्रतिशत निर्यात गर्छ र आयात ? सबैले अचम्म मान्छन्, उनले भने, नेपाल ९१.७ प्रतिशत सामान आयात गरेर जीवन धानिरहेको छ । बचत एकदमै न्यून छ र खर्च अत्यधिक छ ।

भारतबाट औषधि किन्न, धर्म गर्न, बच्चा पढाउन, खाद्यान्न, तरकारी र लत्ताकपडा किन्न हाम्रो देशले डलर बेचेर भारु किनिरहेको छ । ४० लाख युवाहरू आफ्नो देश बनाउन होइन, अरूको देश बनाउन रगत-पसिना बगाइरहेका छन् । देशमा उठेको राजस्वले प्रशासनिक खर्च पनि धान्दैन । अनि विकास ? विकासको अवरोध नै हाम्रो फजुल खर्च र उत्पादनमूलक काममा लगानी र परि श्रम नगर्नु हो ।

विकासमा विनियोजित बजेट नै खर्च हुँदैन । सरकार ? सरकार भन्छ, हामी ७.२ प्रतिशतले चौधौं त्रिवर्षीय योजनामा विकास गर्छौं तर अहिलेको हाम्रो विकास दर ०.७७ प्रतिशत रहेको छ । एक प्रतिशत पनि वृद्धि गर्न नसक्नेले सात गुना बढी वृद्धि गर्छुभन्दा कसले पत्याउँछ, मदन सर औंला ठडिन्छन् ।
जब देशको हालत यस्तो छ, किन र कसरी मानिसहरू फजुल खर्ची बनिरहेका हुन् ?

समाजका अग्रज भन्नेहरू नै भडकिलो र खर्चिलो व्यवहारलाई प्र श्रय दिइरहेकाले समाजको मानक नै तडकभडक बन्छ । अरू त अरू अमेरिका होस् वा अष्ट्रलिया वा बेलायतमा बस्ने पढ्ने नेपाली केटाकेटीहरू विदेशमा करणी गरेर नेपालमा वरणी गर्ने निहुँमा तडकभडकयुक्त कुसंस्कार र कुरीति थोपरिरहेका छन् ।

सयौं व्यक्तिहरूलाई कुरो छिन्ने, स्वयम्बर र कन्यादान भनेर तीनचोटि जन्ती बोलाउनुपर्ने, तिनलाई सामान्य होइन, सुनका सिक्का, महिलाका आभूषण, सुटटाइ, सुनहिराका गहना-दक्षिणा दिने कुसंस्कृतिलाई बढावा दिइरहेछन् । त्यसमाथि जति पनि सामाजिक व्यवहार छन्, तिनमा खर्च थोपरेर बोझिलो बनाइरहेछन् । हुँदो खाँदो परिवारलाई कंगाल बनाउने चलन अहिले कति तीव्र पारिएको छ भने भर्खरै छोरीलाई अमेरिका बस्नेसँग विवाह गराएको एक परिवारले भन्यो, ज्वाइँ त फर्के तर छोरी यतै छ ।

एम्बेसीले भिसा दिएन के गर्ने ? यस्ता कुरीति र कुसंस्कारविरुद्ध जनचेतना जगाउन लाग्नुपर्ने नेता र प्रशासकहरू तिनकै मतियार बनेकाले कुरीति फैलिइरहेको छ । विदेश बस्नेसँग एकपटक गर्ने व्यवहार हो भनेर जायजेथा बेचेर विवाह गर्नुपर्ने चंगुलमा सर्वसाधारण परिरहेका छन् । यसले समाजमा कुरीति थपिरहेको छ र आममानिसमा तडकभडक गरेपछि समाजमा स्थापित होइन्छ भन्ने गलत मान्यताले जरा गाडिरहेको छ ।

यसबाट जोगिने कसरी ? ती समाजशास्त्रीले भने, यसको लागि समाजका व्यक्ति, वरबधू, परिवार, समाज, राज्य, नेता, मिडिया, बालबालिका, नागरिक समाज, एनआरएनसम्मले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले भने, हरेक व्यक्तिले आफूमात्र होइन, सन्ततिको भविष्यको लागि जागरुक बनेर फजुल खर्च र कुरीतिविरुद्धको अभियानमा लाग्नुपर्छ ।

सचेत वरबधू दुवैले कुरीतिविरुद्ध एकअर्को परिवार, इष्टमित्रबीच जनवकालत थाल्नुपर्छ । हरेक परिवारमा तीन पुस्ता हुन्छन्, उनीहरूबीच हामी नक्कलबाजी र सौदाबाजी गरेर छोराछोरीको विवाह गर्दैनौं र आत्मगौरवका साथ इज्जत कायम गराउने व्यवहार गर्छौं भन्ने अभियान थाल्नुपर्छ । समाजले पनि को कसले कसरी सामाजिक व्यवहार गरिरहेको छ, त्यसलाई सीसी क्यामराले जसरी हेरिरहनु र तडकभडक गर्नेका व्यवहारमा सहभागी नभएर बहिस्कार गर्न थाल्नुपर्छ ।

राज्यले विवाह आदिमा स्थानीय निकायबाट स्वीकृति लिएर केकसरी र कति मानिसलाई बोलाउने हो त्यसको जानकारी गराएर मात्र बिहे व्रतबन्ध गर्ने नियम-कानुन बनाउनुपर्छ । खर्चको स्रोत पनि खुलाउनुपर्छ । पार्टीहरूले पनि एमालेका जनवर्गीय संगठनले माला—खादा नलगाउने र नबोल्ने व्यक्तिलाई मञ्चमा नराख्ने निर्णय गरेजस्तै अब खर्चिला र भडकिला अपारदर्शी भोजभतेरमा नेता र कार्यकर्ताले सामेल नहुने अभियान चलाउनुपर्छ । उपहार र खाम बोकेर नगई असमर्थता जनाउनुपर्छ ।

बालबालिकालाई भडकिलो र खर्चिलो कुरीतिविरुद्ध सचेत बनाउन पाठ्यसामग्री नै बनाएर यो महारोगविरुद्ध शिक्षित र दीक्षित बनाउन थाल्नुपर्छ । गीत-संगीत र सिने कलाकारहरूलाई राज्यले भर्खरै रिलिज भएको अमिर खानको दंगलजस्तो सिनेमा होस् वा उजेली र अन्य चेतनामूलक डकुमेन्ट्री, नाटक, गीत बनाउन प्रोत्साहित र पुरस्कृत गर्नुपर्छ ।

नागरिक समाज र एनजीओकर्मीहरूले हातमा स्कच÷बियर लिएर डलर कमाउने बुद्धिजीवी हुने मात्र होइन, समाजमा यस्ता सामाजिक विषयहरूबारे बहस पैरवी चलाउने र सभागोष्ठी सेमिनार गरेर आमजनतालाई सचेत बनाउन लाग्नुपर्छ । विदेशमा बस्ने नेपालीहरू जो आफूलाई एनआरएन भन्ने गर्छन्, उनीहरूमाथि विवाह व्रतबन्धलाई झकिझकाउ र खर्चिलो बनाउने आरोप लागेको छ, उनीहरूले विदेशमा सिकेका सामान्य किसिमले गरिने सामाजिक व्यवहारलाई नेपालमा गरेर देखाउन प्रोत्साहित र कुरीति फैलाउनेलाई भण्डाफोर गर्नुपर्छ ।

यी सबैका विधि व्यवहारलाई मिडियाले साँच्चिकै वाचडग भएर अनुकरणीय कामलाई प्रोत्साहन र भडकिला व्यवहारवालाहरूको सम्पत्तिको स्रोतलाई समेत खोजेर प्रकाशन-प्रसारणमार्फत खबरदारी गर्नुपर्छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.