एक खुट्टाको भरमा विश्व भ्रमण!
मानिसको सबैभन्दा बलियो पक्ष उसको आत्मविश्वास हो । आत्मविश्वासी मानिसले जस्तोसुकै काम पनि गर्नसक्छ भन्ने उदाहरण हुन्—विश्व साइकलयात्री चित्र पौडेल । पौडेल शारीरिक रूपमा अशक्त छन् । उनको दायाँ खुट्टाले शरीरको भार बोक्न सक्तैन । पोलियोले सानैमा उनको दाहिने खुट्टा लुलो भयो । उनी पाँच वर्षको हुँदा ज्वरो आएर थलिए । सामान्य ज्वरो हो भनेर परिवारले उपचारमा हेलचेक्य्राइँ गरे । उनका परिवारले चित्रलाई अस्पताल पुर्याउनभन्दा पनि धामीझाँक्रीको भर गरे जसको असर उनको खुट्टामा पर्यो । सानै उमेरमा उनी अपांग भए ।
खुट्टा नचलेपछि उनी विद्यालय जान पाएनन् । घरकै एउटा कुनामा बसेर दिन बिताउन बाध्य भए । तैपनि मोरङ बयरवनका पौडेलले हिम्मत हारेनन् र आफन्त तथा साथीभाइको सहयोगमा एसएलसी उत्तीर्ण गरे । एसएलसी पास गरेपछि पौडेल उच्च शिक्षाका लागि काठमाडौं हानिए । उच्च शिक्षा पढ्ने लक्ष्यसहित राजधानी छिरेका उनले आफूजस्तै अपांगता भएका व्यक्तिका लागि केही गर्नुपर्छ भन्ने सोचेर साइकलबाट विश्व भ्रमणको योजना बनाए ।
‘गाउँमा हुँदा मैले साइकल छुनै पाएको थिइनँ । एसएलसी सकेर काठमाडौं आएपछि साथीसँग मागेर साइकल सिक्न थालेँ । साइकल सिक्न साथीले पनि सहयोग गरे । यसैबीचमा विश्व साइकलयात्री पुष्कर शाहबारे सुनेपछि विश्व भ्रमणको योजना बनाएँ’, पौडेलले संघर्षपूर्ण विगत सम्झिए ।
२०५९ मंसिर १८ गते पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको नेपाल भ्रमण गर्दा उनीसँग राम्रो साइकल थिएन । उनले एटलस कम्पनीको साधारण साइकलबाट नेपाल भ्रमण सुरु गरेका थिए । झापाको काँकडभिट्टाबाट मेची–महाकाली यात्रा सुरु गरेका उनले एक महिना ६ दिन लगाएर देश डुले । जुन आत्मविश्वास र हौसला बोकेर देश दौडाहामा निस्किएका थिए, त्योभन्दा धेरै गुणा दुःखकष्ट खेप्न बाध्य भए । ‘मैले साइकल यात्रा सुरु गर्दा मुलुकमा संकटकाल लागेको थियो । बाटोमा कसैले पनि बास दिँदैन थिए । कति ठाउँमा पुलिस चौकीमा विवरण बुझाएपछि मात्र बास पाइन्थ्यो’, पौडेलले देश दौडाहामा भोगेको दुःखकष्ट सम्झँदै भने ।
एउटा खुट्टाको भरमा पाइडल मारेर सार्क राष्ट्रबाट सुरु भएको उनको यात्रा मिडल इस्ट हुँदै न्युजिल्यान्डसम्म पुग्दा ५४ देश पार गरिसकेको छ ।
२०५९ सालमा देश दौडाहा निस्कनुअगाडि पौडेलले साइकल यात्राबारे धेरै जानेबुझेका थिएनन् । देश दौडाहा गरेपछि भने साइकल यात्राबारे धेरै बुझे । साइकलबाटै विश्व जित्ने योजना बुने । आफ्ना साथीभाइसँग ऋणधन गरेर २६ हजारमा नयाँ साइकल किने र त्यही वर्ष विश्व यात्रामा निस्किए । सुनौलीबाट विश्वयात्रा सुरु गरेका उनलाई भारतको नयाँदिल्ली पुग्न अढाई महिना लाग्यो ।
‘त्यस बेला दिल्ली जाने राम्रो बाटो थिएन । धेरै ठाउँमा बास बस्दै, धेरै जनासँग बाटो सोध्दै जाँदा धेरै समय लाग्यो’, पौडेल भन्छन् । २०५९ सालबाट सुरु भएको पौडेलको साइकल यात्रा अहिलेसम्म ५४ राष्ट्रमा पुगिसकेको छ । अपांगता भएका व्यक्तिले पनि समाज, राष्ट्र र विश्वमा योगदान पुर्याउन सक्छन् भन्ने अभियान बोकेर साइकल यात्रामा निस्कँदा पौडेलले जुन देश गए पनि अपांगता भएका व्यक्तिहरूको आत्मविश्वास र हौसला बढाउने काम गर्दै आएका छन् । शारीरिक अपांगता भएर पनि विश्वलाई जित्न सकिन्छ भन्ने सन्देश फैलाइरहेका छन् ।
एउटा खुट्टाको भरमा पाइडल मारेर सार्क राष्ट्रबाट सुरु भएको उनको यात्रा मिडल इस्ट हुँदै न्युजिल्यान्डसम्म पुग्दा ५४ देश पार गरिसकेको छ । यात्राका क्रममा हरेक दिन ९० किलोमिटरभन्दा बढी साइकल गुडाएका पौडेल गल्फको चर्को घाममा होस् या अस्ट्रेलियाको चट्टानी पहाड; कतै पनि थाकेनन्, कतै रोकिएनन् । हरेक राष्ट्रमा छाती फुलाउँदै नेपाली झन्डा फर्फराउँदै साइकल गुडाइरहे ।
अदम्य साहस र आत्मविश्वासका साथ विश्वको एक चौथाइ देशमा लुलो खुट्टाले पाइडल मारिसकेका पौडेल फागुन १७ गतेदेखि गल्फ राष्ट्र र युरोप यात्रामा निस्कँदैछन् । डेढ वर्षको यात्रामा उनले ३० राष्ट्रको भ्रमण गर्ने योजना बनाएका छन् ।‘मेरो यो यात्रा एक वर्षअगाडि नै सुरु हुन्थ्यो । दुर्घटनामा परेर खुट्टामा गम्भीर चोट परेपछि साइकल यात्रा एक वर्ष ढिला भयो’, पौडेलले अन्नपूर्ण पोस्ट्सँग भने ।
पुल्चोकको गल्लीमा उनी सवार साइकललाई मोटरसाइकलले हानेर फरार भयो । घाइते भएर बीएन्डबी अस्पतालको बेडमा पुगेका उनले विश्व भ्रमणका लागि जुटाएको तीन लाख रुपैयाँ अस्पताललाई नै बुझाउनु पर्यो । अहिले पनि तिघ्रामा स्टिल बोकेका पौडेलले डेढ वर्षमा नेपाल फर्किपछि स्टिल झिक्ने योजना बनाएका छन् ।२०५९ सालबाट सुरु भएको उनको विश्व साइकल यात्रा विगत १४ वर्षदेखि निरन्तर छ । आफू १९ वर्ष हुँदा थालेको यात्रा ३२ वर्षमा पाइला टेक्दा पनि निरन्तर नै चलिरहेको छ । अहिलेसम्म साइकलबाटै ४० हजार किलोमिटर यात्रा गरिसकेका पौडेल अबको तीन वर्षपछि आफ्नो साइकल यात्राले वि श्राम पाउने बताउँछन् ।
‘अहिलेसम्म अपांग भएका व्यक्तिले विश्वका सबै देश घुमेका छैनन् । एक सय १५ राष्ट्र घुमेपछि विश्व रेकर्ड हुन्छ । तीन वर्षमा बाँकी ६१ राष्ट्रको भ्रमण सकेर गिनिज बुकमा नाम लेखाएपछि विश्व यात्रा टुंग्याउनेछु’, पौडेलले आफ्नो योजना सुनाए ।साहसिक कामका लागि कसैले पनि सहयोग नगरेकोमा भने उनी खिन्न छन् । गत वर्ष राष्ट्रिय सम्मानबापत ५० हजार रुपैयाँ पाएका पौडेलले त्यसबाहेक अन्य कुनै पनि सहयोग पाउन सकेका छैनन् । ‘सहयोगका लागि सोर्सफोर्स चाहिने भएपछि मैले सरकारी निकाय नै धाउन छाडेँ’, उनको तितो अनुभव छ ।
नेपालमा अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन नआएको उनको ठम्याइ छ । अपांगता भएका व्यक्तिलाई राज्यले रोजगारको उचित व्यवस्था नगर्दा क्षमतावान् व्यक्तिले पनि कष्टकर जीवन बिताउनु परेको र राष्ट्रिय अपांग महासंघ पनि राजनीति गर्ने थलोमात्र भएको उनको बुझाइ छ । ‘आफ्नो सम्पत्तिले विश्व भ्रमण गर्न पुग्दैन । हामीले सहयोग जुटाएरै भ्रमण गर्ने हो । जहाँ पुग्यो त्यहीँ सहयोग माग्छौं’, पौडेल भन्छन् । यात्राका क्रममा विदेशीले दिएको माया, त्यहाँका नेपालीको सद्भाव र आफ्नो आत्मविश्वासले विश्व भ्रमण गर्न हौसला र प्रेरणा दिने गरेको पौडेल बताउँछन् ।
तीन वर्षमा ६१ देश घुमेर गिनिज बुकमा नाम लेखाएपछि नेपालमा नै आएर अपांगता भएका व्यक्तिको हकहितका लागि लाग्ने योजना पौडेलले बुनेका छन् । साइकल यात्रामा विश्व भ्रमणमा निस्केकाहरू विदेशमै हराउने गरेकोमा भने उनले आश्चर्य प्रकट गरे । ‘विदेशमा नेपालका थुप्रै साइकल यात्री आए भन्ने चर्चा हुन्छ । तर, नेपालमा भने कोही पनि भेटिँदैन । एक सय ५० राष्ट्र घुमेर पनि स्वदेशमै बस्ने पुष्कर शाह मात्र हुन्’, पौडेलले दुखेसो पोखे ।