चार अर्ब लगानीमा स्कुल

चार अर्ब लगानीमा स्कुल

भक्तपुरः  ठूला लगानीमा होटेल, सपिङ मललगायतका औद्योगिक प्रतिष्ठान स्थापना भएको समाचार नौलो होइन । मुलुकको औद्योगीकरणको क्षेत्रमा यस्ता संस्थाहरूको भूमिका पनि महत्ववपूर्ण छ । तर पछिल्ला दिनहरूमा शैक्षिक संस्थाहरू पनि उद्योगको रूपमा फस्टाइरहेका छन् भन्ने उदाहरण यहाँको एक संस्थाले प्रमाणित गरिदिएको छ ।

अनन्तलिंगेश्वर नगरपालिका १४ गुण्डुमा चार अर्ब लगानीमा अन्तर्राष्ट्रियस्तरको स्कुल निर्माण तीव्र गतिमा भइरहेको छ । अस्टाङ एजुकेसन प्रालिले गुण्डुको ८० रोपनी क्षेत्रमा एक हजार दुई सय विद्यार्थी क्षमताको अन्तर्राष्ट्रिय स्तरको स्कुल निर्माण गरिरहेको हो । कुल ८० रोपनी क्षेत्रफलमध्ये ३० रोपनीमा छात्र र छात्राका छुट्टाछुट्टै छात्रावास बन्ने प्रालिका प्रोजेक्ट म्यानेजर शिवराज ओझाले जानकारी दिए ।

उनका अनुसार स्कुल प्रांगणमा पाँचवटा भवन बन्नेछन् । जसमध्ये अहिले तीनवटा भवनको निर्माण तीव्र गतिमा भइरहेका छन् । शैक्षिक सत्र २०७५ देखि कक्षा सञ्चालन गर्ने लक्ष्यसहित निर्माण कार्यमा दुइटा निर्माण कम्पनीले कार्य गरिरहेको उनी बताउँछन् ।

प्रालिले निर्माणाधीन स्कुलको नाम काठमाडौं वल्र्ड स्कुल राखेको छ । जहाँ प्लेग्रुपदेखि कक्षा १२ को आवासीय पढाइ हुनेछ । त्यस्तै ए लेभलको समेत पढाइ हुने म्यानेजर ओझाले जानकारी दिए । ‘कक्षा १२ र ए लेभलको कक्षासँगै व्यवस्थापन संकायतर्फ कलेज सञ्चालन गर्ने हाम्रो लक्ष्य रहेको छ', उनले भने, ‘हामी नेपालमै अन्तर्राष्ट्रियस्तरको अध्ययन अध्यापनको व्यवस्था गर्ने लक्ष्यसहित कार्य गरिरहेका छौं ।'

अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने उद्देश्यले अहिले कक्षाकोठा निर्माणमै विशेष जोड दिइएको उनी सुनाउँछन् । जसअनुसार कक्षा र विद्यार्थीको उमेरअनुसार कक्षा निर्माण भइरहेको उनले दाबी गरे । ‘हाम्रा सम्पूर्ण कक्षा कोठाहरू विद्यार्थीको उमेर र तहअनुसार बालमैत्री हुनेछन्', म्यानेजर ओझा थप्छन्, ‘कक्षा कोठा मल्टिमेडियाले समेत युक्त हुनेछन् ।'

अस्टाङ एजुकेसन प्रालिका अध्यक्ष डा.खगेन्द्रप्रसाद ओझा छन् भने प्रालिको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राजेन्द्र घिसिङ छन् । घिसिङले यसअघि जेम्स स्कुलमा करिब २५ वर्ष कार्य गरेको अनुभव छ । त्यस्तै अध्यक्ष डा.ओझा राजधानीको ग्लोबल कलेजमा पनि आबद्ध छन् ।

विदेश जानेलाई रोक्ने मुख्य उद्देश्य

अस्टाङले शिक्षाको लागि विदेश जाने नेपालीहरूलाई यहीँ रोक्न अन्तर्राष्ट्रिय स्तरको स्कुल खोलेको जनाएको छ । उक्त स्कुल सञ्चालन अघि अस्टाङ परिवारले देशविदेशका स्कुल र त्यहाँको शैक्षिक संस्थाहरूको व्यवस्थाबारे अध्ययन गरेको प्रोजेक्ट म्यानेजर ओझा बताउँछन् ।

‘हामीले काठमाडौं वल्र्ड स्कुल सञ्चालन गर्नुअघि तीनचारवटा देशमा त्यहाँका स्कुल र शैक्षिक वातावरणबारे अध्ययन गरेका थियौं', उनले भने, ‘त्यस्तै नेपालीले भारतको नयाँदिल्लीमा महिनामा एक लाख रुपैयाँ शुल्क तिरेर आफ्ना बच्चा पढाइरहेका छन् । यी अभिभावकलाई लक्षित गरेर हामीले काठमाडौं वल्र्ड सञ्चालन गर्ने निधो गरेका हौं । यस सञ्चालनमा आएपछि नेपालमै अन्तर्राष्ट्रिय स्तरको शैक्षिक संस्था पनि छ है भन्ने सन्देश जानेछ भने अर्कोतिर शिक्षाको लागि बिदेसिने रकम स्वदेशमै रहनेछ ।'

उनले स्कुलको लागि ठाउँ खोज्नसमेत देशका धेरै ठाउँमा जानु परेको सुनाए । अन्त्यमा भक्तपुरको गुण्डुमा जग्गा भेटिएको उनी बताउँछन् । उनका अनुसार गुण्डुमा जग्गा भेटिए पनि स्कुल निर्माण गर्न धेरैपटक अध्ययन, अनुसन्धान गरिएको थियो ।

‘जग्गा लिएको दुई वर्षसम्म त हामीले देशभरका स्कुलहरूको सर्भेमात्रै गरेका थियौं', प्रोजेक्ट म्यानेजर ओझा थप्छन्, ‘दुई वर्षको विस्तृत अध्ययनपछि गुण्डुमै स्कुल निर्माण गर्ने निष्कर्षमा पुगेका हौं ।'

छात्रावासः थ्रीस्टार होटेलजस्तै

उनले अबको तीन वर्षभित्र स्कुलको सम्पूर्ण भौतिक संरचना तयार गरिने जानकारी दिए । स्कुलमा बन्ने छात्रावासमा थ्रीस्टार होटेलमा दिइने सुविधा पाइने स्कुलले जनाएको छ । स्कुलमा भर्ना हुने कुल विद्यार्थीको ४० प्रतिशतमात्रै छात्रावासमा राख्ने योजना स्कुलको छ । ६० प्रतिशत विद्यार्थी भने स्कुलबसमार्फत विद्यालय पुग्ने र कक्षा सिद्धिएपछि फर्कने स्कुलको योजना रहेको छ ।

स्कुलको कक्षाकोठा तथा प्रशासनिक भवनबाट छात्रावास पुग्ने विद्यालयले सुरुङ मार्ग बनाउने योजना बनाएको छ । जसले गर्दा विद्यार्थी तथा कर्मचारीहरूलाई घामपानीमा पनि सहजै ओहोरदोहोर गर्न सजिलो हुने प्रोजेक्ट म्यानेजर ओझा बताउँछन् ।

विदेशी प्राचार्य

प्रोजेक्ट म्यानेजर ओझाले स्कुलबाट दिइने शिक्षा अन्तर्राष्ट्रिय स्तरको सुनिश्चित गर्न प्रिन्सिपलसँगै अन्य अध्यापकहरूसमेत विदेशी राख्ने अस्टाङको योजना रहेको सुनाए । यसको लागि संयुक्त राज्य अमेरिकास्थित विभिन्न शैक्षिक संघसंस्थाहरूसँग कुरा भइरहेको उनी बताउँछन् ।

‘ए लेभल तथा कलेजको संकाय प्रमुख सबै विदेशी नै राख्ने योजना छ', उनी भन्छन्, ‘यसको अर्थ नेपाली राख्दै राख्दैनौं भन्ने होइन, नेपालीहरू पनि विदेशीहरूभन्दा कम भने हुने छैनन् ।'

विदेशी प्रिन्सिपल र अध्यापक राखेर विदेशीलाई समेत नेपाली शिक्षामा आकर्षण गर्ने अस्टाङको अर्को लक्ष्य रहेको उनी बताउँछन् । उनले नेपाल पनि गुणस्तरीय शिक्षाको लागि गन्तव्यस्थल हुनसक्छ भन्ने सन्देश काठमाडौं वल्र्ड स्कुलले दिने दाबी गरे । स्कुल निर्माण पूरा भई सञ्चालनमा आएपछि काठमाडौं वल्र्ड स्कुल नेपालकै नमुना स्कुल हुने प्रोजेक्ट म्यानेजर ओझा दाबी गर्छन् ।

खेलकुद अर्को आकर्षण

काठमाडौं वल्र्ड स्कुलको अर्को आकर्षण खेलकुदको व्यवस्थापन हुनेछ । स्कुलमा ओेलम्पिकमा प्रतियोगिता हुने आधा खेलहरूको व्यवस्था गरिनेछ । जसमा फुटबल, भलिबल, स्विमिङ, टेबलटेनिस, बास्केटबल प्रमुख छन् । त्यस्तै फुटबल मैदानसमेत स्कुल प्रांगणमा हुनेछ । जुन मैदानभित्र हाफ ओलम्पिक प्रतियोगिता गर्न मिल्ने प्रोजेक्ट म्यानेजर ओझाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.