अभिनय र संगीतका संगम

अभिनय र संगीतका संगम

मेरो दिल टुक्रा बनेर एक दिन
आँखाको बाटो बहनेछ ।
निबन्धकार शंकर लामिछानेले लेखेको यो गीत अचेल हरिप्रसाद रिमाल गुनगुनाउँदैनन् । अचेल उनी लगभग मौन छन् । रेडियो नेपालका प्रथम गायक रिमालले रेडियोमा पहिलोपटक गाएको गीत हो यो । २००७ साल चैत २० गते उनको गायन पहिलोपटक रेडियो नेपालमा प्रसारित भएको थियो । उनले यसरी नै धेरै गीत गाए ।

उतिखेर नेपालमा गीत रेकर्ड गर्ने चलन थिएन । जागिरे कलाकारहरू प्रत्यक्ष प्रसारणमा गीत गाउँथे । ती सयौं, हजारौं गीतहरू सर्टवेभ र मिडियमवेभको तरंगसँगै फूलको सुगन्ध हावामा बिलाएसरी बिलाई गए । पछि जति गीत रेकर्ड भएर बसे ती नेपाली सदाबहार संगीतका धरोहर बने । रिमालले धेरै गीतमा दिएका सुमधुर स्वर र संगीत देवकोटाले भनेझैं- शून्यमा शून्यसरी बिलाए । अहिले संरक्षित उनका लगभग एक दर्जन गीत सुन्दा चिन्ता लाग्छ, उनका अरू गीत पनि रेकर्ड गर्न पाएको भए हुन्थ्यो । ती फूलका सुगन्ध पफ्र्युम बनेर सानदार प्रिज्महरूमा सजिने थिए ।

फगत एक नजरमा कसैले लियो मन
जति बिर्सुं भन्छु उति सम्झने झन् ।

उनका थोरै रेकर्डेड गीतमध्ये सबैभन्दा चर्चित गीत हो यो । केशवराज पिँडालीको शब्द र रिमालको स्वर र संगीतको यो गीत कालजयी भएर गुञ्जिरहेको छ ।

म पछिल्लोपटक सबैभन्दा बढी गएको सत्यमोहन जोशीको घर हो, त्यसपछि हरिप्रसाद रिमालको । निराशा, धेरै खुसी वा मध्यम-अवस्था कुनै पनि बेला उहाँहरूको घर पुग्दा शान्ति मिल्छ । त्यसैले गइरहन्छु । आज नेपाली समाजको सर्वव्यापी नियति झैं रिमाल दम्पती पनि उही जीवन भोग्दैछन् मेरा बाआमाले झैं । वर्षौं भयो, उनका दुई छोरा यूएसएमै घरजम गरेर बसेका छन् । एउटी छोरी श्रीमान्सँगै दुबईमा छिन् ।

यता रिमाल दम्पती दशकौंदेखि धुमधुम्ती मध्य बानेश्वरस्थित चारतले घरको माथिल्लो तलामा बस्छन् । यिनको अनन्य मित्र सधैं साथमा हुन्छ । मानौं ऊ सबैभन्दा प्यारो छ । मानौं ऊ नभए रिमाल बाँच्नै सक्दैनन् । उही अभिन्न मित्र- अक्सिजनको सिलिन्डर । करिब एक दशकदेखि नियमित अक्सिजन सिलिन्डरमा आश्रित छन् उनी । रिमाल दम्पतीलाई मैले भेट्न थालेको झन्डै १४ वर्ष भएछ । मैले रिमालका नाटक हेर्ने अवसर पाइनँ । न त मैले उनीबाट औपचारिक रूपमा नाटकको तालिम नै लिन पाएँ । तर, सधैं भेट्न जाँदा म उनलाई हातमा ढोग्ने गर्छु मेरा मामाघरका हजुरबालाई झैं । किनभने भेट्दै जाँदा मलाई उनी मेरो गुरुझैं लाग्न थाल्यो ।

उनलाई म ‘सर' भन्छु । उनकी श्रीमती कल्याणी रिमाललाई ‘भाउजू' भन्छु । ‘भाउजू' रेडियो नेपालमा लामो समयसम्म समाचारवाचक तथा कार्यक्रम सञ्चालकको जागिरे थिइन् । मैले उहाँहरूबाट सधैं माया र सद्भाव पाएँ । यत्तिमा पनि कत्ति खुसी लाग्छ, उहाँहरू मलाई परैबाट चिन्नुहुन्छ । जति बाक्लै गए पनि ‘यत्रो दिन किन हराएको' भन्नुहुन्छ । रिमालका असल र हकदाबीवाला चेला धेरै छन् । रिमाल मेरा गुरुहरू हरिहर शर्मा, प्रभाकर शर्मा, वीरेन्द्र हमालका पनि गुरु हुन् । पहिलोपटक हरिवंश आचार्यलाई मञ्चमा उतार्ने निर्देशक पनि रिमाल नै हुन् । रंगकर्मी प्रचण्ड मल्लले समेत रिमाललाई आफ्ना गुरु मानेका छन् । शकुन्तला शर्मा, भुवन चन्द, शुभद्रा अधिकारी, कृष्ण मल्ल, अर्जुनजंग शाही, सम्राट सापकोटा, धेरै रंगकर्मीहरू रेडियो वा रंगमञ्चमा उनकै शिक्षा पाएर हुर्किए ।

रिमालले धेरै वर्ष रेडियोमा गाए । धेरै वर्ष रेडियो नाटक निर्देशन गरे । बालकृष्ण समका असली चेला यिनले पछि ३० को दशकमा सांस्कृतिक संस्थानमा दर्जनौं नाटक निर्देशन गरे । उनको बहुआयामिक जीवनमा अनेकौं चेला र प्रतिभा आए÷ गए । तर, मैले रिमाललाई एकलव्यले जस्तो गुरु मानिरहेँ । दर्जनौंपटक उनीसँग भेट हुँदा नाटकको मात्रै कुरा भयो ।

कहिलेकाहीँ एउटै कुरा दोहोरिन्थे । फेरि म नयाँनयाँ प्रसंगका प्रश्न गर्थें । कहिले लुनासँग, कहिले साथीहरूसँग, प्रायः नाटकका विद्यार्थीसँग त कहिले एक्लै, सुटुक्कै खबरै नगरी उहाँको घरमा छिर्ने बानी गएको छैन । राणाकाल र बालकृष्ण सम, पश्चायतकाल र नाचघर तथा रेडियो नेपालदेखि पचासको दशकसम्मको रंगमञ्चलाई जोड्ने सेतु हुन् रिमाल । उनी मलाई रंगमञ्चका तीर्थस्थल लाग्छन् ।

उनलाई केहीपटक भेटेपछि उनको जीवनी लेख्ने इच्छा जागेको थियो मलाई । आफ्नो ध्यान लेखनमा भन्दा बढी मञ्चमा भयो । मैले यसको लागि कवि अभय श्रेष्ठलाई भनेको थिएँ, केहीपटक । तर, आर्थिक स्रोत नजुटेका कारण यो काम फत्ते गर्न सकिएन । मेरो किताब ‘रूपान्तरणका लागि रंगमञ्च'मा उनको लामो अन्तर्वार्ता राखेर धोको पूरा गरेँ । तर, देख्दादेख्दै, भेट्दाभेट्दै उनीसँगका अरू धेरै अनुभव र इतिहास लगभग विस्मरणमा हराएर गए । मलाई थाहा छैन, उनीसँग संगत गर्ने, उनका समकालीन वा उनको नाटकमा खेलेका कति मानिसले उनको जीवनका अन्तरंग र रहस्यहरू भन्न सक्छन् ? सबैले उनको गुनगानमात्रै गाउँछन् ।

प्रचण्ड मल्ल, हरिहर शर्मा, शकुन्तला शर्मा, प्रभाकर शर्मा, वीरेन्द्र हमाल, सम्राट उपाध्याय आदि- उनीसँग काम गरेका रंगकर्मी-सबैलाई मैले बारम्बार उनीबारे सोधेको छु । तर, तारिफबाहेक गुदी कुरा पाउन गाह्रो भयो । किनभने कसैसँग कुनै अभिलेख छैन । उनीमाथि अखबारमा लेखिएका केही लेख पढ्दा एउटै कुरा दोहोरिएजस्तो लाग्छ मलाई ।

यतिखेर उनी आफैं इतिहास भन्नसक्ने अवस्थामा छैनन् । उनले कतिवटा गीत गाए । त्यसको अभिलेख छैन । धन्न प्रकाश सायमीले उनका गीतहरूको एल्बम निकाल्न चाँजोपाँजो मिलाइदिएछन् । उनले सबैभन्दा बढी नाटक निर्देशन गरेको ठाउँ हो- राष्ट्रिय नाचघर । त्यहाँ जाँदा पनि उनका नाटकका तस्बिर, स्क्रिप्ट त परको कुरा भयो, उनले निर्देशन गरेका नाटकको नाम पनि पाउन मुस्किल छ ।

मैले कल्याणी भाउजूलाई धेरै गनगन गरेर खोज्दा पनि उनले गरेका कामका केही अभिलेख फेला पार्न सकिनँ, शिवाय भित्तामा झुन्डिएका उनले पाएका केही सम्मानपत्र र फ्रेममा झुन्ड्याइएका तस्बिरहरू । न नाटकका तस्बिर छन्, न नाटकको पाठ छ, न नाटकको ब्रोसियर । आफ्ना कामको अभिलेखमा उनी कमजोर रहे । उनले काम गरेका संस्थाहरूलाई त झन् त्यसको चासो भएन । बालकृष्ण समको घर पुग्दा मलाई सधैं टिठ लागेर आउने कुरा पनि यही हो । त्यो घरमा उनका नाति जीवनशमसेर र उनको परिवार बस्छन् ।

म जनाति पुस्ताले देख्दादेख्दै समका अमूल्य वस्तुहरू, उनका पेन्टिङ, पञ्चतत्वव, चित्र कोरिएको सानदार कोठा, उनले नाटकमा प्रयोग गरेका लुगा, अमूल्य तस्बिरहरू र अन्य धेरै महत्ववपूर्ण कुरा हराएर गए । हाम्रा देशका महत्ववपूर्ण मानिसका इतिहास विलय हुँदैछन् । उनीहरूको इतिहाससँगै हाम्रो पनि इतिहास विलय हुने हो । एउटा स्रष्टाको जीवनले उसको मात्रै कुरा गर्दैन, ऊ बाँचेको समयको पनि कुरा गर्छ ।

प्रसिद्ध फ्रान्सेली नाटककार मोलियरको जीवनीमा आधारित पाँच घन्टा लामो फिल्म हेर्दा आजभन्दा चार सय वर्षअघिको फ्रान्सेली समाज बुझ्न सकिन्छ। सेक्सपियर, चेखव वा इब्सनका जीवनीले पनि त्यही गर्छन् । ती महान् व्यक्तित्वका जीवनीले आउने पुस्तालाई सधैं ऊर्जा र ज्ञान दिइरहेको हुन्छ । भारतका प्रसिद्ध रंगकर्मी ओम पुरीको जीवनी लेखियो ।

हाम्रा देशका महत्ववपूर्ण मानिसका इतिहास विलय हुँदैछन् । उनीहरूको इतिहाससँगै हाम्रो पनि इतिहास विलय हुने हो । एउटा स्रष्टाको जीवनले उसको मात्रै कुरा गर्दैन, ऊ बाँचेको समयको पनि कुरा गर्छ ।

नसिरुद्धिन शाह, हविव तनविर, भीष्म साहनी आदिले त आत्मकथा नै लेखे । यी सबै पुस्तकका रूपमा प्रकाशित छन् । दुर्भाग्य, यो देशमा ठूला व्यापारीका प्रायोजित बायोग्राफी छापिए । शक्तिको अभ्यास गर्नेहरू, पुलिस, आर्मी र भ्रष्टाचारीका मोटा गातासहितका मोटामोटा आत्मकथाका किताब छापिए । तर, हरिप्रसाद रिमालजस्ता धरोहरको जीवनी छापिएन ।

अब उनी शारीरिक र मानसिक रूपमा धेरै कमजोर भइसके । उनको स्मृतिक्षयसँगै उनीसँगै हराएर गए- धेरै रोचक कथाहरू, संघर्ष र दुःखका चरणहरू । उनका कमजोरी वा सफलताका प्रसंगहरू । खासमा कोही नजिकको उनलाई चिन्ने, उनको मन पगाल्नसक्ने मान्छे चाहिन्थ्यो उनको जीवनी लेख्न । किनभने रंगमञ्च र अभिनयबाहेक उनी मसँग त्यस्तरी खुलेनन् । जीवनी लेखिने मान्छे जीवनका सबै पक्षमा नखुलेपछि त्यो जीवनी अपूरो हुन्छ ।

उनी ठट्टा गर्न खुब मन पराउँथे । आफूले गाएका गीतका पंक्तिहरू उल्लेख गर्दै ठट्टा गर्थे । उनले गाइहरने अर्को गीत हो-
लब टुनुक टुनुक थपलिके बाम थस्
सुर्ज मञ्ज भञ्ज टिलिलिलि याट्

रिमालका अनुसार, उनी सानै छँदा भारतबाट आएका नाट्यकर्मीहरूले पुरानो टुँडिखेल (अहिलेको रंगशाला भए ठाउँ)मा देखाएको कमेडी नाटकको गीत हो यो । उनी जिब्रो फड्कारेर गाउँथे । उनेको प्रसिद्ध गीत ‘फगत एक नजरमा'का केही पंक्ति गाउँदै उनी हँसीमजाक गर्थे, ‘यो एकआँखे गीत हो, फगत एक नजर रे', भन्थे । उनी आफैंलाई घरिघरि उडाउँदै भन्थे, ‘भैंसीलाई नाथ्री लाएजस्तो हो यो मेरो अक्सिजन पाइप । म दाम्लोमा बाँधिएको जनावरजस्तो भएँ ।' कमजोर र रोगी भएपछि सबै निरीह देखिन्छन् । कसैलाई चिन्नु छ भने उसलाई शक्तिमा भएको बेलामा हेर्नुपर्छ ।

निकै लामो समय रेडियो नेपाल र नाचघरमा एकछत्र ओगटेर बसेका प्रतिभा हुन्- रिमाल । समकालीन रंगकर्मीमध्ये निकै विचारवान् लाग्छन् रिमाल । बालकृष्ण सम, गोपालप्रसाद रिमाल, कृष्णप्रसाद रिमाल, शंकर लामिछानेजस्ता व्यक्तित्वसँग उनले सहकार्य गरे । विसं १९८२ असोजमा काठमाडौंको लगनटोलमा जन्मिएका रिमालको बाल्यकाल उर्दु र नेपालभाषाका नाटकहरूबाट प्रेरित भयो । रिमालका अनुसार उनको जन्म गते भने कसैलाई ठ्याक्कै थाहा छैन ।उनले नै अन्दाजमा ५ गते राखेका हुन् ।

उनी ४, ५ वर्षको हुँदा नै उनकी दिदी उनलाई बोकेर नाटक हेर्न जान्थिन् । रिमालका अनुसार उनको घरपछाडि सुन्धारापछाडि एउटा राणा परिवारको पटांगिनीमा भारतीय ओस्तादहरू बस्थे । त्यहीँ नाटकको अभ्यास गर्थे । दरबार हाइस्कुलमा पढ्न थालेपछि उनले बालकृष्ण समको संगत पाए । विसं १९९५ मा बालकृष्ण समले दरबार हाइस्कुलमा ‘मुकुन्द इन्दिरा' नाटक मञ्चन गर्दा रिमाल १४ वर्षका थिए । त्यतिखेर नाटकको दृश्य परिवर्तनको बेलामा गीत गाउने चलन थियो ।

रिमालले पनि उक्त नाटकको बीचमा गीत गाउने वैकल्पिक कलाकारको काम पाए । तर, त्यस नाटकमा उनको पालो आएन । विसं १९९६ मा समले नाटक ‘प्रह्लाद'मा रिमाललाई प्रह्लादको साथीको भूमिका दिए । यस नाटकको बीचमा भने रिमालले एउटा गीत गाउन पाए । सिंहदरबारभित्रको नाचघरमा मञ्चन गरिएको यस नाटकमा कृष्णप्रसाद रिमाल, गोपीनाथ अर्याल, श्यामकृष्ण भट्टराई आदिले अभिनय गरेका थिए । रामकेशरी नामका कलाकारले प्रह्लादको भूमिका निर्वाह गरेका थिए । त्यसपछि उनले समसँग नियमित काम गर्न थाले ।

कवि तथा नाटककार गोपालप्रसाद रिमालका भाइ कृष्णप्रसाद त्यस समयका निकै प्रसिद्ध र प्रतिभाशाली कलाकार मानिन्छन् । हरिप्रसाद उनीहरूकै काकाका छोरा हुन् । गोपालप्रसादलाई हरिप्रसादको स्वर मन पथ्र्यो । हरिप्रसाद तबला र हार्मुनियम राम्रोसँग बजाउँथे । फुर्सदको समयमा गोपालप्रसाद उनलाई गीत गाउन लगाउँथे । गोपालप्रसादलाई मन पर्नेमध्येको एउटा गीत थियो, सन् १९५५ मा बनेको ‘कातिल' फिल्मको इकबाल बानोले गाएको गीत । यो गीत पटकपटक गाएर सुनाएको सम्झन्छन् हरिप्रसाद रिमाल-
उल्फतकी नई मञ्जिलको चला तु बाँहे डालके बाँहोँ मे
दिल तोडने बाले देखके चल हम भि तो पडे हेँ राहोँ मे

रिमाल भन्छन्, ‘समले दरबार हाइस्कुलमै ‘अन्धवेग' नाटकको अभ्यास गराइरहेका थिए । त्यही बखत राणाविरुद्ध आन्दोलन झन् चर्कियो । राणा सरकारले शुक्रराज शास्त्रीलगायत चारजनालाई मृत्युदण्ड दियो । हाम्रो नाटक मञ्चनमा पनि सरकारले रोक लगायो ।' त्यसपछि समले रिसले गौरीशंकर नाट्य मण्डली बनाएका हुन् । गौरीशंकर नाट्य मण्डलीका लागि रिमालको घरछेउमा घर भाडामै लिएर अभ्यास सुरु भयो । त्यसबाट तीनवटा नाटक मञ्चन भए । नाटक ‘भक्त-भानुभक्त'मा रिमालले घाँसीको भूमिका निर्वाह गरेका थिए । समसँगको एउटा रोचक प्रसंग सम्झन्छन् रिमाल ।

२०११ सालमा समले लेखेको नाटक ‘अमरसिंह'को अभ्यास भइरहेको थियो । नाटकमा बालकृष्ण समले अमरसिंह थापाको भूमिका निर्वाह गरेका थिए, रिमालले राजा राजेन्द्रविक्रम शाहको । दृश्यमा राजा राजेन्द्रविक्रमले अमरसिंहको कुममा हात राख्नुपर्ने थियो । रिमालले त्यसै गरे । समले सहज महसुस् गरेनन् । समको मनोविज्ञान बुझेर रिमालले अर्को दिनदेखि समको कुममा हात राख्न छोडे । नेपाली कला मण्डलबाट यो नाटक सिंहदरबार नाचघरमा मञ्चन गरिएको थियो ।

२००७ सालअघि डिल्लीबजारका मानिसहरू पनि नाटक मञ्चन गर्थे । डिल्लीबजारको नाट्य मण्डलीबाट पनि रिमालले निकै नाटक खेले । डिल्लीबजारमा मञ्चन हुने प्रायः नाटक हिन्दी फिल्मका नक्कल हुन्थे । स्थानीय समूहकै अनुरोधमा रिमालले सन् १९४४ को प्रसिद्ध हिन्दी फिल्म ‘रत्तन'को नक्कल गरेर नाटक बनाएका थिए ।

त्यतिखेर मनोरञ्जनको विकल्प नै रंगमञ्च थियो । रिमालका अनुसार १७ भाइ राणाले आआफ्ना दरबारमा नाटक देखाउन बोलाउँथे । एकै दिन चीनचारपटक नाटक मञ्चन हुन्थ्यो । रिमाल डिल्लीबजारको नाट्य मण्डलीमा प्रसिद्ध थिए । उनले आफ्नो प्रसिद्धिकै कारणले एउटा नाटक खेलेको एक सयदेखि दुई सय रुपैयाँ पारि श्रमिक लिन थाले । राणाहरूको दरबारमा नाटक मञ्चन गर्ने क्रमको अर्को रोचक प्रसंग सुनाउँछन् उनी ।

हालको राष्ट्रपति भवन पहिले चन्द्रशमशेरको छोराको थियो । लगभग २००२ सालतिरको कुरा हो । दरबार परिसरमा प्रेम-बिछोड कथा भएको नाटक मञ्चन गरियो । उक्त नाटकमा रिमाल नायक थिए भने पुष्प नेपाली (गायक) नायिकाको भूमिकामा थिए । नाटकमा नायिकाको मृत्यु हुन्छ । मृत्यु भएकी आफ्नी प्रेमिकालाई काखमा लिएर नायक बिलौना गरिरहेको छ । तर, नायिका बनेका पुष्प नेपालीको टाउकोबाट अचानक कपाल फुस्किन्छ ।

रुनुपर्ने दुःखको दृश्यमा दर्शकहरू हाँस्न थाल्छन् । एउटा कलाकारका रूपमा उनको लागि ठूलो चुनौती थियो त्यो । रिमालले झरेको कपाल बिस्तारै नेपालीको टाउकोमा लगाइदिँदै आफ्नो चरित्रको भूमिकामा डुबे । रुन थाले । बिस्तारै दृश्यले दर्शकहरूलाई पनि रुवायो । रंगमञ्चमा यस किसिमको जोखिम अहिले पनि कुनै पनि बेला आउनसक्छ । प्रत्यक्ष अभिनयमा नसोचेका घटना हुन सक्छन् । कलाकारहरू निकै चलाख र जिम्मेवार हुनु आवश्यक छ ।

रिमालको नाट्य यात्रालाई हेर्दा २००७ सालसम्म राणाहरूको निरंकुश शासनसत्ताको छायाँमा चुनौती मोल्दै उनले रंगकर्म गरे । उनले कहिल्यै स्वतन्त्र समूह बनाएर रंगकर्म गरेनन् । उनी एकातिर लामो समय रेडियो नेपालको जागिरे थिए । पछि राष्ट्रिय नाचघरमा पनि नाटक निर्देशकको रूपमा जागिरे भए । १०१७ सालमा पञ्चायती व्यवस्था अएपछि झन् स्वतन्त्र कलाकारिताको कुनै गुन्जायस थिएन । अझ सरकारी कर्मचारीका लागि ठूलो चुनौती थियो ।

यिनै राजनीतिक संक्रमण र सरकारी नियन्त्रणका बीच उनले आफ्नो कलाकारिता अगाडि बढाए । मनोरञ्जनका दृष्टिले उनका नाटक निकै सफल भए । नाचघरमा हुँदा उनले मञ्चन गरेको गीतिनाटक ‘मुनामदन', गोपालप्रसाद रिमालको ‘मसान', गणेश रसिकको ‘के सक्कली के नक्कली', अनुवाद नाटक ‘सर्पका पाइला', ‘रिसानी माफ है', ‘बन्दिनुस् न त' जस्ता धेरै नाटक लोकप्रिय भए । उनले ‘आमा', ‘हिजो-आज-भोलि', ‘परिवर्तन', ‘मनको बाँध', ‘के घर के डेरा', ‘सिन्दुर'जस्ता चलचित्रमा अभिनय गरेका छन् ।

चलचित्रमा उनको अभिनय हेर्दा र अभिनयका बारेमा उनका विचारहरू सुन्दा थाहा हुन्छ, उनी यथार्थपरक अभिनयमा विश्वास गर्थे । उनको अभिनय अत्यन्तै स्वाभाविक देखिन्छ । उनका अनुसार पूर्ण रंगमञ्च भनेको यही संसार हो । तर, रंगमञ्चमा नाटक खेल्नेहरूले चाहिँ त्यही जीवनबाट केही भाग छानेर लिन्छौं । तर, नाटक झूठो होइन । उनी यथार्थ घटना र नाटकको सम्बन्धलाई जोड दिँदै भन्छन्, ‘नाटकले समाजमा भएका कुरालाई देखाउनुपर्छ ।

सत्य घटनालाई उजागर गर्नुपर्छ ।' नाचघरमा रहँदा त तपाईंले धेरै हास्य र हलुका खालका नाटक मञ्चन गर्नुभयो नि भन्ने प्रश्नको उत्तरमा रिमालले भनेका छन्, ‘त्यसो भएको हो । म त्यसबाट दुखित पनि थिएँ । सामान्यतया सरकारी निकायमा काम गर्ने कलाकारहरू दुई किसिमले बाँधिएका हुँदा रहेछन् । पूरै स्वतन्त्र हुनै नपाउने । कलाकार स्वभावैले समाजप्रति उत्तरदायी हुनुपर्छ । त्यस्तै किसिमको नाटक गरूँ भन्ने चाहना हुन्थ्यो । उता सरकार र प्रशासकले पनि दबाब दिन्छन् ।

प्रशासकहरू आफ्नो सोचअनुसारको काम होस् भन्ने चाहन्छन् । मैले यी दुवै विचारको बीचमा बसेर काम गरेको छु ।' रिमालका अनुसार उनले एउटै नाटकलाई पाँच महिनासम्म चलाएर व्यावसायिक बनाए । तर, उनको अर्को स्वीकारोक्ति पनि छ । सांस्कृतिक संस्थानका महाप्रबन्धकहरूको दबाबमा उनीहरूका झूर नाटक मञ्चन गर्न बाध्य थिए उनी ।

नेपालभाषामा पनि रिमालको दख्खल थियो । बेखानारायण महर्जनहरूसँग मिलेर उनले धेरै नेपालभाषाका नाटक निर्देशन गरे । तर, गीतहरूको जस्तै उनले मञ्चन गरेका नाटक र रेडियो नेपालमा उनले निर्देशन गरेका रेडियो नाटकको पनि कुनै अभिलेख छैन । उनका पालमा धेरैजसो रेडियो नाटक प्रत्यक्ष प्रसारण हुन्थे । त्यसैले यो इतिहासको पनि कुनै गणितीय तथ्य छैन । रेकर्ड हुन नसकेको गीत र लेख्न नसकिएको उनको बायोग्राफीले साँच्चै पीडा दिन्छन् । उनी वरिपरि ती हावामा होलान् । उनले गरेका धेरै कामको हिसाब खोज्ने हो भने बब डिलनलाई सम्झिए पुग्छ— दी एन्सर माइ फ्रेन्ड ब्लोइङ इन विन्ड ।

औसतमा हेर्दा प्रायः कुशल मानिएका कलाकारहरूको आफ्नै अहम र लोभ हुन्छ । रिमाल पनि यसबाट मुक्त देखिँदैनन् । उनी रेडियो नेपालमा चल्तापुर्जा अवस्थामा भएको बेला बाहिरका गायकले उनीबाट भोगेका झमेलाका प्रसंग छन् । रामेश, मञ्जुल, रायनजस्ता गायकलाई त्यतिखेरको पञ्चायत शासनले राम्रो दृष्टिकोणले हेर्दैनथ्यो । सरकारी कर्मचारीहरूसँग पनि उनीहरूको तालमेल सहज थिएन ।

किनभने त्यतिखेरका सामाजिक र राजनीतिक गीत रेडियोमा बज्दैनथे । उनीहरूका गीत रेकर्ड गर्न र बजाउन सहज नभएका हुनाले राल्फा समूहले रेडियो नेपाललाई अवज्ञा नै गरेको थियो । हरिप्रसाद रिमाललाई एउटा गम्भीर आरोप छ । रामेशहरूले रेडियो नेपालमा गाएर पाएको पैसा हरिप्रसाद रिमालले किर्ते हस्ताक्षर गरेर झिकेको प्रसंग छ । त्यतिखेर एउटा गीत गाएबापत गायकले १० रुपैयाँ पाउँथे ।

रिमाल दरबारिया कलाकार हुन्- यसमा दुई मत छैन । त्यतिखेरका काठमाडौंका धेरै रैथाने कलाकार त्यसरी नै हुर्किए । काठमाडौंबाहिरका कति राम्रा कलाकारलाई दरबारले नै आफ्नो आसेपासेमा राखेर सहयोग गरे । प्रवद्र्धन गरे । रिमालका पिता पनि राणाको दरबारमा जागिरे थिए । त्यसैगरी कलाकार सरकारी जागिरे भएपछि दरबारलाई खुसी पार्नु उनीहरूको कर्तव्यजस्तै भयो ।

रिमालका अनुसार उनी तत्कालीन राजा महेन्द्र र वीरेन्द्रको निमन्त्रणामा धेरैपटक गीत गाउन गएका छन् । दरबारका लागि उनले धेरैपटक नाटक तयार गरेका छन् । प्रजातन्त्रको पुनस्र्थापनापछि उनी कुनै शक्तिको पछि लागेनन् । तर पनि नेपालका प्रायः सबै प्रतिष्ठित सरकारी र निजी पुरस्कारबाट उनी सम्मानित छन् ।

नाचघरबाट २०४९ सालमा अवकाश पाइसकेपछि रिमालको निकै ठूलो धोको थियो— प्रज्ञा प्रतिष्ठानमा जाने । तर, उनलाई त्यो अवसर मिलेन । राजसंस्थाको अन्त्यपछि नाट्य संगीत एकेडेमी गठन हुँदा उनी सिलिन्डरमै थिए । तर, अझै उनलाई एकेडेमीमा जाने मोह थियो । यी प्रसिद्ध कलाकारको राजनीतिक वितृष्णा र असन्तुष्टि बेलाबेलामा मैले सुन्न पाएको छु ।

उनका व्यक्तिगत जीवनमा निकै रोचक प्रसंग लुकेर बसेका छन् । उमेरमा चेनस्मोकर र पियक्कड यी प्रेमिल कलाकार निकै युवतीका प्रिय थिए । खिरिलो ज्यानका उनी आफ्ना साथीभाइको जमातमा पनि लोकप्रिय मानिन्थे । कल्याणी भाउजूसँग २०१४ सालमा उनको दोस्रो विवाह भएको हो । उनको पहिलो विवाह २०११ सालमा रेडियो नेपालकै गायिका किशोरीदेवी अधिकारीसँग भएको थियो ।

किशोरीदेवीसँग उनको सम्बन्धविच्छेद या मृत्युपछि कल्याणी पौडेलसँग उनको विवाह भएको भन्ने दुई थरी कुरा बाहिर आएका छन् । मैले धेरैपटक उहाँहरूको व्यक्तिगत जीवनबारे सोध्न खोज्दा कुराहरू बांगिएर फेरि कलाकारितातिरै मोडिए । उहाँहरूले सहज महसुस गर्नुभएन । घरमा जाँदा सधैंभरि कल्याणी भाउजू रिमाल सरको नजिक बसिरहने हुनाले रिमालसँग मात्रै व्यक्तिगत अन्तरंग (खासगरी प्रेम र यौनबारे) कुरा गर्न असम्भव भयो । उमेरमा रिमाल धेरै चुरोट पिउने, प्रायः कार्यालयपछि साथीभाइसँग रमाइलो गर्ने र घर अबेर आउने गरेको प्रसंग कल्याणी भाउजूबाटै सुनेको हुँ मैले ।

‘आरोहण'ले सञ्चालन गरेको गुरुकुल नाट्य केन्द्र परिसरमा गोपालप्रसाद रिमाल र हरिप्रसाद रिमालको संयुक्त नाममा ‘रिमाल थिएटर' बनेको थियो । रिमाल सर र कल्याणी भाउजूले उक्त नाटकघर निर्माणका लागि एक लाख रुपैयाँ सहयोग गर्नुभएको थियो । बानेश्वरमा प्रशस्त जग्गा भएका रिमाल दम्पती आर्थिक रूपमा सम्पन्न हुन् । पछिल्ला वर्षहरूमा उहाँहरू दुवैले आफ्नो केही सम्पत्ति कलाको उत्थानका लागि खर्चन खोजेको मनशाय मैले बुझेको थिएँ ।

काठमाडौंबाहिर नाटक गर्न वा संगीतमा लाग्न चाहने मानिसका लागि केही सहयोग गर्न सकिन्छ भने गर्नुस् भन्ने मेरो सल्लाह थियो । तर, उहाँहरूले ‘हरिप्रसाद-कल्याणी रिमाल प्रतिष्ठान' स्थापना गर्नुभयो । हरेक वर्ष रंगमञ्च र संगीतमा योगदान गर्ने व्यक्तित्वलाई यस प्रतिष्ठानले सम्मान गर्ने गरेको छ ।

स्वास्थ्यका कारण धेरै वर्षदेखि थलिएका यी प्रसिद्ध गायक तथा रंगकर्मी रिमाल उमेरमा निकै रसिक थिए । बालकृष्ण समपछि नेपाली रंगमञ्चमा ठूलो उचाइ भएका निर्देशक र कलाकार मानिन्छन्- हरिप्रसाद रिमाल । उनीजस्ता अनुभवी र प्रतिभाशाली स्रष्टाको सामीप्यमा पुग्न पाउनु दर्जनौं उत्कृष्ट पुस्तक पढेभन्दा बढी हुँदो रहेछ ।

नाटक कलाकारले आफ्नो चरित्र निर्माण गर्ने क्रममा बुझ्नुपर्ने कुराको बारेमा रिमालले मलाई पटकपटक भनेका छन्, ‘कलाकारले टाउको दुख्यो भनेर मात्रै हुँदैन । के कारणले टाउको दुखेको हो, भोकले, अन्य तनावले वा अन्य रोगले ? त्यो बुझ्नुपर्छ ।' रंगकर्मीका लागि यो विचार मन्त्रझैं लाग्छ मलाई ।

उहाँ समसामयिक रंगमञ्चबारे सधैं चिन्तित हुनुहुन्थ्यो । के भइरहेको छ भनेर सोध्नुहुन्थ्यो । मेरा नाटक उहाँलाई देखाउने इच्छा थियो । तर, उहाँको स्वास्थ्यस्थिति देखेर मैले कहिल्यै अनुरोध गरिनँ । दुःख दिन मन पनि लागेन । मेरो एउटा कामना, चिकित्साशास्त्रको जादुमयी प्रभावले उहाँ फेरि तन्दुरुस्त हुनुहोस् र उहाँलाई अहिले राजधानीमा मञ्चन भइरहेका नाटक देखाउन पाइयोस् । र, भन्न पाइयोस्— सर, तपाईंको पुस्ताले निकै दुःखले खनेको बाटोमा हामी हिँड्दैछौं यसरी ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.