कांग्रेस नजन्मिँदैका कांग्रेस

 कांग्रेस नजन्मिँदैका कांग्रेस

‘छिनले नै ठूलो परिवर्तन भइदिन्छ', झन्डै शताब्दी पुग्न आँटेका कांग्रेस नेता रामबाबु प्रसाईले शताब्दी पुरुष भनिहाल्न नहुने कारण देखाउँदै भने, ‘महिना, वर्ष र त्यसमाथि चार वर्ष भनेको निकै लामो समय हो ।' उमेरले ९६ टेक्दा उनले टेक्ने सहारा लौरोबाहेक अरूलाई बनाएका छैनन् ।

‘सकुन्जेल बोझ बन्नु हुँदैन, काम गरिरहनुपर्छ', उनले भने, ‘काम भनेको ढुंगा फोर्नुमात्रै होइन, हलो जोत्नु वा पहरो खसाल्नुलाई मात्र भनिँदैन ।' उनको परिभाषामा सक्रियता देखाइरहनु पनि काम हो । आँगनमा सुकाएको बिस्कुन कुरिदिनु, केटाकेटी सुताएको कोक्रो हल्लाइदिनु वा बुढेसकालमा अरूले सोहोर्नु नपर्ने गरी आफैं दिसापिसाब गर्नु पनि काम हो ।

जीवनको ९६ वर्षमा उक्लिएका यी हिम्मतिला बुजु्रक उम्दो उमेरमा कस्ता थिए होलान् ? हुन त त्यो धेरै हिम्मत देखाउने समय थिएन । राजनीतिक व्यवस्थाका रूपमा ‘कालरात्रि' भनिएको राणा शासन थियो त्यस बेला ।

देशमा ७५ वर्षसम्म राणाहरूको हुकुमी शासनले गाँजेका बेला १९७८ साल माघ १६ गते प्रसाईको जन्म भयो । आमा रुद्रकुमारी प्रसाई र बुवा देवीप्रसाद प्रसाईका सुपुत्रका रूपमा उनी ताप्लेजुङको हाङपाङमा जन्मिए । आफ्नी आमापट्टिबाट एक बहिनीसहित उनी उतै हुर्किए । त्यस बेला जनताका छोराछोरी पढ्नका लागि जिल्लातिर के काठमाडौंमै विद्यालय खोलिएका थिएनन्, देशभरमै एउटै दरबार हाइस्कुल थियो । प्रसाईले पढ्न पाएनन् ।

रामबाबुका पिताजी देवीप्रसाद त्यस बेला राजधानीमा बस्थे । संवत् ८३/८४ तिरै उनले कुपण्डोलमा घर बनाएका थिए । ‘म आठ वर्षजतिको थिएँ', प्रसाईले भने, ‘बुवाले मलाई काठमाडौं झिकाउनुभयो ।' राजधानीमा अर्की श्रीमती बिहा गरेर बसे पनि उनका बुवाले छोराको शिक्षादीक्षाकै लागि झिकाएका थिए । दुई विवाह गर्ने चलन त्यस बेला सामान्य नै थियो । त्यसले परिवारमा कुनै मतभेद थिएन ।


जीवनको ९६ वर्षमा उक्लिएका यी हिम्मतिला बुजु्रक उम्दो उमेरमा कस्ता थिए होलान् ? हुन त त्यो धेरै हिम्मत देखाउने समय थिएन । राजनीतिक व्यवस्थाका रूपमा ‘कालरात्रि' भनिएको राणा शासन थियो त्यस बेला ।

रामबाबु काठमाडौं आएपछि उनी विद्यालय गएनन् । घरमै कखरा सिक्न थाले । ‘मभन्दा सानासाना विद्यार्थी ३/४ कक्षामा थिए', प्रसाईले पढाइको प्रसंग सुनाउँदै भने, ‘घरमै ट्युसन पढेर ५ सम्मको योग्यता बनाएँ ।' त्यस बेला उनको परिवारको मौजा सर्लाहीमा थियो । उनका पिताजीले उनलाई त्यतै लगे । प्रसाई छिमेकी मुलुक भारतको मुजफ्फरपुरको मिडिल स्कुलमा कक्षा ६ मा भर्ना भए । उनले त्यहाँबाट मिडिलसम्मको अध्ययन गरे । त्यहाँ ७ कक्षासम्मको अध्ययनलाई मिडिल भनिन्थ्यो । त्यसपछिको शिक्षाका लागि प्रसाई भारतको शिवहर पुगे । शिवहर त्यस बेलाको सानो राज्य थियो । शिवहरमा त्यहाँका तत्कालीन चर्चित कांग्रेस नेता ठाकुर नवाव सिंहले निजी स्कुल सञ्चालन गरेका थिए, जुन स्कुलको प्रख्याति परपरसम्म थियो । प्रसाई त्यही नवाव इङ्लिस हाइस्कुलबाट सन् १९४० मा म्याट्रिक पास गरे ।

राजनीतिमा पाइला

विक्रम संवत् १९९४ तिर नवाव हाइस्कुलमा भर्ना भएका उनी १४ वर्षको कलकलाउँदो उमेरका थिए । पढ्दापढ्दै उनी कांग्रेसको सरसंगतमा आए । त्यस बेला नेपालका कांग्रेसको पार्टीगत उदय भइसकेको थिएन । उनले विद्यालयमा आयोजना हुने हरेक राजनीतिक कार्यक्रममा चाखपूर्वक सहभागितामात्रै जनाएनन्, झन्डा बोकेर टाढाटाढाका कार्यक्रममा समेत भाग लिए ।
त्यहीबीचमा बिहारको हजारीबागमा कांग्र्रेसको ठूलो आमसभा भयो । प्रसाई स्कुल छोडेर एक्लै हजारीबाग पुगे । विद्यालयदेखि निकै टाढा यसरी राजनीति कार्यक्रममा सहभागी भएको यो उनको जीवनको पहिलो घटना थियो । ‘थोरै दूरीमा कांग्रेसका दुईवटा आमसभा थिए', प्रसाईले ती दिन स्मरण गरे, ‘सुभाषचन्द्र बोसले बगावत गरेर त्यहीँबाट अर्को पार्टी खोले । यसअघि मैले उनका सिद्धान्तहरू सुने पढेको थिएँ, त्यस दिन प्रत्यक्ष देख्ने र सुन्ने मौका पाएँ ।'

नवाव हाइस्कुलमा पढ्दै गर्दा प्रसाई कांग्रेससँग गहिरो गरी नजिकिए । उनले महात्मा गान्धी, जवाहरलाल नेहरू, नेपालका बीपी कोइरालाका राजनीतिक सिद्धान्त सुन्न र पढ्न पाए । आफूलाई गान्धी, नेहरू, अब्राहम लिंकनबाट प्रभावित भन्न रुचाउने उनले भने, ‘गान्धीबाट त म यति प्रभावित भएँ कि मैले चर्खा घुमाएर आफ्ना लागि आफैं डोराको लुगा बनाएँ । सन् १९३७ मै नवाव स्कुलमा छुवाछूतविरुद्धको आन्दोलन चलायौं, चमारलाई भात पकाउन लगाएर एक दिन सबैले खाना खायौं ।'

म्याट्रिक अध्ययनकै क्रममा प्रसाईको भेटघाट बीपी कोइराला, टंकप्रसाद आचार्य, मनमोहन अधिकारीहरूसँग भयो । उनले कुरा सुने, आफ्ना कुरा सुनाए । भेटघाट पछि बाक्लिँदै गयो ।

थप अध्ययनका लागि उनी म्याट्रिक अर्थात् ११ कक्षासम्मको अध्ययन सकेर आईएस्सी पढ्न त्रिचन्द्र क्याम्पसमा आए । उनका पिताजी राणाहरूको अमिनी भन्ने अड्डामा लप्टन भएर तीन वर्ष कैलाली र तीन वर्ष सिराहामा काम गरेकाले उनलाई यताउता आउजाउ र अध्ययन गर्न पैसाको खाँचो थिएन । त्रिचन्द्रमा आईएस्सी सकेपछि बीएस्सी थिएन । त्यही बेला सरकारले दुईजना विद्यार्थीलाई भारतमा कृषि अध्ययनका लागि छात्रवृत्ति दिने भयो । त्रिचन्द्रका तत्कालीन प्रिन्सिपल रुद्रराज पाण्डेले उनको नाम छात्रवृत्तिमा राखिदिए ।

उनी बीएस्सी एग्रिकल्चर गर्न बम्बई युनिभर्सिटीअन्तर्गत रहेको पुनाको कलेज अफ एग्रिकल्चरमा भर्ना भए । त्यो कोर्स सन् १९४८ मा सकियो । फेरि नेपाल आएर प्रसाईंले नेपाल ल क्याम्पसबाट बीएल पास गरे । अध्ययनका लागि नेपाल.भारत गर्ने क्रममा उनको राजनीतिक सम्बन्ध निकै विस्तार भइसकेको थियो । नेपालका जनताका छोरा पढ्ने त के पुस्तकालय खोल्न लाग्दा पनि त्यस बेला महाकवि लक्ष्मीप्रसाद देवकोटाहरूले सय/सय रुपैयाँ जरिवाना तिरेर उम्कनुपर्ने वातावरण थियो । प्रसाईले भने पढ्ने अवसरलाई सदुपयोग गर्दै राजनीति सम्बन्ध बलियो बनाउँदै लगे ।

उनी पढाइकै सिलसिलमा डिप्लोमा इन नेचुरोप्याथी गर्न पटना पुगे । यसबीचमा उनको उठबस बीपी, सूर्यप्रसाद उपाध्याय, महेन्द्रनारायण निधि, मनमोहन अधिकारी, ऋषिकेश शाह, टंकप्रसाद आचार्य, तुलसी गिरी, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, सुवर्णशमशेरहरूसँग बाक्लो भइसकेको थियो । गिरिजाप्रसाद र कृष्णप्रसाद त उनीभन्दा कान्छै थिए ।

‘कान्छो भने पनि राजनीतिमा उहाँहरू जेठो हुनुहुन्थ्यो', प्रसाईले भने, ‘म पढाइमा हुँदा उहाँहरू राजनीतिमा अगाडि पुगिसक्नुभएको थियो, तर म ढोकाबाहिर उभिएर कुरा सुन्ने कार्यकर्ता थिइनँ, सँगै बसेर सल्लाह लिने र दिने स्तरको कार्यकर्ता थिएँ ।'

‘सके राम्रो गर्नू, नसके नराम्रो कसैको नगर्नू' भन्ने आदर्श बोकेर ९६ वर्षको यात्रामा रहेका प्रसाईले राजनीतिलाई कहिल्यै पेसा बनाएनन् । ‘राजनीति त सेवा हो, कमाउनलाई व्यपार छ, ठेकेदारी छ नि', उनले भने, ‘मैले संसद्को उम्मेदवार हुँदा पनि कसैको एक पैसा लिइनँ, छोराबुहारीले पैसा चाहिन्छ कि भन्दा पनि लिन मानिनँ ।'

साम, दाममा चुर्लुम्म बन्दै गएको राजनीतिमा उनको यही शैलीले होला, उनी पार्टीको मुख्य पदमा भने पुग्न पाएनन् । गिरिजाप्रसाद पार्टी सभापति हुँदा प्रसाई झापामा पार्टी सभापति थिए । २०४८ देखि ५२ सम्म कृष्णप्रसाद भट्टराई पार्टी सभापति हुँदा उनी केन्द्रीय कोषाध्यक्ष बने । त्यसलाई उनी कांग्रेसको स्वर्ण युग भन्न चाहन्छन् ।

२०४८ मा झापा.५ र २०५१ मा झापाको क्षेत्र नम्बर २ बाट उनी संसद्को निर्वाचन लडे । उनका प्रतिस्पर्धी सीपी मैनाली थिए । दुवैपटक प्रसाईको जित भएन । ‘मलाई कुनै पछुतो र दुःख लागेन, जित्नैपर्ने कुनै बाध्यता थिएन । मलाई जसरी पनि तिजेर कमाउनुपर्ने भए पो दुःख लाग्नु', प्रसाईले भने, ‘जनतालाई केही गर्न सकिन्छ कि भन्ने थियो, जनताले अर्कैलाई रोजे, त्यसमा के दुखमनाउ गर्नु ? '

कांग्रेस र प्रसाई


२००३ सालमा नेपाली कांग्रेस स्थापना भएदेखि प्रसाई निरन्तर रूपमा पार्टीमा सक्रिय रहे । पार्टीका हरेक क्रियाकलामा उनको भूमिका अग्रमोर्चामा रह्यो । निःशस्त्रदेखि सशस्त्र आन्दोलनमा उनी पनि सहभागी भए । राणाहरूको क्रूर शैलीका बीच त्यो राजनीतिक जीवन आजको जस्तो सजिलो थिएन । कहिले जेल, कहिले नेल त कहिले प्रवासी जीवन सामान्यजस्तै थियो । मुलुकमा प्रजातन्त्र स्थापनाको यात्रामा हिँडेका प्रसाईले बीपी, गणेशमानहरूसँगै यातना र जेलनेलको यात्रा पनि सँगै गरे । २०१८ सालमा पक्राउ परेर २०२० साल माघसम्म २५ महिना प्रसाईले पहिलोपटक लामो समय जेल जीवन बिताए । जेलबाट छुटे पनि इलामबाहिर जान नपाउने गरी नौ महिना उनलाई एरियाबन्दी बनाइयो । त्यसपछि प्रसाईले सिलिगुडीमा सात वर्ष प्रवासी जीवन बिताए ।

२०२७ सालसम्मको प्रवासी जीवन बिताएर उनी २०३३ साल पुस १६ गते मेलमिलाप नीति लिएर बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, नीलाम्बर पन्थी र खुमबहादुर खड्कासँग पटनाबाट नेपाल फर्किए । त्यस बेला विमानस्थलको भवननिरै यात्रु ओराल्ने गरे पनि उनीहरू ६ जनालाई त्यहाँ ओर्लिन दिइएन । ‘सबै यात्रु ओर्लिए, हामी ६ जनालाई प्लेनसहितै पर बीच चौरमा लगियो', प्रसाईले त्यो दिन स्मरण गरे, ‘बीपी र गणेशमानलाई कहाँ लगे लगे, हामी चारजनालाई सदर जेलमा ल्याइयो, त्यहाँको महिला जेलमा शैलजाजीलाई राखियो, हामीलाई नख्खु जेल सारियो ।' त्यसपछि बीपी र गणेशमानले सात/सातवटा मुद्दा खेपे । प्रसाईलाई राजद्रोहसहितका दुईवटा मुद्दा चलाइयो । उनले २०३३ पुसदेखि २०३६ असारसम्म झापामा जेल जीवन बिताए ।

प्लेन अपहरण

प्रजातन्त्र स्थापना कुनै एक व्यक्तिले चाहेर सम्भव थिएन । त्यसका लागि पार्टीको आवश्यकता थियो । प्रायः वनारसको सारनाथमा बस्ने बीपीले कांग्रेसका लागि विभिन्न सिद्धान्त र योजना बनाए पनि गिरिजाप्रसाद पार्टीका साथीभाइ भेट्न कुदिरहन्थे । पार्टी चलाउन पैसाको आवश्यकता पर्‍यो । कसरी जोहो गर्ने त ? त्यस बेला विराटनगरबाट काठमाडौं आउने प्लेनमा पैसा पनि पठाइन्थ्यो ।

प्रसाईले भने, त्यो पैसा भारतीय रुपैयाँ नै हुन्थ्यो । पार्टीलाई भारतीय पैसा नै चाहिएको थियो । ‘पार्टीले विमानस्थलमा तीनजना मानिस पहिलादेखि नै तयार पारेको थियो । ३० लाख भारु काठमाडौं लगिन लागेको खबर आयो', प्रसाईले भने, ‘उनीहरूलाई यात्रुका रूपमा टिकट काटेर पठाइयो, बीच बाटोमा पुगेपछि एकजनाले पाइलटलाई पेस्तोल देखाए, प्लेन भारतको पुर्नियामा उतार्न भने ।' त्यहाँ चक्र बास्तोलाहरू अघि नै तयारी अवस्थामा थिए । प्लेन अवतरण गर्नेबित्तिकै पैसा लिएर उनीहरू हिँडे ।

त्यसलगत्तै भारतको सिलिगुडीदेखि पुर्नियासम्मका सीमा बजारदेखि बनारससम्म झिसमिसेमै एकैसाथ छापा हानियो । सिलिगुडीमा रहेका प्रसाईको विस्तरामुनिबाट प्रहरीले दुई सय २० थान गोली बरामद गर्‍यो । उनी १५ दिन थुनामा र दुई वर्ष एरियाबन्दीमा परे ।

उल्टो यात्रामा कांग्रेस

अध्ययन र राजनीतिक जीवन बिताउने क्रममा नेपाल.भारत गरिरहेका प्रसाई २००३ सालमा कांग्रेस स्थापना हुँदाका सदस्य हुन् । ‘कांग्रेसले राष्ट्रियता र प्रजातन्त्रलाई मूल सिद्धान्त बनाएर पार्टी स्थापना गरेको थियो । कांग्रेसको सिद्धान्तमा राजा राष्ट्रियताभित्र अटाइएका थिए । यो सिद्धान्तलाई कांग्रेसले २००७ सालमा र २०४७ सालमा पनि मान्यता दियो । त्यही मान्यता बोकेर कांग्रेस २०६२ साल भदौ १५ सम्म आइपुग्यो । २०६२ साल भदौ १६ गते सम्पन्न कांग्रेस महाधिवेशनले नयाँ कुरा ल्यायो । कांग्रेस दोग्ला भयो ।'

राज त्रिभुवन, महेन्द्रदेखि वीरेन्द्रले पटकपटक दुःख, जेल, नेल, यातना र धोका दिए पनि बीपीले राष्ट्रियताको सवालमा ‘राजाको घाँटी तल, मेरो घाँटी माथि' भन्ने गरेको वाक्यांश सम्झँदै प्रसाईले भने, ‘आज कांग्रेस कुन सिद्धान्तमा छ ? कुन वादमा छ ? कुन यात्रामा छ ? ' कांग्रेसले २०६२ भदौको महाधिवेशनमा राजतन्त्र निरपेक्ष भन्ने सिद्धान्त अपनायो ।

यसको अर्थ रहे पनि हुने नरहे पनि हुने भन्ने धार समात्यो । कांग्रेस कांग्रेस रहेन । मैले १८ गते तै साधारण सदस्य पनि नरहने गरी राजीनामा दिएँ ।

यो भनिरहँदा उनी निकै आक्रोशित थिए । उनले प्र्रश्न गरे, ‘पटकपटक आफैंलाई घात गर्दा पनि बीपीले त्यसै राजसंस्था जुनसुकै रूपमा पनि आवश्यक छ भनेका होइनन् ? ५९ सालसम्म बोकेको सिद्धान्त नै मेटेर हिँडेपछि त्यो कसरी कांग्रेस भयो । नाम बीपीको लिने सिद्धान्त नबोक्ने पनि कहीँ हुन्छ ? '

नेपाली कांग्रेसले लिएको लाइन र छोडेको सिद्धान्तले मर्माहत भएपछि उनले बीपीपुत्र प्रकाश कोइरालाहरूसँग मिलेर त्यही साल दुर्गा पोखरेलको सभापत्विमा नेपाली कांग्रेस राष्ट्रवादी पार्टी स्थापना गरे । प्रजातान्त्रिक संवैधानिक राजसंस्था चाहिन्छ भन्ने मान्यता राष्ट्रवादी कांग्रेसको भएको उनले प्रस्ट्याए । नेपालको स्वतन्त्रता, अखण्डता र राष्ट्रियता जोगाइराख्न यो आवश्यक भएको ठोकुवा उनले गरे ।

‘व्यक्तिगत रूपमा म पनि गणतन्त्रवादी हुँ तर अहिले नै गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताले मुलुकको हित गर्दैन । नेपालीको कल्याण हुँदैन', उनले भने, ‘सीके राउतहरू किन जन्मिए ? तराईका २२ जिल्ला किन मागिँदैछन्, पहाडे पनि चाइना र भारत गएर के के लिएर आउँछन्, यो सब के हो ? '

गणतन्त्र, राजसंस्था र धर्मनिरपेक्षता माग्नेमध्ये केही इमानदार सोचाइ भएकाहरू पनि भएको उनी स्वीकार्छन् । त्यो सोचाइ बेइमान नभएको उनी मान्छन् तर निर्देशनमा भित्रिएको वा बेचिएको सोचाइ डरलाग्दो हुने उनको ठम्याइ छ ।
गणतन्त्र चिनी भए पनि नेपालको हकमा यो मधुमेहको बिरामीलाई दिइएजस्तो भएको उनी बताउँछन् । योग्य र इमानदार जनताको छोरोले अवसर पाउनुपर्ने व्यवस्थामा भागबन्डाले गाँजेपछि यो झन् घातक बन्दै गएको उनको बुझाइ छ ।

दीर्घ जीवनको सूत्र

बाँच्नलाई इच्छा गर्नुपर्छ । यो रामबाबु प्रसाईको सामान्य मान्यता हो । तर इच्छा गरेरमात्रै नपुग्ने उनी बताउँछन् । कोही जन्मँदै मर्छ, कोही युवा उमेरमै जान्छ । धेरै मानिस ६०.७० मै स्वर्गवास हुन्छन् । उनले भने, ‘इच्छासँगै आनीबानी, रहनसहन, सोचविचारमा पनि ख्याल गर्नुपर्छ । इच्छाशक्तिजति ठूलो शक्ति अरू छैन ।'

लामो आयु बाँच्ने इच्छा पनि गर्ने अनि जाँडरक्सी खाने, बिँडी चुरोटको अम्मली बन्ने, नकारात्मक सोच बोकेर हिँड्ने हो भने सम्भव नहुने उनले बताए । राम्रो कुराभन्दा पनि राम्रोसँग खानाले दीर्घ जीवनलाई सघाउ पुग्ने उनको ठम्याइ छ । भन्छन्, ‘हतारमा खानुभन्दा खानै नखाएको बेस हुन्छ । खाना आराम मनले राम्ररी चपाएर खानुपर्छ ।'

८५ वर्षको हुँदासम्म अस्पताल जानै नपरेका प्रसाई सादगी जीवन, सकारात्मक सोच, अरूको कुभलो नसोच्ने मन र खराब अम्मल नगरेकै कारण आफू यहाँसम्म आइपुगेको ठान्छन् । १५ वर्षको हुँदासम्म अलिक उत्ताउलो भए पनि नवाव स्कुलमा भर्ना भएदेखि उनी आफ्नो जीवनमा निकै परिवर्तन आएको ठान्छन् । ‘त्यहाँ राजनीतिमात्र सिकिएन; सादा जीवन, उच्च सोच, सात्विक विचार बोक्न जानेँ', प्रसाईले भने, ‘राजनीति त हरेक व्यक्तिले सोच्नुपर्छ, गर्नुपर्छ । नेतै बन्न होइन ।'

प्रसाईले पनि जाँड, रक्सी, चुरोट खाने साथीको संगत नगरेका होइनन् । उनीहरूले खुवाउन बल गर्थे, प्रसाई खानेमध्येबाट एक, दुई जनालाई छुटाउन बल गर्थे । सिलिगुडीमा रहँदा प्रसाईले चिनेका एकजना ड्राइक्लिनिक सञ्चालकका अफिसर साथी कलकत्ताबाट आए । एक रात त्यहाँको जंगलमा बिताउने कुरा भयो । उनलाई सँगै लगेर गएछन् । तीनजनाले जंगलबासमा रक्सी निकालेपछि ड्राइक्लिनिक सञ्चालकले ‘प्रसाईजी खाँदैनन्' भनेछन् । कलकत्ताका साथीहरूले नमजा भयो भनेपछि उनले मैले दुई थोपा खाइदिँदा हुन्छ ? भनेछन् । उनीहरूले ‘सहभागिताको कुरा हो, थोरै धेरै त आफ्नो इच्छाको विषय हो' भनेपछि उनले एक बिर्को पिएछन् ।

इच्छाशक्ति दह्रो भयो भने जीवन पनि दह्रो बनाउन सकिने उनको बुझाइ छ । प्रसाईकी आमा रुद्रकुमारी पनि ९४ वर्ष बाँच्नुभएको थियो । आमालाई भेट्न आउनेहरू ९० माथिका हुन्थे । त्यसले परिवारमा अर्कै रौनक हुँदो रहेछ । ‘हुन त चाहेरमात्रै हुँदैन, तर आमाको दीर्घ जीवनले पनि मलाई अर्कै उत्साह दिएकै हो ।'

विवाह

राजनीति र अध्ययनकै बीचमा प्रसाईले २००० सालमा नीलिम सिजापतिसँग विवाह गरे । ४८ वर्षको सहयात्रापछि दम रोगका कारण नीलिम उनको जीवनबाट गइन् । त्यसपछि उनले २०५० सालमा पुनावती कटुवालसँग अर्को विवाह गरे, जो अहिले पनि साथमा छिन् । जीवन र मृत्यु सधैं सत्य भएकाले यसलाई स्वीकार्नैपर्ने उनी बताउँछन् । प्रसाईका चारजना छोराछोरी छन् । सबै आआफ्नो व्यवहारमा सक्षम हुनु पनि प्रसाईको सन्तुष्टिको कारण हो ।

प्रसाईका सुझाव


. स्वस्थ जीवनका लागि खाना चपाएर खाने
. चाहिनेजति र चाहिने कुरामात्रै खाने
. कुलत गर्दै नगर्ने
. चिन्ताभन्दा चिन्तन गर्ने
. सुत्दा जस्तोसुकै चिन्ता बिर्सने
. सकारात्मक विचार बढी राख्ने
. पीर झल्कने अनुहार धेरै बेर नराख्ने
. गीताका राम्रा कुरा अपनाउने
. धर्मशास्त्रहरू अध्ययन गर्ने
. भरसक हित गर्ने, नसके अहित नचिताउने
. झूठा कुरा गर्दै नगर्ने
. जन्ती र मलामी जाँदा अनुहार फरक हुनैपर्छ
. समस्या समाधान गर्न जान्ने
. नियति वशमा हुँदैन, नियत सफा राख्ने


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.