चुनावका चुनौती

चुनावका चुनौती

चुनावको बहसले तीव्र गति लिँदैछ । चुनाव आज घोषणा होला कि भोलि भनेर जनता प्रतीक्षा गरेर बसेका छन् । चुनावी चर्चा सुन्दा चुनाव होलाहोला जस्तो भए पनि चुनाव चुनौतीविहीन भने छैन । सरकारले अबको स्थानीय तहको चुनाव चुनौतीको चाङमाथि बसेर गराउनुपर्नेछ । निर्वाचन आयोगले समेत चुनावका लागि केही चुनौतीको आकलन गरी सरकारलाई ध्यानाकर्षणसमेत गराइसकेको छ । खासगरी कानुन नबन्नु, स्थानीय तहको कार्यान्वयनमा कठिनाइ उत्पन्न हुनु र दलहरूबीच सहमति हुन नसक्नुले चुनावलाई चुनौती थपेको निर्वाचन आयोगको ठम्याइ छ । यसबाहेक पनि चुनावका अगाडि बग्रेल्ती चुनौतीहरू छन्-

सीमांकन र संविधान संशोधन विवाद

स्थानीय तहको निर्वाचनको लागि सबैभन्दा प्रमुख चुनौती नै सीमांकन विवाद र संविधान संशोधन हो । यो विवादले निर्वाचन सम्पन्न गर्ने त परै जाओस्, निर्वाचन मिति घोषणा गर्ने काममा समेत अवरोध खडा गरेको छ । एमाले संविधान संशोधनबिना चुनाव घोषणा गर्नुपर्ने अडानमा छ तर मधेसी मोर्चाले भने संविधान संशोधनबिना चुनाव घोषणा गरे सोही दिन आन्दोलन घोषणा गर्ने भनिसकेको छ । यी दुईधु्रवीय विचारको चेपुवामा परेर सरकारले निर्वाचन घोषणा गर्न सकेको छैन । न त सरकारले यी दुई विपरीत एजेन्डाको साझा बिन्दु नै पहिल्याउन सकेको छ ।

स्थानीय तहको अन्योलता

अबको निर्वाचन तयारी गरिरहँदा स्थानीय तहको अन्योलता कायम छ । स्थानीय तह पुनर्संरचना आयोगले आफ्नो प्रतिवेदन त सरकारलाई बुझाइसकेको छ तर यसको कार्यान्वयनमा अझै शंका छ । आयोगको प्रतिवेदनका सम्बन्धमा प्राप्त गुनासा अध्ययन गरी सरकारलाई सुझाव दिन गठित मन्त्रीस्तरीय समितिले पनि प्राधानमन्त्रीलाई प्रतिवेदन बुझाइसकेको छ । उक्त समितिले पुनर्संरचना आयोगले सिफारिस गरेको अधिकतम संख्यामा नबढ्ने गरी तराई र हिमाली क्षेत्रमा स्थानीय तहको संख्या थपघट गर्न सुझाव दिएको छ ।

विगतमा स्थानीय तह पुनर्संरचना आयोगले काम गर्दागर्दै स्थानीय तहको संख्या बढाउन दलहरूको दबाब पर्‍यो । आयोगले सुरुमा तय गर्ने भनी बहसमा ल्याएको पाँच सय हाराहारीको खाकामै झन्डै दुई सय स्थानीय तह थपेर प्रतिवेदन बुझाउन आयोग बाध्य भयो ।

दलको इच्छाबमोजिम स्थानीय तहको संख्या बढाएर बुझाएको प्रतिवेदनमाथि पनि फेरि अरू थपघट गर्नुपर्ने गरी मन्त्रीस्तरीय समितिले दिएको सुझावले आयोगको प्रतिवेदन थप अन्योलमा परेको छ । थपघट गर्दा थप समय लाग्छ । बढी समय लागेपछि चुनावको मिति झनै धकेलिन्छ । जसले गर्दा चुनाव हुनेमै आशंका थपिँदै जान्छ ।

समयको सीमितता

स्थानीय तहको निर्वाचनको लागि छलफलमा आएको समय भनेको वैशाखदेखि जेठसम्मको हो । तर वैशाखमा त चुनाव सम्भव छैन नै, जेठसम्म पनि निर्वाचनको लागि समय अत्यन्त कम छ । निर्वाचन आयोगले छिटो कानुन नबने जेठमा निर्वाचन हुन कठिनाइ पर्ने बताइरहेको छ । तर समय दिनप्रतिदिन घड्किँदो छ । आज चुनाव घोषणा होला कि भोलि होला भनेर समाचार पढ्दै र सुन्दै जनताको समय घट्किरहेको छ । एकातिर समय कम छ अर्कोतिर दलीय सहमति हुन सकेको छैन । कम समयमा यावत् समस्या सम्बोधन गरेर चुनाव सम्पन्न गर्नु चुनौतीपूर्ण छ ।

दलहरूको उदासीनता

चुनावप्रति दलहरू स्वयंमा उदासीन छन् । नेपाल मात्र एउटा यस्तो मुलुक होला, जहाँ चुनावबाटै अस्तित्वमा आउनुपर्ने दलहरू चुनावप्रति उदासीन हुन्छन् । खासगरी साना दलहरूको चुनावप्रति रुचि छैन । देशभरिको भोट एक ठाउँमा जम्मा गर्दा एकदुई सिट प्राप्त गरेका दलहरूले स्थानीय निकायमा त्यति उपलब्धि हात नपर्ने भएकाले पनि उनीहरू स्थानीय चुनावतर्फ त्यति आकर्षित नभएका हुन् ।

त्यसो त ठूला दलको पनि चुनावमा खासै रुचि छैन । स्थानीय चुनावमा ठूला नेताको उम्मेदवारी नपर्ने साना नेता मात्र उम्मेदवार हुने भएकाले पनि स्थानीय निकायको चुनावतर्फ ठूला नेताको चासो नभएको हो । त्यसैले ठूला दलका ठूला नेताहरू पनि मुखले चुनावका कुरा गरिरहेका छन् तर अन्तरआत्मादेखि स्थानीय निकायको चुनाव चाहिरहेका छैनन् । एकातिर चुनाव संवैधानिक बाध्यता भएको हुँदा चुनाव हुन्न भन्न मिलेको छैन, अर्कोतिर सबै दललाई चुनाव चाहिएको पनि छैन । यस्तो द्वैधताको अवस्थामा दलहरू छन् ।

सरकारको आँट नहुनु

वर्तमान सरकार दुई ठूला दलसहित अन्य साना दल मिलेर बनेको सुविधाजनक बहुमत भएको सरकार हो । तर यो सरकार मनोवैज्ञानिक रूपमा एकदमै कमजोर सरकार हो । यसैकारण सरकारले चुनाव घोषणा गर्न आँट गरिरहेको छैन । चुनाव घोषणा गरेर गराउन सकिएन भने असफल सरकारमा दरिनुपर्ला भन्ने डर सरकारलाई छ । मधेसकेन्द्रित दलको चुनाव गर्न नदिने अडान र एमालेको संविधान संशोधन गर्न नदिने अडानबीचको साझा बिन्दु खोज्न नसक्नु र ती दुईको असहमति हुँदाहुँदै पनि चुनाव गर्छु भनेर हिम्मत गर्न पनि नसक्नुको द्वैध मानसिकतामा सरकार गुज्रेको देखिन्छ ।

सबैलाई सहमति गराएर चुनाव गर्न त गाह्रो छ । त्यसैले सानातिना शक्तिले साथ नदिए पनि चुनाव गराउँछु भन्ने आँट सरकारसँग हुनुपर्छ, किनकि यो संवैधानिक बाध्यता हो कुन दलले चाहन्छ, कुन दलले चाहँदैन भन्ने होइन । त्यस्तो हिम्मत सरकारसँग देखिँदैन । त्यसैले चुनावी मामिलामा यो सरकार कमजोर छ ।

कमजोर शान्तिसुरक्षा

मधेस आन्दोलनलगायत अन्य असन्तुष्ट पक्ष र विभिन्न अदृश्य शक्तिका कारण देशको शान्तिसुरक्षाको अवस्था त्यति सन्तोषजनक छैन । एकातिर राजनीतिक शक्ति एक ठाउँमा नहुनु अर्कोतर्फ संविधान र चुनावप्रति असहमत शक्तिलाई भारतले प्रत्यक्ष या परोक्ष सहयोग गर्नुजस्ता कुराले देशको शान्तिसुरक्षामा चुनौती थपेको छ । त्यसमाथि वर्तमानमा विभिन्न सुरक्षा निकायमा सुरक्षा प्रमुख को हुने भन्ने विषयमा पछिल्लो समय भएको राजनीतिक उतारचढावले पनि सुरक्षा निकायलाई कमजोर बनाएको छ । यसले सुरक्षामा थप चुनौती थपेको देखिन्छ ।

प्रमुख चुनौती यी भए पनि चुनावको लागि अरू पनि बग्रेल्ती चुनौती छन् । सबै दलहरूलाई राज्य पुनर्संरचना आयोगले दिएको प्रतिवेदनअनुसारको राज्य पुनर्संरचनामा फिट हुनै गाह्रो भएको छ । पुरानो स्थानीय निकायको मानसिकताबाट कांग्रेसजस्ता अनुदारवादी दल बाहिर निस्कन सकेका छैनन् । विगतमा राज्य पुनर्संरचनाको प्रवक्ता बनेको माओवादी केन्द्र नै नयाँ संरचनाप्रति ढुक्क छैन । के होला कसो होलाको अन्योलमा छ ।

हिजोको जस्तो थुपै्र स्थानीय निकाय हुँदा धेरै कार्यकर्तालाई भागबन्डा पुग्ने तर अहिले राज्य पुनर्संरचना आयोगले दिएको प्रतिवेदनमा स्थानीय तहको संख्या थोरै भएकाले त्यसबमोजिम चुनाव गर्दा कार्यकर्तालाई भागबन्डा नपुग्ने र त्यसले कार्यकर्तामा असन्तुष्टि पैदा हुने डर ठूला दलका नेताहरूलाई पनि छ ।

संक्रमणकालीन संकटमा तर मार्न चाहनेहरूले सधैं चुनावमा चुनौती थप्न सानातिना अड्चन निकालेर लफडाबाजी गरिरहन्छन्, जुन वर्तमानमा भइरहेको छ ।

अहिले स्थानीय निकायहरूमा दलीय संयन्त्रको नाममा दलीय भागबन्डा चलेको छ । यसले साना-ठूला सबै दललाई भागशान्ति मिलेको छ । चुनाव भयो भने दलीय संयन्त्रको नाममा भागबन्डा गर्न नपाइने हुँदा केही भागशान्तिवालाहरू चुनाव चाहिरहेका छैनन् । संक्रमणकालीन संकटमा तर मार्न चाहनेहरूले सधैं चुनावमा चुनौती थप्न सानातिना अड्चन निकालेर लफडाबाजी गरिरहन्छन्, जुन वर्तमानमा भइरहेको छ ।

चुनाव असम्भव होइन । यसको अर्को वैकल्पिक बाटो पनि छैन । चुनावको विकल्प भनेको चुनाव नै हो । चुनावको अर्को विकल्प भनेको राजनीतिक संकट हो । कि चुनाव गर्नुपर्‍यो, होइन भने अगाडि आउने संवैधानिक र राजनीतिक संकटको लागि तयार हुनुपर्‍यो । संवैधानिक र राजनीतिक संकट निम्त्याउने आत्मघाती काम गर्नुको सट्टा अगाडि आएका चुनौतीको एकएक समाधान गरी चुनाव गर्नुपर्छ । सके समस्या समाधान गरी चुनाव गर्ने नसके समस्याको सामना गरी चुनाव गर्ने रणनीतिमा सरकार हुनुपर्छ । यस्तो आक्रामक मानसिकतामा सरकार अघि बढे मात्र चुनाव हुन सक्छ ।

संसारमा चुनौतीबिनाको काम हुँदैन । कस्तो चुनौती आए त्यसको सामना कसरी गर्ने भन्ने सरकारसँग पूर्वयोजना हुनुपर्छ । सरकारले चुनावका चुनौतीको विश्लेषण गर्नुपर्छ । चुनौतीमा काम गर्नुको मज्जा र त्यसमा प्राप्त सफलताको आनन्द नै अर्कै हुन्छ । त्यसैले चुनौतीबाट भाग्ने होइन, बरु चुनौतीको सामना गरी चुनाव गराउनुपर्छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.