जीवनभर शिक्षक

जीवनभर शिक्षक

उमेरकै कारणले पनि उठ्न/बस्न साह्रै गाह्रो हुन्थ्यो। त्यसमाथि पनि करिब पाँचतले घरबाट तल्लो तलासम्म आइपुग्न प्रा.डा. शिवप्रसाद धौभडेललाई कम्ति सास्ती भएको थिएन। लट्ठीको सहाराले बल्लतल्ल तल ओर्लिएका उनी आफ्ना प्रत्येक पाइला सार्दा लगलग काँपिरहेका थिए। यद्यपि प्रेसबाट फोटो खिच्न फोटो पत्रकार आएको देखेपछि 'कता बसौं म' भन्दै ठाउँ फेरिफेरि फोटो खिचाए उनले। हिँड्न गाह्रो भएको देखेर फोटोपत्रकार साथीले हात समातेर सहारा दिन खोज्दा घरिघरि उनी 'पर्दैन' भनेर पन्छाउने गर्थे।

उमेरले नौ दशक छुन लागिसक्दा पनि डा. धौभडेल उत्तिकै स्वावलम्बी छन्। सकेसम्म अरूलाई दुःख नदिने र आफ्नो काम आफैं गर्ने बानी छ उनको। नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादवदेखि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामात्रै नभई अन्य ठूलठूला नेता, प्रशासक, वैज्ञानिक, डाक्टर, इन्जिनियर, सम्पादक लगायतका योग्य व्यक्तिहरू उनैले दिएका शिक्षाका उपज हुन्।

'धौभडेल सर' यिनै दुई शब्दको पहिचान बनेको छ उनको जीवन। विद्यार्थीका गुरु बन्दा जस्तो अरू ठूलो सन्तुष्टि उनले जीवनमा पाएका छैनन्। त्यसैले त उनले आफ्नो आत्मकथामा लेखेका छन्, 'मेरो जीवनको हबी भनेको क्लासमा पढाउने हो, क्लासमा नपढाएको दिनमा खाएको भात पच्दैनजस्तो लाग्थ्यो, पढाउन पाएपछि आनन्द आउँथ्यो। त्यसैले म जीवनभर शिक्षक बन्न पुगेको हुँ।'

प्रा.डा. धौभडेलको जन्म विसं १९९१ मा भक्तपुरको क्वाछें टोलमा भएको थियो। पञ्चलाल धौभडेल र कृष्णशोभा धौभडेलको कोखबाट जन्मिएका सात सन्तानमध्ये राम्रो औषधिउपचार नपाएर उनी र उनका एक दिदीबाहेक अन्य सबैको मृत्यु भएको थियो। सानो पसल चलाउने उनका बुवा रहुन्जेल परिवारमा खान लगाउन दुःख भएन। सात वर्षको उमेरमा पुरेत्याइँ गर्ने बाजेको घरमा पढ्न पठाएर अक्षराम्भ गराउने श्रेय पनि उनी आफ्ना बुवालाई नै दिन्छन्।

नौ वर्षको उमेरमा उनका बुवाले उनलाई श्रीपद्म हाइस्कुलमा भर्ना गरिदिए। पाँचौं कक्षामा पुगेपछि बुवाको मृत्यु भयो जसले गर्दा उनको पढाइ बिग्रँदै गयो। कुसंगतमा फसेका उनी उनी विद्यालय जान छाडेर पौडी खेल्ने, चुरोट खाने र गुच्चा खेल्ने गर्न थाले। छोरा बरालिएकोमा उनकी आमाले साह्रै पीर गर्न थालिन् भने विद्यालयका शिक्षकहरूले पनि उनलाई खुब पिट्ने गर्थे।

तिनैताका उनको घरमा सप्तरी जिल्लाका एक व्यक्ति डेरा बस्न आए। उनै व्यक्तिले उनका आमालाई अनेकौं प्रलोभन देखाएर उनीसँग भएभरका सुन, चाँदी, डबल, मोहोरहरू ठगेर भागे। यसरी नै चोरले दुःख दिन थालेपछि आमाछोरा मावली घर सुकुलढोकामा बस्न थाले। दिदीको भने विवाह भइसकेको थियो। त्यहाँ उनको संगत केही शिक्षित र राम्रा मानिससँग भएपछि उनी फेरि विद्यालय जान थाले।

दुई वर्ष बाटो बिराएपछि उनले छैंटौं कक्षा दोहोर्‍याउनु पर्‍यो। मेहनतका साथ पढेर उनी कक्षामा दोस्रो भएपछि प्रधानाध्यापकको थप हौसला पाए। त्यसपछि सधंै कक्षा पहिलो हुने गरेका उनी २००८ सालमा प्रवेशिका परीक्षामा पहिलो श्रेणीमा उत्तीर्ण भए। भक्तपुर जिल्लाबाट पहिलो श्रेणीमा एसएलसी उत्तीर्ण गर्ने आफू नै पहिलो व्यक्ति रहेको उनको दाबी छ। देशभरमा भने उनी एघारौं स्थानमा परेका थिए।

त्यति बेला विद्यालयमा किसानका छोरा नगण्य नै हुन्थे। कापीकलम पनि निकै हिफाजत गर्थे उनी। त्यसमा पनि आफ्ना एक साथीले कक्षा ६ देखि स्नातक तहसम्म पढ्दा पनि २५ पानाको एउटा कापीबाटै पुर्‍याएको प्रसंग उनले सुनाए। सिसाकलमले लेख्ने हुनाले एउटै कापीमा मेट्दै लेख्ने उनीहरूको बानी थियो। विद्यालयमा हुँदा नै कम्युनिस्ट पार्टीका नेताहरू आएर भूमिगत रूपमा राजनीतिक कक्षा सञ्चालन गर्थे। यसैबाट प्रेरित भएर उनले पनि आफ्ना साथीहरूसँग मिलेर 'डिबेटिङ सोसाइटी' नामक एक संस्था खोलेर त्यसमार्फत बहस र छलफल सञ्चालन गर्न थाले।

एसएलसी सकिएपछि उनकी आमालाई दमको रोगले निकै च्याप्यो। भक्तपुरमा उपचार राम्रो नहुने भएपछि काठमाडौंमा बस्ने ठूलीआमाको सल्लाहमा उनले आमालाई यतै ल्याए। त्यति बेला उनलाई आफन्तले पढ्नुपर्छ भन्ने सुझाव दिए पनि उनलाई के पढ्ने किन पढ्ने भन्ने अन्योल नै थियो। तैपनि बिनासोचविचार उनी त्रिचन्द्र क्याम्पसमा विज्ञान संकायमा भर्ना भए।

पढ्दापढ्दै उनको विवाह भयो र यसैको दुई महिनापछि उनलाई टाइफाइड भयो। रोग निको हुन तीन महिना लागेकाले मेडिकल र इन्जिनियरिङमा दर्खास्त दिने समय बितिसकेको थियो। त्यसैले उनले त्यहीँ बीएस्सीमा भर्ना गरे। स्नातक सकिएपछि मेडिकल वा इन्जिनियरिङमा जाने उनको इच्छा थियो।

तर, त्यो पूरा हुन नसकेपछि उनले २०१४ सालमा भारतको इलाहाबाद विश्वविद्यालयबाट रसायनशास्त्रमै स्नातकोत्तर पूरा गरे। यसको तीन वर्षपछि उनले पटना विश्वविद्यालयबाट विद्यावारिधि गरेर नेपालभरबाट विद्यावारिधिधी गर्ने चौथो व्यक्ति भए। यसपछि सन् १९७२ मा अस्ट्रेलियाको 'न्यु साउथवेल विश्वविद्यालय'बाट पोस्ट डक्टोरल अनुसन्धान सकेपछि अस्ट्रेलियाबाट चाटर्ड केमिस्ट बन्ने उनी पहिलो नेपाली भए।

विद्यावारिधि गरुन्जेलसम्म उनले कहिल्यै जागिर खाएनन्। आमाका गरगहना, घरको भाँडाकुँडामात्रै होइन; जग्गासमेत बेच्नु पर्‍यो। स्नातकोत्तर गर्दा भने मासिक रूपमा आउने छात्रवृत्तिले गर्दा पैसाको दुःख भएन।

प्रा.डा. धौभडेल २०१५ सालमा त्रिचन्द्र कलेजमा प्राध्यापन गर्न थाले। २०१८ मा स्थायी भई २०२३ मा सरकारको ग्याजेटेड द्वितीय श्रेणीमा उनको प्रमोसन भयो। २०२२ सालमै उनले त्रिविमा रसायनशास्त्रको स्तातकोत्तर तहको प्राध्यापनको संस्थापक सदस्य भई पठनपाठन थाले भने २०३४ सालमा विश्वविद्यालयको प्राध्यापक बने। करिब ३५ वर्षसम्म त्रिविमा प्राध्यापन गरेर २०५४ सालमा उनी विश्वविद्यालयबाट निवृत्त भए।

निवृत्त भएपछि पनि १५ वर्षसम्म आंशिक प्राध्यापकका रूपमा काम गरेका धौभडेलले विज्ञानको डिन, त्रिवि सेवा आयोगको सदस्य र तत्कालीन रोनास्टको सदस्यका रूपमा पनि काम गरे। उनी डिन हुँदा सुरु भएको माइक्रोबायोलोजीको स्नातकोत्तर तहको पढाइले यस क्षेत्रमा थुप्रै दक्ष जनशक्ति उत्पादन गरिसकेको छ। शिक्षा क्षेत्रमा यसलाई उनको ठूलो योगदानका रूपमा लिन सकिन्छ।

जीवनको उत्तराद्र्धमा आएर उनको एउटै गुनासो छ, 'मैले रसायनशास्त्रको अध्ययन गरेर पढाउनेबाहेक अन्य केही गर्न सकिनँ।' उनको अनुभवको सही उपयोग गर्न सकेको भए देश विकासमा धेरै गर्न सकिन्थ्यो र आजको जस्तो हरेक थोकमा परनिर्भर भएर बस्नुपर्ने थिएन। सन् १९५० मै उनले तत्कालीन योजनाकारहरूरु र सरकारमा रहेका व्यक्तिहरूलाई देशको विकास गर्ने हो भने विज्ञानप्रविधिको खाका तयार गर्नु आवश्यक छ भनेका थिए।

 'यो जीवनमा मैले केही पाएँ भने मेरा विद्यार्थीको माया नै हो। यो नै मेरो ठूलो उपलब्धि हो', जीवनको सबैभन्दा ठूलो खुसी र सन्तुष्टि यसरी पोख्छन् प्रा.डा. शिवप्रसाद धौभडेल। 

देशलाई औद्योगिकीकरण गर्नुका साथै पानी, वन, रसायन र पर्यटनका स्रोतलाई परिचालन गर्न उनले धेरै वकालत पनि गरे। विज्ञानको विकास गरेर आफूले भनेका जस्ता उद्योगहरू स्थापना गर्ने र आवश्यक प्रविधिीहरू भित्र्याउने काम भएका भए देश विकास हुने थियो भन्ने कुराले आज पनि उनलाई पिरोल्छ। 'यो देशका लागि रसायनशास्त्रका ठूल्ठूला अनुसन्धान गर्ने सोच थियो।

तर उनीहरूले मेरो कुरा सुनेनन्, मलाई वास्ता गरेनन्', धौभडेल सरको निराशा बेलाबेलामा पोखिन्छ। विदेशमा पढ्न जाँदा उनलाई नेपाल नपठाउन धेरै प्रयास गरियो। तर, विदेशीको सेवा गरेर केही पाइन्न, देशमा नै योगदान गर्नुपर्छ भनेर उनी नेपाल फर्केका थिए। यहाँ आएपछि उनले चाहेजस्तो हुन सकेन। तत्कालीन रोनास्टमा बस्ता पनि त्यहाँ परीक्षण ल्याब स्थापना गर्न उनी सफल भए पनि त्यति बेला अनुसन्धानका नाममा नाममात्रैका अनुसन्धान हुने गरेको उनले बताए।

राष्ट्रको उन्नति गर्ने चीजहरू के के हुन सक्छन् र त्यसका लागि के कति गर्न सकिन्छ भनेर उनले त्यति बेला नै राष्ट्रिय अनुसन्धानशालाको सोच पनि सरकारसामु राखेका थिए। तर, उनको सुनुवाइ भएन। यसका कारण आजसम्म पनि उनको मनमा शान्ति छैन। आफ्नो पेसाबाट असन्तुष्ट रहेका डा. धौभडेल यही पीडा पोख्दै दिनरात आँसु बगाउँछन्।

मनभित्र गुम्सिएको असन्तुष्टि पोख्दै उनले भने, 'न मैले आफ्नो देशका लागि केही गर्न सकेँ न कुनै नेपालीका लागि नै। त्यसैले चौबीसै घन्टा रोएरै बिताउँछु।' जबसम्म राष्ट्रिय योजना आयोग, मन्त्रिमण्डल र राज्यका अन्य ठूल्ठूला निकायमा विज्ञानका विज्ञ बस्न पाउँदैनन् तबसम्म नेपालमा विज्ञान क्षेत्र र देशको उन्नति नहुने उनको बताए।

उनी जीवनभर राजनीतिबाट अलग रहे। ३० वर्षीय पञ्चायत शासनकालमा पनि पञ्च बनेनन्। राजनीति गर्नुपर्‍यो भनेर राप्रपाका नेताहरूकहाँ जाँदा 'तपाईंजस्तो इमानदार व्यक्तिले राजनीति गर्न सक्दैन, राजनीतिमा बेइमानी गर्नुपर्छ, चोर र फटाहा काम गर्नुपर्छ जाऊ' भन्दै आफूलाई फर्काइएको उनले सम्झिए। यसले उनलाई राजनीतिक रूपमा शतप्रतिशत स्वच्छ छवि भएका व्यक्तिका रूपमा परिचित त गरायो तर आज देशको राजनीतिक अस्थिरता देख्दा उनलाई निकै दुःख लाग्छ।

ठूला र बलिया नेताले गरिब जनतालाई थिचोमिचो गरेको पत्रपत्रिकामा पढ्दा उनी प्रायः बिहान एकपटक रुन्छन्। 'देशमा सुधार ल्याउन शिक्षक, विद्यार्थी, राजनीतिज्ञ लगायतका सबैले आफूमा सुधार ल्याउनुपर्छ', व्यवस्थामा सुधार ल्याएरमात्रै केही नहुने उनको भनाइ छ। त्यसैले जनता आफैं जागेमात्रै देश बन्नसक्ने उनको ठम्याइ छ।

अहिलेको तुलनामा पहिलेको शिक्षा निकै राम्रो रहेको उनको अनुभव छ। अहिले त विद्यालय र कलेजमा खालि पैसा दिने काममात्रै हुने गरेको र मानवीय उन्नति गराउने खालको शिक्षा नदिइने गरेको उनले बताए। यहाँ उन्नति गर्ने मौका नपाइने हुनाले पढेलेखेका पनि बिदेसिने गरेकोमा सरकारले उनीहरूका लागि राम्रा अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ छ।

सरलता, मेहनत र इमानदारीको मन्त्र उनी आजका पुस्तालाई सिकाउन चाहन्छन्। ठूल्ठूलो इच्छा पाल्दा त्यसको कहिल्यै अन्त्य नहुने हुनाले आफूले जानेका कुरालाई निःस्वार्थ रूपमा देश विकासमा लगाउनुपर्ने उनको सुझाव छ। मानिसको यही योगदानले देशलाई तुरुन्तै स्वर्ग नबनाए पनि यसबाट अरूलाई मिल्ने ऊर्जाले देशको अवस्थामा क्रमिक सुधार ल्याउने उनको ठम्याइ छ।

केही वर्षअगाडि दुवै आँखाको मोतीबिन्दुको शल्यक्रिया गरेपछि उनी राम्रै देख्छन्। तर, कान बहिरोजत्तिकै भइसक्यो भने आफ्नो शरीर आफैंलाई सम्हाल्न गाह्रो भइसक्यो। शरीरको इक्युलिब्रियम हराउँदै गएकाले ज्यादै दुःख लाग्ने उनले बताए। खुट्टा दुख्ने रोगका कारण हिँड्डुल गर्न गाह्रो हुन्छ। साह्रै गाह्रो हुँदा छिनमै मर्छु कि भन्ने पनि लाग्छ उनलाई। आजको दिनमा आएर आफ्नो स्वास्थ्यमा सुधारबाहेकका अन्य चाहना उनमा छैन।

भगवान्प्रति निकै आस्था राख्ने उनी बिहान एउटा साथी लिएर नजिकैको गणेश मन्दिर जान्छन्। करिब ९ बजेतिर शिवपुराण पढेरमात्रै चिया पिउने उनको बानी छ। कपले गर्दा निल्न गाह्रो हुन्छ। तर पनि दाँत नभएका कारणले आफ्नी पत्नी विद्याले पकाएर दिने खानालाई अझै मसिनो बनाउनुपर्छ। पत्नी नभइदिएको भए जीवन अझै कष्टकर हुन्थ्यो भन्दै उनी थप्छन्, 'बिहान बेलुका दालभात खुवाएर मलाई उसैले बचाइराखेकी छ, ऊ नभएको भए म मरिसक्थेँ।'

'यो जीवनमा मैले केही पाएँ भने मेरा विद्यार्थीको माया हो। यही नै मेरो ठूलो उपलब्धि हो', जीवनको सबैभन्दा ठूलो खुसी र सन्तुष्टि उनले यसरी पोखे। जीवनमा पद र पैसा ठूलो होइन; देश, जनता र संसारलाई असल हुने काम गरेर जानुपर्छ भन्ने सन्देश उनी हरेक विद्यार्थीलाई दिन चाहन्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.