समयमै परीक्षण नगरे महिलाको प्रजननमा क्यान्सरको खतरा

 समयमै परीक्षण नगरे महिलाको प्रजननमा क्यान्सरको खतरा

 क्यान्सर एक जटिल रोग हो। यो जुनसुकै उमेरका व्यक्तिलाई पनि हुनसक्छ। साधारण भाषामा भन्दा क्यान्सर भनेको शरीरको कुनै पनि भागको कोष अनावश्यक रूपमा वृद्धि हुनु हो।

नङ र कपालबाहेक शरीरका कुनै पनि अंगमा क्यान्सर हुनसक्छ। म विशेषतः महिलाहरूमा हुने क्यान्सरको उपचार गर्छु। महिलाहरूमा हुने क्यान्सर विभिन्न छन्। तीमध्ये पाठेघरको मुखको क्यान्सर (cervix Cancer), पाठेघरको क्यान्सर, ओभरियन क्यान्सर, स्तन क्यान्सर मुख्य छन्। यहाँ महिलाको प्रजनन प्रणालीसँग सम्बन्धित क्यान्सरबारे चर्चा गरौं।

पाठेघरको मुखको क्यान्सर
sarita_ghimireयो भाइरसको कारणले लाग्ने क्यान्सर हो। ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)का कारण यो क्यान्सर लाग्छ। यसको खासै लक्षण देखिँदैन। एकपटक मात्रै शारीरिक सम्बन्ध कायम गरेकालाई पनि यो क्यान्सर हुने सम्भावना हुनसक्छ। तर, यो त्यस्तो जटिल भने छैन। प्रारम्भिक अवस्थामा पत्ता लागे यसको उपचार पनि सरल छ। यो क्यान्सर पत्ता लगाउन पनि सजिलो छ।

अहिलेसम्म यो रोग पत्ता लगाउन पाप स्मियर (papsmear) विधि प्रयोग गरिएकोमा अचेल भीआईए (VIA) विधि पनि आएको छ। पाप स्मियर विधिबाट जाँच गर्दा अलि खर्चिलो पनि हुन्छ भने चारदेखि पाँचजनासम्म सहभागी हुनुपर्ने हुँदा यसको विश्वसनीयतामा ह्रास आउँछ। कुनै एकको गल्तीले पनि क्यान्सर नदेखिन सक्छ। यसले गर्दा उपचार ढिलो हुनसक्छ। प्रयोगशालाहरू राम्रोसँग नबनिसकेको र व्यवस्थापन कमजोर भएको नेपालजस्तो विकासशील देशमा पाप स्मियर टेस्टको मात्रै भर पर्नु जोखिम हुनसक्छ।

भीआईए विधि तुलनात्मक रूपमा बढी भरपर्दो छ। भीआईएको अर्थ हो— भिजुअल इन्सपेक्सन विथ एसेटिक एसिड अर्थात् एसेटिक एसिडको सहयोगमा आँखाले नै गरिने परीक्षण। यस विधिमा महिलाको पाठेघरको मुखमा एसेटिक एसिड लगाइन्छ। यदि क्यान्सरले भेटेका कोसहरू रहेछन् भने ती सेता देखिन्छन्।

राम्रोसँग अभ्यास गरेको स्वास्थ्यकर्मीले यो सजिलै भेट्टाउन सक्छ। यो परीक्षण अनमी पास गरेकी स्वास्थ्यकर्मीले पनि गर्न सक्छिन्। तर, गतिलो तालिम र राम्रो अभ्यासको भने आवश्यकता छ। स्वास्थ्यकर्मीलाई राम्रो तालिम दिएर सरकारले हेल्थपोस्टहरूमै पनि यो परीक्षण गर्ने बन्दोबस्त गर्नसक्छ। चितवन र कास्कीका हेल्थपोस्टहरूमा यो सुविधा उपलब्ध छ। सरकारले थोरैमात्र प्रयत्न गर्ने हो भने पनि यो सुविधा देशैभरका हेल्थपोस्टसम्म उपलब्ध गराउन सक्छ।

पाइपस्मियर र भीआईए टेस्ट दुवै गर्दा रोग भए/नभएको पत्ता लाग्ने सम्भवना अझ बढी हुन्छ। विश्वसनीयता झनै बढ्छ। त्यसैले किशोरावस्था पार गरेका र शारीरिक सम्बन्ध कायम गरेका हरेक महिलाले कम्तीमा तीन वर्षमा एकपटक यो परीक्षण गर्नु राम्रो हुन्छ।

sarita_Ghimire2

प्रारम्भिक अवस्थामै पत्ता लागेमा पाठेघरको मुखको क्यान्सरको उपचार पनि सहज छ। यो अरूजस्तो जटिल छैन। सामान्य शल्यक्रियाले नै पनि प्रारम्भिक अवस्थामा रहेको सर्भाइकल क्यान्सर निदान गर्न सकिन्छ।

डिम्बाशयको क्यान्सर
यो महिलाको पाठेघरमा रहेको डिम्बाशयमा हुनसक्ने क्यान्सर हो। यसलाई ओभरियन क्यान्सर भनिन्छ। यसको खासै लक्षण देखिँदैन। तल्लो पेट दुख्ने, कम्मर दुख्ने, छाती पोल्ने, खाना नरुच्ने, अपच हुने, खाना खाँदा तुरुन्तै पेट भरिएजस्तो हुने, छिटोछिटो पिसाब लाग्ने, कब्जियत हुने आदि लक्षण देखा परेमा तुरुन्तै जाँच गराइहाल्नु उपयुक्त हुन्छ।

प्रायः ६० वर्षमाथिका महिलामा यो क्यान्सर देखा पर्छ। प्रायः यो क्यान्सरको परीक्षणमा भिडियो एक्सरे प्रयोग गरिन्छ तर त्यो त्यति विश्वसनीय हुँदैन। त्यसैले बायोप्सी नै गर्नु उपयुक्त हुन्छ।

पाठेघरको भित्ताको क्यान्सर (इन्डोमेट्रियल क्यान्सर)
पाठेघरको भित्तामा रहेको मांसपेशीमा हुने भएकाले यसलाई पाठेघरको भित्ताको क्यान्सर भन्न सकिएला। यो पनि भित्री अंगमा हुने भएकाले पत्ता लगाउन सजिलो छैन। यसका लक्षण पनि निश्चित छैनन्।

महिनावारी रोकिएपछि पनि योनीबाट रक्त श्राव हुनु, महिनावारीको समयबाहेक पनि रक्त श्राव हुनु, सेतो पानी बग्नु आदि यसका लक्षण हुन्। तल्लो पेट दुखिरहन्छ र महिनावारीको समयमा भन्दा अरू बेला पनि रक्त श्राव हुन्छ भने डाक्टरकहाँ गइहाल्नु उपयुक्त हुन्छ।


भल्भल क्यान्सर
यसलाई भल्भल क्यान्सर भनिन्छ। यो स्त्रीको यौनांगको क्यान्सर हो। यसका सामान्य लक्षणहरू हुन्— यौनांगको बाहिरी भागमा चिलाउने, पोल्ने, सुनिने। गिर्खाहरू देखा पर्ने। यौनांगमा ससाना घाउ देखा पर्ने। राता, सेता डाबर देखिने। पिसाब फेर्दा पोल्ने। यस्ता लक्षण देखिन्छन् भने सीधै चिकित्सकहाँ जानु नै बुद्धिमानी हुन्छ। बायोप्सीबाट यो क्यान्सर भए÷नभएको पत्ता लाग्नसक्छ।

यी त महिलाको प्रजनन अंगमा हुने क्यान्सरहरू हुन्। यसबाहेक महिलालाई हुने अर्को क्यान्सर स्तन क्यान्सर हो। स्तनमा डल्ला फेला परेमा, स्तनको आकारमा परिवर्तन आएमा, दूध खुवाएका महिलाहरूको स्तनको टुप्पो भित्र दबेमा स्तन क्यान्सर हुनसक्छ। स्तन क्यान्सर आफैंले पनि परीक्षण गर्न सकिन्छ।

सामाजिक मनोविज्ञान
क्यान्सरबारे नेपाली समाज अझै सचेत भइसकेको छैन। एकातिर क्यान्सरबारे पर्याप्त सजगता छैन भने अर्कोतर्फ क्यान्सरलाई मृत्युको पर्यायका रूपमा बुझ्ने प्रवृत्ति छ। यी दुवै प्रवृत्ति गलत छन्। मैले आफ्नो करिअरमा फेला पारेको सामाजिक मनोविज्ञान केही अनौठो छ।

प्रायः मानिस अरूलाई भए पनि मलाई हुन्न भन्ने धारणा राख्छन्। यो ओभरकन्फिडेन्ट (आवश्यकताभन्दा बढी आत्मविश्वास) हो। क्यान्सर जो कसैलाई पनि हुनसक्छ। त्यसैले परीक्षण गराइरहनुपर्छ। आफूलाई नहुँदासम्म हुनसक्छ भनेर विश्वासै नगर्ने प्रवृत्तिले समयमै क्यान्सर फेला पर्न गाह्रो हुनसक्छ।

क्यान्सर भएपछि भने पहिलो चरणमा मानिसहरू विश्वास नै गर्दैनन्। मसँग पनि कसरी क्यान्सर भयो भनेर चकित पर्छन्। जब क्यान्सर भएको विश्वास गर्छन् अनि रुन÷कराउन थाल्छन्। जब उपचार सुरु हुन्छ प्रायःले 'उपचार गरे पनि म बाँच्ने होइन' भनेर निराश हुन्छन्। उपचार क्रममा आत्तिने, झिंजिने, रिसाउने गर्छन्। उपचारबाट निदान भइसकेपछि अब हुन्न भनेर ढुक्क हुन्छन्।

यी सबै प्रवृत्ति गलत छन्। क्यान्सर समयमै उपचार गरेपछि निको हुने रोग हो। त्यसैले आत्मविश्वास राख्नु जरुरी छ। शान्त भएन भने उपचारले काम गर्दैन। मानसिक स्थिरता आवश्यक छ। निदानपछि पनि नियमित परीक्षण गराइरहनुपर्छ किनभने क्यान्सर फर्किन पनि सक्छ।

सुधार्नुपर्ने केही
क्यान्सर निश्चय नै जटिल रोग हो। यो रोगको प्रकृतिले मात्र होइन उपचार प्रणालीले पनि जटिल हो। यसको उपचार खर्चिलो छ। अर्कोतर्फ हामीले उपचारको गुणस्तर कायम गर्न सकेका छैनौं। नियमन गर्ने निकाय यात छैन या त भएर पनि काम गरिरहेको छैन। म त्यसको उपस्थितिबोध गर्दिनँ।

अर्कोतर्फ सामाजिक अन्धविश्वासले पनि काम गरेको छ। पुरुषभन्दा महिलाहरू बढीजसो अन्तिम चरणमा मात्र उपचार पद्धतिमा आइपुग्छन्। यसमा सोसल ट्याबुले काम गरेको छ। महिलाहरू सकेसम्म पीडा लुकाउँछन्। स्वास्थ्यकर्मीकहाँ जान हिच्किचाउँछन् किनभने अधिकांश स्वास्थ्यकर्मी पुरुष छन्। यो सोसल ट्याबु हटाउन जरुरी छ।


क्यान्सरका अनेक कारण छन्। यही कारण भन्ने छैन। तर, नियमित जीवनशैली र स्वस्थ खानपानले क्यान्सरलाई छेकबार लगाउन सकिन्छ। निम्न तरिकाले क्यान्सरलाई छेकबार लगाउन सकिन्छ:
१) नियमित जीवनशैली
२) नियमित शारीरिक अभ्यास, कम तौल
३) सन्तुलित खानपान
४) नियमित जाँच
५) दुव्र्यसनबाट टाढा

(विनीता मरहट्टासँगको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.