संशोधनपछि मात्रै चुनाव

संशोधनपछि मात्रै चुनाव

लोकतान्त्रिक व्यवस्थामा चुनाव लोकतन्त्रको प्राण मात्र होइन, जनताको अधिकार प्रयोग गर्ने एक माध्यम पनि हो । लोकतन्त्रको कुरा गर्नेले चुनावबाट पछि हट्न मिल्दैन किनभने चुनाव नहुँदा सबैभन्दा नोक्सानी जनताकै हुन्छ । मधेसी जनता पनि चुनावको लागि हतारिएका छन् । बीसौं वर्षदेखि हुन नसकेको स्थानीय चुनावले बढ्दो भ्रष्टाचार, राजनीतिक भागबन्डाको लुट, विकासप्रति बेवास्ता र सेवा पाउनमा कठिनाइ हुँदा चुनाव गर्ने विषय निकै हतारो हुन गएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल पहिला निर्वाचनमा जाने कुरा गरिरहेका छन्, तर मधेसी मोर्चाका नेताहरूले पहिले संविधान संशोधन हुनुपर्नेमा जोड दिइरहेका छन् । असन्तुष्ट मधेसलाई सन्तुष्ट नपार्दै चुनावमा जानुले मधेसको आन्दोलन तथा मधेस जनताको अवाजको अद्यापि राज्यद्वारा कदर गरिएको छैन भने बुझिन्छ । मधेसीलाई अधिकारसम्पन्न बनाउने विषयमा अहिले पनि प्रमुख ठूला दल मधेसमैत्री बन्न सकेका छैनन् ।

विगतको तथ्यांक हेर्दा मधेसवादी दलहरूको अहिलेको अवस्था कमजोर रहेको आकलन गर्न सकिएला, तर धरातलीय अवस्था पृथक छ । मधेसवादी संसद्मा कमजोर भएकै कारण मधेसीको आवाजलाई बेवास्ता गरिएको बुझ्नेहरू पनि कम छैनन् । मधेसवादीबाट आन्दोलनको साथै स्थानीय स्तरमा संगठन विस्तार गर्ने र ठूला दलहरूको संरचना भत्काउने, ठूला दलप्रतिको आकर्षण घटाउने काम पनि भएका छन् ।

पहिलाको तुलनामा मधेसकेन्द्रित दलहरूको जनाधार बढे पनि उनीहरूभित्रको मुख्य चुनौती अनेकतामा छ । एकता गरेर चुनावमा गएनन् भने परिणाम नकारात्मक हुने स्थानीय विश्लेषण बलियो छ, तर मधेसी दलहरू यसप्रति बेखबर छन् । चुनावलाई तत्काल स्वीकार नगर्ने दुई कारण छन्-चुनावले आन्दोलनको माग ओझेलमा पर्छ र संविधान कार्यान्वयनको प्रक्रियामा प्रवेश गरी चुनावमा सहभागी हुनुले जनाधार कमजोर हुन सक्छ ।

संविधानले मधेसवादीको अरू माग पूरा नगरे पनि गणतन्त्र, संघीयता, सामानुपातिक समावेशीता र लोकतान्त्रिक पद्धति जस्ता महत्त्वपूर्ण उपलब्धि दिएको छ, जुन मधेसवादी पनि गुमाउन चाहँदैनन् । उनीहरू केवल सहज अवतरण चाहेका छन् । जनाधार कमजोर रहेकाले मधेसवादीहरू चुनावमा जान नचाहेको तर्क यथार्थ छैन ।

गत हप्ता मात्र इन्सेकले वीरगन्जमा स्वायत्तता, संघीयता र प्रान्त विषयक अन्तरक्रिया गर्‍यो, जसमा डा. सुरेन्द्र भण्डारीले आधारपत्र प्रस्तुत गरेका थिए भने सुबोधराज प्याकुरेल, राष्ट्रिय मानव अधिकार आयोगको सदस्य सुधीर पाठक मुख्य अतिथिहरू थिए । कार्यक्रममा प्राध्यापक, वकिल, पत्रकार, लेखक तथा नागरिक सामाजका व्यक्तिहरूको मात्र सहभागिता थियो । अधिकांशले चुनाव अपरिहार्य भएको र संशोधनपछि मात्र चुनावमा जानुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा मधेसकेन्द्रित नेता वा कार्यकर्ताको आमन्त्रण नगरिएकोमा पनि आपत्ति जनाइएको थियो ।

मधेसको बौद्धिक जमात, नागरिक समाज तथा आम जनता चुनावअघि संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा छन् । जनाधार नभएकाले मधेसकेन्द्रित दलहरूले चुनाव नचाहेको भन्ने तर्क यथार्थ छैन । वास्तवमा केन्द्रीय सत्ताप्रति आम मधेसीको अविश्वास व्यापक छ, जसलाई संशोधनबाट मात्र हटाउन सकिन्छ ।

केही दिनअघि सिके राउतको गिरफ्तारी भयो, मधेसी जनताले यसलाई बडो चासोको रूपमा लिइरहेका छन् । यसको अर्थ मधेस बेवास्ताको परिणाम हो । मधेसको आवाजलाई बेवास्ता गर्दा नागरिकबीच विभाजन बढ्दै गएको छ नै, राज्यका हरेक कार्यमा विभेदको गन्ध फैलिँदै छ । कहाँसम्म भने मधेस केन्द्रीय सत्ताको पकडभन्दा बाहिर जान खोज्दै छ । केही हप्ताअगाडि मात्र ८० न्यायाधीशको नियुक्ति गरियो, जसमा मधेसको सम्मानजनक सहभागिता भएन ।

दुई नम्बर प्रदेशका बारहरूले बेन्च बहिष्कार मात्र गरेनन्, आठै जिल्लाका वकिलहरूको भेला गरी २५ गतेसम्म बहस पैरवी रोकियो । यसै बीचमा केन्द्रीय बारले न्यायपरिषद्सँग सहमति गरी आन्दोलन फिर्ता लियो तर दुई नम्बर प्रदेशको बहिष्कार फिर्ता भएको छैन ।

संविधान र कानुनले सामानुपातिक सामावेशीको प्रावधान राखेको छ तर पनि नियुक्तिको बेला ध्यान दिइएन । नातावाद, कृपावादलाई प्राथमिकता दिइएको आरोप त लाग्यो नै । पर्सा जिल्ला अदालतमा नौजना न्यायाधीशमा मुख्य जिल्ला न्यायाधीश एकजना मुस्लिम छन् र दुई नम्बर न्यायाधीश एकजना श्रेष्ठ थिए । दुई नम्बर न्यायाधीशलाई उच्च अदालतमा बढुवा गरियो तर मुख्य न्यायाधीशको गरिएन ।

उनको बढुवा नहुनुमा अन्य कुनै कारण हुन सक्छ तर मधेसी भएकै कारण बढुवा भएन भने आम बुझाइ छ । यस्ता सानातिना कुराले पनि ठूलो चुनौती थपिँदैछ, जसलाई नजरअन्दाज गर्नु उचित छैन । मधेसी रहेको दुई नम्बर प्रदेशले राष्ट्रियता जोखिममा नपर्ने तर पाँच नम्बर प्रदेशबाट केही जिल्लाको प्रदेशले राष्ट्रियतामा आँच आउने अतिवादी तर्कले असन्तुष्टि बढाउँछ ।

संशोधनले संविधानमा अक्सिजनको काम गर्छ । वर्षौं पुरानो भारतको संविधान एक सय २२ पटक संशोधन भएको छ भने अमेरिकाको संविधान २७ पटक संशोधन भयो । यसर्थ संशोधन गर्नै हुँदैन भने अतिवाद छोडी संशोधन गरी अविलम्ब चुनावमा जानुपर्छ । संविधान कसले कसरी बनायो त्यो पनि महत्त्वपूर्ण छैन । संविधानमा रहेका व्यवस्थाले परिवर्तनलाई प्राथमिकता दिएको छ कि छैन त्यो महत्त्वपूर्ण हो । एकजना चिनियाँ राष्ट्रपतिले भनेका थिए-बिरालो सेतो होस् वा कालो बिरालो मुसा कति मार्न सक्नुपर्छ । जापानको संविधान सैनिक शासकले बनाए पनि लोकतान्त्रिक संसद् डायटले समर्थन गर्‍यो । त्यही संविधानले जापानलाई समृद्धिमा पुर्‍याएको छ ।

संविधानले गाण्तन्त्र, संघीयता, सामानुपातिक समावेशिता र लोकतन्त्र जस्ता महत्त्वपूर्ण उपलब्धि संस्थागत गरेकोले यी उपलब्धि सखाप नहोस् भन्नेतर्फ सबै सचेत हुन आवश्यक छ । ०७४ माघ ७ सम्म तीन तहको चुनाव नभए प्राप्त उपलब्धि समाप्त हुने खतरा उत्तिकै रहेकाले केही प्रमुख दलहरूले बढी हठ गर्नु उचित छैन । लोकतन्त्र र निरंकुशतन्त्रमा फरक छ । लोकतन्त्रमा समस्याको समाधान विधिबाट हुन्छ भने निरंकुशतन्त्रमा बलपूर्वक गरिन्छ । लोकतन्त्रमा अल्पमतको सम्मानजनक कदर गरिन्छ भने निरंकुशतन्त्रमा बेवास्ता गरिन्छ । यसर्थ असन्तुष्टि अन्त्य गर्न संविधान संशोधन गरी अविलम्ब चुनावमा जानैपर्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.