नोक्सानी डरले ४० प्रतिशतमात्रै इन्धन भण्डारण
काठमाडौं: नेपाल आयल निगमले कुल भण्डारण क्षमताको ४० प्रतिशत मात्रै इन्धन भण्डारण गर्दै आएको छ । यसले गर्दा समय समयमा हुने सानोतिनो अवरोधले पनि आम उपभोक्ता लामो समयसम्म इन्धनको अभाव व्यहोर्न बाध्य छन् । निगमसँग हाल १० स्थानमा करिब १५ दिनलाई पुग्ने गरी ७१ हजार पाँच सय ५८ किलोलिटर (सात करोड १५ लाख ५८ हजार लिटर) क्षमताको भण्डारण गृह छ ।
तर, उक्त भण्डारण गृहमा क्षमताअनुसार निगमले कहिले पनि इन्धनको भण्डारण गरेको छैन । क्षमताअनुसार इन्धन भण्डारण गर्न नसक्नुमा निगमले विभिन्न प्रकारको नोक्सानीलाई औंल्याएको छ । ‘अहिले नै ४० प्रतिशत मात्रै भण्डारण गर्दा ठूलो परिमाणमा विभिन्न प्रकारका नोक्सानी छ’, निगमका एक अधिकारीले भने, ‘पूर्णक्षमतामा भण्डारण गर्दा झन ठूलो परिमाणमा नोक्सानी हुन्छ । नोक्सानीको जवाफ दर्जनौं स्थानमा दिनुपर्ने डरले डिपो प्रमुखले पूर्णक्षमतामा इन्धन भण्डारण गर्न मान्दैनन् ।’ उनका अनुसार बढी परिमाणमा भण्डारण गर्दा हुने ठूलो परिमाणको नोक्सानीको जवाफदेही डिपो प्रमुख हुने र यस्तो अवस्थामा देखिने अत्यधिक नोक्सानी क्षतिपूर्तिसमेत प्रमुखले नै व्यहोर्नुपर्ने हुन्छ । ‘यसले गर्दा पूर्णक्षमतामा भण्डारण हुन सकेको छैन’, उनले भने ।
यसको पछिल्लो उदाहरण विराटनगरस्थित डिपो प्रमुख दिनेश यादव बनेका छन् । यादवले बढी परिमाणमा नोक्सानी देखाएर इन्धन अपचलन गरेको भन्दै निगम व्यवस्थापन बोर्डसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी उनीसँग करिब एक करोड रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय गरेको छ । उनका अनुसार पूर्णक्षमतामा इन्धन भण्डारण गर्दा थप परिमाणमा हुने नोक्सानीको विषयमा प्राविधिक जानकारीको अभावमा मन्त्रालयदेखि संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्पष्टीकरण दिनुपर्ने भन्दै निगम व्यवस्थापनले ४० प्रतिशतको हाराहारीमा मात्रै इन्धन भण्डारण गर्दै आएको छ ।
निगम स्रोतले नोक्सानीका कारण ४० प्रतिशत मात्रै इन्धन भण्डारण गर्दै आएको बताए पनि सोही नोक्सानी प्रक्रिया डिपो प्रमुख, ट्यांकर चालक र निगमका लागि कमाइ खाने भाँडोमा पनि परिणत भएको छ । तापक्रम र कार्यगत नोक्सानी शीर्षकमा कम नोक्सानी हुँदा पनि बढी नोक्सानी भयो भन्दै ट्यांकर चालक, डिपो प्रमुख र निगमले इन्धन झिक्ने र बिक्री गरी लाभ आर्जन गर्दै आएका छन् ।
निगम स्रोतका अनुसार निगमले मुख्य गरी दुई प्रकारका नोक्सानीलाई समग्रमा प्राविधिक नोक्सानीअन्तर्गत गणना गरेको छ । यसअनुसार इन्धन लोड र अनलोड गर्दा फरक पर्ने स्थानको तापक्रम घटबढबाट हुने नोक्सानी (टेम्परेचर लस) र अर्को काम गर्ने क्रममा हुने कार्यगत नोक्सानी (वर्किङ लस) लाई प्राविधिक नोक्सानीमा समावेश गरिएको छ । प्राविधिक नोक्सानीअन्तर्गत प्रतिलिटर पेट्रोलमा ६७ मिलिलिटर, डिजेलतर्फ ३६ मिलिलिटर, आन्तरिक हवाई इन्धन र मट्टीतेलतर्फ ३४ मिलिलिटर र अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिलिटरमा ३२ मिलिलिटर इन्धन नोक्सान हुने गर्छ ।
इन्धनको आपूर्ति परिमाण झण्डै दैनिक एक लाख किलोलिटर पुगे पनि पूर्णक्षमतामा भण्डारण नहुँदा सानोतिनो आन्दोलनका कारण देशभर इन्धनको अभाव हुने गरेको छ । निगमका प्रवक्ता भानु खनालले पूर्णक्षमतामा इन्धन भण्डारण गर्न आवश्यक तयारी अघि बढाइएको जानकारी दिए । उनले भने,‘आगामी दिनमा पूर्णक्षमतामै भण्डारण गर्ने तयारी गरेका छौं ।’ निगमसँग अहिले पेट्रोल पाँच हजार एक सय ३५, डिजेल ४१ हजार ६ सय १०, मट्टीतेल १६ हजार तीन सय १४ र हवाई इन्धन (एटीएफ) आठ हजार चार सय ९९ किलोलिटर मौज्दात गर्ने क्षमता छ । वर्तमान भण्डारणलाई पूर्णक्षमतामा सञ्चालन गर्ने हो भने डिजेल १५ दिन र पेट्रोल तीन दिन मात्रै पुग्छ ।
प्रतिक्रिया दिनुहोस !