डाक्टर बा: एउटा जीवित पुस्तक

 डाक्टर बा: एउटा जीवित पुस्तक

बिरामी जाँच्दाजाँच्दै पनि हामीतिर फर्केर डा. बा (डा. शंकरप्रसाद उप्रेती) सोध्नुहुन्थ्यो- कति रन भो केटा हो? सञ्जीव र म क्रिकेटको कमेन्ट्री सुनिरहेका हुन्थ्यौं। त्यसबेलाका भारतका प्रमुख खेलाडी थिए- चन्द्रशेखरहरू र गवास्करहरू। प्रायः हाम्रो पक्षधरता भारतपट्टि रहन्थ्यो।त्यसबेला म उति हिन्दी नबुझ्ने भए पनि सञ्जीवसँग बसेर कमेन्ट्री सुन्दासुन्दै बुझ्ने भइसकेको थिएँ।

सुरुसुरुमा मलाई त्यो कमेन्ट्रीको खासै चासो थिएन तर दिनदिनै बानी हुँदै गएपछि त्यो सुन्नु पनि एक प्रकारको लतजस्तो हुन थालेको थियो। मलाई लाग्छ, शनिश्चरेजस्तो गाउँमा त्यस उमेरमा रेडियोमा क्रिकेटका कमेन्ट्री सुन्ने बालकहरू हामीबाहेक अरू कोही थिएनन् होला।

उसो त धेरैको घरमा रेडियो नै पनि कहाँ हुन्थ्यो र ! हामी सुन्दासुन्दै बेलाबेला जोसमा चौका, छक्का भनेर कराउँथ्यौं। फुटबल र क्रिकेटपट्टिको रुचि मेरो त्यतिबेलैदेखि विकसित भएको हो। सञ्जीव र मेरो दिनचर्या कोर्सबाहेक बालसाहित्यका पुस्तक पढेर, चेस, लुडो क्रिकेट र फुटबल खेलेर वा हार्मोनियम र बेञ्जो बजाएर बित्थ्यो। सञ्जीवको आवाज पनि राम्रो भएकाले उनी धेरै राम्रो गाउन सक्थे। मैले भने जति कोसिस गरे पनि कहिल्यै गाउन र बजाउन जानिनँ।

हामी जतिजति हुर्किँदै गयौं हाम्रा निम्ति पढ्ने-लेख्ने कुराहरू पनि फरक पर्दै जान थाले। बालसाहित्यबाट किशोर साहित्यतिर हामी प्रवेश गराइयौं। डा. बाले हामीलाई हाम्रो उमेरअनुसारका विषयहरूमा थाहै नपाई प्रवेश गराउँदै जानु हुँदोरहेछ। हामीले कैयौं कुरा त थाहै नपाई सिकिसकेका हुँदारहेछौं। स्कुलमा अरू विद्यार्थीभन्दा सधैं फरक हुनुका कारण ती पो रहेछन् भन्ने लाग्छ आजभोलि।

डा.बाले हामीलाई कहिल्यै हकार्नु, गाली गर्नु भएन। तर, खै किन हो सारै डर लाग्थ्यो। जे कुरा गर्नु परे पनि आमाका माध्यमबाट उहाँसम्म हाम्रा कुरा पुग्थे। आमाको आवाज त्यसै पनि सानो थियो, त्यसमा पनि बिस्तारै बोल्दा घरमा एक प्रकारको सुनसानजस्तो हुन्थ्यो। हाम्रो आवाजभन्दा बिरामीको आवाजले नै वातावरण हल्लामय भएको हुन्थ्यो।

हामी स्कुलबाट घर पुग्दा खाजा तयार हुन्थ्यो। खाजा खाइसकेपछि बाबाट तर्किन खोजे पनि एकपल्ट अगाडि पुग्नुपथ्र्यो। खाजा खाइसकेको कुरा भनेपछि 'लौ अब तिमीहरूको खेल्ने बेला भो' भन्नुहुन्थ्यो र हामी चौरमा निस्केर खेल्न थाल्थ्यौं। उहाँ बरण्डामा बसेर हामीले खेलेको रमाइलो मानी-मानी हेरिरहनुहुन्थ्यो र बेलाबेला 'लु भएन' भन्दै कराउनु पनि हुन्थ्यो।

आमा आफैं दुई विषयमा स्नातकोत्तर गर्नुभएकी हुनुहुन्थ्यो। गीत गाउने, बाजा बजाउने, कविता लेख्ने, सिलाइ-बुनाइ गर्ने र राम्रा-राम्रा साहित्यिक किताब पढ्ने गर्नुहुन्थ्यो। आमाबाट हामीले झगडा नगर्ने, ठूलो आवाजमा नबोल्ने, हिँड्दा जमिन थर्काउँदै नहिँड्ने, नरिसाउने र अर्काका कुरा नगर्ने बानी सिक्यौं। एउटा अनौठो अनुशासनले भरिएको घर थियो त्यो। कसैलाई नकराइ, नहप्काइ नै आफैं अनशासित हुन जान्नुपर्ने वातावरण कसरी बनेको थियो होला !

आज पनि म यो कुरा सम्झेर घोत्लिरहन्छु- डा. बाले हामी बालकलाई पनि किन त्यति महत्व दिएर आफू सरहकै जस्तो गरी कुरा गर्नुहुन्थ्यो होला। उहाँले त्यस्तो महत्व दिएको थाहा भएपछि हामी झन् जिम्मेदारी महसुस गथ्र्यौं। हामीलाई उहाँसँग डर त लाग्थ्यो तर सुरक्षाको पनि त्यत्ति नै भर थियो।

त्यसैले जे कुरा पनि हामी नढाँटीकन सुनाउँथ्यौं। कामै बिगारेर आएको भए पनि अरूले लगेर सुनाउनुभन्दा पहिल्यै हामी आफैं सुनाउथ्यौं। उहाँलाई सुनाइसकेपछि अब सुरक्षित भइयो भनेर ढुक्क लाग्थ्यो र वास्तवमा सुरक्षित हुन्थ्यौं पनि। गल्ती स्वीकार गरेर त्यसैबेला 'अब फेरि यस्तो गर्दैनौं' पनि भन्थ्यौं। हामीलाई त्यसो गर्ने आँट र शक्ति पनि उहाँले नै भरिदिनुभएको रहेछ तर त्यो कहिले कसरी भरियो होला कहिल्यै थाहा पाएनौं।

आमाले हामीलाई पढाउनुहुन्थ्यो र बाले बेलाबेला सोध्नुहुन्थ्यो। उहाँले सोध्न नभ्याए पनि कुन बेला सोध्नु हुने हो भन्ने डरले सधैं तयार अवस्थामा हुन्थ्यौं। जतिजति हुर्कंदै गयौं हामीले पढ्नुपर्ने किताबहरू पनि फेरिँदै गए। हामी तिलस्मी साहित्य पढ्न लाग्यौं। हाम्रा लागि ती किताब बाले नै मगाइसक्नु हुँदोरहेछ।
धेरैजसो किताब त सञ्जीवले पढेर मलाई कथामात्र सुनाउँथे। उनले सुनाएकै भरमा म पनि ती कुराहरूको ज्ञानी भएको जस्तो अनुभव गर्थें।त्यो घरको सञ्जीव एकमात्र सन्तान। अनि कसो-कसो म उनको साथी हुन पुगेको र छोराको मिल्ने साथीको रूपमा मलाई उहाँहरूले स्वीकार गर्नुभएको थियो। मेरो प्रायः सबै समय सञ्जीवसँगै बित्थ्यो।

सञ्जीवको पढाइ अत्यन्त तेज थियो। उनी प्रायः हरेक वर्ष स्कुल प्रथम हुन्थे र ६० वटा एक-एकका नोटको माला लगाउन पाउँथे। कुनै वर्ष स्कुल सेकेन्ड भएर अर्कैले त्यो माला लगायो भने उनलाई भन्दा पनि मलाई धेरै पीर पथ्र्यो। मलाई यस्तो लाग्थ्यो, कतै मेरो संगतले गर्दा उनको पढाइ बिग्रिएको हो कि। तर, त्यस्तो हुँदा पनि हामीले जुन डर राखेका हुन्थ्यौं डा. बाले त्यस्तो नराम्रो कहिल्यै भन्नुहुन्नथ्यो बरु के कारणले योपल्ट त्यस्तो भयो, के समस्या छ भनेर सोध्नुहुन्थ्यो र अर्कोपल्टको निम्ति राम्रो गर्न प्रोत्साहित गर्नुहुन्थ्यो।

मलाई लाग्छ डा. बा शरीरको मात्र होइन मनको पनि डाक्टर हो। एउटा बालकलाई कसरी हुर्काउनुपर्छ भन्ने कुरा उहाँबाटै मैले पनि सिकेछु। आज गर्व लाग्छ, मेरा छोराछोरीहरूले पनि थाहै नपाई अनुशासनको संसार देखेछन्। सञ्जीव त जन्मैले प्रतिभाशाली हुन्। मैलेचाहिँ उनको संगतले केही सिक्न पाएको हुँ तर हामी दुवैलाई यस्तो बनाएको हो डा.बा र आमा महेश्वरीदेवीको मायालु गोडमेलले।

आज ८२ वर्षको उमेरमा पनि एक धिरोदात्त नायकको रूपमा देख्छु म डा. बालाई। मेरो जीवनका विभिन्न कालमा विभिन्न मानिसहरू आए प्रभाव पार्न। धेरैका सहयोग र प्रभावहरूले बनेको मानिस हुँ म। मेरो आजको परिचयसँग थुप्रैको माया र सद्भाव मिसिएको छ। म जे छु त्यो म आफैं एक्लैबाट बनेको हुइनँ। सम्भावनाहरू बोकेको म गिलो माटोलाई आकार दिन अनेकौं हत्केलाका रेखा र चक्रहरू प्रयोग भएका छन्। आज देखिइरहेको म एक्लैको अनुहारले मात्र होइन। तर, यो कुरा गर्वका साथ भन्न सक्छु यदि यो सुन्दर र बलियो मूर्ति बन्न सकेको छ भने त्यो पहिलोपल्टको माटो मुच्छ्ने हात चाहिँ डा. बाकै थिए।

जब उहाँले जीवनको ७७ वर्षको उमेरमा आफ्नो जीवनको ५० वर्ष दुर्गम गाउँमा जनताको स्वास्थ्य सेवा गरेर बिताई अवकाश लिएर काठमाडौं आउनु भो र विगत पाँच वर्षदेखि अलजाइमर भएकी पत्नीको सेवामा जुट्नु भो अनि म उहाँको फेरि एकान्तको साथी हुन पाएँ। त्यसो त झापामा हुँदा पनि मेरो धेरै समय उहाँसँग नै बित्थ्यो। हामी बालक हुँदा त साथीसरह कुरा गर्नुहुने उहाँको, म बालिग भएपछि झन् घनिष्ठ साथीजस्तो भएको थिएँ। सञ्जीव कहिले विदेश कहिले राजधानीतिर हुँदामै डा. बाको एकान्तको साथी हुन्थेँ।

सधैं एकैनासको काममा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म एउटै कुर्सीमा बसेर सयौं बिरामीको जाँच र उपचार गरेको देखेर म छक्क पर्थें। कति खट्न सकेको होला यी बूढा मान्छे जस्तो पनि लाग्थ्यो। केहीपल्ट मैले भनेँ पनि- अब त अवकाश लिए पनि हुन्छ नि बुबा। तर, उहाँ भन्नुहुन्थ्यो- 'मानिसले आफ्नो कामबाट कहिल्यै हतास र निरास हुनुहुन्न। आफ्नो योग्यता र क्षमतालाई निष्क्रिय पार्नुहुन्न।

शरीरले साथ दिएसम्म आफूले गरिल्याएको काम छोड्नुहुन्न। आफ्नै कर्मले हामीलाई आशीर्वाद दिएको हुन्छ। मानिसले कहिल्यै पनि आफ्नो गुण र क्षमताको अहम् गर्नुहुन्न। ती जे हामीले पाएका छौं, ती हाम्रो कर्मका परिणाम हुन्। अहंकार नै मानिसको दुःखको कारण हो। अहंकारले सबै असल कर्मलाई नष्ट गर्छ।
तिमीहरू जीवनमा जे-जति सफल भए पनि कहिल्यै अहंकार नगर्नु। अहंकार र निरासा दुवै मानिसका शत्रु हुन्। तँ अहिले जे छस् त्यो तँ आफ्नै कारणले मात्र होइनस्। तँलाई यत्तिको पार्न परिवार, समाज र आफन्तजनको ठूलो लगानी भएको हुन्छ। आफूले सक्दासक्दै र गर्दागर्दैको काम छोड्यो भने दुःखको सुरुवात त्यहीँबाट हुन्छ। आफ्नो कर्म छोडेपछि मानिस इन्भ्यालिड हुन्छ। त्यस्तो मान्छेको समाजले पनि इज्जत गर्दैन।'

उहाँको बोलीमा मैले कहिल्यै कुनै मेडिकल डाक्टरको भाषा सुनिनँ। सधैं दार्शनिकजस्तो लाग्थ्यो। एक्लै भएको बेला पनि नबुझिनेगरी केही गुनगुनाइरहेको सुनिन्थ्यो। कर्मप्रतिको निष्ठा र अहंकारको त्याग उहाँका महानवाणी थिए हामीलाई। अचेल पनि बेलाबेला भनिरहनुहुन्छ- तिमीहरू ठूला लेखक भएका छौ। नाम पनि कमाएका छौ।

कतै तिमीहरूभित्र अहंकार त पलाएको छैन ! साँच्चै नै मलाई कुनै-कुनै बेला मनमा केही अहंकार हुर्केर आउँदै गरेको जस्तो अनुभव हुन्छ अनि तत्कालै डा. बाको अनुहारले सतर्क गराएजस्तो लाग्छ। आज पनि जब सञ्जीव र अर्चना कुनै विशेष कार्यक्रममा अलिक लामो यात्रामा निस्कन लाग्छन् त्यसबेला उनीहरूको शिरमा हात राखेर शुभयात्राको आशीर्वाद दिँदै गर्दा पहिलो वाक्य नै त्यही हुन्छ- अहंकार मनमा आउन नदिनु। सफल भएर फर्किनु।

२०१७ सालमा कोलम्बो प्लानअन्तर्गत भारतबाट एमबीबीएस गरेका एक मेडिकल डाक्टरमा यो दाशर्निकता कताबाट आयो होला भन्ने मलाई लागिरहन्थ्यो। त्यसो त घरभरि हिन्दी, अंग्रेजी र संस्कृतका ठूलाठूला किताबहरू थिए। पछि तिनै किताबका थाकहरूबाट हामीले रजनिश, साईबाबा, विवेकानन्द, महेश योगी, यूजी कृष्णमूर्ति, नारायणदत्त श्रीमाली, आदिका किताबहरू पढेका थियौं। अंग्रेजी र हिन्दी साहित्यका किताबहरू पनि घरभरि थिए। राजनीतिसँग सम्बन्धित किताबहरू पनि थिए होलान् तर तीचाहिँ हेरिएन।

डा. शंकरप्रसाद उप्रेती, उहाँको पूरा नाम भए पनि मानिसले 'शंखर डाग्डर' भन्थे। यो नाम यति लोकप्रिय थियो कि मानिसहरू कुनै दिन यी डाक्टरले पनि यो ठाउँ छोड्लान भनेर कल्पना पनि गर्न सक्दैनथे। २०२६ सालको झापा जहाँ भर्खरै महेन्द्र राजमार्गको लागि माटो पुर्ने काममात्र हुँदै थियो। त्यस्तो बेलामा शनिश्चरेजस्तो गाउँलाई उहाँले आफ्नो सेवाको क्षेत्र रोज्नुभएको थियो। आजभन्दा ५५ वर्षअघि एमबीबीएस गरेको एक डाक्टरले चाहेको भए यो देशमा के गर्न सक्दैनथे होला ! तर आफूभित्र एक साधु मन बोकेर कर्मक्षेत्रमा निस्केका उहाँले जीवनलाई कहिल्यै अवमूल्यन गर्नुभएन। 


उहाँले सामान्यतया गरिब बिरामीहरूलाई कहिल्यै जाँच शुल्क लिनु भएन। बरु बिरामी छोराछोरी लिएर रुँदै आएका कति मानिसलाई उल्टै निःशुल्क औषधि दिने गर्नुहुन्थ्यो। मानिसहरू कुरा गर्थे- शंखर डाग्डर भगवान् हुन्। 

मेची अञ्चलका सबै जिल्लाहरू र कोसीको मोरङसम्मका बिरामीहरू शनिश्चरे पुग्थे। डा.बाका कारणले शनिश्चरे एक मेडिकल पर्यटनका रूपमा परिणत भएको थियो। एक सामान्य एमबीबीएस भएर पनि उहाँले नगर्ने सेवा कुनै थिएन। प्रसूति, हाडजोर्नी, दाँतदेखि लिएर उपचारका लागि आउने कुनै बिरामी पनि बिनाउपचार फर्किदैनथे। उहाँ भन्नुहुन्छ- आफ्नो सेवाकालभरिमा करिब ३८ हजार बच्चाहरू उहाँको क्लिनिकमा जन्मे होलान्।

सबैभन्दा महत्वपूर्ण कुरा त के थियो भने उहाँले सामान्यतया गरिब बिरामीहरूलाई कहिल्यै जाँच शुल्क लिनु भएन। बरु बिरामी छोराछोरी लिएर रुँदै आएका कति मानिसलाई उल्टै निःशुल्क औषधि दिने गर्नुहुन्थ्यो। मानिसहरू कुरा गर्थे- शंखर डाग्डर भगवान् हुन्। जे होस् पैसा नभएकै कारणले कुनै मानिस उहाँको क्लिनिकबाट रुँदै कहिल्यै फर्किएन।

डा. बाको व्यस्त जीवन देखेर हामीलाई त्यो पेसादेखि दिक्क पनि लाग्थ्यो। मलाई लाग्छ, सेवाकालको त्यो ५० वर्षमा सायदै कुनै रात उहाँले पूरा निदाउन पाउनुभयो। आधा रातमा पनि मानिस बाहिर आएर रुन थाल्थे। आमा उठेर पानी तताउन थाल्नुहुन्थ्यो र बा बिरामी जाँच्न। कहिलेकाहीँ आफैं बिरामी हुँदासमेत आराम गर्न पाउनुहुन्नथ्यो। कतिपटक त बिरामी भएपछि आराममात्र गर्न पनि उहाँ काठमाडौं जानुहुन्थ्यो। जब डाक्टर नै बिरामी भएर काठमाडौं गए भन्ने मानिसले सुन्थे, एक प्रकारको मनोवैज्ञानिक त्रास फैलिन्थ्यो गाउँमा। मानिसहरू बजारतिर कुरा गर्थे- डाक्टर छैनन् है, घरमा कोही बिरामी होलान् नि विचार गर्नु।

भद्रपुरमा मेची अस्पताल बनेपछि पनि उत्तरी भेकका मानिसहरू उपचारको लागि भद्रपुर जाँदैनथे। सरकारी अस्पतालको लापर्बाहीका कारण दुःख पाएका मानिस फेरि पनि गुनासो बोकेर शनिश्चरे नै आइपुग्थे। उहाँको लोकप्रियता केवल स्वास्थ्य क्षेत्रमा मात्र थिएन। धार्मिक, बौद्धिक र दयालु उहाँमा राजनीतिक चेतना पनि उत्तिकै प्रखर थियो। उहाँ खुलेरै प्रजातन्त्रको पक्षमा बहस गर्नुहुन्थ्यो।

आफूलाई बीपीको अनुयायीको रूपमा मान्दै देशमा हुने हरेक प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रूपमा भाग लिनुहुन्थ्यो। झापामा कुनै पनि आन्दोलन सुरु हुनासाथै प्रशासनले उहाँ र सीके प्रसाईंलाई घरमै नजरबन्द गथ्र्यो। तर, उहाँ एक चिकित्सक भएकोले मानिसलाई उपचारको लागि जानबाट रोक्न सक्दैनथ्यो। यसै पनि उहाँ सधैं आफ्ने क्लिनिकमा बसिबसी राजनीति गर्ने हुनाले प्रशासनलाई पनि सजिलो थिएन।

२०३६ सालको जनमतसंग्रह र त्यसपछिका हरेक आन्दोलनमा डा. शंकरको राजनीतिक योगदानको बेग्लै महत्व छ। आफ्नो व्यक्तिगत कुनै स्वार्थ नभएकाले उहाँलाई आफ्ना कुरा प्रस्टसँग राख्न कसैसँग धकाउनुपर्ने थिएन। त्यसैले उहाँलाई एक खरो मान्छेको रूपमा सबैले सुन्थे र मान्थे पनि। राजनीतिक आरोपमा प्रहरीले समातिहाले पनि जन दबाबका कारण तुरुन्तै रिहा गर्नुपथ्र्यो। कसै माथि कुनै पूर्वाग्रह नलिने हुनाले उहाँको सबै विचार बोक्नेहरूसँग मित्रता थियो। पञ्चहरू पनि उहाँसँग सल्लाह लिन आइरहन्थे। २०३६ सालपछि त धेरै पञ्चहरू उहाँकै संगतले प्रजातन्त्रवादी भएका थिए। हरेक राजनीतिक आन्दोलनको लागि एक स्थायी चन्दादाताको रूपमा उहाँको उपस्थिति देखिन्थ्यो।

प्रजातन्त्र स्थापनापछि उहाँ ६ वर्षको लागि राष्ट्रियसभाको सदस्यसमेत हुनुभो। त्यसबेला उहाँले संसद्मा बोलेका विचार निकै चर्चित थिए। नेपाली कांग्रेसको बहुमतको सरकार बनेपछि जुन ढंगले देश चल्नुपथ्र्यो, त्यसरी नचलेको र भ्रष्टाचारमा मन्त्री र नेताहरू लागेपछि त्यसको विरोधमा खुलेर निस्कनुभयो। त्यसैको कारणले उहाँको गिरिजाप्रसाद कोइरालासँग मतभेद बढेको कुरा आफ्नो जीवनीमा उल्लेख गर्नुभएको छ। सबैभन्दा रोचक कुरा त अझ के थियो भने संसद् नचलेको बेला उहाँ गाउँ फर्किएर फेरि बिरामीलाई सेवा गर्न थाल्नुहुन्थ्यो।

जब उहाँले साँच्चै नै आफ्नो पेसा वा सेवाबाट अवकाश लिनुभयो र काठमाडौं आउनुभयो अनि उहाँसँग अब प्रशस्त समय थियो। म प्रायः हप्तामा एकपल्ट उहाँलाई भेट्न जान्थें। अल्जाइमरले ढल्नुभएकी आमाको पूर्णकालिक सेवामा हुनुहुन्थ्यो उहाँ। आमाको त्यो अवस्थासँग जुधिरहनुभएको उहाँलाई देखेर म सधैं भावुक हुन्थेँ। जीवनभरि अरुको रोगसँग लडेर अवकाश लिएपछि अब आफ्नै पत्नीले पनि नचिनिने हुनुपरेको थियो उहाँले।

यसैबेला उहाँले मसँग मन खोलेर जीवनका अनेकौं उतार चढावहरूका कथा सुनाउन थाल्नुभयो। उहाँका जीवनमा पनि त्यस्ता कथा होलान् भन्ने मैले त कल्पना पनि गरेको थिइनँ। मेरा आमा-बुबाको दयनीय आर्थिक गरिबीको परिवेशमा हुर्किँदै गरेको म, जसका लुगा सधैं फाटेका र टालेका हुन्थे। नुहाउने साबुन नभएर पानीले मात्र माडिमाडी नुहाएको मयलले कत्लैकत्ला भएको जीउ बोकेर उहाँहरूको सुकिलो छोरासँग लट्पटिँदै जाँदा कहिल्यै किन नआइज भन्नुभएन। त्यस्तो सम्पन्न घरमा जन्मिएका ती मान्छेले गरिबीको मर्म कसरी बुझेका होलान् भन्ने मलाई लागिरहन्थ्यो।

५० वर्षको उमेर पार गरिसकेपछि बल्ल मैले उहाँका विगत कथाहरू सुन्न पाउन थालेको थिएँ। उहाँ भन्दै जानुहुन्थ्यो, म उहाँको जीवनसँग आफ्नो विगतलाई तुलना गर्दै जान्थें। कसले कल्पना गरेको थियो होला र डाक्टर शंकरले कुनै बेला अर्काको घरमा भाँडा माझेर पढे होलान् र त्यत्ति दुःखले डाक्टर भए होलान्। जब मैले पटकपटक गरेर उहाँका जीवनका अधिकांश कथा सुनेँ अनि बुझेँ उहाँले किन गरिबसँग जाँच शुल्क लिनुहुन्न रहेछ। किन त्यत्तिकै दबाई बाँड्नु हुँदोरहेछ। कत्तिलाई उल्टै बाटो खर्चसमेत दिएर सरकारी अस्पतालमा किन पठाउनु हुँदोरहेछ। र, सबैभन्दा धेरै त यो बुझेँ कि किन उहाँले मलाई आफ्नो छोराको साथी भइरहन दिनुभएछ।

अनि हामीले उहाँलाई ती आफ्ना कथा लेख्न जोड गत्यौं। सुरुमा मान्नुभएको थिएन तर पछि अलिअलि गर्दै लेख्दै जानुभयो र आज हाम्रोमाझ एउटा गर्व गर्न लायकको आत्मकथा छ, जसमा हामी एउटा इमानदार मान्छेको जीवनका पानाहरू पल्टाउनेछौं जसले सधंै अहंकारको विरोध गर्छ। आफूलाई अरूको निम्ति समर्पित गर्नु भन्छ। हाम्रो देशमा त्यस्ता एकजना मानिस पनि छन् जसले आफ्नो सम्पूर्ण जीवन गरिब र असहायहरूको सेवामा समर्पित गरे। अनि ती आमा जो आज हुनुहुन्न जसले डा. शंकर उप्रेतीलाई जनताको हृदयको तारा बनाइदिनुभयो।

आज उहाँ स्वअध्ययनमा हुनुहुन्छ। उहाँले सबै वेदहरू पढिसक्नुभएको छ। अब उहाँ भन्नुहुन्छ- बुझिस् केटा ! भगवान् भनेको ऊ त्यो हो। र, सूर्यतिर चोर औंलो तेस्र्याउनुहुन्छ। उहाँले बुझेको ईश्वर भनेको प्रकृति हो। मैले बुझेको पनि अब त्यही भएको छ।

यदि यो देशले कुनै निष्काम कर्म गर्नेको पनि सम्मान गर्न जान्दछ भने एकपल्ट उसले डाक्टर शंकर उप्रेतीलाई देखोस्। वर्तमान स्वास्थ्यमन्त्री गगन थापाज्यू ! सक्नुहुन्छ भने एकपल्ट डा. शंकर उप्रेतीलाई भेट्नोस्। तपाईंलाई आशीर्वाद लाग्छ।
०००


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.