नोक्सानी डरले ४० प्रतिशतमात्रै इन्धन भण्डारण

नोक्सानी डरले ४० प्रतिशतमात्रै इन्धन भण्डारण

काठमाडौं: नेपाल आयल निगमले कुल भण्डारण क्षमताको ४० प्रतिशत मात्रै इन्धन भण्डारण गर्दै आएको छ । यसले गर्दा समय समयमा हुने सानोतिनो अवरोधले पनि आम उपभोक्ता लामो समयसम्म इन्धनको अभाव व्यहोर्न बाध्य छन् । निगमसँग हाल १० स्थानमा करिब १५ दिनलाई पुग्ने गरी ७१ हजार पाँच सय ५८ किलोलिटर (सात करोड १५ लाख ५८ हजार लिटर) क्षमताको भण्डारण गृह छ ।

तर, उक्त भण्डारण गृहमा क्षमताअनुसार निगमले कहिले पनि इन्धनको भण्डारण गरेको छैन । क्षमताअनुसार इन्धन भण्डारण गर्न नसक्नुमा निगमले विभिन्न प्रकारको नोक्सानीलाई औंल्याएको छ । ‘अहिले नै ४० प्रतिशत मात्रै भण्डारण गर्दा ठूलो परिमाणमा विभिन्न प्रकारका नोक्सानी छ’, निगमका एक अधिकारीले भने, ‘पूर्णक्षमतामा भण्डारण गर्दा झन ठूलो परिमाणमा नोक्सानी हुन्छ । नोक्सानीको जवाफ दर्जनौं स्थानमा दिनुपर्ने डरले डिपो प्रमुखले पूर्णक्षमतामा इन्धन भण्डारण गर्न मान्दैनन् ।’ उनका अनुसार बढी परिमाणमा भण्डारण गर्दा हुने ठूलो परिमाणको नोक्सानीको जवाफदेही डिपो प्रमुख हुने र यस्तो अवस्थामा देखिने अत्यधिक नोक्सानी क्षतिपूर्तिसमेत प्रमुखले नै व्यहोर्नुपर्ने हुन्छ । ‘यसले गर्दा पूर्णक्षमतामा भण्डारण हुन सकेको छैन’, उनले भने ।

यसको पछिल्लो उदाहरण विराटनगरस्थित डिपो प्रमुख दिनेश यादव बनेका छन् । यादवले बढी परिमाणमा नोक्सानी देखाएर इन्धन अपचलन गरेको भन्दै निगम व्यवस्थापन बोर्डसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी उनीसँग करिब एक करोड रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय गरेको छ । उनका अनुसार पूर्णक्षमतामा इन्धन भण्डारण गर्दा थप परिमाणमा हुने नोक्सानीको विषयमा प्राविधिक जानकारीको अभावमा मन्त्रालयदेखि संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्पष्टीकरण दिनुपर्ने भन्दै निगम व्यवस्थापनले ४० प्रतिशतको हाराहारीमा मात्रै इन्धन भण्डारण गर्दै आएको छ ।

निगम स्रोतले नोक्सानीका कारण ४० प्रतिशत मात्रै इन्धन भण्डारण गर्दै आएको बताए पनि सोही नोक्सानी प्रक्रिया डिपो प्रमुख, ट्यांकर चालक र निगमका लागि कमाइ खाने भाँडोमा पनि परिणत भएको छ । तापक्रम र कार्यगत नोक्सानी शीर्षकमा कम नोक्सानी हुँदा पनि बढी नोक्सानी भयो भन्दै ट्यांकर चालक, डिपो प्रमुख र निगमले इन्धन झिक्ने र बिक्री गरी लाभ आर्जन गर्दै आएका छन् ।

निगम स्रोतका अनुसार निगमले मुख्य गरी दुई प्रकारका नोक्सानीलाई समग्रमा प्राविधिक नोक्सानीअन्तर्गत गणना गरेको छ । यसअनुसार इन्धन लोड र अनलोड गर्दा फरक पर्ने स्थानको तापक्रम घटबढबाट हुने नोक्सानी (टेम्परेचर लस) र अर्को काम गर्ने क्रममा हुने कार्यगत नोक्सानी (वर्किङ लस) लाई प्राविधिक नोक्सानीमा समावेश गरिएको छ । प्राविधिक नोक्सानीअन्तर्गत प्रतिलिटर पेट्रोलमा ६७ मिलिलिटर, डिजेलतर्फ ३६ मिलिलिटर, आन्तरिक हवाई इन्धन र मट्टीतेलतर्फ ३४ मिलिलिटर र अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिलिटरमा ३२ मिलिलिटर इन्धन नोक्सान हुने गर्छ ।

इन्धनको आपूर्ति परिमाण झण्डै दैनिक एक लाख किलोलिटर पुगे पनि पूर्णक्षमतामा भण्डारण नहुँदा सानोतिनो आन्दोलनका कारण देशभर इन्धनको अभाव हुने गरेको छ । निगमका प्रवक्ता भानु खनालले पूर्णक्षमतामा इन्धन भण्डारण गर्न आवश्यक तयारी अघि बढाइएको जानकारी दिए । उनले भने,‘आगामी दिनमा पूर्णक्षमतामै भण्डारण गर्ने तयारी गरेका छौं ।’ निगमसँग अहिले पेट्रोल पाँच हजार एक सय ३५, डिजेल ४१ हजार ६ सय १०, मट्टीतेल १६ हजार तीन सय १४ र हवाई इन्धन (एटीएफ) आठ हजार चार सय ९९ किलोलिटर मौज्दात गर्ने क्षमता छ । वर्तमान भण्डारणलाई पूर्णक्षमतामा सञ्चालन गर्ने हो भने डिजेल १५ दिन र पेट्रोल तीन दिन मात्रै पुग्छ ।



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.