नयाँ पुस्ताको प्रतीक्षा
नेपालमा जनतामा अधिकार पुर्याउन भनेर पटकपटक आन्दोलन, क्रान्ति र विद्रोहद्वारा राजनीतिक परिवर्तनहरू भए । हरेक परिवर्तनपछि अब नेपाल प्रगतिको बाटोमा तीव्र गतिमा अघि बढ्ने आश्वासन पनि दिइयो, तर नेपाली जनतालाई हालसम्म निराशाबाहेक केही पनि हात लागेको देखिँदैन ।
सत्ता परिवर्तन भयो शासन उही छ, नेता परिवर्तन भयो नियत उही छ र अहिले पनि यो वा त्यो बहानामा दोष अरूमा थोपर्ने र आफ्नो स्वार्थ पूर्तिलाई मात्र केन्द्रविन्दुमा राख्ने परिपाटीको नियमितता छँदैछ । यसमा अपवादसमेत भेट्न मुस्किल भएको छ । नेताहरू, नागरिक समाज, सञ्चारजगत्, कर्मचारीतन्त्र, विद्यार्थी, युवा र सर्वसाधारणमा समेत यस्तो प्रवृत्ति हावी भएको छ । यस्तो गतिमा अघि बढिरहेको समाजले देशलाई कता लैजाने हो भन्ने चिन्ता जिम्मेवार व्यक्तिहरूमा समेत देखिएको छैन । अगुवाहरूले नै कुबाटो समातेको देखिन्छ । सत्ता नै सबथोक हो र यसमा टिक्नसक्नु नै राजनीतिक कला हो भन्ने सोच व्याप्त छ ।
सबै पार्टीहरू नेताको निजी संस्थाको रूपमा परिणत भएका देखिन्छन् । नेताहरूमा पार्टी फुटाएरै भए पनि आफैं नेता हुने, नयाँ नेतृत्व विकास हुन नदिने, प्रतिस्पर्धीलाई शत्रुवत् व्यवहार गर्ने र आफ्नो स्वार्थअनुसार नचल्नेलाई उपेक्षा गर्ने जस्ता प्रवृत्ति बढ्दै गएका छन् । प्रजातन्त्रकालका नेताहरूमा समेत अन्तिम अवस्थासम्म पनि पार्टीलाई कब्जा गरेर बस्ने प्रवृत्तिमा कुनै कमी आएको छैन । जनतासमेत यस्तैमा अभ्यस्त भएजस्तो देखिन्छ । कतिले त यस्तो टिप्पणीलाई ‘तथाकथित’ बुद्धिजीवीहरूको छटपटी मात्र पनि भन्ने गरेका छन् । हरेक चुनावमा उही पुरानो अनुहारको निरन्तरताले सर्वसाधारण जनतामा परिवर्तनको चाहना र तीव्र असन्तुष्टि नरहेको तर्फ इंगित गरेको आकलन गर्नेहरू पनि छन् । स्थापित नेतृत्वहरूको पनि यस्तै सोच रहेको हुनुपर्छ ।
हरेक सूर्यास्तले नयाँ बिहानी निम्त्याउँछ । यो कुरा राजनीतिमा पनि लागू हुन्छ । पुरानो पुस्तालाई नयाँ पुस्ताले विस्थापित गर्छ र गर्नुपर्छ । यसका लागि संविधानमा प्रावधानसमेत गरिएको हुन्छ । नेपालका हालका सबै पार्टीका नेताहरू आफैं नेता रहिरहन यस्तो प्रावधानको उच्चारणसम्म पनि गर्दैनन्। संयुक्त राज्य अमेरिकाको संविधानअनुसार कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपति हुन सक्दैनन् भनेर स्पष्ट रूपमा लेखिएको छ । यस्तो प्रचलन अमेरिकाका पहिलो राष्ट्रपति जर्ज वासिंटनको पालादेखि नै सुरु भएको हो । तर त्यस समयमा संविधानमा यस्तो प्रावधान भने थिएन । दोस्रो विश्वयुद्धताकाका राष्ट्रपति रुजबेल्ट चारपटक राष्ट्रपति भएका थिए । सन् १९४७ मा थपिएको यो प्रावधान भविष्यमा कसैले पनि दुईपटक भन्दा बढी राष्ट्रपति हुन नसकून् भनेर ल्याइएको थियो ।
नेपाली जनतामा परिवर्तनको लालसा स्पस्ट देख्न सकिन्छ। यसको लागि सत्पात्र भने निस्कन सकेको छैन। यो आउनुपर्ने युवा पुस्ताबाटै हो, जो अहिले अन्योलमा परेको देखिन्छ।
अमेरिकाका पहिलो राष्ट्रपतिले चाहेको भए आफूलाई ‘राजा’ घोषणासमेत गर्न सक्थे भनिन्छ । तर उनी दुई पटकभन्दा बढी राष्ट्रपति हुनसमेत चाहेनन् । यसो गर्नुमा दुई पटकभन्दा बढी कोही राष्ट्रपति भएमा उनलाई वस्तुतः आफू नै ‘राजा’ भएको महसुस हुनसक्ने भएकाले यस्तो नहोस् भन्ने आशयले यो संशोधन गरिएको हो भनिन्छ । रुजबेल्टले यो अपेक्षा अनुशरण नगरेकाले संविधानमा यो विषय थपिएको थियो ।नेपालमा अरू ठूला–ठूला कुरा गर्ने नेताहरूसमेत यस्ता प्रावधान राख्ने कुराको उच्चारणसमेत गर्दैनन् । यसको निहित आशय कथंकदाचित आफूले सकेमा अकंटक सत्तामा बसिरहने लालसा नै हो भन्ने स्पष्ट छ ।
भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीले भनेकी थिइन्, ‘एक समयमा नेतृत्व भनेको बाहुबल थियो, तर हाल आएर नेतृत्व जनतालाई साथ लिएर जानसक्ने क्षमता भएको छ ।’ तिनै शक्तिशाली भारतीय नेतृलाई जनताले नै उनले लगाएको आपत्कालपश्चात् पूर्णरूपमा नकारेको थियो । एकजना जनविद्रोहमा लागेर पछि मन्त्रीसमेत भएका नेताले जागिर खोज्न आउने मतदाताको ताँती देखेर आजित भएर अन्तर्वार्तामा भनेका थिए, ‘नेपालको वास्तविक समस्या भनेको बेरोजगार नै रहेछ र पहिले विद्रोहको समयमा ठम्याएका विषयहरू त गौण रहेछन् ।
नेपालजस्तो रोजगारको लागि आफ्नो देश छोडेर विदेश जानेहरूको संख्या अत्यधिक भएको देशमा यो कुरामा सत्यता छ ।’ हाम्रो देशका राजनीति नै पेसा बनाएका नेताहरूमा पनि आफू बेरोजगार हुने डरको मनस्थिति रहेको छ र यसैले गर्दा संविधानमा कार्यकारी प्रमुखको पदको निश्चित पदावधि तोक्ने विषय उठाउन कोही पनि तयार देखिँदैन । नेता हुनको लागि कुनै पद चाहिँदैन भन्ने भनाइ माहात्मा गान्धीमा त लागू भयो होला तर हालका अरू कुनै दक्षिण एसियाका नेतामा लागू हुँदैन ।
नेपालमा हालको नेतृत्व असफल भयो र ‘नयाँ’ को आवश्यकता छ भन्नेको संख्या कम छैन । यस्ता पार्टी, गुट, मञ्च, अभियान आदि नामका समूहहरू च्याउसरि उम्रिएका छन् र यस्तो प्रक्रिया रहिरहनेछ । कसैले आफूलाई विकल्प भन्दैमा विकल्प हुने पनि होइन । समय र परिस्थितिले यसलाई ल्याउने नै छ। नेपालका हालका दलका अगुवाहरूमा विगत लामो समयदेखि पद ओगटेर बस्नेहरूको बाहुल्य छ र रहिरहने देखिन्छ । मिलीजुली सत्ताको भागबन्डा पाउने र आशा गर्नेबाट न नेतृत्वलाई चुनौती दिने सामथ्र्य छ न चाहना। तसर्थ आवश्यकता हुँदाहुँदै पनि परिवर्तन सजिलै हुने अवस्था भने छैन । ‘सत्ता सुख’ भोगिरहेकाहरूले आफैंले सत्ता छोडेको उदाहरण विरलै पाइन्छ। अन्तिम अवस्थासम्म पनि सत्तामा टिकिरहने लालसा राख्नेहरूमा अपवादमा समेत कोही भेटिएको छैन ।
नेपाली जनतामा परिवर्तनको लालसा स्पस्ट देख्न सकिन्छ । यसको लागि सत्पात्र भने निस्कन सकेको छैन । यो आउनुपर्ने युवापुस्ताबाटै हो । युवापुस्ता अहिले ठूलो अन्योलमा परेको देखिन्छ । पहिलो थरीका युवा कथित पाश्चात्य शिक्षाको प्रभावमा रहेका छन् र उनीहरूको एकमात्र लालसा पश्चिमा मुलुकमा पलायन हुने रहेका छन् । नेपालमा आफैंले प्रयोग गरेको थालसमेत छुन घिनाउनेहरू विदेशमा होटेलमा ‘डिसवास’ गर्न परे पनि तयार हुन्छन् । विदेशमा जुनसुकै काम पनि गर्न नहिच्किचाउनेहरू नै स्वदेशमा भने काम गर्न रुचाउँदैनन् र देशलाई दोष लगाउन पनि पछि पर्दैनन् । विदेश पलायन हुन यो समूह अभिभावकलाई घुक्र्याउन र दबाब दिनसमेत पछि पर्दैन । यीबाट देशले कुनै आशा गर्न सक्दैन ।
दोस्रोमा पढाइभन्दा राजनीतिमा बढी रुचि लिने युवा छन् । यिनका एउटै मात्र सीप भनेको ठूला–ठूला कुरा गर्न सक्ने क्षमता हो, तर यिनमा काम गर्ने तरिका, इच्छशक्ति र ढंगको अभाव छ। यो समूह नेतृत्वको दौडमा त छ तर जहिले पनि स्रोत र साधनको जोहोमा नेतृत्वको ‘चाकडी’ मा लाग्ने यो समूहले नेतृत्व प्राप्त गर्ने र फलदायी हुने अवस्था छैन । तेस्रोमा बेरोजगारको ठूलो समूह रहेको छ । यो समूह वैदेशिक रोजगारको लागि विदेशमा परि श्रम गर्ने, देशमा विप्रेषण पठाउने र सानोतिनो लगानीसमेत गर्ने वर्ग हुन पुगेको छ। नेपालको हालको आर्थिक गतिविधि यिनकै भरमा चलेको छ, तर यो वर्ग सत्ताबाट धेरै टाढा छ, राजनीतिक नेतृत्वमा यिनीहरू प्रतिस्पर्धामा छैनन् ।
चौथोमा देशमा रहेका बेरोजगार छन्, जो राजनीतिक दलमा आबद्ध रहने, राजनीतिक गतिविधिमा संलग्न रहने, फाइदाअनुसार आस्था बदल्दै जाने, सुविधाको लागि जस्तोसुकै कार्य गर्न पनि पछि नपर्ने र नैतिकताको वास्ता नराख्ने समूह रहेको छ। यसबाट पनि देशको कायापलट गर्ने नेतृत्व निस्कने आशा गर्न सकिँदैन । नेपालमै रहेका, शिक्षित र दूरगामी सोच राख्ने समूहको पनि कमी छैन। राजनीतिसँग निस्पृह र भविष्यको लागि चिन्तित यो समूह नेपालको राजनीतिक माहोलमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। राजनीतिक दल बलियो, प्रभावकारी र जनप्रिय हुनको लागि यो समूहलाई आफ्नो फाँटमा ल्याउन सक्ने क्रियाकलाप हुन आवश्यक छ। हालको फाइदाको मात्र पछि लाग्ने दल र नेताहरूसँग यो समूह पूर्णरूपमा उदासीन देखिन्छ । यस समूहमा आशाको सञ्चार गराउन सक्नु आजको आवश्यकता हो।
हालको नेतृत्व ‘डाँडाको जुन’ भइसकेको अवस्था छ। उमेरले, विचारले, क्रियाशीलताले र सोचले। नेतृत्वमा पुस्तान्तर हुने समय आइसकेको छ। यो कुरा नेतृत्वमा रहनेलाई पनि आभास भइसकेको छ। तर उनीहरूलाई बेरोजगार हुने भय र जीवन रहेसम्म नेतृत्वमा रहने लालसाले पनि छोडेको छैन। जागरुक नेपालीले यो कुरा स्पष्टसँग बुझेका छन्-अबको नेतृत्व नयाँ पुस्ताबाटै निस्कनेछ।