उज्याली मनमाया

  उज्याली मनमाया

पूर्व-पश्चिम राजमार्गको एउटा सामान्य बजार हो, गोदार । उत्तरतिर चुरेका सपाट शृंखला पसारिएका छन्, दक्षिणतिर भने उखुबारी, सुर्तीले ढाकिएका खेतका विशाल गह्राहरूले मधेसको यो भू-भाग रंगिएको छ । धनुषा जिल्लाको उत्तरी भेगमा अवस्थित गोदारको सानो बजारभरि अहिले पनि नुन बेच्नेहरूले बेचिरहेकै छन् । तर, ढिके होइन, आयोडिनयुक्त धूलो नुन ।

दसकौंअघि, पूर्व-पश्चिम राजमार्गको कुनै अस्तित्व नभएको बेला गोदारले बनाएको एउटै चिनारी थियो, नुन-बजार । हुन पनि, सिन्धुली, रामेछाप, ओखलढुंगा, खोटाङ, उदयपुरजस्ता पहाडी जिल्लाका बासिन्दा ढाकर बोकेर नुन खेप्न गोदारसम्मै पुग्थे र वर्ष दिनलाई पुग्ने नुन बोकेर फर्किन्थे- कमला, अरुणककुर, तावा, बादुरा, वाक्सु, जिर्गा, चदाहाजस्ता खोलाका अनेक जँगार तर्दै ।

मनमाया थापा मगर, ९९ लाई धमिलो सम्झना छ अहिले पनि । कमला नदी तरेर चुरेका घाँचहरू छिचोल्दै चिसापानी, गोदारमा पुगी नुनको भारी कसेर पुनः सोही बाटो फर्किएका यादले उनलाई ती पुराना दिनतिर डोर्‍याउँदै लैजान्छ । भन्छिन्, ‘एकपटक नुन लिन जाँदा नौ, दस पाथी ढिके नुन लिएर आउँथ्यौं । त्यति नुनले ठ्याक्कै वर्ष दिन पुर्‍याउँथ्यौं ।' त्यसरी दुई÷तीन दिनको बाटो गोदारसम्म नुन लिन जाँदा उनलाई कहिले पतिले साथ दिन्थे, कहिले छोराछोरीले ।

गाउँका अरू मानिसहरू पनि एकत्रित भएर नुन खेप्न जान्थे । त्यसरी नुन लिन जाने फौजले विभिन्न बाटा, अनकन्टार घारी, तरी, खोच, सातपत्रे झाडी छिचोल्दै मधेस र चुरेको सीमान्त थलोसम्म आफ्नो यात्रा तय गर्थे । ढुंग्रे, डकाहा, बख्वर हुँदै चिसापानीसम्मै पुग्थे, नुन लिन । मनमाया सम्झिन्छन्, ‘हामीले त तोरी, मीठेफापरसँग साटेर नुन ल्याएका थियौं ।'
‘एक पाथी फापर दिँदा कति नुन आउँथ्यो ? '

मनमाया भन्छिन्, ‘डेढी आउँथ्यो । एक पाथी फापर दिँदा डेढ पाथी नुन आउँथ्यो ।' चिसापानीबाट फर्किँदा नुनसँगै मट्टीतेल र कपडा पनि ल्याइन्थ्यो । त्यसो त, त्यतिबेला कपडामा घरेलु उत्पादन खाँडीको धेरै प्रचलन थियो । सुनकोसी पारिको रामेछाप, दोलखाजस्ता जिल्लाहरूमा खाँडी बुन्ने गरिन्थ्यो । मनमाया भन्छिन्, ‘कोसी पारिबाट खाँडी ल्याउँथ्यौं र गाउँमा दमैलाई बोलाएर सिउन लगाउँथ्यौं । सिरक, खास्टो र अरू कपडाहरू सिलाउन लगाउँथ्यौं ।'
०००
जीवनका आरम्भिक दिनहरू सिन्धुलीको बालाजोरस्थित खावामै बित्यो उनको । महाभारत पर्वत शृंखलाको दक्षिणी भेगको प्राकृतिक सुन्दरतामा रमाउँदै, वनजंगलहरूमा घाँस-दाउरा गर्दै, मृग, वनखरायो र घोरलहरूका पदचिह्न पछ्याउँदै र पन्छीहरूका सुमधुर स्वर सुन्दै बाल्यकाल बिताएका उनको १६ वर्षमा बिहे भयो । त्यति टाढा होइन, एकदुई गाउँपर्तिरको सिम्लेमा उनको बखतबहादुर थापासँग मागी बिहे भयो । उनी सम्झिन्छन्, ‘मलाई लिन ३० जनाभन्दा बढी नै जन्तीहरू आएका थिए । माइतीमा २० धार्नी जतिको सुँगुर ढालिएको थियो भने घरमा चाहिँ खसीहरू काटिएका थिए ।'

नेपालका विभिन्न जातजातिहरूमा आ-आफ्नै संस्कृति, परम्परा, रीतिरिवाजहरू रहेका छन् । तिनै विविध संस्कृतिले नै नेपाली समाजलाई समृद्ध बनाएको छ । त्यसो त, मगर समाजमा बिहेबटुलोको आफ्नै ढर्रा छ । मनमायालाई माग्न जाने बेलामा मगर समुदायको परम्पराअनुरूप दहीको ठेकी, रक्सीको पुङ र सिउर हल्लाउने भाले पनि लगिएको थियो ।

उनी सम्झिन्छन्, ‘उहिले-उहिले ठूलो कोसेली भनिन्थ्यो, त्यसलाई । रोटी, रक्सी, दही ल्याइएको थियो । भालेहरू पनि ल्याइएको थियो ।'  २० वर्षकै उमेरमा उनले पहिलो पुत्र जन्माइन् । त्यसपछि उनी ११ सन्तानकी आमा बनिन्- सात छोरा, चार छोरी । त्यसो त, उनले पुत्रपुत्री वियोग पनि भोगिन् । अहिले पाँच छोरा र एउटी छोरीमात्रै जीवित छन् । उनी भन्छिन्, ‘साइँला छोरा सानै उमेरमा बिते । अन्तरे चाहिँ काठमाडौंतिरै थियो, उतै बित्यो ।'

९९ वर्षकी मनमाया थापामगरलाई कमला नदी तरेर चुरेका घाँचहरू छिचोल्दै चिसापानी, गोदारमा पुगी नुनको भारी कसेर पुनः सोही बाटो फर्किएका यादले पुराना दिनतिर डोर्‍याउँदै लैजान्छ ।

सुका, मोहरजस्ता मुद्राहरू अहिले संग्रहालयमा सुरक्षित छन्, चलनचल्तीबाट हटेको वर्षौं भइसक्यो । तर, मनमायाले भने एक सुकामा ठ्याम्मै एक माना घिउ किनेकी थिइन् । भैंसी, राँगा, खसी-बाख्राहरू पनि निकै सस्तोमा किनबेच हुन्थ्यो । उनी सम्झिन्छन्, ‘के कुरा गर्नु ? धेरै सस्तोमा पाइने जमाना थियो ।'
०००
जीवनमा दुई ठूला महाप्रलयको साक्षी बनिन्, मनमाया । १९९० र २०७२ दुवै फरकफरक वर्षका भुइँचालो उनको स्मृतिपटमा अंकित छन् । १९९० सालको भुइँचालोलाई यसरी सम्झिन उपयुक्त ठान्छिन् उनी, ‘९० सालको भुइँचालो जाँदा म खावामै थिएँ । कोक्रोमा नानी हल्लाएझैं बेस्सरी हल्लायो । त्यतिबेलाको भुइँचालोले गोठनेर चिरा पनि पार्‍यो ।

जमिन नै फुटेको र भासिएको थियो ।' ९० सालको भुइँचालोले सबै जमिन कम्पायमान तुल्याउँदा मनमाया भने वनमा थिइन् । उनी बाख्रा चराउन जंगल गएको बेला नै भुइँचालोले आफ्नो ताण्डव लीला मच्चाएको थियो । भन्छिन्, ‘भुइँचालो आएपछि म घरतिर दगुरेँ । मैले चराउन लगेका बाख्राहरू पनि मसँगसँगै घरतिर दगुर्दै आए ।'

भुइँचालो आउँदा उनको बिहे भइसकेको थिएन । त्यसको दुई वर्षपछि मात्रै उनको बिहे भयो ।
०००
मनमायाले सानैदेखि सुनेकी थिइन्, हलेसी महादेवको दर्शन गरे आफूले चिताएको पूरा हुन्छ । धार्मिक विश्वास र आस्थाले डोर्‍याउँदै उनी चालीसको दशकतिर खोटाङको हलेसी महादेवको दर्शन गर्न गइन् । गाउँ छाडेर कतै टाढाको यात्रा गरेको यो नै उनको निम्ति पहिलोपटक थियो । गाउँभन्दा उत्तरतिरको डुँडभन्ज्याङ हुँदै कोसीको किनारैकिनार उनी हलेसी पुगेकी थिइन् । भन्छिन्, ‘जाँदा र आउँदा सात दिन लाग्यो ।'

त्यतिबेला बाटाहरूमा कुनै पसल हुँदैनथ्यो । त्यही भएर, हलेसी यात्राका क्रममा सामलतुमलहरू उनले घरबाटै बोकेर गएकी थिइन् । ठट्यौली पारामा भन्छिन्, ‘त्यो बेलामा कल्ले दिन्थ्यो र ? आफैँले नलगी कहाँ हुन्थ्यो र ? '
हलेसीबाहेक काठमाडौं र रामेछापसम्म पुगेकी छन् उनी । तर, काठमाडौंको यात्रा तय गर्नुअघि उनी रामेछाप डाँडामा रहेको बजार निकै पटक पुगिन् । रामेछाप डाँडामा हरेक बिहीबार हाट लाग्थ्यो ।

भिरालो-भिरालो परेको ठाउँमा फुंग उडेको माटाहरूका मैदानबीच हाट लाग्थ्यो । उनी सम्झिन्छन्, ‘रामेछापको हाट हेर्न गोपालपुरमा रहेकी माइली छोरी र म गएका थियौं ।' त्यतिबेला रामेछापको हाटमा उनी घरमै बनाएको स्थानीय रक्सी र केरा बेच्न गएकी थिइन् । हाटमा रक्सी र केरा बेचेपछि केही रकम हात पथ्र्यो । उनी भन्छिन्, ‘रक्सी र केरा बेच्दा १२ रुपियाँ हात परेको थियो । त्यो बेलामा धेरै त कहाँ आउँथ्यो र ? '

त्यसो त मनमायाको काठमाडौं-यात्रा अविस्मरणीय नै रह्यो । कुन वर्ष काठमाडौं टेकेकी हुन् ? उनलाई याद त छैन । तर, काठमाडौं जाँदाका रमाइला प्रसंग भने अहिले पनि कोट्याउँछिन् । छोरी र केही आफन्तहरूसँगै खुर्कोट, मूलकोट, नेपालथोक, रोसी, दाप्चा, बनेपा हुँदै उनले काठमाडौंसम्म पैदल यात्रा गरेकी थिइन् ।

पूर्वी नेपालका अधिकांश जिल्लाका बासिन्दाहरूको त्यो पुरानो र चल्तीको बाटो छिचोल्दै काठमाडौं पुग्दा उनलाई त्यहाँका धेरै चिजहरूले आकर्षित गर्नु स्वाभाविकै थियो । भन्छिन्, ‘काठमाडौंसम्म पैदलै गए पनि फर्किँदा भने गाडीमा नै आयौं । काठमाडौं गएको नौ दिनपछि बर्दिवासमा निस्कियौं, राति ।' काठमाडौं जाँदा सामलतुमलहरू डोकामा बोकेर गएकी थिइन् उनी । पकाउने भाँडाकुँडा पनि सँगै लिएर गएकी थिइन् । पहिलो दिन शीतलपाटीमा बास भयो । यात्रामा उनीसँगै छोरी, देउरानी पनि गएका थिए ।

काठमाडौं जाँदा उनले पशुपतिनाथको दर्शन गरिन् । सम्झिन्छन्, ‘पशुपतिनाथको मन्दिर राम्रो लाग्यो मलाई । त्यहाँ मान्छे पोलेको पनि देख्यौं । बन्कर (बाँदर) हरू पनि हुरुरु आउँदा रहेछन्, त्यहाँ त । मन्दिरमा चढाएका कुराहरू टिप्दै, लैजाँदै खाँदा रहेछन् ।'

मनमायाले जीवनमा पहिलोपटक गाडी चढेको पनि काठमाडौंबाट बर्दिबास फर्किने क्रममा नै हो । तर, उनको गाडी-चढाइ त्यति सुखद रहेन । पूरै वान्ता गरिन् । भन्छिन्, ‘लुगाभरि छाँदेँ मैले । मरेजस्तै भएर आइपुगेँ । जनकपुरसम्म गाडीमा थुप्रैपटक गएँ, तर केही भएन । टाढाको बाटो भएर त्यस्तो भएको रहेछ मलाई । घरि उचाल्ने, घरि पछार्ने गरेपछि छाँद आउँदो रहेछ । बेस्सरी हल्लायो । तर, राति भएको हुँदा बाटो कस्तो थियो, केही थाहा भएन ।'

०००
सय वर्ष पुग्न एक वर्ष बाँकी रहे पनि मनमायामा अहिलेसम्म कुनै गम्भीर स्वास्थ्य-समस्या देखिएको छैन । आँखा केही कमजोर छ, मानिसलाई ठम्याउन सक्दिनन् । तर, बत्तीस लहर दन्तमा एकाधबाहेक अरु छन् नै । भन्छिन्, ‘जे पनि खान्छु म । मकैं, भटमास पनि चपाउन सक्छु । ढिँडो, दूध, दही, मोही, घिउ, तोरीको साग सबै मनपर्छ मलाई ।'
‘दाँत झरेको रहेनछ, झरेर पछि हाल्नु भएको त होइन नि ? ' मनमाया भन्छिन्, ‘हैन, उम्रिएको हो उहिल्यै । तर एउटा बंगारा भने झर्‍यो ।'

०००
समय धेरै बदलियो । मान्छेका स्वभाव, चरित्र, रुचि र आकांक्षाहरूमा पनि परिवर्तनका धेरै बुट्टाहरू कुँदिएका छन् । परिवर्तित समय र मान्छेका रुचिहरूलाई मनमाया तुलना गर्न चाहन्छिन् । भन्छिन्, ‘अहिले मानिसहरू बजारबाट किनेर घरैमा राम्रा-राम्रा लुगा लगाउँछन् । तर, पहिला भने हामी चिसापानीसम्म लुगा किन्न जान्थ्यौं । तेल र नुन पनि त्यहीबाटै ल्याउँथ्यौं ।'

मनमायाले दीर्घ जीवन प्राप्त गर्नुमा अरू केही रहस्य छैनन् । महाभारत पर्वत शृंखलाबाट बगेर आउने खोलाको चिसोपानी, भकारोमा उम्रिएको शतप्रतिशत अर्गानिक सागपात, स्थानीय फलफूल, दूध, दही, मोही, घिउ र आफ्नै खेतबारीमा उत्पादित अन्न ग्रहण नै उनको दीर्घायुको रहस्य बन्न पुगेको छ । हुन पनि, सिम्लेको अनकन्टार कुनाकाप्चामा उत्पादन हुने अन्न, फलफूल र तरकारीले कहिल्यै विषादी र रासायनिक मलको मुहारसम्म देख्न पाएका छैनन् ।

त्यसो त, गाउँमा आफ्ना समकालीन कोही नहुँदा उनलाई कहिलेकाहीँ खिन्न महसुस हुन्छ नै । भन्छिन्, ‘मेरा उमेरका मानिसहरू गाउँमा कोही पनि छैनन्, सबै बितेर गइसके ।'

वनजंगलमा घाँस-दाउरा काट्न जाँदा उनका एकजना मिल्ने साथी थिए । तर, ती साथीलाई उनले गुमाएको पनि वर्षौं बितिसकेको छ । भन्छिन्, ‘मेरी एउटा मिल्ने साथी थिइन् । तर, उनी तरुनी छँदै बितिन् ।'

यो उमेरसम्म आइपुग्दा मनमायाले खनातिसम्मको अनुहार हेर्ने सौभाग्य पाएकी छिन् । छोरीतिरबाट खनाती देख्ने सौभाग्य बटुले पनि छोरातर्फबाट भने पनातिमात्रै देखेकी छिन् । उनी ठट्टा गर्दै भन्छिन्, ‘पनाति पनि लाठे भइसक्यो । उनले बिहे गरेका भए त खनाति पनि देख्न पाइन्थ्यो ।'

तर, उनका कुनै पनातिको बिहेको कार्ड छाप्नुपर्‍यो भने अब एउटा पूरै पाना नै भरिने सम्भावना छ । करिब ७० भन्दा बढी नै सन्तानका उनी एक्ली अभिभावक हुन् । भन्छिन्, ‘धेरै छन् सन्तानहरू । गनेर साध्य नै चल्दैन ।' आफूलाई नाति, नातिनी, पनातिनीहरूले भेट्न आउँदा कोसेलीपात बोकेर आउने गरेका हुँदा खुसी लाग्ने अनुभव पनि उनले पस्किनँ ।
०००

अन्तर्राष्ट्रिय, राष्ट्रिय, जिल्ला, इलाका वा गाउँ तहसम्मका राजनीतिक गतिविधि र क्रियाकलापप्रति उनलाई त्यति धेरै चासो छँदा पनि छैन । किनकि, राजनीति बुझ्नु मनमायाको बसको विषय होइन । तर, केही चुनावमा भने उनले आफ्नो मताधिकार प्रयोग गरेकी छिन् । उनी सम्झिन्छन्, ‘मैले चारपटक भोट हालेकी छु । गैरीखानीमा दुईपटक र सिम्लेमा दुईपटक भोट हालेँ ।'

२०४९ सालमा उनका माइला छोरा ठेटबहादुर थापा बालाजोर गाउँ विकास समितिको अध्यक्षमा उठेका थिए । उनका छोराले चुनाव जिते पनि । उनी सम्झिन्छन्, ‘मैले माइला छोरालाई पनि भोट दिएँ र पुलामी (टुप्तबहादुर पुलामी) लाई पनि भोट दिएँ । माइला भतिजा तीर्थबहादुर थापालाई पनि भोट दिएँ ।'

‘भोट पनि हाल्नुभएको रहेछ, राजनीतिबारे केही थाहा छ ? '

उन्मुक्त हाँसो छर्दै मनमाया प्रत्युत्तरमा भन्छिन्, ‘अहँ, राजनीतिबारे केही पनि थाहा छैन ।' तर, राजनीतिबारे अनभिज्ञ रहे पनि राजनीतिकै कारण आफ्नै छोराहरू र गाउँलेहरूलाई तात्कालीन प्रहरी, प्रशासनले दुःख दिएको, कुटपिट गरेको घटनाका भने उनी असली साक्षी हुन् ।

पञ्चायतकालकै बेलाको कुरा हो । २०३७ सालतिर । उनका काइँला छोरा, कान्छा छोरा, भानिज र ज्वाइँलाई प्रहरीले समातेर लगे । तिहारको समय थियो त्यो । प्रहरीले समातेर लगेपछि लंगुर खोलामा पुर्‍याइयो । त्यहाँ प्रहरी र गिरफ्तारमा परेकाहरू मिलेर देउसी खेलेको कुरा उनको स्मरणमा अझै ताजै छ । भन्छिन्, ‘घरबाट चाहिँ कुट्दै, पिट्दै लिएर गयो तर लंगुर खोलामा पुगेपछि त देउसी पो खेलेछन् ।'

प्रहरी ज्यादतीलाई उनले नजिकैबाट नियालिन् । चाडपर्वका बेला प्रयोग गर्ने हेतुले घरमै पारिएको रक्सी पोख्नेमात्र होइन, रक्सी पार्ने भाँडाकुँडाहरू पनि लिएर गए । भन्छिन्, ‘सबै भाँडाकुँडाहरू लिएर गए । त्यसरी उनीहरू आउँछन् भन्ने के थाहा ? झ्याप्प आए र लिएर गए ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.