रहरको जुलुस निषेधित क्षेत्र

रहरको जुलुस निषेधित क्षेत्र

रात्रिबसमा निदाइरहेका यात्रीलाई इंगित गर्दै कन्डक्टरले गन्तव्य आइपुगेको जानकारी दियो। भररातको बसाइ र निद्रा नपुगेर आलस्सिएको जीउ बसबाट ओर्लंदा काठमाडौं भने भर्खर ब्यूँझने तरखरमा रहेछ। तुवाँलो र शीतले चिसा आँखा पुछ्दै फाट्दै थियो पूर्व।

फाट्टफुट्ट जीवन फाट्टफुट्ट गाडी सडकमा। मंसिरको चिसो। अझै पाँच मिनेट सुत्छु भनी अल्छी गर्दै थियो सहर। सडकमा निस्केपछि ढक्क छाती फुल्यो। बीस वर्षअघि मैले छोडेको काठमाडौं पनि मजस्तै बदलिएछ।

उमेरले मेरो जिन्दगीको नक्सा बदलेजस्तै घरैघर थपिएर काठमाडौंको पनि नक्सा फेरिएछ। यताउता आँखाले भ्याउन्जेल हेरेँ, अहँ कतैबाट चिनेन सहरले मलाई। अप्ठ्यारो भयो मलाई पनि चिन्न उसलाई। मैले चिनेको काठमाडौं अर्कै थियो। तर, अहिले भेटेको काठमाडौं निकैनिकै फरक लाग्यो।

लाखौंका सपना र भविष्यको अभ्यासस्थल काठमाडौं मेरो लागि बर्जित बन्यो। मेरो बाल्यकाल बोकेको, मेरा अधुरा सपना बोकेको र समयको हुरीले बिछोड्याइएको तिक्तता पनि सायद काठमाडौंको अन्तरकुन्तरमा लुकिबसेको थियो।

फेरि एकपटक फर्किएँ पटकपटकझैं काठमाडौंले बोकेको मेरो बाल्यकालमा। जहाँ फर्किंदा जुर्मुराउँथे मेरा सपना अनि विचलित बन्थ्यो मन। स्मृतिले पीडा नै दिन्छ भन्ने जान्दाजान्दै पनि बारम्बार किन विगततिर फर्किरहन्छ मन ? थाहा छैन आफैंलाई।

२० वर्ष भइसकेछ यो सहरसँग बिछोडिएको। दुई दशकपछि फर्किएका मेरा पाइतालाले धक माने मचक्क टेक्न यी सडक। यसैयसै भर्भराएर आयो हृदय। रसाए आँखा। एक मन त लाग्यो, भागिहालूँ यहाँबाट।

डिल्लीबजारको कन्या स्कुलमा पढ्थेँ म। सधैं प्रथम हुन्थेँ। पढ्नुबाहेक केही थाहा थिएन न त थियो अनुभव नै। स्कुले जीवन र बाल्यकाल छोडियो यतैकतै दाजुहरूसँग। आमाको सम्झना छैन। सानैमा टुहुरिएको मेरो जीवनले दाजुहरूको सान्निध्य र स्नेह पाएको थियो।

आमा भएको परिवार कस्तो हुन्छ थाहा थिएन। बुवा हुनुहुन्थ्यो गाउँमा, कहिलेकाहीँ आउनुहुन्थ्यो। बुवाबाहेक दाजुहरू नै मेरो परिवार र संसार, आफन्त र प्रेरणा पनि। दाजुहरूसँग डेरामा बसेर हुर्किरहेथेँ। र, सँगसँगै हुर्किरहेथेँ मेरा सपना र रहर पनि। डेरा, डेराबाट स्कुल, गल्ली, बाटो हुँदै जाँदै फर्किंदै थिए दिनहरू र तय हुँदै थियो भविष्यको गोरेटो।

कहिलेकाहीँ सोँच्छु-आजसम्म कहिल्यै आफ्नो लागि बाँचिनछु । खै कहाँ छ र मेरो जीवन ? बाँचेर पनि नबाँचेको मनले सधैं छोरी हुनु परेकोमा धिक्कारिरह्यो । सरापिरहे आफ्नै मृत सपनाहरूले।

पढ्न असाध्यै मन लाग्थ्यो। पढिरहन्थेँ समयलाई किताबमा र विश्वलाई अक्षरमा। धेरै पढेर शिक्षित आत्मनिर्भर भविष्य देख्थेँ म। सुन्दर भविष्यको सुन्दर सपना थियो मसँग। सपनासँगै हुर्किरहेथेँ म। त्यही बेला दाजुको बिहे भयो। परिवार पूर्णताको आनन्दमा म कति रमाएँ कति। खोज्न थालेँ भाउजूमा आमाको छाया।
यसै पनि प्रायः म आमाको मुहार कल्पेर कल्पना गर्थें आमाको मृत्यु भएको खबर झूठो होस् र उहाँ फर्केर आउनुहोस्। आमाका काखमा लाडे पल्टेको कल्पनाले मन पुलकित बन्थ्यो तर यथार्थमा पाउँथे केवल भिजेका आँखा। आमाको प्यास सधैं रहिरह्यो जीवनमा। आमाको छाया भाउजूमा खोज्नु सायद गल्ती थियो। अटाइनँ त्यो छायामा। पुर्‍याइयो कहिल्यै नदेखेको गाउँ।

एकदमै अपरिचित ठाउँ। को आफ्नो को बिरानो। गाउँ पटक्क मन परेन मलाई। त्यहाँ मेरो लागि स्कुल थिएन न त थिए पुस्तक नै। स्कुल र किताब भनेर मेरा रहरहरूले जुलुस निकाले। धेरै छटपटाएँ। बुवालाई स्कुल जान्छु भनेँ। ५ कक्षासम्म नजिक भए पनि माध्यमिक त टाढा छ, नपढ भन्नुभयो।

टाढा भए पनि जाने इच्छालाई किन बुझ्नुभएन थाहा छैन आजसम्म। बुवासँग एक्लै बस्नुपर्ने, न साथी न त परिवारमा अरू कोही। शून्यपन र खाली खाली समयले हरपल मलाई पिरोल्यो। मन एकछिन अडिन मानेन तर विकल्प थिएन। छोडेर हिँडिहालूँजस्तो विरक्त लाग्थ्यो।

सहरको भीडभाडमा बसेकी मलाई गाउँ साह्रै शून्य र नराम्रो लाग्यो। लाग्यो हरेक पल उराठ र निराश। स्कुल छुट्यो, साथी छुटे, सपना छुट्यो, सहर छुट्यो र सुविधा पनि। मन यही सम्झेर तड्पिन्थ्यो। कति रोएँ कति।

अहिले पनि मन आफैंसँग बारम्बार सोधिरहन्छ— मैले के अक्षम्य पाप गरेको थिएँ र मेरो भविष्यसँग यसरी निर्मम खेलवाड भयो ? पछि थाहा पाएँ, सँगै बस्ने अर्को दाजु काठमाडौं छोडेर हिँडेछन्। अहिलेसम्म फर्किएका छैनन्।

परपरसम्म बाली बोकेर बसेका खेतहरू झोक्राइरहेको देख्दा सुन्दर त लाग्थ्यो तर टाढाटाढासम्म सुनसान गाउँ सुर नभएको गीतजस्तो लाग्थ्यो। धुले बाटोमा लटपटिएका बच्चा देखेर दिक्क लाग्थ्यो। बत्ती छैन, धारा छैन, हिँड्ने साधन छैन। एकदम झर्कोलाग्दो उराठ र डरलाग्दो शून्य आभास भयो।

सहरको भीडभाडको बानी परेर पनि होला, म त राम्ररी हिँड्न पनि जानिनँ गाउँका गोरेटामा। नचिनेकाले छक्क परेर हेर्थे, चिनेकाले पनि छक्कै परेर हेर्थे। सायद गाउँको लागि म योग्य नै थिइनँ। उराठलाग्दा गाउँका सबै बिहान नमीठा, चिसा र सबै रातहरू त्रासदी थिए मेरा लागि। दिन पट्यारलाग्दा लामा।

कति छटपटिएँ त्यसको कुनै सीमा भएन। छटपटिरहेको बेला एउटा साथी भेटेँ र छोडिनँ हात। मरुभूमिमा पानीजस्तै, अँध्यारोमा दियोजस्तै लाग्यो। धीत मारेर रुन पाउने स्नेहले समाएँ हात र १५ वर्षकै उमेरमा श्रीमती बनेँ। सुरु गरेँ अर्को कठिन यात्रा। पछि आफन्तले नबोलाउँदा थाहा पाएँ— मैले तल्लो जातसँग विवाह गरेर जात फ्याँकेछु अरे। अनि थाहा पाएँ जात पनि हुन्छ भनेर।

गाउँले ठेगाना दियो, विवाहले सम्बन्धका तुनाहरू देखायो। कामले माया गर्‍यो। बनेँ फटाफट दुई सन्तानकी आमा। कतै थाहा नै पाइनँ र लाग्न नै पाएन मातृत्वको रहर। लाग्यो नारीको जीवन प्रयोगपछि प्रतिफल जानेर होस् वा नजानी।

खेत कहिल्यै नटेकेकाले होला, कामसँग बानी पर्न र खेतसँग हातेमालो गर्न गाह्रो भयो। हरेक क्षण कठिनाइले भरिएका थिए, तैपनि जुधिरहेँ। बुहारी भएर बुहार्तन गर्न नसक्दा कहिलेकाहीँ त लाग्थ्यो, घर छोडेर भागूँ। ससाना बच्चालाई स्याहार्न नसक्दा लाग्यो, सबै छोडेर भागूँ।

भागूँ रहरले सपनाले पूरा हुने ठाउँतिर र योग्य बनौं कामका लागि, खेतका लागि, जीवनयापनका लागि। नसकीनसकी गरिरहेँ जिन्दगीको कठिनाइको सामना। विकल्प नभएपछि बाध्यता बन्दो रहेछ समय। लाग्यो, जति पेलिएँ उति उज्यालिएँ। जति अक्षम भए उति नै दह्री भएँ।

जिन्दगीले कहिल्यै आफूखुसी गर्न पाएन, काठमाडौंले खुला भएर सास फेर्न नपाएँझैं। रहरहरूले सधैं चिमोटिरहे र थिचिरह्यो विवशताले। डिल्लीबजारको छातीमा चौडिएका सडक देखेर लाग्यो— फराकिलो भएछ सहरको मन। घरैघर भरिएको देख्दा लाग्यो सम्पन्न भएछन् जीवन। आफैंले पढेको स्कुलले नचिनेझैं गर्‍यो र परिचय दिने प्रयासमा आफैंलाई हेरेँ।

२० वर्ष अगाडिको कुनै रंग बाँकी थिएन, चिनोस् पनि कसरी ? उन्नत शैक्षिक सम्भावना बोकेको मेरो अधुरो स्कुले जीवनका सारा रहर र सपना यतै कतै छुटेका थिए। खोज्न मन लाग्यो। उधिनेर शिरमा सिउरिन मन लाग्यो। अतीतको सम्झनाले पलपल मलाई भावुक बनायो। अहँ, हेर्न मन लागेन सहर। फेरि भेट्न मन लागेन त्यो बाल्यकाल।

कोट्याउन मन लागेन आफ्नै घाउ। तर, अजम्मरी हुन्छन् रहरहरू, उन्मुक्त हुन्छन् आफैंमा। कहाँ मान्छन् र कुँजिएर बस्न ? ब्यूँझिएँ, ती फेरि ब्यूँझिएँ। अचेल त्यति सताउँदैन विगतले, सायद थाकेछन् स्मृतिका लहरहरू। लाग्यो, यहीँ छुटेको मेरो बचपन, स्कुल, अधुरा सपना अधुरो पढाइ सबैसबैलाई समाएर फेरि सुरु गरौं। गाउँ जाँदै जान्न र पढाइ छोड्दिनँ भनेर विद्रोह गरूँ। एक्लै बसेर पढ्छु भनी हिम्मत गरूँ। मेरो जीवनको फैसला गर्नेहरूसँग सामना गरेर भनूँ, ‘मेरो जीवन मेरो मर्जी’। थालूँ, परिबन्दको चिहानमा गाडिएका मेरा कोमल सपनालाई बौराइदिऊँ।

एकान्तमा बसेर कहिलेकाहीँ सोँच्छु— आजसम्म कहिल्यै आफ्नो लागि बाँचिनछु। खै कहाँ छ र मेरो जीवन ? बाँचेर पनि नबाँचेको मनले सधैं छोरी हुनु परेकोमा धिक्कारिरह्यो। सरापिरहे आफ्नै मृत सपनाहरूले। पढेर शिक्षित र आत्मनिर्भर जीवन बिताउने सपनाको हत्या भएपछि सायद मभित्रको म पनि मेरेको थियो। खेतबारीसँग मीत लाएर, कामसँग सहवास गरेर दुःखसँग हातेमालो गर्दै जबर्जस्ती बाँचेँ। गुनासाहरू गुम्सिरहे अप्ठ्यारो पारेर सास, गर्ने कोसँग ?

किताब र आमा सधैं घुमिरहन्छ मानसपटलमा। मानिसलाई जेको रहर हुन्छ, जीवनको हरेक मोडमा त्यही खोज्दो रहेछ। आमा हुन्थिन् त हुन्थ्यो धीत मारेर गुनासो र आँसु पोख्ने काख। आमा हुन्थिन् त व्यस्तताले थकाइ माथ्र्र्यो थकाइ।

आमा त फर्किन्नन् तर मैले पढ्न पाउनै पथ्र्यो भन्ने जिद्धि गर्छ मन। उफ् ! जिन्दगीले वर्षवर्षमा दशकहरू भोग्यो। वर्षकै आयतनमा कहिल्यै फुर्सद नै भएन आफैंलाई खोज्ने। रहरका निषेधित क्षेत्रमा सधैंभरि बाँझो वर्तमान बाँचिरहेँ। कसका लागि ? किन ? यी प्रश्न, प्रश्न नै भएनन्।

बस् चलिरह्यो बाँच्नुको सुसेधन्धा। सपना र रहरहरूले मसँग गुनासो गरे र मानिरहे छोरी भएकोमा खेद। पुरुष हुन्थेँ त बस्थेँ छुट्टै, छाड्दिनथेँ स्कुल। बोक्थेँ भारी, तिर्थें फिस र बन्थेँ आत्मनिर्भर जीवन। घुम्थेँ हिमाल, पहाड, तराई र लिन्थेँ फरकफरक स्वाद।

अरब नै गएर पनि किन नहोस्; कमाउँथे सपना, जोड्थेँ रहर र भोग्थेँ स्वतन्त्रता। हो, मैले हरेकमा आफूलाई सक्षम ठान्दाठान्दै पनि निषेधित क्षेत्रले छोरी हुनुमा पीडा दियो र दिइरहन्छ। हेर्छु काठमाडौं। धेरैका सपनाको सहर भविष्यको आधार। अनि सम्झन्छु, मेरा लागि बर्जित रहर। कामना गर्छु, कसैका लागि पनि सपना केवल सपना नबनोस् मेरोजस्तै।

जीवनसँग गुनासो नै मात्र भए पनि, म मेरै आफ्नो कहिल्यै नरहे पनि, सबैसबै मेरो र म सबैको बनेछु। हतार छ फर्कन आफैं मेटिएर सजाएको संसारमा। म नभए नियास्रो मान्छ माटोले। मधुरिन्छन् घाम, झोक्राउँछन् गाईबस्तु। सुक्छन् आँगनका फूल। चोइटिन्छन् घरका भित्ता। बिग्रन्छन् बालीका अन्न। हो फर्कनु छ चाँडै, भोकै भए होलान् मेरा बालबच्चा।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.