क्यान्सरसँग हारेका जगदीश

क्यान्सरसँग हारेका जगदीश

क्यान्सर- यो शब्द सुन्नेबित्तिकै केटाकेटीदेखि नै मेरो आङ सिरिंग हुन्थ्यो । अति सामान्य रोग लागे पनि क्यान्सर नै भएको हो कि भन्ने शंका लाग्थ्यो । यो रोग कसैलाई नलागोस् भन्ने प्रार्थना गर्थें । तर, दुःखको कुरा; २००६ मा ‘आशाको प्रतिविम्ब' नामक पुरस्कार लिन अमेरिकाको ओक्लाहोमा सहर जाँदा जहाज चढ्नेबित्तिकै बीच बाटोदेखि नै मेरो श्रीमान् जगदीश घिमिरेको ढाड नराम्रो गरी दुख्यो । हामीले घरबाट निस्कँदा आवश्यक पर्ने औषधि साथै लिएरै हिँडेका थियौं । तर, ती औषधि खाएर पनि उनको दुखाइमा कमी आएको थिएन । उनको मुख एकदमै निन्याउरो थियो । तर पनि उनी मलाई चिन्ता हुन्छ भनेर बेलाबेलामा हाँसेजस्तो गर्थे ।

अमेरिका पुग्दासम्म पनि दुखाइ घटेन । अक्लोहामाको एअरपोर्टमै लिन आएका थिए आयोजकहरू । त्यहाँको निकै राम्रो होटलमा उनीहरूले हामीलाई बस्ने व्यवस्था गरेका थिए । सजावट र होटलको स्तर देख्दा जोकोहीले पनि त्यो अनुमान गर्न सक्थ्यो । यो पुरस्कार पाउने मानिसलाई ठूलो सम्मान गर्ने चलन रहेको कुरा त्यहाँ गएपछि हामीलाई थाहा भयो ।

जगदीशको ढाड एकदमै दुखेको हुनाले उनले तीन दिनसम्म तय भएका कार्यक्रममा भाग लिन सकेनन् । मैले सबै कार्यक्रममा भाग लिएँ । भोलिपल्ट बिहानदेखि साँझसम्मै विभिन्न पत्रिकाका पत्रकारसँग अन्तर्वार्तामै समय बित्यो ।
पुरस्कार समारोहका विभिन्न कार्यक्रम सकिएपछि हामी स्वास्थ्य जाँचका लागि केही दिन अमेरिका बस्यौं । अमेरिकाका डाक्टरले सबै जाँच गरी मल्टिपल माइलोमाको शंका गरेपछि मेरो होशहवास नै उड्यो, मुखमा थुक पनि सुक्यो, आकाश नै टाउकोमा खसेजस्तो लाग्यो । तर, मैले एक्कासि आफूलाई सम्हालेँ ।

यो नहुन पनि सक्छ, फेरि दोहोर्‍याएर पनि त जाँच गर्न सकिन्छ, यस्तो हट्टाकट्टा निरोगी मान्छेलाई पनि यस्तो रोग लाग्नसक्छ र ? यी प्रश्न मेरो मनमा आउन लागे, तर पनि मैले उनको अनुहारलाई राम्ररी हेर्न सकिनँ । सायद मेरो मनस्थिति बुझेर होला, उनले हाँस्दै भने, ‘किन पीर गर्ने नि ? जे भए पनि उपचार भइहाल्छ नि । अब बैंककमा सबै जाँच गरौंला ।' मैले रोक्दारोक्दै पनि आँखाबाट आँसु झरी नै रह्यो ।

हस्पिटलबाट फर्किएको दिनभरि नै मनस्थिति ठीक भएन, परदेशको ठाउँ- यस्तो कहालीलाग्दो क्षणमा आफूलाई सान्त्वना दिने साथी र आफन्त कोही पनि त थिएन । मैले पटकपटक छोराछोरीलाई सम्झिरहेँ । मैले यतिविघ्न पीडा जीवनमा कहिल्यै पनि अनुभव गरेको थिइनँ ।

हामी केही दिन अमेरिकाको अक्लोहामामा रहेको जगदीशको ‘वल्र्ड नेभर'को साथी पिटरकहाँ बसेका थियौं । जगदीशको बिरामी अवस्था देखेर हामीलाई होटलमा बस्न दिएनन् । परदेशको ठाँउमा, बिरामी अवस्थामा सहयोग चाहिन्छ भनेर हामीले पिटरको आग्रहलाई सहर्ष स्वीकारेका थियौं । हाम्रो त्यो पीडालाई पिटरले नजिकैबाट अनुभूत गरे । पिटरकी श्रीमती एलिस पनि अति दयालु स्वभावकी थिइन् । उनले पनि हामीलाई असीम माया दिइन् ।

उनले इन्टरनेटबाट हेरेर रोगबारे अझ धेरै जानकारी गराइन् । सबै परीक्षणपछि रोग मल्टिपल माइलोमा नै भएको पक्का भयो भने त्यसको पनि उपचार हुनसक्ने उनले बताए । उनीहरूलाई नेपाली खाना एकदमै मनपथ्र्यो । म सधैंजसो नेपाली खाना बनाउँथेँ । त्यहाँ बस्दा हामीलाई आफ्नै घरमा बसेको अनुभव हुन्थ्यो ।

स्वास्थ्य परीक्षणका क्रममा एकजना रगत-रोग विशेषज्ञले उनको २४ घन्टासम्मको पिसाबलाई जारमा संकलन गरेर फ्रिजमा राख्ने र त्यसपछि परीक्षण गर्ने भनेका थिए । उनले हामीलाई त्रसित बनाए- किनभने हामी विदेशी साथीको घरमा बसेका थियौं । खानेकुरा राखेको फ्रिजमा कसरी पिसाबले भरिएको जार राख्ने ? मैले विस्तारै हिम्मत गरेर पिटर र एलिसलाई रगत-रोग विशेषज्ञको कुरा सुनाएँ । एलिसले विस्तारै हाँस्दै भनिन्- म सबै फ्रिजको सामान निकालिदिन्छु, तिमीले राखे हुन्छ ।

जगदीशसँग अस्पतालमा बिताएको सारै निरस दिनचर्या सम्झँदा अहिले पनि मन झसंग हुन्छ । उनले यो संसारबाट बिदा लिएको तीन वर्ष भइसकेको छ । उनीसँगको वियोगको पीडा खप्न कति गाह्रो भएको छ, त्यो म शब्दमा व्यक्त गर्न सक्दिनँ ।


उनीहरूको यो सदाशयता र हामीलाई गरेको सहयोग म कहिल्यै बिर्सन सक्तिनँ । एकातिर त्यति ठूलो पुरस्कार प्राप्त गरेर फर्केको खुसीको क्षण, अर्कोतिर मल्टिपल माइलोमाको असंख्य पीडालाई बोकेर फर्केको क्षण- सम्झँदा अहिले पनि मेरो मन एकतमासको हुन्छ । मानिसले सोचेजस्तो गरी जीवन चल्दो रहेनछ ।

कल्पना नै नगरेका घटना जीवनमा आइरहने रहेछन् । तर, ‘आशाको प्रतिविम्ब'सँगै आएको मल्टिपल माइलोमाको पीडा र त्रासले त्यस बेला न आनन्दको अनुभूति गर्ने मौका मिल्यो न त देखाएर रुन नै पाइयो । ह्विलचेयरमा मल्टिपल माइलोमाको बिमारी, एउटा काँधमा बिमारीका अस्पताल रिपोर्टहरू र अर्को काँधमा ‘आशाको प्रतिबिम्व' पुरस्कार बोकेर घर फर्कंदाको क्षण म कहिल्यै बिर्सनै सक्दिनँ ।

अक्लोहामाबाट बैंककसम्म आइपुग्दा दुई ठाउँमा जहाज परिवर्तन गर्दा पाएको दुःख शब्दमा व्यक्त गर्न सक्तिनँ । ढाड दुखाइको पीडाले जगदीश केही बोल्दैनथे । न त केही खानेकुरा नै खान्थे । केवल चारचार घन्टामा दुखाइ कम गर्ने औषधिमात्रै माग्थे । जगदीशले खाना खान मन नगरेपछि मलाई पनि केही खान मन लाग्दैनथ्यो । केवल जुसमात्रै मागेर खान्थेँ । जहाज कहिले बैंककमा ओर्लिएला र अस्पताल पुगेर उनको स्वास्थ्य परीक्षण होला ?

यही सोच मनमा आइरहन्थ्यो । परीक्षणपछि मल्टिपल माइलोमा भएको रिपोर्ट नआओस् भन्ने प्रार्थना भगवान्सँग गरिरहन्थेँ । तर, यसपटक भगवान्ले मेरो कुनै प्रार्थना सुनेनन् । तीन घन्टाको परीक्षणपछि डाक्टरले मल्टिपल माइलोमा भएको पुष्टि गरे । यो खबर मेरो लागि ठूलो पीडाको विषय बन्यो । डाक्टरले तत्कालै किमोथेरापी सुरु गरे ।

त्यस बेला म फेरि आकाशबाट एकैपटक भुइँमा पछारिएजस्तो भएँ । जीवनमा सधैं सुख नै सुख हुँदो रहेनछ । मानिस भएर जन्मिएपछि आइपर्ने सबै दुःखसुखलाई आत्मसात् गर्नुपर्ने रहेछ । यही कुरा सम्झँदै मैले आफैंलाई सम्झाएँ ।

सन् २००६ मा मल्टिपल माइलोमा पुष्टि भएर झन्डै तीन साता अस्पताल बसेर नेपाल फर्किएपछि जगदीश एकदमै कमजोर भएका थिए । उनलाई बाथरुम जान पनि गाह्रो हुन्थ्यो । राति उठ्न पनि गाह्रो हुन्थ्यो, कसैको सहयोग चाहिन्थ्यो । म भुइँमा ओछ्यान लगाएर सुत्थे । राती उठ्नुपर्दा उनी लठ्ठीको सहाराले हामीलाई उठाउँथे । नुहाउन पनि उनलाई सहयोग चाहिन्थ्यो । हामीले उक्त कार्यका लागि सहयोगी राखेका थियौं । किमो खाएको बेला इन्फेक्सन हुने धेरै डर हुन्थ्यो ।

हरेक दिन डिटोलले कोठा सफा गर्नुपथ्र्यो । ओछ्याएको तन्ना र तकियाको खोल सधैं फेर्नुपर्थ्यो । समयसमयमा औषधि दिने, उनको इच्छाअनुसार खानेकुरा पकाउने–दिने जिम्मा बुहारी पूजा र मेरो हुन्थ्यो । यो काम मभन्दा पनि बढी पूजा गर्थिन् । जगदीशलाई किमो दिँदाको अवस्था हामी सबैका लागि एकदमै गाह्रो थियो । जगदीशको मनमा पनि मल्टिपल माइलोमा भएकोमा पीडा भएको मैले महसुस गरेँ । कहिले उनको आँखामा आँसु देखिन्थ्यो ।

किमोको असरले होला, उनी त्यस बेला बढी रिसाउने र झर्कने गर्थे । कहिले भन्थे- मेरो उमेर के भएको छ र ? भर्खर ६१ वर्षको भएँ । परिवार सबै दीर्घायु छन्, मलाई किन यस्तो रोग लागेको होला ? त्यही बेला उनकी काइँली दिदी उर्मिलाका श्रीमान् रमेश भिनाजु पनि क्यान्सरले थला पर्नुभएको थियो । उहाँको उमेर जगदीशको भन्दा झन्डै १२ वर्षको फरक थियो ।

त्यसैले उनी भन्ने गर्थे, भगवान्ले किन ममाथि यस्तो अन्याय गरेको होला ? म बराबर उनलाई सम्झाउने गर्थें- जहाँ लगेर भए पनि हामी तिम्रो उपचार गर्छौं, उपचारपछि रोग निको भइहाल्छ नि । मल्टिपल माइलोमा भएका केही बिरामीको पनि उदारण दिँदै उनीहरूको उपचारपछि स्वास्थ्य राम्रो भएको कुरा सुनाउने गर्थें । तर, जगदीश बराबर इन्टरनेट खोलेर हेर्थे र रोगबारे जानकारी लिन्थे । यो रोग निको नहुने रोग हो भन्ने उनलाई राम्ररी थाहा थियो । त्यसैले हामीले जतिसुकै सम्झाए पनि पहिलेपहिले उनलाई बुझाउन गाह्रो हुन्थ्यो ।

उपचारका क्रममा शरीरमा बढी किमो परेको हुनाले त्यस बेला साइड इफेक्ट धेरै नै हुन्थ्यो । खाना नरुच्ने, निद्रा नलाग्ने, सुतेको बेला झस्कने, बर्बराउने बढी हुन्थ्यो । भेट्न आउनेलाई पनि जगदीश भेट्न रुचाउँदैनथे ।

उनको खानामा धेरै परिवर्तन भएको थियो । कहिले उनी केवल तारेको करेलासम्म मात्र खान्थे । कहिले तरकारीको सुपमात्र खाएर सुत्थे । इन्फेक्सन हुन्छ भन्ने डरले उनी फलफूल र कुनै पनि ड्राई फुड खाँदैनथे, ग्रिन चिया बिहान एकपटक र दिउँसो खाजा खानुअगाडि एकपटक खाने गर्थे । त्यस बेलाको अवस्था सम्झँदा अहिले पनि मलाई ठूलो पीडा हुने गरेको छ ।

त्यस बेला जगदीशकी आमा थला परिसक्नुभएको थियो । हामीले उहाँलाई जगदीशको रोगबारे नबताउने निर्णय ग¥यौं । सायद जगदीशको रोगबारे जानकारी पाएको भए उहाँले त्यो पीडा खप्न सक्नुहुन्नथ्यो होला । उनी बिरामी भएको दुई वर्षमा आमा बित्नुभयो । सबै दाजुभाइ चोभारमै आमाको १३ दिनको किरिया बसे । जगदीश बिमारी भएको हुनाले किरियापुत्रीसरह दाइभाइहरूसँग बसेनन् । बाँचुन्जेलसम्म बुवाआमालाई आफैंसँग राखे, उहाँहरूको सेवा गरे । कहिल्यै चित्त दुखाएनन्, जिउँदैमा उनले गरेको सेवाबाट उनी पितृऋणबाट मुक्त भएझैं लाग्छ ।

स्टेमसेल ट्रान्सप्लान्टका लागि जगदीशले झन्डै चार महिना अस्पतालमा बस्नुपर्‍यो । अस्पताल भन्नेबित्तिकै मलाई एक किसिमको त्रास र डर लाग्छ । दिन काट्न सारै गाह्रो हुन्छ । बिहान ८ बजे म सधैं अस्पतालको परिसरमा रहेको मन्दिरमा धूप बाल्थेँ । विभिन्न थरीथरीका देउताहरूका सानासाना मूर्ति राखिएको हुन्थ्यो । रोगीका आफन्तहरू बिहान धूप बाल्थे, फलफूल र अन्डा चढाउँथे । मचाहिँ चमेली र सयपत्रीको सानो-सानो फूलको माला चढाउँथेँ ।

मेरो दैनिकी पनि उनीहरूकै जस्तो थियो, म धूप बालेपछि करिब ४० देखि ४५ मिनेटसम्म वरिपरि घुम्थेँ । साई भजन गाउँथेँ, हनुमान चालिसा पाठ गर्थें । जगदीशको रोग निको होस् भनेर प्रार्थना गर्थें र ईश्वरप्रतिको ठूलो आस्था र विश्वासले मलाई ठूलो शक्ति प्राप्त हुन्थ्यो ।

परदेशको ठाउँमा आफन्त खासै थिएनन्, अस्पतालले बीचबीचमा छुट्टी दिएको बेला हामी बैंककको नेपाली राजदूतावासका अर्जुन मैनाली र उनकी श्रीमती सुमेघा गौतमकहाँ जाने गथ्र्यौं । उहाँहरूले परदेशको ठाउँमा हामीलाई ठूलो सहयोग गर्नुभयो, जसलाई हामी बेलाबेलामा सम्झिरहन्थ्यौं ।

सिरिराज अस्पतालनजिकै १५ मिनेटको बाटोमा साई सेन्टर थियो । हरेक आइतबार त्यहाँ साई भजन हुने गर्छ । म अस्पतालबाट भजनमा जान्थेँ, भजन गाउँथेँ, जगदीशको दीर्घ जीवनको कामना गर्थें । नयाँनयाँ भजन गाएर जगदीशलाई सुनाउने गर्थें ।

स्टेमसेल ट्रान्सप्लान्ट गर्न जगदीशलाई राखेको बेला हामीलाई भित्र कोठामा जान दिइँदैनथ्यो । कहिलेकाहीँ सिसा भएको कोठासम्म नाक छोपेर, हरियो गाउन लगाएर केही क्षण भेट गर्न दिइन्थ्यो ।

म धेरैजसो समय कोठाबाहिरको प्यासेजमा राखिएको बेन्चमा बसेर आँखा चिम्लिएर बिस्तारै बिस्तारै भजन गाउँथेँ । आफूले जानेका सबै भजन गाउने गर्थें । कहिलेकाहीँ सफा गर्न आउने महिला टक्क उभिएर भजन सुन्थिन्, नर्सहरू पनि मैले भजन गाएको मन पराउँथे ।

भाषा नबुझे पनि उनीहरू भजन मन पराउँथे । कसैकसैले भन्ने गर्थे- तिमीले कस्तो राम्रो गाएको, तिम्रो भाषा म बुझ्दिनँ तर मलाई तिमीले गाएको राम्रो लाग्छ । पछिपछि उनीहरूलाई मप्रति माया जागेर आएछ, उनीहरू मलाई जगदीशको कोठाबाहिर छेउमा बस्ने सानो स्टुल राखिदिन्थे । म त्यहाँ बसेर जगदीशलाई भजन सुनाउँथेँ ।

सिरिराज अस्पतालको पट्टाइलाग्दो बसाइका क्रममा कोठामा सुतिरहेको बेला मलाई दुईपटक राति केही चिजले थिचेजस्तो भयो । कहिलेकाहीँ अस्पतालमा तर्साउँछ भन्ने सुनेको थिएँ । यो घटनाले मलाई सुनेका कुराहरू साँचो हो भनेजस्तै लाग्यो । यो घटना दुईपटक भएपछि जगदीशले आफ्नै बेडको छेउमा ओछ्यान लगाउन लगाए । मैले झन्डै एक हप्तासम्म त्यसै गरेपछि सिरानमा चक्कु, साईबाबाको विभूति र स्तोत्र रत्नावली राख्न थालेँ, त्यसपछि त्यस्तो घटना कहिल्यै भएन ।

अस्पतालको कहालीलाग्दो बसाइमा दिन काट्न सारै गाह्रो भएको बेला जगदीश र म कहिलेकाहीँ तास खेलेर एकदुई घन्टा बिताउँथ्यौं । कहिले टेलिभिजन हेर्थ्यौ । तर, टेलिभिजनमा पनि हेर्नलायक कार्यक्रम हँदैनथ्यो । किताब पढ्दा कहिल्यै पनि किताबमा ध्यान केन्द्रित हँदैनथ्यो । जगदीशसँग अस्पतालमा बिताएको सारै निरस दिनचर्या सम्झँदा अहिले पनि मन झसंग हुन्छ । अस्पतालको नाम सुन्नेबित्तिकै डराउने म अस्पतालमा महिनौं बिताउँदा कति पीडा भयो होला ? यो सहज अनुमान गर्न सकिन्छ ।

जगदीशले यो संसारबाट बिदा लिएको तीन वर्ष भइसकेको छ । जगदीशसँगको वियोगको पीडा खप्न कति गाह्रो भएको छ, त्यो म शब्दमा व्यक्त गर्न सक्दिनँ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.