ह्याप्पी सेन्चुरी

 ह्याप्पी सेन्चुरी

फागुन ७ । चार सहिदको बलिदानीको एक दशकपछि देशमा प्रजातन्त्र आएको दिन । क्यालेन्डरका हरेक मितिपछाडि समयले इतिहासको डोब कोर्ने गर्छ । इतिहासका ती डोबहरूमा मानिसका पाइला हुन्छन् । नयाँ पुस्तालाई यो मितिले प्राचीनताको झल्को दिन्छ । प्राचीन प्रतीत हुने यस मितिभन्दा पनि पुराना छन्, माड्साब जसलाई फागुन ७ ले दोहोरो खुसी दिन्छ । पहिलो, आफूले वीरगन्ज मोर्चामा संघर्ष गरेर ल्याएको प्रजातन्त्र स्थापना भएको दिनको खुसियाली । दोस्रो, आफ्नो जन्मदिन । हो, आजभन्दा ठीक ९५ वर्षअघि उनको जन्म भएको थियो । जन्मदिनको लाखलाख शुभकामना- माड्साब ।


माड्साब अर्थात् मदनमणि दीक्षित । दुब्लो ज्यान, अग्लो शरीर र लामो नाक । गोरो अनुहारमा रेखैरेखा भरेर सेतो बर्को ओढी टेबलमा घोप्टो परिरहेका यी सामान्य मानिसको विशिष्टता केलाउन सामान्य चेतले भ्याउँदैन । उनका किताब पढेपछि, उनलाई नजिकबाट चिनेपछि र उनको प्रज्ञाको सान्निध्य महसुस गरेपछि बल्ल थाहा लाग्छ, मदनमणि दीक्षितलाई ‘माड्साब' भन्नु कति जायज छ । आजसम्म कयौं नेपालीले मास्टर भएर काम गरिसके होलान्। माड्साबले पनि वीरगन्जको स्कुलमा (हेड) मास्टर भएर काम गरे । त्योभन्दा ठूलो कुरा, उनले जीवनजस्तो बृहत्तर विषयमै मास्टरिङ गरे, जसकारण हामी अझै पनि उनको सानिध्यमा एउटा जिउँदोजाग्दो र अन्तर्यमा छाप छोड्नसक्ने मास्टरको उपस्थिति महसुस गर्न सक्छौं ।


माड्साबलाई पढ्नु झुसिलकीराबाट ‘पुतली' बन्नु हो, मेटामर्फोसिस हुनु हो । उनी आफैं पनि पटकपटक ‘मेटामर्फोसिस' भइरहन्छन् । सिर्जनाको संसारमा झुसिलकीराबाट पुतली हुनु उनको नित्य स्वभाव हो । एउटा किताबको काम सक्छन् उनी र लेखनको अर्को ध्याउन्नमा तताण समाधिस्त भइहाल्छन् ।

९५ वटा वर्ष ! कम होइन मानिसको जिन्दगीमा । हरेक दिनको अभिलेख राख्ने हो भने सायद एउटा बेग्लै कोठा तयार गर्नुपर्छ बहिखाताका ढड्डाहरू सम्हाल्न । त्यो किन पनि भने माड्साबले कहिल्यै फुर्सदमा समय बिताएका छैनन् । समयको महासागरमा डुबिबसेको वैदिक वाङ्मय र संस्कृति निखन्दा–निखन्दै कति वर्ष बिते, सायद उनले हिसाब गर्न भ्याएका छैनन् । गंगा र सिन्धु नदीका डोबहरूजस्तै कति रेखा बसे उनको अनुहारमा, सायद उनले नियालेर हेर्न भ्याएका छैनन् । उनी त समयको प्रवाहसँगै बस् दौडिरहेछन् ।


हो, उनी समयको प्रवाहसँगै दौडिरहने मानिस हुन् । र, उत्साहलाई उमेरले छेक्दैन भन्ने विचारका जिउँदाजाग्दा साक्षी पनि । उनको रगतमा अहिले पनि ‘हाई करेन्ट' दौडिन्छ । उनीसँग कुनै प्रश्न गर्नुस्, त्यसको धाराप्रवाह उत्तर दिइरहन्छन् । हरेक प्रश्नको जवाफमा सानो पनि सूचना नछुटोस् भन्ने चिन्ता हुन्छ, ‘माड्साब'लाई । ‘अब अर्को प्रश्न' भनेपछि मात्रै रोकिन्छन् ।

वैदिक साहित्य, वैदिक कथा वा पुराना संस्मरणका पोका ‘माड्साब' कुनै डायरी नपल्टाई खुरुखुरु सुनाउँछन्, उमेर-अनुभव, त्यो पनि तिथिमितिसहित । ‘माड्साब'को जोश, उत्साह र स्मरणशक्ति देख्दा विश्वास गर्नै गाह्रो हुन्छ, यी मानिस केही वर्षमै १०० टेक्दैछन् । अझै पनि योजना सुनाउँदैछन्- ‘समीक्षा पत्रिकामा उबेला ‘मेरो देश मेरो संसार' स्तम्भ लेख्थेँ । ०४१ देखि ०५२ सम्म लेखिएका लेखलाई संकलन गरेर किताब छाप्ने सोचेको छु ।' उनका थप योजना छन्, आफ्नी आमा र चन्द्रशमशेरबारे बेग्लाबेग्लै पुस्तक लेख्ने । उमेरको सेन्चुरी हान्न थालेका यिनको योजना सूचीले नै पुष्टि गर्छ, ‘हाई इनर्जी' छ माड्साबसँग ।
०००

मदनमणि दीक्षित नपढ्नु नेपाली वाङ्मयको अधुरो अध्ययन हुनेछ । ऐतिहासिक सन्दर्भ होस् वा कल्पनाको उच्च उडान, दुवैमा उनले सगरमाथा छोएका छन् । पाठकमा उनको प्रभाव कति बलशाली छ भने लेखक कुमार नगरकोटीले माड्साबको रिप्रिन्ट उपन्यास ‘मेरी नीलिमा'मा लेखेको यो ब्र्लबले नै थाहा दिन्छ-

‘ममदीको ‘माधवी'कालमा म फगत एक झुसिलकीरा थिएँ ।
ममदीकै ‘मेरी नीलिमा' पढेपछि म झुसिलकीरा रहिनँ ।
अस्तित्वको साहित्यिक फिलोसफिकल एवं मिस्टिक कसमसमा पुतली बनी उडेँ ।
मेरो नीलिमा ।

थ्याङ्स फर माई मेटामर्फोसिस ।
थ्याङ्स फर दि इटरनल जोयज् !'
वास्तवमै माड्साबलाई पढ्नु झुसिलकीराबाट ‘पुतली' बन्नु हो, मेटामर्फोसिस हुनु हो । र, कहिलेकाहीँ लाग्छ, उनी आफैं पनि पटकपटक ‘मेटामर्फोसिस' भइरहन्छन् । यो उमेरमा पनि उनी हरेक वर्षजसो बजारमा किताब लिएर आइरहेका छन् । सिर्जनाको संसारमा झुसिलकीराबाट पुतली हुनु उनको नित्य स्वभाव हो । एउटा किताबको काम सक्छन् उनी र लेखनको अर्को ध्याउन्नमा तत्क्षण समाधिस्त भइहाल्छन् ।
०००
नियमित जीवनशैली, निरन्तर परि श्रम, अध्ययन र अनुसन्धानले हो सायद, उनी वृद्धावस्थाबाट गुज्रिरहेछन् तर बुढ्यौली भोगेका छैनन् । उनको दैनिकीले नै बताउँछ- उनी कति अथक परि श्रमी छन् । पहिले अनियमित हुने दैनिकी पनि बरु अचेल नियमित भएको छ । माड्साबको ‘शताब्दी वर्ष' नजिकको दैनिकी यस्तो छ ।

-सखारै ४ बजे ब्यूँझिन्छन् । ब्यूँझेपछि एकाध घन्टा के-के सोच्दै बिछ्यौनामै पल्टिरहन्छन् ।
-७ बजे अखबार पढ्छन् ।
-८ बजे लेख्ने, प्रुफ हेर्ने काम भए त्यो गर्छन् ।
-१०ः३० बजे बिहानको खाना खान्छन् । त्यसपछि बिछ्यौनामा पल्टिन्छन् फेरि ।
-१ बजे उठ्छन् र बिहान हेरेको प्रुफ, लेखेको लेख पूरा गर्छन् ।


२०२२ सालदेखि नै सहयोगीलाई डिक्टेट गराएर एकाध घन्टा लेखाउने माड्साब-स्टाइलमा अझैसम्म कुनै परिवर्तन आएको छैन । लेखन, अध्ययन, चिन्तन, र फेरि लेखन । यो प्रक्रिया उनको जीवनको अभिन्न पाटो बनिसकेको छ । भन्छन्, ‘लेखपढ नगरी बाँच्न नसक्ने भइसकेँ, पठन र लेखन मेरा लागि सम्मोहनकारी अम्मल भइसक्यो ।'
०००
आफ्नो जीवनको अतीत बुझ्न कोही आइपुग्यो भने माड्साब जवानीको आरम्भमा आफू कम्युनिस्ट कार्यकर्ता भएको प्रसंग सुनाउन छुटाउँदैनन् । अलिकति दिक्दारीसाथ सम्झिबस्छन् ती समय । लामो समय काम गरेको कम्युनिस्ट पार्टी उनले अन्ततः त्याग गरे । कम्युनिस्ट पार्टीमा जीवनका महत्ववपूर्ण समय गुजारेकोमा हल्का पछुतो पनि छ, उनलाई । ‘१० जनाको परिवार थियो- कत्ति दिनसम्म उसिनेको आलु खाएरै जीवन चलाएँ । कलैयाका सासूससुराले पठाएको दाल–चामलबाट लामो जीवन चलाएँ, त्यस्तो हालत थियो मेरो त्यति बेला', उनी स्मृतिगर्तमा एकछिन हराउँछन् ।

‘कम्युनिस्ट' । यो शब्दले नै उनमा फरक रक्तसञ्चार हुन्थ्यो कुनै बेला । उनलाई आफू कम्युनिस्ट भएको दिनको हेक्का छ । भाइ महेशमणि दीक्षित पहिलेदेखि नै कम्युनिस्ट थिए । २००७ सालको पुसमा एक दिन भाइलाई अस्पतालमा कुर्नुपर्दा राति भाइसँग तीनवटा किताब मागेर पढे । त्यसको भोलिपल्टै उनी कम्युनिस्ट भए । लामो समय सक्रिय भएपछि २०४२ सालमा उनले अन्ततः पार्टी छाडे ।

अर्को घटना छ, जुन उनको स्मृतिदंशमा पटकपटक आइरहन्छ । माड्साब एकजना ‘ठूला' कम्युनिस्ट नेता भेट्न उनको घर गएका रहेछन् । छोराले लेखेको चिठी पढ्दै नेताले चिठीमा अनेकौं दुःख र गुनासो लेखिएको बताए । तत्कालै कुनै कामले ती नेता चिठी त्यहीँ छाडेर अर्को कोठामा गए । मदनमणिलाई त्यो चिठी आफैं पनि पढ्न मन लाग्यो । चिठी पढिसक्दा उनले दुःखको कुरा एक शब्द पनि कतै भेटेनन् । र, त्यो ‘बनावटी' कुराले उनलाई निकै दुःखी बनायो । त्यस घटनापछि कम्युनिस्टप्रति अधिक घृणा बढेर उनले पार्टी छोडे ।
०००
उनको बाँच्ने शैली कुनै खास स्टाइलको छैन । जमानामा चुरोट र रक्सी अत्यधिक खान्थे । अहिले त्यो दुवै लत छुटेको छ- २०/२५ वर्षजति भयो । रक्सी खाएर मोटरसाइकलमा लडेका र घाइते भएका पुराना घटना मितिसहित सुनाउन सक्छन् । चुरोटसँग भने रमाइलो प्रसंग जोडिएको छ ।

०१६ साल भदौ १० गते माड्साब राजा महेन्द्रको दर्शनभेटका लागि पुगेका थिए, ‘नयाँ समाज'का सम्पादक पशुपति पाण्डेको साथमा । दरबारमा कार्यरत मधुसूदन राजभण्डारीले दर्शनभेटको चाँजोपाँजो मिलाएका थिए । १५/२० मिनेटको पर्खाइपछि राजा महेन्द्र आइपुगे । राजाले ड्रअरबाट सुनको बट्टामा दामी चुरोट निकालेर पशुपति र मदनमणितिर तेस्र्याए । पशुपतिले चुरोट सल्काए तर मदनमणि चुरोट लिन निकै बेर अन्कनाए । लिँदै लिएनन् ।

राजाले भने, ‘मदन तिमी त चुरोट खान्छौ, होइन र ? '
मदनमणिले भने, ‘हुन त यो सेवक चेन स्मोकर हो सरकार । तर, सरकारसामु कसरी खानु ? ? ? भो खान्नँ ।' उनले चुरोट खाएनन् ।

मदनमणि यस्ता किस्सा हालिरहन्छन् । रमाइला प्रसंग जोडेर कन्फेस गरिरहन्छन् । जीवनको यति लामो म्याराथन पार गरेपछि किस्साको के कमी ?

खानपिनमा पनि उस्तो सोखिन छैनन् उनी । दुई थोक भने अनिवार्य छ- भात र पानी । तर, भात सँगसँगै पानीको मात्रा पनि घटेको छ । माछा-मासु अहिले पनि खान्छन्, बेलाबेला ।

बिहानै उठेर ४० मिनेटजति एक्सरसाइज गर्छन्- छातीको एक्सरसाइज-ब्रेदिङ । पहिलेपहिले सखारै ४ बजे उठेर मर्निङ वाक गर्थे । उनलाई लाग्छ-त्यही मर्निङ वाकले मेरो आयु लम्बिएको हो कि ? त्यसो त सकारात्मक चिन्तन पनि उनको जीवनको अर्को पाटो हो । भन्छन्, ‘सकारात्मकबाहेक अरु सोच्दिनँ ।' सकारात्मक चिन्तनले उनको जीवनमा प्रशस्तै टर्निङ प्वाइन्ट दिएको छ । बुँदामा नै बनाए-

१. सकारात्मक सोचेरै वीरगन्जको त्रिजुद्ध हाइस्कुलबाट राजीनामा दिएँ ।
२. सकारात्मक सोचेरै कम्युनिस्ट पार्टीबाट राजीनामा दिएँ ।
०००
‘माधवी' उनको जीवनको सबैभन्दा ठूलो टर्निङ प्वाइन्ट हो । त्यो वैदिक कथा भएको उपन्यास लेख्नुपूर्व मदनमणि सम्पादक थिए, त्यो बेलाको चर्चित पत्रिका ‘समीक्षा'का । पत्रिका थियो आगोजस्तो- प्रशासनलाई पोलिरहने । प्रशासनले स्पष्टीकरण सोध्ने र जवाफ लेखिरहने त नियमित प्रक्रिया नै थियो । यही प्रक्रियाबीचबाट जन्मेको थियो ‘माधवी' । तत्कालीन सञ्चारमन्त्री थिए यसको सूत्रधार । उनकै रिसले उपन्यास लेखेको सुनाउँछन् दीक्षित ।

सञ्चारमन्त्री थिए- विराटनगरका राधाप्रसाद घिमिरे । मदनमणिले चलाइराखेको पत्रिका बन्द गरिदिए घिमिरेले । बिनागल्ती पत्रिका बन्द हुनुले दीक्षितलाई अधिक पीडा भयो । उनले प्रधानमन्त्री तुलसी गिरीलाई भेटे । गिरीले भने, ‘तपाईंको अखबारलाई छुने तागत कहाँ छ हामीमा ? दरबारमा गएर भन्नुस् ।' सीधै राजा वीरेन्द्रकहाँ जान सम्भव थिएन । उनी दरबारका सचिव चिरनशमशेरकहाँ गए । चिरनले भने, ‘तपाईंसँग राजा रिसाएका हुन् कि ? '
दीक्षितले भने, ‘राजासँग मेरो भेट भएको छैन, किन रिसाउने ? '

चिरनले तुलसी गिरीतिरै देखाइदिए । माड्साबलाई लाग्यो- दरबारले नै मेरो पत्रिका बन्द गराएको हो । त्यसपछि ‘ए पञ्चायतको प्रजातन्त्र भनेको यही हो ? ' भनेर दरबारको ढोकाअगाडि शरीरमा पेट्रोल खन्याएर, आगो सल्काएर आत्मदाह गर्ने निर्णय गरे ।

निर्णय गरेको भोलिपल्ट बिहान साढे ४ बजे ब्यूँझिए । त्यति नै बेला उनको मनमा आयो, ‘अपराध कसले गरेको हो ? गल्ती मेरो कि राधाप्रसाद घिमिरेको ? गल्ती गर्ने अरू, आगो सल्काएर म आफूलाई सजाय किन दिऊँ ? यो हुँदैन ।'
सोचाइ लम्बियो, ‘तिमी मेरो अखबार खोस्न सक्छौ, तर मेरो कलम, विचार खोस्न सक्दैनौ, अब लेख्न थाल्छु ।'
यसरी लेख्दा ६/७ वर्षमा ‘माधवी' तयार भयो । उनलाई आफूले लेखेका किताबमा चाहिँ ‘मेरी नीलिमा' उत्कृष्ट लाग्दो रहेछ । भन्छन्, ‘कहाँ हो कहाँ, माधवीभन्दा नीलिमा उत्कृष्ट छ ।'
०००

यी साधक अहिले पनि सोचिबस्छन्- म यत्तिका वर्ष कसरी र कुन ऊर्जाले बाँचे हुलाँ ? फेरि लाग्छ रे- सय वर्षसम्म त जसरी पनि बाँच्छु ।

उनलाई भेट्दा लाग्छ- यी बूढा मानिस इन्साइक्लोपेडिया हुन् । यिनको मस्तिष्कमा सुरक्षित छ- ऋग्वैदिक-प्राचीन ज्ञानको गहिरो सागर । दिमागी पत्रहरूमा ज्ञान-विज्ञानका अनेक लामालामा पाठ कसरी खाँदाखाँद संगृहीत भएका होलान् ? अझ फोटोग्राफी, अनेक लोकेसन र पात्रबारे धाराप्रवाह बोल्न कसरी सकेका होलान् ? यसमा कुन रसायनले काम गर्‍यो होला ?

उनको अद्भुत बौद्धिक सिर्जनाको तुलना जीवित कोही नेपाली लेखकसँग पनि हुन सक्दैन भन्छन् दीक्षितसँग लामो संगत भएका पुराना साहित्यिक सम्पादक रोचक घिमिरे । घिमिरे दीक्षितलाई ‘अक्षरशिरोमणि' भन्न रुचाउँछन् । ‘पाण्डुलिपि' मासिक वर्ष १, अंक १ मा रोचकले लेखेका छन्, ‘आफ्ना सिर्जनाहरूमा मदनमणि दीक्षित कालान्तरमा पनि अतुलनीय सर्जक भएर नै चिनिनुहुनेछ । आफ्नो दीर्घ जीवनको रहस्य प्रसन्नता, उत्सुकता र समर्पण मान्नुहुन्छ मदनमणि माड्साब ! बुझिनँ, सकिनँ भनेर हरेश नखाई आफूलाई ऊर्जाशील बनाउन सदैव सक्रिय रहेर नै जीवनलाई सार्थक बनाउन सकिन्छ भन्ने मान्यता राख्नुहुन्छ उहाँ ।'

दीक्षितसँग लामो समयदेखि सत्संगमा छन् पत्रकार अशोक सिलवाल । सिलवाल भन्छन्, ‘दीक्षित जिवित सम्पदा हुन् । उनले पछिल्ला वर्ष जे/जति काम गरिरहेका छन्, सायद साधना यही हो र, साधक भनेका उनै हुन् ।'
पुराना वामपन्थी नेता दीक्षित अहिले पञ्चायतकालमा जेल बसेका तर पछि आफूलाई मण्डलेको आरोप लगाइएका दिनका सम्झनाले घेरिएका छन् । राणाकालदेखिका थुप्रै राजनीतिक, सामाजिक उतारचढावका गहिरो साक्षी हुन् उनी ।
०००

‘पाण्डुलिपि' मासिकसँगको अन्तर्वार्तामा उनले आफ्नो लेखनको तीन चरण भएको बताएका छन् । ‘मेरो साहित्य लेखनको तीन चरण छ । सन् १९४१ मा बनारसमा भागवत् गीताको पहिलो अध्यायको व्यंग्य अनुवाद गरेको थिएँ । त्यसपछि १९४३ मा हिन्दीमा अज्ञात प्रेमिकालाई सातवटा रसात्मक प्रेमपत्र लेखेँ । ती चिठी डरले च्यातेर फ्याँके पनि एउटा मेरी दिदीको हात परेछ । पछि त्यो चिठीले श्रीमतीसँग मेरो झगडा पनि गरायो । यसपछि १९४८ मा वीरगन्जमा पढाउँदा मैले दासप्रथा उन्मूलनबारे ‘दासत्वमोचन' भन्ने एकांकी नाटक लेखेँ । तर, राणाशासनको समयमा देखाउनचाहिँ पाइएन । यी तीनवटापछि चाहिँ मैले सन् १९५० मा पार्टीमा लागेपछि र पत्रकारिता थालेपछि लेख्ने र पढ्ने क्रममा आलोचना, राजनीतिक लेखन र अन्य साहित्य लेखेँ । जता गए पनि डायरीमा लेखेर बोकेर हिँड्ने गर्थें ।'

लेखनमा दौडिए पनि उनी ‘वाद'हरूको पछाडि कहिल्यै दौडिएनन् । ‘जानेर विचारका पछाडि लाग्नु दिगो होइन भन्ने मलाई लाग्यो', उनको टिप्पणी छ, ‘निकै चर्चामा आएको लीलालेखनसमेत अहिले सेलायो । अझ तेस्रो आयाम त कहाँ पुग्यो कहाँ ? २० वर्षअगाडि आएको उत्तरआधुनिकतावाद कता हरायो हरायो । त्यसैले म वादको पछि दौडिनँ ।'

उनको ‘माधवी' साधारण पाठकका लागि होइन भन्ने हल्ला नेपाली साहित्यमा निकै चल्यो । ‘पाण्डुलिपि'मै दिएको उनको जवाफ भने फरक छ, ‘वैदिक समयको भाषा र जीवन आउनुपर्ने भएकाले पनि त्यो किताबको लेखाइ जटिल भएको हो । यो स्वाभाविक नै हो । ऋग्वेद र वैदिक समयको भाषा र जीवन अहिले सबैले कहाँ बुझ्ने र ? मैले त्यो किताबका लागि कौटिल्यको अर्थशास्त्रबाट दुई सय ५२ शब्द लिएको छु ।

अर्को कुरा त्यो समयमा प्रयोग हुने वस्तु पनि त त्यसमा ल्याएको छु मैले । उदाहरणका लागि माधवीमा सिकारीले प्रयोग गरेको बन्चरोको बनावटलाई लिन सकिन्छ । त्यहाँ इसापूर्व १३ सयमा प्रयोग हुने बन्चरो प्रयोग गरिएको छ । मैले सबै व्याख्या गर्ने कुरा भएन ।' मदनमणिले नारीबारे निकै लेखेका छन् । किन नारीबारे बढी नै लेखे होलान् ? उनको विचारमा, नारी सक्रिय र सहभागी नभएको व्यवस्थामा भएका कुनै पनि परिवर्तन दिगो हुँदैनन् ।

उनलाई हेक्का छ, २०३६ सालको जनमतसंग्रहमा कांग्रेसको जुलुसमा हजारौं मानिस थिए । उनले गनेका थिए- महिला २१ जनामात्रै थिए । उनलाई लाग्छ, हरेक क्रान्ति र मुभमेन्टमा पुरुषजत्तिकै नारीको पनि उपस्थिति हुनुपर्छ ।
प्राचीन वाङ्मयको अध्ययन, व्यापक बौद्धिकता, वेदकालीन समाज र सभ्यताप्रतिको गहिरो चिन्तनले उनलाई सबै जीवित लेखकमध्ये टाढैबाट प्रस्ट चिनिने एउटा प्रकाश बनाइदिएको छ ।
०००
‘माड्साब' आफ्नो जीवनबाट प्राप्त शिक्षा जसरी अरूसमक्ष वितरण गर्छन्, त्यसको सम्बन्ध आममानिससँग कति प्रतिशत छ ? घोत्लिन मन लाग्छ । उनले सुनाएका संस्मरण, सानासाना सम्झना मानिसलाई बाँच्न सिकाउने कला हुन् । माड्साबले जीवनमा वियोग थुप्रै भोगे हुन् । तर, उनी वियोगान्त जीवन प्रस्तुत गर्दैनन् । हाम्रै पोलिटिक्समा कति प्रतिशत मानिस आफ्नै समाजसँग नोट अफ डिसेन्ट लेखेर बाँच्न सक्छ ? तर समाजसँग, पञ्चायत र पोलिटिक्ससँग उनले नोट अफ डिसेन्ट लेखिरहे, संघर्ष गरिरहे । अबको संघर्ष सेन्चुरीका लागि हो । अरू तपसिलमा ।

एक सोखिन र कुशल फोटोग्राफर माड्साब विभिन्न पात्रलाई चिठी पनि लेखिरहन्छन् । उनका चिठीको संकलन प्रकाशित गर्ने हो भने तिनले उनको समयको तस्बिर देखाउनेछन् । यस्तै एक चिठी अविनाश श्रेष्ठको सम्पादनमा प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित हुने ‘समकालीन साहित्य'को कुनै अंकमा छापिएको थियो । त्यो चिठी आजभन्दा ठीक चौबीस वर्षअघि कवि श्यामललाई लेखिएको थियो । त्यसमा अनुज पुस्ताप्रतिको उनको अपेक्षा र विनयशीलता पनि झल्किएको छ ।
माड्साब लेख्छन्-
‘सम्मानित मित्र,
यो पत्र पाएर विस्मित नहुनुहुन आग्रह गर्छु । आफूले औसर गुमाएको प्रति मेरो परिताप हो यो ।
उमेर बढ्दै जाँदा इन्द्रिय शक्ति घट्तै गएका छन् त्यसैले सुनिन ।

अहिले वास्तविक अफशोच लागिरहेछ, म तपायीसित झन् कति आनन्दी वार्तालाप र विचार विनिमय गर्न पाउने थिएँ । सज्जन त्यसमाथि सम्भ्रान्त व्यक्तित्वका सान्निध्य न सजिलो न सुलभ नै हुन्छन् ।
तथापि, जीवन लामो छ, औसरहरू फेरि पनि आई नै रहनेछन् । यो पत्र पुग्छ पुग्दैन थाहा छैन । पुगेमा ‘विदुषी गार्गी'बारे दुई वाक्य लेख्नुहुनेछ भन्ने आशा गरेको छु ।...'

हवाईपत्रमा लेखिएको त्यो चिठी आखिर कवि श्यामलकहाँ पुगेछ । यो चिठी नेपाली वाङ्मयको सम्पत्ति भइसकेको छ । माड्साबको अपेक्षा कवि श्यामलले त्यति बेला पूरा गरे/नगरेको थाहा छैन । तर, यसबाट उनी विद्वत् वर्गले आफ्ना कृति पढिदिऊन् र टिप्पणी गरून् भन्ने अपेक्षा राख्छन् भन्न सकिन्छ ।

९५ वर्षका यी शब्दशिल्पीले करिब ६० वर्षअघि त्यति बेलाको उत्कृष्ट साहित्यिक पत्रिका रूरुप-रेखामा ‘रेनाताको जिउँदो चुल्ठो' शीर्षकमा कथा छापेका थिए । पछि उनले नै त्यसको शीर्षक बदले र त्यो ‘ग्यास च्याम्बरको मृत्यु' भयो । यसले नेपाली कथालाई अन्तर्राष्ट्रिय आयाम दियो । किनभने विश्व इतिहासको महात्रासदीलाई यसले कथ्य बनाएको थियो । त्यही पत्रिकामा उनको ‘लट्टु मियाँकी घोडी' कथा छापिएको थियो जसले तराईको जनजीवनका सामान्य पात्रको असामान्य प्रेमलाई प्रस्तुत गरेको थियो । यी कथाले उनलाई नेपाली साहित्यका अमर आख्यानकार बनाइदिएका थिए ।

९५ वर्ष टेकेका माड्साबलाई भन्छु, आमा र चन्द्रशमशेरमाथिका किताब लेखिसकेपछि पनि तपाईंको कलम नरोकियोस् । तपाईंको कलमले नेपाली वाङ्मयलाई वर्षौसम्म निरन्तर समृद्ध बनाइरहोस् ।
यति लामाे जीवन बाँचेका वैदिक वाङमयका नेपाली धराेहर माडसाबलार्इ संस्कृतमै कामना गर्न मन लाग्छ– चिरञ्जीवी भव ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.