दक्षिण एसियाका राजाहरू

 दक्षिण एसियाका राजाहरू

एकजना वरिष्ठ प्रजातन्त्रवादी नेताले अनौपचारिक छलफलको समयमा भने, ‘दक्षिण एसियामा भलै राजतन्त्र नहोस् यहाँका जनतालाई ‘राजा' चाहिन्छ, नाम जेसुकै भए पनि यहाँ ‘राजसी' व्यक्ति चाहिन्छ र कसै न कसैलाई यस्तो अवसर प्राप्त हुन्छ ।' अलिकति दिमाग लगाउनेलाई उनको कुरा बुझ्न कठिन छैन ।

भारतमा अंग्रेजको शासन हुँदा झन्डै छ सयवटा राजा थिए । स्वतन्त्रतासँगै अलग राज्य त रहेन,तर राजाहरू कुनै न कुनै रूपमा रहे । उनका सन्तानहरू अहिले पनि भारतको राजनीतिक परिदृश्यमा महत्वपूर्ण भूमिकामा छन् ।

स्वतन्त्रतापछि भारतमा लामो समयसम्म नेहरू वंशको शासन रह्यो । नेहरू, इन्दिरा, राजीव, सोनिया, राहुल यसै वृक्षका हाँगाबिंगा हुन् । स्वतन्त्रतापछि भारतले बेलायती ‘राजा' हटाए पनि राजसी ठाँटका नेताहरू जन्माए । यी सबै नेताहरू जनताको मतबाट नै आएका हुन्, तर एकपछि अर्को एकै परिवारका सदस्य नै विजयी भएर आउनु आम जनतामा राजसी व्यक्तित्वको खोजी नै हो भन्न सकिन्छ ।

हालै दक्षिण भारतको तामिलनाडु प्रान्तकी मुख्यमन्त्री जयललिता जयरामको निधन भयो । उनका विरुद्धमा भ्रष्टाचारदेखि लिएर अन्य अनेकौं अभियोग लागेको थियो । यस्ता आरोप लाग्दालाग्दै पनि उनले ठूलो समर्थनका साथ चुनाव जितिन् । उनी पूरा प्रदेशको ‘रानी' नै थिइन् । उनको मृत्युपश्चात शोकका कारणले पचासौं व्यक्तिले मृत्युवरण समेत गरे ।

भारतका अन्य प्रान्तहरूमा उत्तर प्रदेशमा मुलायम, मायावतीहरू, बिहारका लालुहरू, उडिसाका पट्टनायकहरू, पञ्जावका बादलहरू जस्ता पारिवारिक एजेन्डाका व्यक्तिहरूप्रति जनताको रुचि पनि त्यहाँका जनताको ‘राजसी' व्यक्तिप्रतिको मोह नै हो भन्न सकिन्छ ।

पाकिस्तानको भुट्टो खानदान, बंगलादेशको शेख खानदान, श्रीलंकाका वन्दरनायके खानदान ‘राजा' त होइनन्, तर जनताबाट खोजिएका राजसी व्यक्तित्व भने पक्कै हुन् । खोज्दै जाने हो भने तालिका निकै लामो हुने निश्चित छ । विश्वका अन्य भागमा पनि यस्तो परिपाटी भेटिन्छ । क्युबाका क्यास्त्रोहरू, कोरियाका किमहरू कम्युनिस्ट भए पनि वंशानुगत शासनमा रहेकै छन् ।

नेपालमा भर्खरै राजतन्त्र समाप्त भयो । राजा हटे, तर के राजसी स्वभाव हट्यो त ? त्यस्तो भने देखिँदैन । राजा हुँदा पनि कोइराला परिवार यहाँ राजसी मान प्राप्त गर्नेमा नै पर्दथे । हालका शासकहरूमा पनि राजसी हुन होड लागेकै छ । जनता पनि आआफ्नो नेतालाई ‘राजा' कै ठाउँमा राख्न लागिपरेको देखिन्छ । आफूलाई मन परेकाको गल्ती ढाकछोप गर्ने र विरोधीको गल्ती बढाउने अहिलेका नेता तथा कार्यकर्ताको आम स्वभाव देखिन्छ ।

हरेक पार्टी तर्क, बहस, विचारधाराले भन्दा पनि नेताको स्तुति, अन्धसमर्थन र लोभलालचबाट चलिरहेको देखिन्छ । पार्टीमा विचारधाराभन्दा गुटको सोचाइको महत्व हुने गरेको छ । एउटै पार्टीमा निभिन्न गुटउपगुट रहनु र गुटगत स्वार्थ पूरा हुने अवस्था नरहेमा अलग पार्टी गठन गर्ने प्रवृत्ति घट्नुको साटो अझ बढेर गएको छ ।

यस्तो अवस्थामा नेताहरू आफ्नो पार्टी कमजोर हुने भयो भनेर चिन्तित हुनुभन्दा आफ्नो नेतृत्वलाई चुनौती दिनेहरू आफैं पाखा लागेकोमा खुसी भएको देखिन्छ । यतिमात्र होइन आफू सर्वेसर्वा हुनमात्र छुट्टै पार्टी खोल्नेहरूको संख्या पनि उल्लेख्य छ । यसले गर्दा देशमा पार्टीहरू ‘च्याउसरी' उम्रेका छन् ।

कहिलेसम्म यस्तो प्रवृत्ति रहला ? कसरी ‘गोडमेल' गरी यस्ता अनगिन्ती दलहरूलाई आवश्यकताअनुसार थोरैमा झार्न सकिएला भन्ने विषयमा चिन्ता गर्ने कोही देखिएको छैन । नेपाली नेताहरूले भन्ने गरेका छन्, ‘हामी जोगी हुन नेता भएका होइनौं ।' यसको आसय सबै सत्तामा जान र सत्तासुख भोग्न नेता भएको भन्ने नै हो ।

हालको निर्वाचन प्रणाली यसरी बनाइएको छ कि कुनै पनि दलको बहुमत आउन व्यावहारिक रूपमा सम्भावना नै छैन । समानुपातिक व्यवस्था सिद्धान्ततः समाजका सबै जातजाति, समूह, वर्ग र लिंगको प्रतिनिधित्वका लागि अपनाइएको भनेर भनिन्छ ।

व्यवहारमा के यस्तो भएको छ त ? नेपालमा हालको निर्वाचित र मनोनीत व्यक्तिहरूको प्रतिनिधित्व हेर्दा सिद्धान्तअनुसार व्यवहार भएको पटक्कै देखिँदैन । समानुपातिक सिट पार्टीका ‘राजाहरू' का ‘प्रियहरू' को मनोनयनका लागि हुन गएको छ । यो परिपाटीमा परिवर्तन हुने लक्षण पनि देखिँदैन ।

समानुपातिक सिट पाउने आसमा दर्ता हुने पार्टीको संख्या अत्यधिक छ । देशभरबाट केही हजार भोट पाएमा समानुपातिकमा प्रतिनिधित्व गर्न पाइने आसमा ‘च्याँखेदाउ' थाप्ने पार्टीहरूको संख्या संगठित पार्टीहरू भन्दा निकै बढी रहेको छ ।

जनता पनि आआफ्नो नेतालाई ‘राजा' कै ठाउँमा राख्न लागिपरेको देखिन्छ । आफूलाई मन परेकाको गल्ती ढाकछोप गर्ने र विरोधीको गल्ती बढाउने अहिलेका नेता तथा कार्यकर्ताको आम स्वभाव देखिन्छ ।

यसका लागि जातीय, क्षेत्रीय, वर्गीय रंग दिने, ठूला पार्टीसँग मिल्दोजुल्दो चिन्ह रोज्ने, जातीय, क्षेत्रीय, साम्प्रदायिक नारा दिने र जनताको आवेगबाट फाइदा लिनेहरूको पनि समाजमा कमी छैन । हालको संवैधानिक व्यवस्था रहेसम्म यस्तै रहिरहने र देशमा त्रिशंकु संसद् रहिरहने विषयमा कुनै शंका छैन ।

यस्तो अस्थिरताको कारक तत्व संविधानमा रहिरहनुको मूलकारण सबै पार्टीका मुखियाहरूमा आफूले प्रत्यक्षतर्फ पराजित हुनुपरे पनि ‘आफ्नालाई' अर्को ढोकाबाट सत्तामा पुर्‍याउने र सधैं राज्यसुख भोगिरहने स्वार्थको कारणले हो भन्ने सबैलाई स्पष्ट भएको छ । साना तथा ठूला सबै दलहरूमा यो स्वार्थ साझा रहेको देखिन्छ । हरेक मन्त्रिपरिषद् गठन हुँदा यस्ता एकदुई सिट मात्र भएका पार्टीहरूले पनि मन्त्रिपरिषद्मा स्थान पाउनाले पनि यस्ता दल चलाउनेहरूलाई अझ प्रेरणा र उक्साहट मिलेको छ ।

यस्तै अवस्था रहेमा आगामी चुनावहरूमा यस्ता दलहरू बढ्दै जाने प्रक्षेपण गर्न सकिन्छ । ठूला दलहरूलाई नै घाटा हुने यस्ता प्रावधान संविधान संशोधन गरी हटाउनमा चाख नराख्नुबाट यी दलहरूको अदूरदर्शिता वा यिनीहरू कुनै बाध्यतामा रहेको बुझिन्छ ।

दक्षिण एसियाका व्यक्तिहरूमा ढोंगी प्रवृत्तिको प्राधान्यता छ भनेर पश्चिमाको बुझाइ छ, यहाँको गतिविधि विश्लेषण गर्दा यो कुरा सत्यताको नजिक रहेको पाइन्छ । नेपालमा पनि कुरा सैद्धान्तिक गर्ने र व्यवहारमा निजी हितलाई महत्व दिने प्रवृत्ति नेता र सर्वसाधारण सबैमा उत्तिकै रहेको पाइन्छ । स्पष्ट र खरो बोल्ने र व्यवहार गर्ने नेताहरूको नेपालमा अभाव छ ।

अनौपचारिक वार्तालापमा नेपालको हालको संविधानमा रहेको प्रावधानमा संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशी व्यवस्थामा रहेका कमीकमजोरीप्रति सबैको ज्ञान र चिन्ता दुवै रहेको आशय प्रकट हुन्छ, तर यसलाई खुलस्त राख्नसक्ने नेता भेट्न सकिएको छैन । अहिलेका नेपालका हर्ताकर्ताहरू आफ्नो बोली बोल्नुभन्दा पनि दातृनिकायलगायत ‘अरू' का चाहनाअनुरूपका अभिव्यक्ति दिने र क्रियाकलाप गर्ने गरेको पाइन्छ ।

नेपाललाई अहिले विभिन्न पार्टीका ‘छोटे राजाहरू'को होइन स्पष्टवादी र हिम्मतिला नेताको आवश्यकता छ । यस्तो व्यक्ति कुनै ‘अवतार' को रूपमा अवतरण हुने हैन कि जनताले नै निर्वाचनमार्फत ल्याउने हो । राजनीति फोहोरी खेल हो र यसबाट टाढै रहनुपर्छ भन्ने सोच अगुवा र विद्वानहरूमा रहेको पाइन्छ । यस्तो सोच रहेसम्म सही व्यक्तिको छनौट हुन सक्दैन तथा देश वाञ्छित दिशा र गतिमा अघि बढ्न सक्दैन ।

अहिले फेरि प्रत्यक्ष निर्वाचित कार्यकारीको विषलाई विभिन्न पक्षबाट उठाइँदैछ । मस्यौदा संविधानमा सर्वसाधारण जनताको राय लिइँदा अत्यधिक बहुमतले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र हिन्दुराष्ट्रको पक्षमा जनताबाट आएको अभिमतलाई बेवास्ता गर्दै संविधान जारी गर्ने तिनै व्यक्तिहरूबाट नै यस्ता माग आउन थालेको छ । समयमा स्वीकार नगर्ने र आफैंले तिरस्कार गरेको माग पुन आउनुलाई आफू बहुसंख्यक जनतासँग नजिकिनका लागि गरिएको ढोंग भनेर जनताले बुझेका छन् ।

नेपालमा सच्चा मनले देशहितमा दत्तचित्त रहने कर्मठ नेताको खोजी भइरहेको छ । विद्यमान नेताहरूबाट सर्वसाधारण जनता आस र भरोसा गरेर बस्न सक्ने देखिँदैनन् । तर हालसम्म यसको कुनै विकल्प देखेका पनि छैनन् । यो शून्यतालाई परिपूर्ति गर्न जनताको राय लिई सोहीअनुरूप अघि बढ्न अवेर गर्नु हुँदैन ।

हाल यो वा त्यो वहानामा निर्वाचन नगर्ने बरू हालकै संसद्को कार्यकाल थप्दै जाने कुरा सुनिन थालेको छ । आफ्नो कार्यकाल आफैं थप्न निरंकुशतन्त्रमा त सम्भव होला तर प्रजातन्त्रमा यो कार्य स्वीकार्य हुँदै होइन । यस्तो भएमा देशले कुन बाटो लिएर अघि बढ्नेछ अनुमान गर्न सक्ने अवस्था छैन । राजा हटाउने तर ‘राजसी' खोज्ने कुराले हामीलाई कहाँ पुर्‍याउला ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.