क्यान्सरको सामाजिक सम्बन्ध के छ ?

 क्यान्सरको सामाजिक सम्बन्ध के छ ?

नेपालमा क्यान्सरजस्ता रोगहरूको सामाजिक अध्ययन निकै कम छ। क्यान्सर विशेषकै अध्ययन गरिएको मैले भेटाएको छैन। हाम्रो लागि ‘मेडिकल एन्थ्रोपोलोजी'को अवधारणा आफैंमा नयाँ हो। कुनै पनि रोगको सामाजिक, आर्थिक, सांस्कृतिक र पारिवारिक पाटाहरू हुन्छन्। रोग जोकसैलाई पनि लाग्नसक्छ तर त्यसको सामना मानिसले फरक स्तरमा गर्छ। कुनै पनि मानिसले रोगको सामना कसरी गर्छ भन्नेमा ऊ समाजको कुन तहमा कसरी बाँचेको छ भन्नेले निर्धारण गर्छ।

सामाजिक चेतना
कुनै पनि रोगप्रतिको सचेतनाको स्तरमा सामाजिक चेतनाले प्रभाव पार्छ। मानिसको बाँच्ने तरिकामा सामाजिक चेतनाको भूमिका हुन्छ। रोगसँग जीवनशैली जोडिन्छ। अर्कोतर्फ रोगप्रतिकै धारणामा पनि सामाजिक चेतनाले भूमिका खेल्छ। रोग किन लाग्छ, यसको निदान कसरी हुन्छ भन्नेबारे सामाजिक मान्यताहरू हुन्छन्। तिनै मान्यताले रोगीलाई गर्ने व्यवहार पनि निर्देशित गर्छन्।

क्यान्सर हाम्रो भूमिमा पत्ता लागेको रोग होइन। यसबारे नेपाली समाजले निकै पछिमात्र थाहा पाएको हो। त्यसैले यो रोगविशेषको मान्यता हामीकहाँ नहुन सक्छन्। तर, रोग भगवान्को श्राप हो, पूर्वजन्मको पाप हो भन्नेजस्ता भाग्यवादी मान्यताले भने क्यान्सर समयमै पत्ता नलाग्नुमा महत्वपूर्ण भूमिका खेल्छ।

रोगको उपचारको वैकल्पिक तरिका (धामीझाँक्री, झारफुक आदि)प्रतिको विश्वासले पनि क्यान्सरजस्ता जटिल रोगको बेलैमा उपचार हुन नसकेको देखिन्छ।

अर्कोतर्फ स्वास्थ्य यौनिकतासँग पनि जोडिन्छ। हाम्रो समाजमा यौनिकताबारे साँघुरो चिन्तन छ। यसले गर्दा महिलाहरू आफ्ना समस्या लुकाउँछन्। त्यसैले क्यान्सरबाट मृत्यु हुनेमा महिलाको संख्या बढी भएको तथ्यांकहरूले देखाउँछन्।

आर्थिक सम्बन्ध
रोगको समयमै जाँच गर्ने र उपचार गर्ने बानीमा आर्थिक क्षमताले ठूलो भूमिका खेल्छ। क्यान्सरलाई त झन् महँगो रोगका रूपमा लिइन्छ। नियमति परीक्षणले क्यान्सर समयमै पत्ता लाग्नसक्छ। बेलैमा उपचार थाल्दा क्यान्सर निदान हुन्छ। यो सामान्य धारणा हो। तर, आर्थिक क्षमताले यसलाई असामान्य बनाइदिन्छ। हामीकहाँ मध्यमवर्गीय परिवारले पनि नियमित स्वास्थ्य परीक्षण गर्नसक्ने अवस्था छ÷छैन विचार गर्नुपर्ने विषय हो।

२०४६ को परिवर्तनपछि स्वास्थ्य सेवाको उपलब्धतामा विस्तार भएको सत्य हो। तर, स्वास्थ्य सेवामा पहुँच भने आर्थिक क्षमताले निर्धारण गर्ने हो। त्यो पहुँच सेवाको उपलब्धताकै दरमा विस्तार नभएको पनि अर्को सत्य हो।

समाज र परिवार
रोगले सामाजिक र पारिवारिक सम्बन्धमा प्रभाव पार्छ। कुनै बेला क्यान्सरलाई सरुवा रोगकै रूपमा लिइन्थ्यो। तर, अहिले त्यो धारणा कम भइसकेको छ। क्यान्सर रोगीलाइ गर्ने छिःछिः दूरदूर पनि कम भइसकेको छ। तर, अझै पनि क्यान्सरलाई मृत्युकै पर्यायका रूपमा लिइने चिन्तन भने कम भइसकेको छैन। रोग लागेपछि घरखेत बेचेर भए पनि उपचार गर्ने चिन्तन विकास भएको छ। त्यो भने राम्रो पाटो हो।

कुन समुदायलाई बढी लाग्छ। कुन समुदाय बढी मर्छन् भन्नेजस्ता अध्ययन भने हाम्रोमा भएकै छैनन्। अमेरिकीहरूले आफ्नो समाजमा गरेको अध्ययनलाई हेर्दा पुरुषभन्दा बढी महिला र गोरा जातिभन्दा काला जाति क्यान्सरको कारणले बढी मर्ने गरेको पाइन्छ। यसको अर्थ हो, सीमान्तकृत समुदाय छिटो उपचारमा जाँदैन।

क्यान्सरजस्ता रोगहरूले पारिवारिक सम्बन्धमा पार्ने प्रभाव भने रोचक छ। अमेरिकामा गरिएको एक अध्ययनले देखाएको छ— पत्नीलाई क्यान्सर हुँदा पति-पत्नीबीचको सम्बन्ध झनै बलियो बन्यो। पतिलाई क्यान्सर लाग्दा भने सम्बन्ध कमजोर बन्यो। यसको पछाडि पुरुषवादी चिन्तनले काम गर्‍यो।

पत्नीलाई रोग लाग्दा पतिले स्याहार गर्छ, जसले बिरामी पत्नीमा पतिप्रति थप प्रेम बढाउँछ। पतिलाई रोग लाग्दा भने उसले पत्नीले गर्ने स्याहारलाई पत्नीको कर्तव्यका रूपमा लिन्छ। त्यसैले उसले पत्नीले जस्तो आत्मीयता महसुस गर्दैन। ससानो समस्यामा पनि दिक्क मान्छ, झिंजो मान्छ। त्यसले सम्बन्धमा दरार ल्याउँछ। अमेरिकाजस्तो विकसित भनिएको समाजमा त यस्तो छ भने हाम्रोमा कस्तो होला ?

रोगको सामना
मैले मेरा नजिकका केही क्यान्सर रोगीसँगको छलफलपछि मानिसहरूले क्यान्सरको सामना कसरी गर्छन् भन्ने धारणा बनाएको छु।मानिसले गर्ने सामना व्यक्तिअनुसार फरक हुन्छ। तर, केही सामान्यीकरण पनि गर्न सकिन्छ। जस्तै— मानिसहरूले रोग लागेपछि प्रायः आफ्नो जीवनको सिंहावलोकन गर्छन्।

सबैभन्दा बढी चिन्ता ससाना सन्तानहरूको गर्दा रैछन्। आत्मबल बलियो भएकाले आफूलाई रोगको अनुभूति नभएको व्यक्त गर्ने प्रयास गर्दा रैछन्। तर, फेरि पनि ध्यान दिनैपर्ने के हो भने, मानिसको सामाजिक, आर्थिक अवस्था, उमेर, पारिवारिक अवस्थाअनुसार रोगको सामना गर्ने तरिका फरक हुन्छ। पीडाको डिग्री पनि फरक हुन्छ।

राज्यसँग सम्बन्ध
आधुनिक राज्यप्रणालीमा नागरिकको स्वास्थ्यको जिम्मेवारी राज्यको हो। राज्य अमूर्त हुँदैन। प्रजातान्त्रिक प्रणालीमा त जनता आफंैले चुनेर पठाएका प्रतिनिधिहरूले नै राज्य सञ्चालन गर्ने हो। त्यसैले पनि राज्यको जिम्मेवारी बढी नै हुने गर्छ।

नेपालको संविधान-२०७२ ले स्वास्थ्यलाई आधारभूत अधिकारका रूपमा लिएको छ। आधारभूत अधिकारको अर्थ जीवन हो। उपचारको अभावले मृत्युवरण गर्नु नपर्ने सुनिश्चितता हो। राज्यले त्यो अधिकार सुनिश्चित गर्नुपर्छ।

(त्रिभुवन विश्वविद्यालयमा ‘मेडिकल एन्थ्रोपोलोजी'का अध्यापक दाहालसँग लक्ष्मण श्रेष्ठले गरेको कुराकानीमा आधारित।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.