सरकार हाँक्नेहरूले समयमै ऐना हेर
हामी दिनहुँ ऐना हेर्छौं, अनुहार नियाल्छौं र अवस्था थाहा पाउछौं । ऐनामा देखिएको कमीकमजोरी हटाउँदै सौन्दर्य प्रशाधनसमेत प्रयोग गरेर अनुहारमा निखार ल्याउने प्रयत्न गर्दछौं । यसरी ऐनाको सहयोगबाट सुन्दरतामा सजिन हामीलाई सहज हुन्छ । त्यसैले हाम्रा लागि ऐना अपरिहार्य वस्तु भएको छ । मानिसको अनुहार र ऐनाको जस्तै सम्बन्ध विकास व्यवस्थापनमा पनि लागू हुन्छ ।
विकासमा योजना र अनुगमन तथा मूल्यांकनको सम्बन्ध क्रमशः अनुहार र ऐनाको रूपमा बुझ्न सकिन्छ । योजनातर्फ योजना तर्जुमा, बजेट विनियोजन र कार्यान्वयन गरी मुख्य रूपमा तीन चरणको काम हुन्छ । योजनातर्फका विषय समयमा सही तरिकाले र सम्पूर्णतामा क्रियाशील भएका छन् कि छैनन् र नतिजामुखी छन् कि छैनन् भनेर जाँच गर्ने, अवस्था पहिचान गर्ने र सुधार गर्ने कार्यमा अनुगमन तथा मूल्यांकन प्रक्रियाले सघाउँछ । यसरी योजना प्रक्रिया अनुहारको रूपमा र अनुगमन तथा मूल्यांकनप्रक्रिया ऐनाको रूपमा परस्पर सहयोगीका रूपमा हामी बुझ्न सक्छौं ।
ऐनारूपी अनुगमन तथा मूल्यांकनप्रक्रियाका आधारभूत अंग चलायमान हुँदा अनुहाररूपी योजनाप्रक्रियाका अवयवहरूबाट तथ्यांक, सूचना र विवरण स्थलगत रूपमै संकलन गरिन्छ । तिनलाई मसिनोसँग समीक्षा गरिन्छ । समीक्षाबाट योजनाप्रक्रिया नतिजामुखी छ छैन भनेर नियालिन्छ । सवल पक्ष, कमजोर पक्ष र नवीनताको पक्ष एकिन गरेर कुन क्रियाकलापलाई निरन्तरता दिने र कुन क्रियाकलापलाई सुधार गर्ने भनेर पहिचान गरिन्छ ।
नवीन कार्यको प्रशंसा गरिन्छ । यसरी ऐनामा देखिने स्पष्टतालाई कायम राख्दै र अधुरा पक्षको तस्बिरलाई सुधारात्मक उपायद्वारा सन्तुलन मिलाई राम्रोबाट अझ राम्रो अवस्थामा पुर्याउने प्रयत्न जारी रहन्छ । यसप्रकार अनुहाररूपी योजना र ऐनारूपी अनुगमनको सम्बन्धले विकासको अवस्थामा सुधार गर्न, सुन्दर बनाउन र सुविधा बढाउन सहयोग पुर्याइरहेको हुन्छ ।
अनुहार र ऐनाको सान्दर्भिकता व्यक्ति र विकासमा अपरिहार्य भएजस्तै सरकार सञ्चालनमा समेत उत्तिकै आवश्यक, महत्ववपूर्ण र अनिवार्य छ । हुन त नेपालमा पछिल्ला वर्षमा हरेक कुरा राज्यसँग जोडेर राज्यले यो गर्यो वा त्यो गर्यो भन्ने गरिन्छ । वास्तवमा सरकारले गर्ने कामकुरा नै राज्यका तर्फबाट भएका काम कुरा हुन् । तसर्थ राज्य भने पनि सरकार नै मूर्तरूपमा दैनिक शासन सञ्चालक हो ।
अब जिज्ञासा पैदा हुन सक्छ, सरकार सञ्चालनमा अनुहार पक्ष कुन हो र ऐनापक्ष कुन हो ? उत्तर सरल छ, सरकार पक्ष अनुहार हो । सरकारले विभिन्न कोण वा आयामबाट प्राप्त गर्ने प्रतिक्रया, सुझाव र टिप्पणी ऐना हुन् । मूलतः ६ प्रकारका ऐनामा आफ्नो स्वरूप, कार्य सम्पादन र नतिजालाई नियाल्नुपर्छ । ती ऐना तलमाथि, अघिपछि, बाहिरभित्र गरी ६ तिर रहेका हुन्छन् र सरकारको अनुहार उक्त ६ वटै ऐनाबाट सुन्दर, आकर्षक र प्रशंसनीय बन्न सक्नुपर्छ ।
ती ६ प्रकारका ऐनामा सर्वप्रथम सरकार र जनताको सम्बन्ध देखाउने ऐनामा सरकारले आफ्नो अनुहार हेर्नपर्छ । अर्थात ‘लुकिङ डाउनवार्ड ।' यस ऐनामा सरकारले गरेको कार्य सम्पादन, जनतामा पुर्याएको सेवा र सुविधामा जनताको प्रशंसा वा प्रतिक्रिया कस्तो छ भन्ने थाहा हुन्छ । यसका लागि जनताबाट निरन्तर प्रकट भइरहने मतअभिमतले ऐनाको काम गर्छ । जनताको प्रतिक्रिया ग्रहण गरेर सम्बोधन गर्दा जनता गर्वको महसुस गर्छन् र सरकारप्रति विश्वास प्रकट गरेर सरकारको अनुहारलाई उज्यालो बनाउँछन् ।
जनता असन्तुष्ट भएको अवस्थामा सरकारको लोकप्रियता घट्छ र निर्वाचनमा त्यसको असर देखिन्छ । दोस्रो ऐना ‘लुकिङ अपवार्ड' हो । यो ऐनामा सरकारभन्दा माथि पनि संस्था छ भन्ने हेक्का राख्नुपर्छ । नेपालमा राष्ट्रपति छन् । राष्ट्रपति मुलुकका संरक्षक हुन् । सरकारले संरक्षकको भूमिकालाई मर्यादित बनाउन के कस्तो तत्परता र प्राथमिकता प्रदर्शन गरेको छ एवं राष्ट्रपतिबाट प्रशंसा वा प्रतिक्रिया के छ ? भन्ने कुराको हेक्का राख्न दोस्रो ऐनामा अनुहार हेर्न आवश्यक छ । तेस्रो ऐना ‘लुकिङ फरवार्ड' हो । सरकार दूरदृष्टिका साथ सञ्चालन भइरहेको छ छैन भनेर अनुहारलाई उक्त ऐनामा हेर्नुपर्छ ।
विभिन्न स्वतन्त्र विद्धान, योजनाविद् वा अभियन्ताले आफ्ना लेखरचना वा अभिययानका माध्यमबाट सरकारलाई ऐना देखाउने काम गरिरहेका हुन्छन् । ऐना चौथो ऐना ‘लुकिङ व्याकवार्ड' हो । कुनै पनि तथ्य र सिकाइ विगतको विरासतको रूपमा रहेको हुन्छ । सरकारले अतीतका राम्रो सिकाइको ख्याल गर्दै आगतमा अघि बढेको छ छैन भनेर यस ऐनामा हेर्नुपर्छ । यस्ता राम्रा कुराको उपयोगले अगाडिको यात्रालाई सहज बनाउँछ । पाँचौं ऐना ‘लुकिङ आउटवार्ड' हो ।
बाह्य दुनियाले हाम्रो अनुहारको अवस्थाबारे प्रतिवेदन वा विज्ञप्तिबाट यथार्थ तस्बिर देखाइरहेका हुन्छन् । सरकारले विश्व मञ्चमा साख वढाउन यो ऐनालाई गम्भीर भएर हेर्नपर्छ । छैठौं र अति महत्ववपूर्ण ऐना भनेको ‘लुकिङ इनवार्ड' हो । ‘लुकिङ इनवार्ड' को ऐनाबाट आफ्नो इमान्दारिता, सदाचारिता र परिपक्वता आफैंले मूल्यांकन गर्न सकिन्छ । आफ्ना भनाइमा सत्यता छ छैन भनेर आफैंले आफैंलाई सोध्ने, भनाइलाई अविलम्ब गराईमा लगेर प्रतिज्ञा वा प्रतिवद्धताको पालना गरेको छ÷छैन भनेर आफ्नो सदाचारिता आफैं केलाउने र सार्वजनिक हितका विषयमा सरकारको परिपक्वता प्रदर्शन भएको छ÷छैन भनेर कसी लगाउने काम समेत ‘लुकिङ इनवार्ड' बाट गर्न सकिन्छ । यही ऐनाको उपयोगबाट आचरणमा शुद्धीकरण र क्षमतामा सुदृढीकरण सम्भव छ ।
उल्लिखित छ प्रकारका ऐनाबाट कसी लगाउँदा वर्तमान अवस्थामा सरकारले ‘लुकिङ डाउनवार्ड' ऐनालाई हेर्ने कोसिस गरेको देखिन्छ । फलस्वरूप विद्युत् लोडसेडिङ सुधार भएको छ । स्वास्थ्यमा सुधार हुने आशा जागेको छ । तर सुरापुरा रूपमा हेरेको प्रतीत हुँदैन । हेलो सरकारमा प्राप्त हुने गुनासाको चाङले नै उक्त कुरा पुष्टि गर्छ । राष्ट्रपतिबाट चिन्ता व्यक्त गरिएका समाचार निरन्तर सम्प्रेषण भइरहेबाट सरकार ‘लुकिङ अपवार्ड' को ऐनाबाट पनि आफ्नो अनुहारमा चमक ल्याउन गम्भीर नभएको महसुस हुन्छ । महावीर पुनको आविस्कार केन्द्र स्थापनाको अभियानले सरकारलाई ‘लुकिङ फरवार्ड' को ऐना हेर्न घच्घचाइरहेको छ ।
यस ऐनाको उपयोगितामा पनि सरकार अघि सरेको अवस्था छैन । अन्तरदलीय सम्बन्धमा देखिएको विचलनले ‘लुकिङ व्याकवार्ड' को ऐना सरकारले हेर्न छोडेको जस्तो भान हुन्छ । नेपालमा संक्रमणकालको व्यवस्थापनदेखि संविधान जारी गर्दासम्म स्थापित तथ्य र सिकाई अहिले भत्किएको अवस्था छ । हालै ट्रान्सपरेन्सी इन्टरनेसनलले जारी गरेको प्रतिवेदनअनुसार नेपाल बढी भ्रष्टाचार हुने देशमा परेको छ । यसैगरी नेपालमा सहायता प्रदान गर्ने बहुपक्षीय तथा द्विपक्षीय विकास साझेदारले प्रोजेक्ट डकुमेन्टमा लेख्ने कुरा पनि कष्टदायी छन् ।
संविधानले तोकेको समय सीमाभित्र स्थानीय, प्रादेशिक र संघीय तहको निर्वाचन सम्पन्न गर्नेलगाायत संविधान कार्यान्वयन गर्ने ‘भनाइ' सरकारका जिम्मेवार व्यक्तिबाट बारम्बार प्रकट भइरहेको छ तर ‘गराई' को सिलसिला मन्द छ । यसरी भन्दै मात्र जाने तर नगर्ने वा ढिलो गर्ने हो भने सरकारको चरित्र अविश्वसनीय हुन्छ र जनताले पत्याउन छाड्छन् ।
डकुमेन्ट पढ्दा यस्तो लाग्छ कि ‘हामी सदाका लागि गरिब, नजान्ने र दुखी हौं ।' यसरी बाह्य दुनियाबाट प्रकट हुने टिप्पणीलाई ‘लुकिङ आउटवार्ड' ऐनाको रूपमा लिएर आफ्नो अनुहारमा निखार ल्याउनुपर्नेमा यस ऐनाको उपयोगमा पनि सरकार कमजोर देखिन्छ । सरकारका लागि यतिखेर संविधान कार्यान्वयन प्राथमिकताको विषय हो । संविधानले तोकेको समय सीमाभित्र स्थानीय, प्रादेशिक र संघीय तहको निर्वाचन सम्पन्न गर्नेलगायत संविधान कार्यान्वयन गर्ने ‘भनाइ' सरकारका जिम्मेवार व्यक्तिबाट बारम्बार प्रकट भइरहेको छ तर ‘गराई' को सिलसिला मन्द छ ।
यसरी भन्दै मात्र जाने तर नगर्ने वा ढिलो गर्ने हो भने सरकारको चरित्र अविश्वसनीय हुन्छ र जनताले पत्याउन छाड्छन् । अविश्वासले घृणा र घृणाले विद्रोह जन्माउँछ । समयमा बजेट आएर पनि खर्च हुन सकेको छैन । त्यसैले छैठौं ऐना ‘लुकिङ इनवार्ड' को निरन्तर उपयोग अनिवार्य छ ।
निष्कर्षमा अनुहार र ऐनाको पारस्परिक सम्बन्धबाट अवस्थामा सुधार गर्दै सुन्दर, आकर्षक र रोजाइमा पर्ने भएकोले मुलुक संक्रमणकालबाट गुज्रिरहेको अवस्थामा सरकारले ऐनारूपी विधि, प्रक्रिया र तरिकालाई समयबद्ध, सिलसिलेबार र नतिजामुखी रूपमा उपयोग गरी शासन सञ्चालनलाई जुनसुकै प्रकारको ऐनाबाट पनि सुन्दर, आकर्षक र लोभलाग्दो हुने बनाउँदै आर्थिक समृद्धि र सामाजिक रूपान्तरणको आकांक्षामा प्रतिक्षारत नेपाली जनतालाई सेवा, सुरक्षा र सुविधाको प्रबन्ध गरेर समृद्धिको यात्रामा सरिक गराउन सक्षम हुनुपर्छ ।
ऐनारूपी विधि, प्रक्रिया र तरिका भएर पनि प्रयोग नगर्ने हो भने ‘टाइमपास' बाहेक अरू उपलब्धि हुने छैन । तसर्थ सरकारका पदाधिकारीले सरकार सञ्चालनमा हेर्नुपर्ने ऐना टाइम्ली, करेक्टली र कम्पिलटली हेर्दै पृष्टपोषणका आधारमा अवस्थामा सुधार गर्दै जानुपर्छ । समयले पर्खंदैन । त्यसैले सरकार हाँक्नेहरूले समयमा ऐना हेरेर अवस्थामा सुधार गर्दै राम्रोबाट अझ राम्रो बनाउँदै जानुपर्छ ।
यसका लागि नेतृत्वको दूरदर्शिता, इमान्दारिता र सहासपूर्वक क्रियाशीलता अनिवार्य हुन्छ । हार्डवर्क, टिमवर्क र नेटवर्कबाट हरेक कुरा सम्भव छ । तसर्थ अनुहारमा देखिएका धुला, मैलालाई ऐनाबाट नियाल्दै र निखार्दै जानुपर्छ । अवस्था बिग्रिसकेको छैन तर विलम्ब भएको छ । स्थानीय तहको निर्वाचनको संघारमा उभिएको अवस्थामा सरकारले तत्काल ऐना हेर्न प्राथमिकता दिने, पृष्ठपोषण ग्रहण गर्ने र कार्यान्वयन गर्न थाल्ने हो भने केही समयमा नतिजा आउन थाल्नेछ र सरकारप्रति जनताको सकारात्मक दृष्टिकोण प्रकट हुन थाल्नेछ ।