व्यक्तिगत बनाइएको १९ कठ्ठा जग्गा सरकारीकरण

व्यक्तिगत बनाइएको १९ कठ्ठा जग्गा सरकारीकरण

धरानः मालपोत र नापी कार्यालय सुनसरीका कर्मचारीको मिलेमतोमा व्यक्तिगत बनाइएको धरानको सर्दुखोला किनाराको १९ कठ्ठा जमिन पुनः सरकारीकरण गरिएको छ ।

मालपोत र नापी कार्यालयका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा बनाइएको विषयमा अन्नपूर्ण पोस्ट्मा समाचार प्रकाशन भएपछि उक्त जग्गाको रजिस्ट्रेसन पास बदर गरी पुनः सरकारीकरण गरिएको हो ।

धरानका भूमाफियाले सुनसरीका तत्कालीन मालपोत अधिकृत फणिन्द्र भट्टराई, खरिदार राम भट्टराई, ओम लम्साल, नापी कार्यालय सुनसरीका प्रमुख शशिकान्त झा र नापी सर्वेक्षक योगेन्द्र यादवलगायत कर्मचारीको मिलेमतोमा सरकारी १९ कठ्ठा जमिन व्यक्तिगत बनाइएको थियो ।

नापी कार्यालयले समेत १९ कठ्ठा जग्गाको कित्ताकाट गरी ४० भन्दा बढी घडेरी बनाएकोमा अहिले उक्त जग्गाको नयाँ नक्सा बदर गरी पुरानै कायम गरेको नापी कार्यालय धरानका प्रमुख कृष्णराज न्यौपानेले बताए । सरकारी जग्गा व्यक्तिगत बनाइएपछि उक्त जग्गा बदर गरी सरकारीकरण गरिए पनि जग्गा किर्ते गरी व्यक्तिगत बनाउन सहयोग गर्ने मालपोत र नापीका कर्मचारीलाई भने कुनै कारबाही भएको छैन । सरकारी जग्गा किर्ते गरी व्यक्तिगत बनाउन सहयोग गर्ने कर्मचारीलाई पनि कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने कांग्रेस धरानका सभापति तिलक राईले माग गरे ।

सरकारी जग्गा व्यक्तिगत बनाइएको विषयमा समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरी र अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीले छानबिन सुरु गरेपछि मालपोत र नापी कार्यालय धरानले उक्त जग्गाको नामसारी र नयाँ नक्सा बदर गरी उक्त जग्गा सरकारीकरण गरेको हो ।

सरकारी स्वामित्वमा रहेको १९ कठ्ठा जमिन ०७१ पुस २७ गते मालपोत अधिकृत भट्टराईले जग्गाको संशोधन गरी धरान १७ का भोजराज दाहालका नाममा नामसारी गर्ने निर्णय गरेका थिए भने नापी प्रमुख शशिकान्त झा र सर्वेक्षक योगेन्द्र यादवले उक्त सरकारी जग्गाको किर्ते ट्रायल चेकको प्रतिवेदन तयार गरी दाहालको नाममा पहिलोपटक नामसारी गरिदिएका थिए ।

नापी कार्यालय धरान र मालपोत कार्यालय धरानले यस विषयमा छानबिन गर्दा सरकारी जग्गालाई ‘नरबढी' देखाएर १९ कठ्ठा जमिन व्यक्तिगत बनाइएको पुष्टि भएपछि उक्त जग्गाको नामसारी र रजिस्ट्रेसन बदर गरी सरकारीकरण गरिएको मालपोत कार्यालय धरानका प्रमुख भीम गौतमले बताए । नापी कार्यालय धरानका प्रमुख न्यौपानेले किर्ते ट्रायल चेकको प्रतिवेदन बनाएर सरकारी जग्गा नरबढी देखाएर व्यक्तिगत बनाएपछि सर्दुखोला किनाराको १९ कठ्ठा जग्गाको नक्सा बदर गरी पुरानै नक्सा कायम गरिएको बताए ।

साविक घोपा गाविस (हाल धरान उपमहानगरपालिका) ४ घको कित्ता नम्बर ३२ का भोजबहादुर दाहाल क्षेत्रीका नाममा रहेको ३ कठ्ठा साढे ७ धुर जग्गालाई १९ कठ्ठा सरकारी जमिन नरबढी देखाएर २२ कठ्ठा साढे ७ धुर बनाई भोजबहादुरका नाममा पहिलो पटक नामसारी गरिएको थियो । दोस्रो पटक धरानका सुमन श्रेष्ठ र एकबहादुर भण्डारीले १९ कठ्ठा जमिन आफ्नो नाममा रजिस्ट्रेसन पास गरी कित्ताकाट गरी प्लटिङ गरेर बिक्री गर्दै आएका थिए ।

धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु कोइरालाले सरकारको स्वामित्वमा फिर्ता भएको १९ कठ्ठा जमिनमा हाल प्रस्तावित धरान विमानस्थल निर्माणस्थलमा बसोबास गर्दै आएका व्यक्तिलाई जग्गा सट्टाभर्ना दिएर स्थानान्तरण गरिने बताए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.