ब्लड क्यान्सरविरुद्ध युनेशको युद्ध

ब्लड क्यान्सरविरुद्ध युनेशको युद्ध

उनको सपना खासै ठूलो थिएन । एउटा दक्ष बैंकर बनेर नेपालमै काम गर्ने सोच उनले बनाएका थिए । शरीरमा सुधार आए उनी पुनः बैंकर बन्ने आफ्नो लक्ष्यतर्फ अघि बढ्न चाहन्छन् । भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका बारा डुमरवानाका १९ वर्षीय युनेश पौडेलको शरीरमा यति बेला ऊर्जा त छैन तर उनको हिम्मतमा भने कुनै कमी देखिन्न ।

Diwakar

उच्च मनोबलका साथ क्यान्सरलाई जित्न उपचार गराइरहेका युनेश स्नातक तहका विद्यार्थी हुन् । काठमाडौंको बाफलमा रहेको ग्रिनफिल्ड कलेजमा प्रवीणता तह उत्तीर्ण गरेपछि उनी थप शिक्षाका लागि क्षेत्रपाटीस्थित पब्लिक युथ कलेजमा भर्ना भए । तर, भर्ना भएकै दिन शरीरमा समस्या देखिएपछि उपचारमा लागेका उनी त्यसपछि भने कलेज जान सकेनन् । उनको कलेज यात्रा त्यहीँ रोकियो ।

चिकित्सकले अस्पतालमै बसेर उपचार गर्न सुझाएपछि उनी ११ महिनादेखि अस्पतालमा बसेर क्यान्सरविरुद्धको युद्ध जित्ने प्रयास गरिरहेका छन् । चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार गराइरहेका उनले पहिलेको तुलनामा आफूमा निकै परिवर्तन पाएका छन् । स्वास्थ्यमा सुधार आएकाले युनेश अब ठीक हुनेमा आशावादी छन् । अझै दुई वर्षसम्म उपचारलाई निरन्तरता दिनुपर्ने भएकाले त्यसपछिको समय भने पढाइ र आफ्नो लक्ष्य पूरा गर्न अघि बढ्ने सोच उनले बनाएका छन् ।

‘मेरो अहिलेको युद्ध भनेको क्यान्सरविरुद्ध हो । झन्डै एक वर्षदखि यसलाई जित्न खोजिरहेको छु’, युनेशले भने, ‘यसलाई जितेर म फेरि फर्किनेछु । मैले बुनेको सानो सपना पूरा गर्नु मेरो उद्देश्य रहनेछ ।’ युनेशका अनुसार सुरुआती दिनमा बाँच्ने आशा उनले मारिसकेका थिए । तर, हिम्मत र नियमित उपचारले आफूलाई नयाँ जीवन दिएको उनी बताउँछन् ।

ब्लड क्यान्सरका बारेमा उनले पढेका थिए । तर, आफैंले यसको सामना गर्नुपर्छ भन्ने उनले सोचेका थिएनन् । कल्पना नगरेको कुरा भोग्नु परेको उनी क्यान्सरलाई जित्न आफूले गरेको संघर्ष भुल्न चाहन्छन् । ‘क्यान्सरका पीडा धेरै छन्, मेरो जीवनको केही वर्ष रोकिएको छ तर अब यसलाई भुल्न चाहन्छु’, युनेशले भने, ‘अस्पतालबाट फर्केपछि मेरो नयाँ जीवन सुरु हुनेछ र म पुरानै आत्मविश्वासका साथ अघि बढ्नेछु ।’


ब्लड क्यान्सरका बारेमा उनले पढेका थिए । तर, आफैंले यसको सामना गर्नुपर्छ भन्ने उनले सोचेका थिएनन् । कल्पना नगरेको कुरा भोग्नु परेको उनी क्यान्सरलाई जित्न आफूले गरेको संघर्ष भुल्न चाहन्छन् ।


युनेशले यसो भनिरहँदा छेउमै बसेकी आमा गोमा भावुक हुन्छिन् । अस्पतालको शय्यामा सुतिरहेको छोरालाई उनी हिम्मत दिन्छिन् । छोराको बाँच्ने इच्छा र उसले बुनेका सपना पूरा गराउन गोमा निरन्तर लागेकी छन् । ‘छोरा बाँच्न चाहन्छ, हामी उसलाई बचाउन चाहन्छौं । उसको सपना पूरा गराउन हामी सर्वश्व गुमाउन पनि तयार छौं’, गोमाले भनिन्, ‘क्यान्सरले हाम्रो परिवार यति बेला उजाड भएको छ, तर छोरा ठीक भएपछि हाम्रो परिवारमा पुनः खुसी फर्किनेछ ।’

युनेशको उपचारमा यति बेला गोमासँग पति नारायण र छोरी युनिशा छन् । युनेशको उपचारका लागि नारायणले आफ्नो वैदेशिक रोजगारी र युनिशाले आफ्नो विद्यालयसमेत छोडेका छन् । उनीहरू अस्पतालमै बसेर युनेशको हेरचाहमा सक्रिय हुन्छन् । उपचारका लागि बेचिएका सम्पत्तिमध्ये बाँकी रहेको डुमरवानास्थित घर सधैं सुनसान हुने गरेको छ । घरको हेरचाह छिमेकीले गरिदिन्छन् ।

मध्यमवर्गीय पौडेल परिवारलाई क्यान्सर जित्न सहज थिएन् । उनीहरूले युनेशको उपचारका लागि २० लाख रुपैयाँभन्दा बढी रकम खर्चिसकेका छन् । सात कट्ठा जग्गा बिक्री गरिसकेका पौडेल परिवारले उपचारकै लागि सात लाखभन्दा बढी ऋण लिएका छन् । सम्पत्तिका नाममा बाँकी रहेको घर बेच्नसमेत तयार पौडेल परिवार युनेश सकुशल घर फर्किएको हेर्न चाहन्छन् । ‘छोरा सकुशल घर फर्कियोस्, बस् यत्ति चाहना छ’, गोमाले भनिन्, ‘सम्पत्तिभन्दा ठूलो हाम्रो लागि छोरा हो । उसको जीवन रक्षा गर्न हामी सडकमा जान पनि तयार छौं ।’

युनेश र युनिशाको अध्ययनका लागि दुबई गएर बुवा नारायणले निकै मेहनत गरेका थिए । नारायणले विदेशबाट पठाएको पैसाबाट गोमा घर चलाउँथिन् । घरखर्च कटाएर बचत गरेको रकमले केही जग्गा जोडेर, एकतले पक्की घर बनाइन् गोमाले । अहिले छोरा बिरामी भएपछि गोमाले जग्गा बिक्री गरिन् र घर बेच्न ग्राहक खोजिन् । तर, युनेशलाई बचाउन आर्थिक संकलन अभियान सुरु भएपछि गोमालाई यति बेला निकै राहत मिलेको छ ।

‘हामीले हिम्मत हारेको भए सायद यस्तो हुने थिएन, अहिले युनेशलाई बचाउन धेरै सहयोगी हात हामीले पाएका छौं’, गोमाले भनिन्, ‘हाम्रो पीडामा मलम लगाउने काम सबैले गर्नुभएको छ । हामी निकै खुसी छौं, उपचारका लागि घर बेच्नुपर्ने अवस्था अहिले छैन ।’ रकम अभावका कारण उपचार गर्न भोगिरहेको समस्या सञ्चार क्षेत्रले उजागर गरिदिएपछि सहयोग आउन थालेको छ । युनेशको उपचारमा पौडेल परिवारले भोग्नु परेको पीडाका बारेमा अन्नपूर्ण पोस्ट्ले गत मंसिर २ गते ‘सर्वस्व गुमाउँदै ब्लड क्यान्सरविरुद्धको युद्ध’ शीर्षकमा समाचार छापेको थियो ।

समाचार प्रकाशित भएपछि युनेशको परिवारलाई सहयोग गर्न विभिन्न व्यक्ति, संघसंस्था सक्रिय भएका थिए । पत्रकारहरूको संगठन प्रेस चौतारी नेपाल बाराले युनेश बचाउ अभियान नै सञ्चालन गर्‍यो । युनेश बचाउ अभियानबाट झन्डै आठ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको अभियन्ता बिदुर खड्का बताउँछन् ।

‘पत्रिकामा समाचार छापिएपछि युनेशका बारेमा चासो देखाउँदै सहयोग जुट्न थाल्यो’, खड्काले भने । झन्डै दुई वर्ष उपचार गर्नुपर्ने भएकाले युनेशको उपचारमा अझै रकम लाग्ने परिवारको भनाइ छ । ‘हामीलाई आएको सहयोगबाट उपचार सम्भव भइरहेको छ’, युनेशका बुवा नारायणले भने, ‘अझै लामो समय उपचार गराउनुपर्नेछ, सहयोग अहिले पनि पाइरहेका छौं । यस्तै सहयोग पाएमा युनेशलाई हामी सकुशल घर फर्काउन सक्छौं ।’

क्यान्सरका कारण उजाडिएको खुसी फर्काउन पौडेल परिवार प्रयासरत छ । युनेशको उपचार निरन्तर गर्न सकिए उनलाई सकुशल घर फर्काउन सकिनेमा आमा गोमा आशावादी छिन् । आर्थिक अभावकै कारण सामान्य नागरिकले ज्यानै गुमाउनुपर्ने स्थिति आउन नदिन सरकारले पनि ध्यान दिनुपर्ने गोमाको सुझाव छ । ‘युनेशलाई बचाउन सहयोग जुटेकाले हामीले उपचार गर्न पाएका छौं तर यस्तो सहयोग सबैलाई जुट्न सम्भव नहुन पनि सक्छ’, गोमाले भनिन्, ‘यसले गर्दा पैसा नभएर उपचार गराउन नसक्ने बिरामीको ज्यान जानसक्छ । यो कुरामा सरकारले ध्यान पुर्‍याउनुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.