सत्यमोहन अर्थात् संस्कृतिमोहन

सत्यमोहन अर्थात् संस्कृतिमोहन

आमाले दाहिने हातको साहिँली औंलामा थुक लगाइन्। त्यो औंला आफ्नो पैतालामा छुस्स दलिन् अनि तीनवर्षे बालक सत्यमोहनको निधारमा टीकाझैं ट्याप्प लगाइदिइन् र भनिन्, ‘अब मेरो छोरालाई भूतप्रेतले छुन सक्तैन।'

मावली बटुकटोल जाने तयारी हुँदै थियो। उनलाई बोक्न पशुपति देवपाटनतिरकी एउटी बूढी आएकी थिइन्। पुलचोक, कुपन्डोल, बाग्मतीको पुल, भद्रकाली हुँदै बाघखोर पुगेपछि उनलाई आमाले बाघ चिनाइदिइन्। फलामको बारभित्र दुईतीनवटा अजंगका डरलाग्दा बाघ जेल परेका खुँखार मान्छेझैं निरीह भएर बसेका थिए।

बाघजस्ता राणाहरूले यसरी बाघलाई किन थुनेर राखेका होलान् ? बालक सत्यमोहनलाई थाहा थिएन। बस्, थुनिएका बाघहरू देखेर उनी खुसी र दंग भए। आमाको पिठ्यूँमा भएकाले डर लागेन।
...
सानो छँदा उनलाई सानातिना बाल्यबिमारहरूले सताइरहन्थे। त्यति बेला सुँगुरको मासु खायो भने रोगब्याधले छुँदैन भन्ने विश्वास थियो। त्यसैले उनकी आमाले उनलाई पिठ्यूँमा बोकेर घरभन्दा दक्षिणतिर रहेको कसाईटोलमा लिएर गइन्। औषधिका रूपमा थोरै सुँगुरको मासु मागिन् र आमाले दुईतीनवटा चोक्टा सँगुरको मासु उनलाई खुवाइदिइन्। त्यसपछि ढुक्क भएर भनिन्, ‘अब मेरो छोरालाई रोगव्याधीले छुँदैन।'

आज ९७ वर्षमा हिँडिरहँदा पनि उनलाई ठूला र स्थायी रोगव्याधीले छुन सकेका छैनन्। अस्थायी र सामान्य रोगव्याधीले छोए पनि अलक्क छोएर फर्केका छन्। अहिले पनि हिँडेर तीनचार किलोमिटर सम्मको यात्रा गर्नु उनका लागि सामान्य कुरा हो।
...
मावलीमा विशेषगरी सानिमाले उनलाई असाध्यै माया गर्थिन्। जतिखेर पनि उनलाई कि बोकिरहनुपर्ने कि काख लिइरहनुपर्ने कि खेलाइरहनुपर्ने।सानिमा र उनका दौंतरीहरू मिलेर उनलाई सानैमा दुलहा बनाइदिए, कुनै पुतलीजस्तै बालिकासँग टाउको ठोकिदिएर उनको बिहे पनि गरिदिए। ख्यालख्यालको बिहे। यसरी कतिपटक बिहे भयो, उनलाई सम्झना छैन। तर, धेरैपटक भयो।

तन्नेरी भएपछि मावल जाँदा तरुनी भइसकेका आफ्ना ख्यालख्यालका दुलहीहरू देख्ता उनलाई असाध्यै लाज लाग्थ्यो। ती तरुनीहरू पनि लाजले भुतुक्क हुँदै लुक्न जान्थे। तर, उनी ती तरुनीहरू लुकेको ठाउँमा जान्थेनन्। उनी पनि लजालु थिए।

अहिले भएको भए त्यतिसारो लाज लाग्थेन होला। अहिलेका केटाकेटी उनलाई धेरै फरवार्ड लाग्छ। लाजले अनुशासित त बनाउँछ अन्तर्मुखी पनि बनाउँछ।
...
उनका दौंतरीहरूको बोली फुट्यो; उनको राम्ररी फुटेन। उनीसँगैकाहरू फरर बोल्न थाले तर उनी नबोलेको देखेर बा-आमा चिन्तित भए। बोली राम्रोसँग फुटोस् भनेर बा-आमाले सूर्यविनायकको भाकल गरे।

एक दिन बा-आमाले तीन कोस पर हिँडेरै उनलाई भक्तपुर सूर्यविनायक मन्दिर लिएर गए। विधिपूर्वक पूजाआजा गरे। त्यसपछि उनलाई मन्दिरमा एक्लै छोडेर बा-आमा कतै लुके। लुकेर एक्लै बा-आमा खोज्दै गरेको बालक छोरा सत्यमोहनलाई हेरिरहे। उनले एकछिनसम्म बा-आमालाई भौंतारिँदै खोजे। कतै नपाएपछि बिचल्लिएर उनी क्वाँक्वाँ रुन थाले। पछि उनका बाले उनीसँग भने, ‘त्यसपछि तेरो बोली फुटेको हो।'
...
उनी सानोमा असाध्यै चकचके थिए। नबोली-नबोली बिठ्याइँ गर्थे। आमाले यस्सो आँखा झिमिक्क पार्न नपाउँदै केके बिठ्याइँ गरिसकेका हुन्थे। उनलाई हेर्ने घरमा कोही थिएनन्। मोहनशमशेरको कारिन्दा थिए- बा। आजित भएर आमाले उनलाई बुइँगलमा लगिन्, आफ्नो पटुकाले उनलाई थाममा बाँधिन् र पानी लिन ढुंगेधारा गइन्। सानो छँदा उनले यसरी धेरैपटक बुइगलको थाममा बाँधिनुपर्‍यो।

ठूलो भएपछि उनको चकचके र बिठ्याइँ गर्ने बानी बाल्यकालझैं कता हरायो कता ? उमेर बढ्दै जाँदा उनी त शान्त, सुशील र सृजनशील स्वभावका पो बन्दै गए। अहिले त उनलाई देख्ता, उनीसँग बोल्दा यस्तो लाग्छ, उनी बुद्ध भइसके। न लोभलालच छ न रिसराग, न विगतप्रति तृष्णा छ न आगतप्रतिको आकांक्षा। जीवन र मृत्युलाई नजिकबाट चिनिसकेको मुक्त मानिसझैं उनी जीवनको व्यावहारिक ज्ञानमार्गमा कुदिरहेका छन्। कर्मको ध्यानमार्गमा हिँडिरहेका छन्। भक्तिको वेदान्तमार्गमा चिन्तन गरिरहेका छन्।
...
श्रीपञ्चमीको दिन। अक्षर-आरम्भका लागि बा शंकरराज (दास) जोशीले उनको हात समाएर गुरु विद्यानन्द राजोपाध्यायकहाँ लिएर गए। पूजा गरेपछि उनको हात समाएर गुरुले पाटीमा अँगारले 'ॐ नमः वागीश्वराय' लेखाए।

त्यसपछि उनलाई घरमै बाले लेखपढ गर्न सिकाए। अक्षर चिनिसकेपछि सातआठ वर्षको उमेरमा उनलाई घरनजिकै भाषा पाठशालामा भर्ना गरिदिए।
कक्षा कोठामा बस्नका लागि न बेन्ची थिए न सुकुल नै। फलेक ओछ्याइएको भुइँमै बस्नुपथ्र्यो। उनलाई नेपाली भाषा नआउने, पढाउने पण्डितहरूलाई नेवारी भाषा नआउने। उनी त अलमल्ल परे। त्यहाँ उनी तीन दिनभन्दा टिक्न सकेनन्।

सुरुकै पाठ एउटा कविता थियो— जय जगदीश्वर जय अविनाशी÷जयजय भगवान् करुणराशी÷शक्ति छ प्रभुको अपरम्पार÷घुम्दछ जसमा सब संसार। उनलाई थाहा थिएन, यो लेखनाथको कविता हो र यसमा यति गहिरो वेदान्त दर्शन पनि छ। त्यतिखेर त उनले पढे मात्र, धेरैपछि मात्र यो कविताको गहिराइ बुझे। आजसम्म पनि यो श्लोकले उनलाई प्रभाव पारिरहेको छ। 

पढ्दाखेरि २.५ प्लसको चस्मा लगाउनु परे पनि सन्तानब्बे वर्षको उमेरमा समेत उनलाई लौरो टेकेर हिँड्नु परेको छैन। दाँत टम्म छन्, बोली प्रखर छ, सम्झनाशक्ति उस्तै छ, कुनै पनि ज्ञानेन्द्रिय र कर्मेन्द्रियहरूले धर्म छोडेका छैनन्। यो नै उनलाई आफ्नो जीवनले पाएको सबैभन्दा ठूलो पुरस्कार लाग्छ।


जसरी पनि जेठो छोरालाई नपढाई भएन भनेर उनका पिताजीले भनसुन गरेर भाषा पाठशालाकै माथि अंग्रेजी पढाइने मिडिल स्कुलमा भर्ना गरिदिए। पन्ध्रबीस जना विद्यार्थी। पढाउन होइन घोकाउनमात्र जान्ने शिक्षक।

पाठ घोकेर बुझाउनुपथ्र्यो। नेपाली त राम्रो नआउनेलाई अंग्रेजी कहाँबाट आओस् ? शिक्षकहरूले कन्सिरीका रौं तानेर खुब पिट्थे। सम्झँदा अहिले पनि दुख्छ उनलाई। त्यहाँ पनि उनी सात दिनभन्दा टिक्न सकेनन्।

उनका पिताजीलाई खुब चिन्ता पर्‍यो। जसरी पनि छोरालाई नपढाई भएन। अलिअलि नेपाली बोल्न सिकेपछि उनी दरबार हाइस्कुलमा सातौं श्रेणीमा भर्ना भए।
त्यहाँ पनि विद्यार्थी बस्ने ठाउँ व्यवस्थित थिएन। अंग्रेजी पढ्नेलाई बेन्च थियो तर संस्कृत पढ्नेलाई उही भुइँ।

उनी सधैं पछाडि बस्थे तर चुपचाप हल्ला नगरी। पाठ बुझाउन नसकेर उनी धेरैजसो हात बुझाउँथे, जहाँ मास्टरजीहरूले छडी हान्थे। उनले खुब छडी खाए। खाना खाने हातले छडी खाएपछि दुखेर बेलुका खाना खानै गाह्रो हुन्थ्यो। गृहकार्य गर्न पनि गाह्रो हुन्थ्यो।

पछिपछि पढाइमा सामान्य सुधार हुँदै गयो। तर, धेरै जान्ने भएनन्। अलिअलि जान्ने भएपछि उनी अलि अगाडिको बेन्चमा बस्न थाले।स्कुल पढ्दा उनले कहिल्यै पुरस्कार पाएनन्। न पढाइ राम्रो, न खेलकुद राम्रो। उनी आफैंलाई प्रश्न गर्थे, मैले के कामचाहिँ राम्ररी गर्न सक्छु होला ?

त्यति बेला उनीसँग कुनै सपना थिएनन्। कुनै लक्ष्यका लागि होइन, पढ्नका लागि पढिरहेका थिए। हदै भए पढेर राम्रो जागिर खाइएला भन्ने थियो।
विसं १९९६÷०९७ मा उनले प्रवेशिका परीक्षा पास गरे। पास त गरे तर यसपछिको यात्रा गर्न उनीसँग कुनै रोडम्याप थिएन। उनलाई लाग्थ्यो, म ब्यूँझेकै छैन। म हिँड्ने बाटो मलाई नै थाहा छैन। हिँड्दै जाऊँ, बाटो आफैं बन्दै जाला।
...
३० वैशाख १९७७ मा बखुम्बहाल टोल ललितपुरमा जन्मेका लिभिङ हेरिटेज या भनौं लिभिङ इन्साइक्लोपेडिया सत्यमोहन जोशीको मनोलोकमा यस्ता पुराना सम्झनाहरू बारबार आइरहन्छन्। यी सम्झनाहरूले कहिले आफ्नो वृद्धावस्था नै बिर्साइदिन्छन्, कहिले बाल्यकाल नै सपनाजस्तो लाग्छ।

ऊ बेलाको कञ्चन र सङ्लो बाग्मती झन्झन् मैलिएर अहिले ढलमती भएको छ तर उनको जीवन र सम्झनाहरू झन्झन् कञ्चन र सङ्लो हुँदै गएका छन्। मनोलोकको सङ्लो पानीमा सम्झनाका माछाहरू पौडिरहन्छन्।
...
१९९८÷०९९ मा उनी त्रिचन्द्र क्याम्पस भर्ना भए। विषयहरू थिए— संस्कृत, इतिहास र अर्थशास्त्र। नेपाली र अंग्रेजी अनिवार्य थिए। सुरुसुरुमा बंगालीहरूले अंग्रेजी पढाउँथे। उनीहरू बुझाउँदैनथे्, रटाउँथे, घोकाउँथे। यसले गर्दा उनका लागि पढाइ साह्रै बोझिल भएको थियो। टेपरेकर्डरजस्तो दिमाग हुनेहरू राम्रा विद्यार्थी कहलिन्थे। सिर्जनात्मक विद्यार्थीहरू लद्दु।

केही समयपछि जीवनमा कहिल्यै दोस्रा नभएका व्यक्ति रामप्रसाद मानन्धर अंग्रेजी पढाउन आए। रामप्रसाद सरले घोकाएनन्, बुझाए। सिर्जनात्मक विद्यार्थीहरूलाई ऊर्जा दिए।रामप्रसाद सरले अंग्रेजी साहित्य पढाउँदा साहित्यको भाषामात्र होइन, मर्मसमेत बुझाएर पढाए। त्यसपछि उनले साहित्य भनेको के हो भन्ने बुझे।

बुझेपछि साहित्यसँग प्रेम भयो। कहिल्यै नचलेका हृदयका तारहरू पनि बज्न थाले। ती तारहरूको कम्पनबाट निस्किएको सुमधुर धुन नै उनलाई साहित्य हो भन्ने लाग्यो। बल्ल जीवन निद्राबाट ब्यूँझेजस्तो भयो। जिन्दगीले साहित्यको सपना देख्न थाल्यो।

त्रिचन्द्र क्याम्पसकै परिसरमा भाषा अनुवाद परिषद् थियो। त्यसका अध्यक्ष थिए— पुष्करशमशेर। लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, बदरीनाथ भट्टराईजस्ता घगडान साहित्यकारहरू पनि त्यहीँ काम गर्थे। उनीहरूसँग उनको चिनजान भयो अनि संगत हुन थाल्यो। भर्खर उम्रिएका साहित्यिक रहरका बिरुवाहरू मलजल पाएर हलक्क बढे। केही समयपछि त फुल्न र फल्न थाले।

बीए पढ्दापढ्दै औद्योगिक-व्यापारिक समाचार अड्डामा उनले महिनाको ७० रुपैयाँ पाइने जागिर पाए। गाउँमा गएर त्यहाँको रहनसहन, सामाजिक तथा सांस्कृतिक अवस्था, खेतीपाती आदिका बारेमा रिपोर्ट बुझाउनुपर्थ्यो।

यही जागिर खान उनी २००१ सालमा तनहुँको रिसिङघिसिङ, भिमाद गए। कहिल्यै काठमाडौंबाहिर नगएका उनलाई पहाड चढ्दाचढ्दै औलोले समात्यो।
सन्चो भएपछि उनलाई त्यहाँको लोकगीत र लोकसंस्कृतिले समात्यो। त्यहाँको औलोले त केही दिनमात्र समात्यो तर त्यहाँका लोकगीत र लोकसंस्कृतिले आजसम्म पनि समातिरहेको छ। प्रेमपूर्वक समातिरहेको छ। यसले नै उनको जीवनको पहिचान बनाइदियो।

त्यहाँ उनलाई अचम्म लाग्यो-दाउरा बोक्नेले होऊन् या घाँस काट्नेले, मेलापातमा काम गर्नेले होऊन् या गोठालो जानेले, सबैले वनै घन्कने र मनै हल्लने गरी गीत गाइरहेका छन्।धनले गरिब मानिसहरू पनि लोकगीत र लोकसंस्कृतिमा धनी रहेछन्। लोकगीत र संस्कृतिमा धनी मानिसहरू मनका पनि धनी हुँदा रहेछन् भन्ने कुराको महसुस उनलाई त्यहीँ गएर भयो।

वनपाखामा होस् या मेलापातमा, यसरी तरुनीहरूले गीत गाएको उनले कहिल्यै देखेका थिएनन्। नाटकमा महिलाको भूमिकासमेत पुरुषले महिलाको रूप धारण गरी अभिनय गर्नुपर्ने समाजमा हुर्किएका उनी त्यहाँ दंग परे। मादी र मर्स्याङ्दीको सुमधुर संगीतमा गुञ्जिएका गीतहरूले उनलाई राम्रैसँग प्रभावित गर्‍यो।
काठमाडौंबाहिर पनि यति धेरै लोकगीत र लोकसंस्कृति छन् भन्ने उनलाई थाहा थिएन। त्यसमा पनि उनलाई गण्डकी अञ्चलको लोकसंस्कृतिले असाध्यै प्रभावित बनायो। धेरै कुरा सिकायो।

दोस्रो विश्वयुद्ध चलिरहेको थियो। गाउँमा युवकहरू सिला खोजेझैं खोज्नुपथ्र्यो। युवकहरू गाउँमा नभएपछि युवतीहरूमा विरह बढ्ने नै भयो। कोही प्रेमी सम्झेर विरहको गीत गाउँथे, कोही लोग्ने सम्झेर, कोही छोरो सम्झेर:

गाई पाल्यो रेलिमाई वनको बाघलाई
छोरो पाल्यो रेलिमाई जर्मनको धावालाई

यस्ता मर्मस्पर्शी गीतहरूले भुतुक्कै हुने गरी उनको मन चिमोट्यो। धेरै कुरा सोच्न बाध्य बनायो।उति बेला गाउँमा गल्लाहरू आउँथे र लायकका युवकहरूलाई खोजीखोजी गोरखपुर नापजाँचका लागि पठाउँथे। पास भएपछि युद्धमा पठाउँथे।

कतिलाई भर्खर विवाह गरेकी तरुनी स्वास्नी छोडेर युद्धको मैदानमा जानु परेको थियो, कतिलाई आफ्नी प्रेमिका छोडेर जानु परेको थियो। फेरि भेट हुने हो कि होइन, ज्यानको कसम खाएर युद्धमा जानु परेको थियो।

आफ्नो प्रेमी र लोग्नेसँगको बिछोडको वेदनाले भरिएका विरह भाकाका लोकगीतहरू मेलापात र वनपाखा तिनै युवतीका गलाबाट शीतझैं रुन्थ्यो। तिनै करुणा र बिछोडले भरिएका भाका सुनेर उनी मर्माहत भए:

नकरा वनका न्याउली
तिमीभन्दा म छु नि बैरागी

उनले राम्राराम्रा लोकगीतहरू टिपे। भजन, मारुनी, चुड्का, घाँटु आदिको मर्म बुझे। खुब मेहनत गरेर आफ्नो जागिर खाए र लोकसंस्कृतिको एउटा जीवन्त किताब जन्माए, ‘हाम्रो लोकसंस्कृति'। २०१३ सालमा यही कृतिले मदन पुरस्कार जित्यो। मदन पुरस्कार पाउने पहिलो स्रष्टा नै उनी भए।

लेखनाथ पौड्याल र सोमनाथ सिग्देलजस्ता उनका आदर्श स्रष्टाले उनलाई ओल्क्याएर अगाडि मञ्चमा लगे। उनले भने, ‘यो कृति मेरो होइन। अलिखित, अशिक्षित गाउँलेहरूको सम्पत्तिलाई मैले त बटुलेर ल्याएको मात्र हुँ।'

गाउँका ती अशिक्षितहरूको भाकामा उनले जीवन दर्शन पाए। ती गाउँले र तिनका कोमल पीडा भएका गीतहरूले उनलाई बाँच्ने कलामात्र सिकाएन, संस्कृतिविद् पनि बनाए।

उनी संस्कृतिविद् भएका कुनै स्कुल या कलेजको पढाइले होइन, तिनै अशिक्षित गाउँलेहरूको भाकाले हो। गण्डकी अञ्चलका ती गाउँहरू उनका लागि खुला विश्वविद्यालय भए र ती गाउँलेहरू गुरु।

‘हाम्रो लोकसंस्कृति'ले मदन पुरस्कार पाएको आधारमा उनी पुरातत्व तथा संस्कृति विभागका प्रथम निर्देशक बनाइए। यहाँ रहँदा पनि उनले जागिरका सिलसिलामा नेपालका मुद्राहरूको अध्ययन गरी ‘नेपाली राष्ट्रिय मुद्रा' नामक पुस्तक प्रकाशित गरे। यसले पनि विसं २०१७ को मदन पुरस्कार जित्न सफल भयो।
२०१७ सालमा महेन्द्रले ‘कु' गरेपछि उनको निर्देशकको पद भने खोसियो। तर, पनि उनले नेपाली लोकसंस्कृति, नेपाली मुद्रा, मूर्तिकला आदिका बारेमा धेरै स्थलगत अध्ययन गरे।
...
जब उनी २०२६ सालमा तत्कालीन ‘नेपाल राजकीय प्रतिष्ठान'को सदस्य भए, नेपाली भाषाको व्यूत्पत्तिस्थल जुम्लाको सिँजा उपत्यका जाने प्रस्ताव राखे। धेरैले उनलाई हकारे, ‘त्यति दुर्गम ठाउँमा पनि कतै जान सकिन्छ ? त्यहाँ गएर कसरी काम गर्ने ? '

तर, उनी आफ्नो विचारबाट पछि हटेनन्। आफ्नो नेतृत्वमा आफूसहित पाँच जनाको टोली बनाए। टोलीमा थिए— सत्यमोहन जोशी, चूडामणि बन्धु, विहारीकृष्ण श्रेष्ठ, स्थिरजंगबहादुर सिंह र प्रदीप रिमाल।

ऐतिहासिक अन्वेषण, भौगोलिक अन्वेषण, सामाजिक—सांस्कृतिक अन्वेषण, भाषा अन्वेषण र लोकसाहित्य, संगीत र कला अन्वेषणका गरी पाँच थान पुस्तक तयार भए। यिनै पुस्तकहरूले संयुक्त रूपमा २०२८ सालको मदन पुरस्कार पाए। यसरी उनी तीन पटकसम्म मदन पुरस्कार पाउने एकमात्र व्यक्ति बन्न पुगे।

२०३१ सालमा उनी प्रज्ञा प्रतिष्ठानको सदस्यसचिव हुँदा सूर्यविक्रम ज्ञवाली कुलपति थिए। नेपालमा नाटक हेर्ने संस्कृति त्यति बढ्न सकेको थिएन। प्रज्ञाप्रतिष्ठानको हल भव्य थियो। कुर्चीसमेत बेलायतबाट ल्याएर जडान गरिएको थियो तर त्यहाँ चल्ने नाटक फास्सफुस्स मात्र थिए।

उद्घाटनको दिनमा बोलाइएका निम्तालुहरू आउँथे। त्यसपछि नाटक खासै चल्थेनन्। त्यही बेला दार्जिलिङबाट मनबहादुर मुखियाको नाटक ‘अनि देउराली रुन्छ' झिकाइयो। जुन नाटक टिकटमा लामो समयसम्म हाउसफुल चल्यो।

मञ्चन गर्नका लागि सूर्यविक्रम ज्ञवालीले उनलाई पनि नाटक लेख्न प्रेरित गरे। उनले ‘फर्केर हेर्दा' भन्ने नाटक लेखे। जुन नाटक ०३३ सालमा ५३ दिनसम्म चल्यो। खुब पैसा कमायो। संस्कृतिविद्पछि उनी प्रसिद्ध नाटककार पनि भए।

आजसम्म नेपाल भाषा र नेपाली भाषामा गरी उनले झन्डै दुई दर्जन नाटक लेखेका छन्।नेपाल भाषा र नेपाली भाषामा गरी झन्डै चार दर्जन पुस्तक भए होलान्। उनको परिचय संस्कृतिविद् र नाटककारका रूपमा बनेको छ। तर, उनको औपचारिक साहित्य यात्रा कविताबाट सुरु भएको हो। १९९१ सालमा ‘शारदा'मा ‘परिचय' शीर्षकको कविता नै पहिलो रचनाको रूपमा छापिएको हो।
...
नेपाल भाषामा उनले दुई महाकाव्य लेखेका छन्, ‘जयप्रकाश' र ‘श्वेतचैत्य'। नेपाल भाषा बोल्नेहरू सीमित भएकाले यस भाषामा लेखिएका उनका नाटक र महाकाव्यहरूको पर्याप्त चर्चा हुन सकेको छैन।

उनले थुप्रै मानसम्मान र पुरस्कार पाएका छन्। तीन पटकसम्म मदन पुरस्कारका अतिरिक्त सुप्रवल गोर्खा दक्षिणबाहु, त्रिशक्तिपट्ट, आदिकवि भानुभक्त पुरस्कार, उज्ज्वल कीर्तिमान राष्ट्रदीप सम्मान, पद्म श्री साधना सम्मान आदि।

दिनचर्या
चराहरूको चिरबिरसँगसँगै बिहान पाँच-छ बजेतिर उठिसक्छन्। खाली खुट्टाले शीतैशीत भरिएको दुबोमा हिँड्छन्। उनलाई पैतालाले प्रकृति छोएको औधि मन पर्छ।

तर, काठमाडौं कंक्रिटको जंगल भएकोमा उनलाई नरमाइलो लाग्छ। प्रकृतिलाई मानिसले माया गरेन भने प्रकृतिले पनि मानिसलाई माया गर्दैन।
एकछिन हिँडेपछि उनी दूध चिया या कालो चिया पिउँदै पत्रिकाका हेडलाइनहरू हेर्छन्। तान्यो भने भित्र छिर्छन् नत्र हेडलाइनबाटै बाहिरिन्छन्। उनी अहिले पनि समयसँग अपडेट रहिरहन्छन्।

पहिलेझैं किताब पढ्न सक्तैनन् र लेख्न पनि। पहिलेजस्तो जाँगर र ऊर्जा अहिले छैन। तैपनि लेखपढमा निरन्तरता दिइरहन्छन्।
पढ्दाखेरि २.५ प्लसको चस्मा लगाउनु परे पनि सन्तानब्बे वर्षको उमेरमा समेत उनलाई लौरो टेकेर हिँड्नु परेको छैन। नजिकनजिकका कार्यक्रममा त उनी अहिले पनि हिँडेरै पुगिरहेका हुन्छन्।

दाँत टम्म छन्, बोली प्रखर छ, सम्झनाशक्ति उस्तै छ, कुनै पनि ज्ञानेन्द्रिय र कर्मेन्द्रियहरूले धर्म छोडेका छैनन्। यो नै उनलाई आफ्नो जीवनले पाएको सबैभन्दा ठूलो पुरस्कार लाग्छ।

उनलाई सेतो रङ र सादा खाना मन पर्छ। कहिलेकाहीँ मासु पनि खान्छन्। बिहानको खाना उनी नौ-दस बजेतिर खान्छन्। खाना खाएपछि विभिन्न कार्यक्रम तथा भेटघाटमा सहभागी हुन्छन्। सकेसम्म उनी बोलाएको ठाउँमा पुग्छन्। सक्रिय रूपमा सहभागी हुन्छन्। उनलाई यो उमेरमा पनि एकछिन फुर्सद छैन। सार्वजनिक कार्यक्रमहरूमा भ्याइनभ्याइ छ। फुर्सद भएको बेला घरमै बसेर लेखपढ गर्छन्।

किशोरी छँदादेखि नै उनकी पत्नी राधादेवीले उनको व्यस्ततालाई सुबिस्था बनाइदिँदै आएकी छन्। तीन छोरा र तीन छोरी छन्। छोरीहरू विवाह गरेर पाटन, भीमफेदी र अमेरिका छन्। छोराहरू ताहाचल, क्यानडा र बेलायत छन्। घरमा छोराछोरी, केही नभए आफ्नो लेखपढको काम त छँदै छ।

उनले स्वस्थ रहनुपर्छ भनेर केही गरेका छैनन्। किनभने उनी स्वास्थ्य बिगार्ने कुरा केही खाँदैनन्, स्वास्थ्य बिगार्ने काम केही गर्दैनन्। बरु मानिसहरूले नै वातावरणलाई अस्वस्थ बनाएका छन्। वातारवरण रोगी भयो भने उसले मानिसलाई पनि रोगी बनाउँछ।

उनलाई प्रकृति खुब मन पर्छ। बखुम्बहाल बगैंचामा उनले चराहरूका लागि सानो कटेरो र माछाहरूका लागि सानो पोखरी बनाइदिएका छन्। साँझबिहान चरा र माछाहरूसँग यसै रमाउँछन्। चराहरू चिरबिराउँदै उडेको र माछाहरू सलबलाउँदै पौडेको हेर्दा हृदयथेरापी भएझैं लाग्छ।

साँझ ७/८ बजेतिर खाना खाएपछि फेरि उनको लेखपढ सुरु हुन्छ।सुत्ने बेलामा उनको नित्य पेयप्रेमका रूपमा अलिकति स्थानीय मदिरासँग आफूलाई साट्छन्। त्यसपछि आनन्दले निदाउँछन्।जसरी विपनाले सुख दिन्छ उसरी नै सपनाले पनि सुख दिन्छ। तर, उनी विपना सधैं सम्झिरहन्छन्, सपना प्रायः सम्झँदैनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.