सय वर्ष बाँच्न माधव घिमिरेका सूत्र

सय वर्ष बाँच्न माधव घिमिरेका सूत्र

राष्ट्रकवि माधवप्रसाद घिमिरेको सानो कायाभित्र के त्यस्तो तत्व छ जसले उनलाई ९८ वर्षको उमेरमा पनि ऊर्जाशील र सिर्जनशील बनाइरहेको छ ?

दुनियाँदारीका नकारात्मकताले नछुन कुन त्यस्तो अप्रतीम तत्वसँग उनले स्थायी प्रीत लगाएका छन् ?

कुन त्यस्तो अचुक जीवनदर्शनले डोत्याएको छ उनलाई जसले शताब्दी छेउको यो उमेरमा पनि 'ऋतम्भरा' महाकाव्यजस्तो दुर्लभ र जीवनकालिक सिर्जनालाई अन्तिम रूप दिँदैछन् उनी नहडबडाई र हतार नगरी ?

यी यस्ता विषय हुन् जसबारे अहिले पनि कविज्यू घन्टौं कुरा गरिरहन सक्छन्। सय वर्ष पुग्नै लागेका यी दुर्लभ सम्पदासँग मैले पछिल्लो भेटमा उनको जीवनका रहस्य खोल्न आग्रह गरेँ जसलाई उनले खुसीसाथ स्वीकार गरे।

उनले तीनवटा विशेष शब्द सुनाए जसका आधारमा उनको जीवन अडेको छ- नाद, ज्योत र अमृत।

भन्न थाले, '१६ वर्षको उमेरमा एउटा लययोग साधना गर्ने मान्छेसँग मेरो संगत भयो। उनीसँग अहिंसा, ब्रह्मचर्य, अपरिग्रहको अभ्यास गरेँ। झूटो बोल्नु हुँदैन भनेर सतर्क नै भएर हिँड्थेँ। मासु पनि खाएँ तर काटमार गरेर अर्कालाई दुःख दिइनँ। ती मान्छेले लययोगको साधना गराए मलाई। लययोगमा तीन चिज हुन्छ- नाद, ज्योत र अमृत।'

सिर्जनशीलताका यी धरोहरको जीवन नाद, ज्योत र अमृतमा अडेको छ भनेपछि यसको थप व्याख्या आवश्यक थियो।

'तपाईंको भित्रबाट लगातार निस्कने आवाज हो- नाद। दिव्यनाद। भगवान्सँग संवाद। तपाईं चुप लागेर बस्नुस् त, त्यो नाद सुनिन्छ। अभ्यासले खुल्छ त्यो। त्यसपछि त्यसकै आनन्दमा लगातार बसिरहन सकिन्छ।

अर्को ज्योत। ज्योति। उज्यालो। भगवान्को रूपमा मूर्तिलाई हेरेजस्तो। त्यसलाई हेर्ने अभ्यास गर्नुपर्छ। टाढा पनि होइन, बिल्कुल नजिक पनि होइन। बीचमा।

फेरि दोहोत्याउँछु। टाढा पनि होइन, एकदम नजिक पनि होइन। बीचमा।

तेस्रो अपरम्पार शान्ति, अमृत भएजस्तो। शीतल, जिब्रो रसाउने, त्यस्तो आनन्द। अमृतपान।'

त्यो उमेरदेखि अहिलेसम्म कविज्यूको साथबाट नाद, ज्योत र अमृतपानको त्यो आनन्द छुटेको छैन। र, त्यही आनन्दले कविज्यूको जीवन निर्माण गरेको छ। किशोरवयको त्यो बेला आधा रातमा उनको नाद खुल्यो जुन अहिलेसम्म पनि निरन्तर छ। यही नाद, ज्योत र अमृत नै उनको सिर्जनशील जीवनको आधार हो।

त्यसबाहेक शरीरधर्मका लागि आसन, प्राणायाम।

उनले शिवपुरी बाबालाई सम्झँदै भने, 'शरीर, मन र आत्मा यी तीनलाई अनुशासित राख्नुपर्छ। जीउ एकदमै फ्याँकेर, गाँजा खाएर हुँदैन। शरीर पनि ताजा, मन पनि ताजा, चिन्ता लिएर हुँदैन। अनि भगवान्मा आस्था। यी तीनवटा चिज।'

त्यसपछि उनले शिवपुरी बाबाकै प्रसंग थपे, 'भारतका राष्ट्रपति सर्वपल्ली राधाकृष्णन् उपराष्ट्रपति भएका बेला नेपाल आउँदा एअरपोर्टबाट सीधै शिवपुरी आश्रम गए। त्यहाँ गएर उनले शिवपुरी बाबासँग तपाईंको सिद्धान्त के हो भन्दा मेरो तीन कुरा छ भन्ने जवाफ पाए- शरीर, मन र आत्माको अनुशासन।

त्यसलाई राधाकृष्णन्ले १५ मिनेट लगाएर व्याख्या गरे।' शरीर, मन र आत्माको यही अनुशासन कविज्यूले आफ्नो जीवनमा उतारेका छन्।

उनी थोरै जानेको, धेरै नजानेको मनस्थितिमा बाँच्छन् सधैं। रहस्यहरू नै जीवनका आनन्द हुन् भन्छन्। रहस्यमै हराइरहन मन पराउँछन्।

'हामी जीवनमै जिइरहेका छौं तर जीवन के हो, भन्न सक्दैनौं। माछा समुद्रभित्र जिउँछ तर समुद्र के हो उसलाई थाहा छैन। जीवन स्वयं नै हामी हौं, हाम्रो अस्तित्व नै जीवन हो।'

जटिल तर्कहरू छैनन् उनीसँग। मै जान्दछु भन्ने अहम् छैन। आफूलाई केन्द्रमा राख्दैनन् उनी। कुनै अद्भुत स्रोतबाट निस्केको वरदान भन्ठान्छन् उनी जीवनलाई, भगवान्को वरदान।

उनले 'राजेश्वरी' खण्डकाव्यमा भनेकै छन्, 'जीवन दुर्लभ वरदान हो, यसलाई हामीले सदुपयोग गत्यौं भने भगवान्को वरदान हो, धेरै राम्रो गर्छ व्यक्ति र समाजलाई। दुरुपयोग गत्यौं भनेदेखि आफूलाई पनि फाइदा गर्दैन, समाजलाई पनि फाइदा गर्दैन।'

त्यस्तै, उनको 'चैतवैशाख' भन्ने कवितासंग्रहले अस्तित्व र जीवनका धेरै रहस्यबाट पर्दा उठाएको छ। विश्व र जीवन नियममा चलेको छ। त्यही नियम जीवनको एउटा अद्भुत रहस्य हो जसलाई कविज्यूले आफ्नो कवितामा प्रकट गरेका छन्।

'पोहोरको जो वसन्त ऋतु हो, अहिले पनि ठीक त्यही समयमा आउँछ घुमिफिरी। त्यो सत्य हो। त्यहाँ आकस्मिकताको कुनै कुरा छैन, घुमिफिरी त्यही बेला आउँछ।

प्रत्येक दिन बदलिन्छ। ऋतु बदलिन्छ। महिना बदलिन्छ। रातदिन बदलिन्छ। घडीपला बदलिन्छ। जीवनमा त्यो भित्री जो जे तत्व छ, त्यो सास फेर्दा पनि बदलिन्छ।'

परिवर्तनको शाश्वतता उनले गहिरोसँग बुझेका छन्। हरेक पल भइरहन्छ परिवर्तन। हरेक क्षण प्रकृति, जीवन र अस्तित्वमा आउने परिवर्तन उनले आत्मसात् गरेका छन्।

'फूल यो पलमा जस्तो थियो, अर्को पलमा अर्कै हुन्छ। परिवर्तन नभएको नभए विनाश पनि हुने थिएन। आफूभित्रको जीवनको वृत्तमा घुम्नुचाहिँ सत्य हो। त्यो अब बदलिँदैन। तर, त्यसको भित्र बदलिइरहेको छ, प्रत्येक पल।'

स्थीर सत्य र त्यो सत्यलाई घेरा हालेर घुमिरहने चलायमान सत्य। स्थीरता र अस्थीरता। के छ जो स्थीर छ ? के छ जो अस्थीर छ ? उनले आफ्नो जीवनमा अनुभूति गरेका यिनै दर्शनहरू 'ऋतम्भरा' महाकाव्यमा व्यक्त गरेका छन्।

'एउटा स्थिर सत्य हुन्छ, सृष्टिकर्ताको सत्य। त्यो कहिले बदलिँदैन। त्यो हाम्रो जीवनको आधार हो। जीवनको आनन्द। जीवनको चेतना। त्यसका अरू आयाम-घडी, पला, कल्प बदलिन्छ। एउटा कल्प सिद्धिएर अर्को कल्प आउँछन्। ब्रह्माण्डमा कति निहारिका छन्, कति सूर्य छन्। कयौं तारा छन्। तिनीहरू निश्चित वृत्तमा घुमिरहेका छन्। अनियमित छैनन्, ठीकठीक।'

जीवन र यसका रहस्यहरू मसिनोसँग बुझेका उनी त्यो बुझाउन खप्पिस छन्। 'फेरि कुनै ताराबाट टुक्राहरू झर्छन् नि, त्यो पनि नियम हो। त्यो एउटा डल्लो जति वर्ष बाँच्ने हो, त्यति पुगेपछि त्यो एउटा टुक्रो त झर्ने भइहाल्यो। हाम्रो दाँत झरेजस्तो, दाँत झर्नु पनि नियम हो, आन्तरिक नियम।'

वाह ! कविज्यूको ज्ञानको गहिराइ।
परिवर्तनको सत्य उनले भाका हालेरै सुनाए: 

आई कहिल्यै पनि नसकिने चैतवैशाख मेरा
लाई कहिल्यै पनि नसकिने प्रीति नौलाख मेरा

फेरि व्याख्या गर्न थाले आफ्नो त्यही कविता:

'जीवन शाश्वत छ, प्रकृति शाश्वत छ तर परिवर्तनको नियम छ यसमा। त्यसमा सत्य भनौं वा परमेश्वर- त्यो स्थीर सत्य छ जो कहिल्यै पनि बदलिँदैन। त्यही स्थीर सत्य नै ईश्वर हो।'

'मान्छेमा पनि परिवर्तन, प्रकृतिमा पनि परिवर्तन, जीवनमा पनि परिवर्तन। सारा चिजमा परिवर्तन। यो परिवर्तनमा अडिएको संसार हो। यसलाई ऋत भन्छन्। यही ऋतलाई लिएर मैले 'ऋतम्भरा' काव्य सिर्जना गरेको हुँ।'

'एउटा स्थिर सत्य छ, अर्को चलायमान सत्य। अहिले मैले जे महाकाव्य लेखिरहेको छु, त्यसले दुवै सत्यलाई उजागर गर्छ। दुवै सत्यको कुरा गर्छ। स्थीर सत्यतिर हाम्रो चलायमान सत्यको जुन गति छ, त्यो परिवर्तन हो। संसार त्यही नियममा चलेको छ, अन्य नियम छैन। स्थीर सत्यको अनित्य स्वरूप हो जीवन। सत्यको चलायमान रूप। अटल नियममा जीवन र प्रकृति चलेको हुन्छ।'

कविज्यूको जीवनज्ञान स्पष्ट छ। मैले ऋतम्भरा महाकाव्यबारे अझ जान्न चाहेँ। अहिलेसम्म नलेखेको के छ जो उनले ऋतम्भरा महाकाव्यमा लेखेका छन् ?

'उमेर बढ्दै जानु पनि परिवर्तन हो। तपाईं जन्मेको दिनदेखि यहाँसम्म आउनुभयो। तपाईंलाई थाहा छैन, म यो दिन यसरी उक्लेँ भनेर। जन्मोत्सव मनाएको दिन पनि थाहा हुन्न। यति सामान्य गतिले जीवन अगाडि बढिरहेको छ। यसरी गइरहेको छ जीवन, अरू रूखप्राणीलाई दिएको गति अर्को किसिमको होला।

हजारौं वर्ष बाँच्ने एउटा रूखको गति अर्को होला। ऋतको यति खेल मैले ऋतम्भरा महाकाव्यमा लेखेको छु। यही ऋतको व्याख्या गरेको छु।'

राष्ट्रकविका रचनाका आयामहरू अद्भुत छन्। एकपटक पढ्दा युवकयुवतीको प्रेमजस्तो लाग्छ, फेरि पढ्दा ईश्वरप्रेमबारे लेखेजस्तो। फेरि उनी तिनै शब्दमा अलौकिक रहस्यको कुरा गर्छन्। उनले आफ्नै कविताको दुई हरफ सुनाए:

आजभोलि देख्दिनँ म तिनी कता गइन् ?
राति त्यत्तै सिरानी होस्, तिनी जता गइन्

आफ्नै कविताको व्याख्या गर्न थाले। 'त्यो एउटी ठिटीको कथामात्र होइन, परमेश्वरको झिल्का पनि हो। त्यो देखाउन मैले यो लेखेको हुँ।'
कविज्यूले कविताका थप पंक्तिहरू सुनाए :

मेरो वंशी त्यत्तै बजोस्, तिनी जता गइन्

मेरो झ्याल त्यत्तै खुलोस् तिनी जता गइन्

मेरो हंश त्यत्तै उडोस्, तिनी जता गइन्
आफ्नै कविताको व्याख्या गरे त्यसपछि, 'आखिर चरमोत्कर्षमा गएर ईश्वरीय प्रेमको कुरा आयो। त्यो सामान्य प्रेम ईश्वरीय प्रेममा बदलियो।'
फेरि उनले अर्को कवितांश सुनाए :

आज राति कोठाभित्र जून एक मुठी
किन पस्यो, किन बस्यो, किन गयो उठी

लगत्तै त्यसको व्याख्या, 'त्यो एउटा प्रेमिकाको झलक पनि होला तर परमेश्वरको झलकको कुरा मैले उठाएको हुँ।'

उनको कवितामा ईश्वरीय तत्व गहन रूपले आएको छ। ईश्वर र उनको सिर्जनशीलतालाई उनले धेरैजसो कविताको केन्द्रमा राखेका छन्।

तिनी बस्छिन् उज्यालोमा धरतीको पारि
अँध्यारोमा गर्न आउँछिन् मेरो रखबारी

मेरा परेलामा तिनका म्वाइँका छन् चिह्न
घुम्टो खोली किन्तु तिनको मुख हेर्नु हुन्न

कस्तो अद्भुत रहस्य? खुलेपछि त सबै रहस्य सकिए। रहस्यमै राम्रो हुन्छ, ईश्वर र उनको सृष्टिकथा।

उनले अझै अथ्र्र्याए, फलानोजस्तो रहेछ भने त त्यसको कुनै मूल्य भएन। कहिल्यै नसकिने चिज भयो भने पो मजा हुन्छ त। पशुपतिनाथ आज सपनामा आए, वरदान दिए भन्दा कुनै रोमाञ्चकता भएन। त्यति सीमित भएर आउने? असीमितता पो ईश्वरको रहस्य हो। जीवनको महत्व पनि त्यही हो।'

हो त, अलिकति बुझेको, धेरै नबुझेजस्तो। बुझ्न बाँकी।उनले अझै प्रस्ट्याए, 'कस्तो विचित्र भने खुर्सानीको स्वाद के हो?रहस्य छ नि। यही हो भनेर कसरी भन्न सकिन्छ ?खुर्सानी चपाएर यही हो भन्न सकिन्छ तर तपाईंले भनेर बुझ्दै बुझ्नुहुन्न।'

राष्ट्रकविका रचनाका आयामहरु अदंभूत छन्। एक पटक पढ्दा युवकयुवतीको प्रेमजस्तो लाग्छ,फेरि पढ्दा ईश्‍वरप्रेमबारे लेखेजस्तो। फेरि उनी तिनै शब्दमा अलौकिक रहस्यको कुरा गर्दछन्। 

त्यही भएर अनुभूति नै सबैभन्दा ठूलो ज्ञान हो। उनले संवादका क्रममा 'स्वानुभूति' शब्दलाई निकै जोड दिए।

'स्वानुभूति, ईश्वरको अनुभूति। आफूले जे अनुभूति गरिएको छ, त्यहीमात्र सत्य हो। कसैले राम, कसैले गड, कसैले अल्लाह। स्वानुभूति नै सबैभन्दा विशेष हो।'

स्वानुभूतिको कुरा गर्दा कविज्यूका चम्किला आँखा झनै चम्किएका थिए। थपे, 'भित्रको अनुभूति। त्यो बेलाको अनुभूति, अरू कुरा मिसिएको अनुभूति होइन। यही विशेष हो।'

अनुभूतिको न कुनै रङ हुन्छ, न कुनै आकार। निरञ्जन, निराकार। स्वानुभूतिको प्रसंगले उत्साहित कविज्यूले पूरै कविता सुनाए:

आजभोलि देख्दिनँ म तिनी कता गइन्

राति त्यत्तै सिरानी होस् तिनी जता गइन्

हिमचुलीमा एउटा घाम बेसी एउटा छाया

देखादेख भको मात्रै नबोलेको माया

मेरो झ्याल त्यतै खुलोस् तिनी जता गइन्

आजभोलि देख्दिनँ म तिनी कता गइन्

यो छायामा आई बसिन् केके मनमा गुनी

बतासले भाँची ल्याउने छहराको ध्वनि

यो छायामा बसिगइन् मनमा केके गुनी

मेरो वंशी त्यत्तै बजोस् उनी जता गइन्

आजभोलि देख्दिनँ म तिनी कता गइन्

तिनी मेरो सम्झनामा रूपमात्र शेष

नाउँ थाहा छैन मलाई जाउँ कुन देश

मेरो हंश त्यत्तै उडोस्, तिनी जता गइन्

आजभोलि देख्दिनँ म तिनी कता गइन्

कस्तो रहस्यवादी? प्रेमको कविता पनि हो यो तर, ईश्वरीय भावनाको प्रकटीकरण।

'सुरुमा प्रेमकै हिसाबले मैले यो कविता रचना गरेको हुँ। नत्र बुझिँदै बुझिँदैन। ईश्वरीय प्रेम भनेको त अत्यन्त व्यापक चिज हो', कविज्यूले प्रस्ट्याए।

एउटा हिन्दीको लाइन भन्छु भन्दै कविज्यू फेरि उत्साहित भए। कविज्यूमा भएको सबै ठूलो गुण नै उत्साह हो, सम्यक उत्साह- न धेरै, न थोरै। जीवनको गाडा गुडाउन आवश्यक सम्यक उत्साह।

देखने वालोँ के लिए दूरका एक सितारा भी काफी है
आँखवालो के लिए इसारा ही काफी है

मझधार मेँ जाने की क्या जरुरत है
डुबने वालोँ के लिएर किनारा ही काफी है

अर्थात्, जीवन बुझ्न धेरै पण्डित्याइँ चाहिन्न। धेरै ज्ञान चाहिन्न। 'अलिकति मात्रले डुबाइहाल्छ। समाधि गर्नेलाई, भक्ति गर्नेलाई किनारा नै काफी हुन्छ', उनले भने।

कविज्यूले फेरि अर्को कविता सुनाए जुन पूरापूर शृंगारिकताको रचना लाग्थ्यो तर वास्तवमा ईश्वरप्रेमको कविता:

आधा रातमा ब्युँझिएछु बायाँ कोल्टो फेरि
जुनलाई जुनै सम्झिई म निदाएँ फेरि

निदरीमा पनि मलाई लागिरह्यो यस्तो
एउटा मान्छे समीपैमा बसिरहे जस्तो

दोस्रो बाजी ब्युँझदा अन्धकार थियो
द्वादशीको शशि अब डाँडापार थियो

बेसीबाट लेकतिर जून जाँदै थियो
धरतिबाट स्वर्गतिर कुन जाँदै थियो

तिनी बस्छिन् उज्यालोमा धरतिको पारि
अँध्यारोमा गर्न आउँछिन् मेरो रखबारी

मेरा परेलामा तिनमा म्वाइँका छन् चिह्न
घुम्टो खोली किन्तु तिनको मुख हेर्नु हुन्न

कविज्यूले भने, 'सामान्य केटाले केटीलाई गर्ने प्रेम पनि एउटै हो। ईश्वरको प्रेम पनि आखिर उही प्रेम हो। भगवान्लाई गर्ने प्रेम पनि त्यही हो। एउटा विशुद्ध भावना। त्यही त हो प्रेम।'

आखिर एउटै पो रहेछ प्रेमीको प्रेम र भक्तको प्रेम !'मेरो जीवनको सारभित्रचाहिँ कुनै आकार नभएको एउटा चिज छ, त्यसैमा अडिया छ। बाहिर व्यवहारमा चाहिँ इमानदारी। मैले सकभर अरूलाई धोका दिएको छैन जीवनमा। सकभर ढाँटेको छैन।'

कविज्यू झन् खुल्दै गए। भने, 'यत्रो जीवनमा ढाँटेको पनि होला, तर मैले अर्कालाई बिगार्छु भन्ने ध्येयले त्यो गत्या होइन। कहिलेकाहीँ मेरो गल्ती पनि भयो होला। तर, म गल्ती नगर्न सचेत हुन्छु।'

सिर्जनशीलता कविज्यूको जीवनको प्रमुख आधार हो, यही आधारले उनलाई यो उचाइ दियो। उनी जीवनको सिर्जनशीलतालाई आफ्नो 'कालीगण्डकी' कवितासँग तुलना गर्छन्।

'जीवन सिर्जनशील हुनुपर्छ, सिर्जना पनि राम्रो गर्नुपर्छ। मेरो कालिगण्डकी कविता पढ्नुहोस्। गतिशील र सिर्जनशील। यति दुइटा चिज हुनुपर्छ जीवनमा। नदी संसारमा धेरै छन् तर शालिग्राम भएको त कालीगण्डकीमात्र हो। त्यो शालिग्राममा के कुँदेको हुन्छ, लहरको केही चिज होला। तर, हामीले त्यसलाई अद्भुत मानेका छौं।

कुनै विष्णु हो, कुनै शिव हो भनेका छौं। ती चिह्न यहाँ अंकित भएका छन्। नदी सधैं सक्रिय रह्यो। रचना सानो भईकन विश्वसिर्जनाको एउटा अद्भुत उदाहरण भयो। सिर्जनाको जटिलता। यो जटिलतामा हामीलाई भगवान्को साक्षात्कार हुन्छ। कालीगण्डकी केवल यही कुरा देखाउन लेखेको हुँ। कालीगण्डकीले कसरी शालिग्राम खिपेकी हुन्? कुन सिर्जनशीलताको त्यहाँ प्रयोग गरिन् उनले?'

मैले कालीगण्डकी कवितालाई यसरी बुझेको रहेनछु जुन भावले कविज्यूले यसको रचना गरेका रहेछन्।ओहो ! कालीगण्डकीको सिर्जनशीलता जीवनमा भयो भने मानवचोला अद्भुत हुँदैन त ?

लामो कुराकानीको अन्त्यमा मैले सोधेँ, 'कविज्यू, तपाईंको शतायु जीवनको सूत्र के हो ? 'शिवपुरी बाबाले सर्वपल्ली राधाकृष्णन्लाई बुझाएजसरी कविज्यूले तीन बुँदामा भने:

सामान्य योगाभ्यास
सिर्जनशीलता
सद्भावना

'यीबाहेक सानो उमेरमा लामो समय आमाको दूध। त्यसपछि गाईभैंसीको दूध। यो पनि मेरो जीवनको आधार हो। अहिले पनि म भोजनको पछाडि बिहानबेलुकै दूधभात खान्छु।'

दिव्यनाद, दिव्यज्योति र दिव्यशान्तिको सतत् अनुभूति कविज्यूको त शतायु जीवनका आधार भई नै हाले !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.