पहाडी क्षेत्रमा पुनर्वास कार्यक्रम

 पहाडी क्षेत्रमा पुनर्वास कार्यक्रम

नेपालको पहाडी क्षेत्रमा पुनर्वास कार्यक्रम सञ्चालन गर्नुअघि विगतमा बसाइसराइको प्रवृत्तिको सिंहावलोकन गर्नु उपयुक्त छ । पहाडबाट तराई वा मधेसमा बसाइसराइतर्फ मात्रै सरकारी र गैरसरकारी निकायको ध्यान गएको पाइएको छ । विगतमा तराई, मधेस र उत्तर भारतबाट पनि पहाडी क्षेत्रतर्फ बसाइ सरेको पाइएको छ ।

सोह्रौं र सत्रौं शताब्दीमा उत्तर भारतमा भएको राजनीतिक उथलपुथल खास गरेर मुगल शासकको आगमनसँगै हिन्दुहरूले आफ्नो धर्मसंस्कृति जोगाउन हाल भारतको राजस्थान, उत्तर प्रदेश, बिहार, हिमान्चल र उत्तरान्चलको तराई र कुमाउ-गढवालजस्ता पहाडी क्षेत्रबाट नेपालको पहाडी क्षेत्रमा बसाइ सरेको पाइएको छ । हिटलरले युरोपमा यहुदीहरूको होलोकास्ट नरसंहार गरेजस्तै भारतमा शासन गरेको छैठौं र अन्तिम मुगल सम्राट औरंगजेब (ईसं १६१८-१७०७) ले पनि हिन्दुहरूको नरसंहार गरे ।

खासगरेर जनै लगाउने हिन्दुहरूको कत्लेआम र धर्म परिवर्तन गरेर तागाधारीहरूले जनैपूर्णिमामा नयाँ लगाउने जनै वयल गाडामा राखेर बादशाहसमक्ष लैजाँदा साढे ७४ वयल गाडा भएकाले हुलाकमा चिठी पठाउँदा खाममा सो अंक लेख्ने चलन केही वर्षअघिसम्म रहेको थियो । सम्बन्धित बाहेक अन्यले सो चिठी खोलेमा त्यति नै हिन्दु मारेको पाप लाग्ने विश्वास गरिन्थ्यो ।

त्यस्तै धागो बेरिएको चिठी आएमा लाहुरे परिवारमा मृत्युको खबर आयो भनेर रुवावासी चल्दथ्यो । नेपालको तराई र भित्री मधेसमा औलोको प्रकोप र विषम हावापानीले उत्तर भारतबाट बसाइ सरेर नेपालको मध्यपहाडी भागमा बसोवास सुरु गरेको पाइएको छ । नेपालका बाहुन, क्षेत्री, सन्यासी,दलित र कृष्णप्रणामी समुदायहरू यही अवधिमा उत्तरभारतबाट नेपालको पहाडी क्षेत्रमा बसोवास गरेको विश्वास गरिन्छ ।

बंशावली र गोत्र तथा भारतमा भएका गोतीया बन्धुहरूको चालचलनमा एकरूपता रहेको छ । गया, काशी हालको वाराणसी र बद्रि,केदारजस्ता तीर्थस्थलसँगको उनीहरूको सम्बन्ध र विश्वासले यो पुष्टि हुन्छ । धार्मिक कार्य पितृ तार्ने र मरेपछि स्वर्ग जान पाइने विश्वासमा पहाडी क्षेत्रका केही बाहुन क्षेत्रीहरूले पहाडी गाउँका विद्यालय स्वास्थ्य संस्था र अन्य सामाजिक कार्यमा भन्दा बढी रकम गया, काशी, बद्रीकेदारमा सप्ताह, श्राद्ध, पिण्डदान, सदावर्त र गुठी राख्नमा खर्च गरेको पनि पाइएको छ ।

दिल्लीको मेदान्त अस्पतालमा उपचार गराइरहेका बाहुन र लिम्बूलाई तिम्रो उपचारका क्रममा निधन हुनगए लास कहाँ लाने भनेर सोध्दा बाहुनले काशीमा र लिम्बूले ताप्लेजुंगमा लैजान भनेको कहावत पनि प्रचलित छ । नेपालको भित्री मधेसका थारूहरू, मंगोलियन मुलका मगुरालीहरू पहाडी क्षेत्रका आदिवासी मानिएको छ ।

हिमाली क्षेत्रका शेर्पा र अन्य भोटिया जातिहरू तिब्बत भोटतर्फबाट बसाइ सरेको उनीहरूको धार्मिक रीतिरिवाज र सम्पर्क उत्तर तिब्बततर्फ नै बढी भएको पाइएको छ । साविकमा पहाडी क्षेत्रमा बसोवास गरेका दुराहरूको वस्तिलाई दुराडाँडा, कार्कीहरूको वस्तिलाई कार्कीडाँडा, गुरुङहरूको वस्तिलाई गुरुङथोक, लामाहरूको खेतलाई लामाखेत, वैद्यको बसाइलाई वैद्यडाँडा भनिए पनि हाल त्यहाँ उनीहरूको बसोवास छैन ।

दुई दसकअघिसम्म त्यहाँ बाहुनक्षेत्रीको बसोवास भए पनि ती सम्पन्न गाउँ हाल रित्तो भएका छन् । तराई-मधेसको बसोवास उन्नाइसौं शताब्दीमा अझ औलो नियन्त्रणपछि मात्र वृद्धि भएको देखिएको छ । जोजहाँबाट आए पनि ती सबै नेपाली भएर नेपाल राज्यको नागरिक अधिकार उपयोग गरेर सौहाद्र्रपूर्ण वातावरणमा एकढिक्का भएर राष्ट्रको उन्नति र प्रगतिमा संलग्न भएको देखिएको छ ।

पुनर्वास कार्यक्रम लागू गर्दा बसाइसराइको बाध्यता र आकर्षण वा अवसर कुन उद्देश्यले हो त्यसमा ध्यान पुर्‍याउनु महत्वपूर्ण छ । नेपालका पहाडी क्षेत्र पश्चिमबाट पूर्व बसाइ सर्नेक्रममा भुटान, आसाम र बर्मासम्म नेपालीको बसोवास भएको छ । पहाडबाट तराई-मधेसमा औलो नियन्त्रण कार्यक्रम लागू भएर सरकारी तवरबाटै रापतीदुन विकास कार्यक्रम र अन्य पुनर्वास कार्यक्रम सञ्चालन गरी पहाडबाट तराई-मधेसमा बसोवास गराएको पाइएको छ ।

सुरुमा पहाडमा जीविकोपार्जनका लागि कठिन भएर बसाइ सरेकोमा पछि अवसरको लागि तराई-मधेस झर्ने क्रम जारी रह्यो । चारकोशे झाडीलगायतका जंगल फाँडेर हाल पूर्वपश्चिम राजमार्ग उत्तरको चुरेको भिरालो जमिनमा पनि बसोवास भएको छ । नेपालको पहाडी क्षेत्र र उत्तरी भारतका घना जनसंख्या भएको क्षेत्रबाट आएका जनसंख्याको चापले तराई-मधेस अब यो भन्दा बढी जनसंख्याको चाप थेग्न नसक्ने अवस्थामा पुगेको छ ।

तराई-मधेस र काठमाडौंमा जनसंख्याको चाप थेगिनसक्नु छ भने मध्यपहाडी क्षेत्रका विगतका सम्पन्न वस्ति रित्तिएका छन । पञ्चायतकालमा नेपालको कुल जनसंख्याको हिमालीे पहाडी क्षेत्रमा ७० प्रतिशत र तराई मधेसमा ३० प्रतिशत रहेकोमा हाल आएर ५० प्रतिशत हिमाल, पहाड र ५० प्रतिशत तराई-मधेसमा छ ।

तराई-मधेसको जनसंख्या वृद्धि हुनुमा २०४६ र २०६३ को राजनीतिक परिवर्तनपछि बनेका सरकारको उदार नागरिकता नीति पनि प्रमुख कारण रहेको छ । तराई-मधेसको पञ्चायतकालको ३० प्रतिशतबाट ५० प्रतिशतमा भएको जनसंख्या वृद्धिमा ५ प्रतिशत नेपालको पहाडी क्षेत्रबाट र १५ प्रतिशत उत्तर भारतबाट बसाइ सरेको अनुमान छ ।

विगतमा पहाडी क्षेत्रमा लगानी गरिएको खर्बौ रुपैयाँका भौतिक पूर्वाधारहरू हाल विनाउपयोग रहेको छ । सत्तामा रहेका राजनीतिक तथा प्रशासनिक निकायका कसैको ध्यान यी संरचनाको उपयोगमा गएको छैन । केही वर्षअघिसम्म काठमाडौंका भन्दा बढी मूल्यवान ठहरिएका यी मध्यपहाडी क्षेत्रका गाउँहरू सुनसान छन् ।

आधुनिक भौतिक पूर्वाधार बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, मोटरबाटो पुगेका गाउँका पक्की घर र ढोकामा ताल्चा झुन्डाएर खन्डहर हुने प्रतिक्षामा रहेका छन् । मानिस जहिले पनि सुखसुविधा र अवसरका लागि हाल बसेको ठाउँबाट अझ बढी सुविधा भएको ठाउँमा गइरहेको हुन्छ ।

मध्यपहाडी क्षेत्रका सम्पन्न ठाउँका बासिन्दा तराई-मधेस,काठमाडौं र हाल आएर विकसित देश अमेरिका, बेलायत, क्यानाडा र अस्ट्रेलियामा स्थायी रूपले बस्न गएको पाइएको छ । माओवादी जनयुद्धको नाममा भएको नाजुक शान्ति सुरक्षा र स्थानीय निकायको चुनाव झन्डै दुईदसकसम्म नहुँदा गाउँमा अराजकताको स्थिति उत्पन्न भएको छ । एकातिर जनसंख्याको चापले पूर्वाधार बनाउन समस्या परेको छ भने अर्कोतर्फ भएका पूर्वाधार विना उपयोग रहेको छ ।

गत वर्ष आएको भूकम्पले लाखौं जनता आवासविहीन भएर पाल र जस्ताको टहरोमा कष्टसाथ बसेका छन् । त्यस्तै बाढीपीडित र पहिरोपीडित भएर हजारौं विचल्लीमा परेर दुःखकष्टका साथ जीवन निर्वाह गरिरहेका छन् । अर्कोतर्फ विगतमा गुल्जार र पर्याप्त रोजगारीका अवसर भएका लाखौं घर मानिसको प्रतिक्षामा छन् ।

स्थानीय निकायको चुनाव स्थानीय तहको नयाँ विवादमा नअल्मलिई संविधानमा गरिएको संक्रमणकालीन प्रावधानअनुसार साविकका गाविसकै आधारमा तत्काल निर्वाचन गरेर गाउँमा भएको राजनीतिक रिक्तता पूरा गर्ने र अवसरको खोजीमा खाडी मुलुक र मलेसिया गएका युवा जनशक्तिलाई पहाडी क्षेत्रमा पुनर्वास गराउन ढिला भइसकेको छ ।

बैदेशिक रोजगारीमा जान प्रोत्साहन गरेर बिमासुविधा १० लाखलाई २० लाखमा पुर्‍याउनु, कल्याणकारी कोषमा ७ लाखबाट २७ लाखसम्म पुर्‍याउनु र बिमित आय नोक्सानी दुई लाख, किरिया खर्च १ लाख, औषधिउपचार खर्च १ लाख, शव ल्याउन खर्च १ लाख र घातक रोग ५ लाख (मृत्यु भएमा पनि) गरिएको छ ।

मधेस आन्दोलनमा सहीद हुनेलाई १० लाखलाई ५० लाख पुर्‍याएर सडकमा आउन मधेसी मोर्चाले प्रोत्साहन गरेको जस्तै प्रचण्ड सरकारको यो निर्णयले नेपालका पहाड र तराई-मधेसका ग्रामीण क्षेत्रलाई चाँडै रित्तो बनाउने छ । नेपालको पहाडी क्षेत्रमा फलफूल खेती, दुग्धउत्पादन र मासुको लागी गाई, भैंसी, बाख्रा बगुंर, माछा तथा कुखुरापालन र तरकारी खेतीको पर्याप्त सम्भावना रहेको छ ।

ग्रामीण पर्यटन र होमस्टेको सम्भावना पनि रहेको छ । तराई-मधेस, भूकम्पपीडित, बाढीपीडित, पहिरोपीडित र अन्य जनसंख्यालाई पहाडी क्षेत्रमा पुनर्वासको लागि बृहत अभियान चलाउनुपर्ने देखिएको छ । जसरी सोह्रौं र १७ औं शताब्दीमा उत्तर भारतबाट आएका हिन्दूहरूले पहाडी क्षेत्रमा बसोवास गरे, अहिले पुनः त्यस्तै दक्षिणबाट उत्तरतर्फ बसोवास गर्नुपर्ने बेला आएको छ ।

जसरी औलो नियन्त्रण गरेर पहाडबाट तराई-मधेसमा पुनर्वास कार्यक्रम सञ्चालन गरिएको थियो अब सरकारले नै पहाडी क्षेत्रमा विकास र रोजगारीका नयाँ र व्यावहारिक कार्यक्रम ल्याएर पुनर्वास गराउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।

अवसरको खोजीमा तराई-मधेसका युवा पहाडी क्षेत्रमा शिक्षा, स्वास्थ्य तथा अन्य प्राविधिक र प्रशासनिक कामका साथै व्यापारव्यवसाय गरेर बसिरहेका छन् । उनीहरूको मिहेनत र लगनशिलताले जहाँ बसेका छन् त्यहाँका जनतासँग घुलमिल गरेर बसेको पाइएको छ ।

बारा, पर्सा र रौतहटका तराई मधेसीले चितवनमा खेत रोप्न र धान काट्ने मजदुरको रूपमा आएर हाल जग्गा लिजमा लिएर सफल तरकारी कृषक र व्यवसायी भएका छन् । चितवन पुगेकालाई पुनर्वास कार्यक्रमबाट गोर्खा, लमजुङ, तनहुँजस्ता पहाडी क्षेत्रमा लैजान केही कठिनाइ पर्दैन होला । झापा मोरङका पहाडबाट झरेकाहरू अलैंची, अम्रिसो, चिया, रुद्राक्ष र तरकारी तथा फलफूल खेतीको लागि पुनः पहाड फर्कने क्रम सुरु भएको छ ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तत्काल आधुनिक भौतिक पूर्वाधार भएका मेचीदेखि महाकालीसम्मका विगतका सम्पन्न हाल रित्तिएका पहाडी गाउँको तथ्यांक संकलन गरेर वास्तविक अवस्थाको विवरण संकलन गर्ने । अनुमानित दुई लाख पक्का, जस्तापाता, ढुंगा, टायल र झिंगटीको छाना भएका घरमा सामान्य मर्मत गरेर तराई-मधेसबाट २० लाख मानिसलाई पुनर्वास गराउन सकिने सम्भावना छ ।

त्यस्तै काठमाडौंका फुटपाथमा व्यापारव्यवसाय गरेर दुःखका साथ बसेका करिब एक लाख फुटपाथे व्यापारी र तिनका आश्रित गरी ५ लाख जनसंख्यालाई काठमाडौंबाट मध्यपहाडी क्षेत्रमा स्थानान्तरण गर्न सकिने सम्भावना छ । हरेक वर्ष दसैंको बेलामा काठमाडौंबाहिर पुख्र्यौली स्थलमा दसैं मान्न जानेलाई त्यहीं नै रोजगारीको अवसर उपलब्ध गराउन सके गाउँको चहलपहल बढ्ने छ । काठमाडौंका जनघनत्वमा कमी भएपछि मौजुदा भौतिक पूर्वाधार पर्याप्त हुनेछ ।

सडक चौडा गर्ने र त्यसमा गरिने सरकारी लगानी पहाडी क्षेत्रको पुनर्वासमा लगाउन सकिने छ । यसले एक वर्षभित्रमा ५ लाख नयाँ रोजगारी सिर्जना हुनेछ । विगतमा पहाडबाट तराई-मधेसमा पुनर्वास कम्पनी खडा गरेर बसोवास गराइएजस्तै अब तराई-मधेसबाट मध्यपहाडमा बसोवास गराउन पुनर्वास कम्पनीलाई फेरि जगाउनुपरेको छ ।

भूकम्प पुनर्निर्माण प्राधिकरण, गरिबी निवारण कोष र अन्य विकास मन्त्रालयमा रहेका कार्यक्रम र स्थानीय विकास मन्त्रालयको कार्यक्रममा संयोजन गरेर आर्थिक स्रोतको व्यवस्था मिलाउन सकिने देखिएको छ । बैदेशिक रोजगारीमा गएका युवाले आफ्नै निजी प्रयासमा पहाडका गाउँहरूमा व्यावसायिक खेती गरेर राम्रो आयआर्जन गरेको पनि पाइएको छ । शान्ति सुरक्षा र निश्चित बजारको अभावमा यो कार्य त्यति व्यापक र प्रभावकारी हुन सकेको छैन ।

जसरी औलो नियन्त्रण गरेर पहाडबाट तराई-मधेसमा पुनर्वास कार्यक्रम सञ्चालन गरिएको थियो अब सरकारले नै पहाडी क्षेत्रमा विकास र रोजगारीका नयाँ र व्यावहारिक कार्यक्रम ल्याएर पुनर्वास गराउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ । आशा गरौं मध्यपहाडी क्षेत्रका रित्ता र उजाड गाउँले पुनर्जीवन पाउने छन् । राष्ट्रको विकासमा विगतमा जस्तै पहाडी क्षेत्रको योगदान महत्वपूर्ण हुनेछ ।




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.